शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, April 30, 2015

जीवन नै खोसिएपछि के बाँकी रह्यो र अब !


यो मुलुकका सरकार भए पो हाम्रो उद्धार गर्छ । हामी मरेर बाँचेका छौं तर, सरकारले हालसम्म केही पनि उपलब्ध गराएन । सरकारको नाक मुख केही देख्न पाइएको छैन । भो त्यसको हामीलाई केही चाहिएन । राजधानीमा भुकम्पबाट पीडित भएका सिन्धुपाल्चोकका रामशरण दुलालको भनाइ हो ।
दुलालको भनाइभन्दा फरक भनाई अरुको छैन । तर, सरकार र सरकारी निकाय कहाँ छ कुन स्थानमा राहत तथा उद्धारको काम गरिरहेको छ भन्ने कुराको भेउ हालसम्म पाउन सकिएको छैन् । बस्तीका बस्ती खण्डहर भएका छन् । जनताको बस्ने बास छैन, खाने खाद्यान्न छैन ।

घाइते छन् उपचारको व्यवस्था छैन । विदेशी मित्र राष्ट्रले राहतको खोलो बगाएका छन् तर हालसम्म सो राहतको प्रभावकारी वितरण हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल राजधानीकै मुख्य प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । भने ग्रामीण र पहाडी क्षेत्रमा पुग्ने कुरा परको विषय भएको छ ।

राजधानी नजिकैको गोरखा,धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछापमा हालसम्म कुनै पनि सरकारी निकाय पुग्न सकेका छैनन् । सिन्धुपाल्चोकको ग्रामीण बस्ती युद्धभूमिभन्दा फरक देखिदैन । भूकम्प पीडितहरु रुखमुनी दिन रात कटाउन वाध्इ छन् । तर सरकारको कुनै पनि आधिकारिक निकाय हालसम्म पुग्न नसक्दा जनता प्रभावित भएका छन् ।

भूकम्पले मारेका पशु चौपायाको उचित व्यवस्थापन हुन नसक्दा महामारी फैलने सम्भावना बढेर गएको छ तर सरकार सिंहदरबारको कुनै कुनामा हराएको आभाष भैरहेको छ । राजनीतिक दलहरुको भूमिका पनि प्रभावकारी हुन सकेको छैन ।

सिन्धुपाल्चोकका माझीगाँउका सुवास माझी मुलुकमा सरकार नै नभएको भन्दै आक्रोश पोखेका छन् उनले सरकार र राजनीतिक दल भोटका लागि मात्रै बनेको भन्दै उसको कुनै पनि राहत नलिने मुडमा रहेका छन् ।

राजधानीका गोङ्गबु, बसपार्कलगायतका गेष्ट हाउसहरुमा अझै पनि सयौ मान्छे फसेका छन् । ती मध्ये एकाध मात्र जीवीत फेला पर्ने सम्भावना रहेको छ तर पनि हालसम्म उनीहरुको खोजतलास हुन सकेको छैन ।
बालाजुका हरिनारायण मानन्धरले पनि मुलुकमा परेको विषम विपत्तीमा राज्यले कुनै पनि सहयोग नगरेको भन्दै आक्रोश पोखे । उनले भने यो मुलुकमा राज्य छैन, प्रहरी प्रशासन छैन, विदेशीले राहतको खोलो बगाएको भएपनि भूकम्प गएको पाँच दिन हुँदासम्म बालाजुमा नै राज्यले उद्धार गर्न सकेको छैन ।
खान कुरा छैन, बस्ने बास छैन, उपचार गर्ने औषधिमूलो छैन, आर्थिक उपार्जनका लागि पालिएका पशु चौपायाको कुनै अस्तित्व छैन तर सरकार र सरकारी निकायको उपसिथती चक्रपथबाट बाहिर जान सकेको छैन ।
राजधानीको विभिन्न स्थानमा भत्केका घर टहराको उद्धार गर्न तथा तिनीहरुको व्यवस्थापनका लागि आएका केही विदेशी स्वयमसेवक पनि काम भन्दा पनि बढी प्रचार र हल्लामा मात्रै केन्द्रित रहेको स्थानीयबासीको भनाइ छ ।
काठमाडौँको स्वयम्भूमा तीन सयभन्दा बढी घर ढलेका छन् । ती घर भित्र के कति मान्छे रहेका छन् भन्ने बारेमा हालसम्म कोही कसैलाई जानकारी हुन सकेको छैन । सरकारले त्रिपालको पनि व्यवस्था गर्न नसकेपछि आक्रोशको मात्रा बढ्दै गएको छ ।
माछापोखरीमा पनि एउटा मात्रै घरको उद्धार गरिएको भएपनि अन्य घरहरुको कुनै पनि खोजतलास गरिएको छैन। त्यस्तै अर्को प्रभावित कपन क्षेत्रमा पनि सरकारी निकाय पुग्न सकेको छैन । राजधानी भित्रै पनि सरकारको उपस्थिती नभएपनि ग्रामीण क्षेत्रमा कुनै पनि सरकारी उपस्थिती हुन सकेको छैन ।
बालाजुका अर्का पीडित हरि महर्जनले सरकारको निकम्मा पन देखिएको भन्दै राहत लिने कि नलिने भन्नेमा नै आफू दुविधामा रहेको बताए । अव्यवस्थित सहरीकरण तथा मानवीय अतिक्रमणका कारण पनि भूकम्पले धेरै क्षति पारेको उनको भनाइ छ । भूकम्पका कारण काठमाडौँबाट सिन्धुपाल्चोक जोड्ने सडक खण्ड चिराचिरा परेको छ भने सुक्खा पहिरो चलिरहेको छ ।
अधिकाशं नागरिक आँखामा आसु पार्दै उद्धारको प्रतिक्षामा रहेका छन् । उनीहरु आक्रोश, राहत, तथा संसयग्रस्त अवस्था बोकेर बसिरहेका छन् । उनीहरुको भविष्य खोसिएको छ । आशा लुटिएको छ ।
जीवन खोसिएको छ । तर सरकार उनीहरुको दुखमा मल्हम लगाउन तयार देखिएको छैन । भूकम्पबाट पीडित भएकाहरुलाई सामान्य रुपमा प्रदान गर्नुपर्ने मानवीय सेवासमेत पुग्न सकेको छैन ।
विदेशी निकायले उपलब्ध गराएको त्रिपाल सरकारी नियन्त्रणमा रहेको छ । हेलिकोप्टरको अभावमा उपलब्ध भएको त्रिपाल समेत पीडितले पाएका छैनन् । खाद्यान्नको त कुरा परको भएको छ ।
नागरिक खुला आकाशमा रात कटाउन वाध्य छन् । नेपाल रेडक्रम सोसाइटी जस्तो सामाजिक संस्था नेपाली काँग्रेसको भातृ सङ्गठनमा परिणत भएको गुनासो पनि सँगै आएको छ । काँग्रेसका नेता तथा कार्यकर्ताले भनेको ठाँउमा, भूकम्पले धेरै प्रभाव नपारेको स्थानमा त्रिपाल वितरण हुन सकेको छैन ।
सहृदयीले उपलब्ध गराएको उद्धार सामग्री समेत राजधानीको विभिन्न स्थानमा अलपत्र रहेको छ । सरकारी पहुँचका आधारमा मात्रै आफ्ना र नजिकका व्यक्तिहरुलाई समेत राहत दिने काम सुरु भएको भन्दै विरोधका स्वर समेत सुरु भएको छैन ।
विशेष गरी गोरखा र सिन्धुपाल्चोकलाई सरकारले राहतमा विशेष ध्यान दिन सकेको छैन । धादिङ र नुवाकोटको अवस्था भयावह रहेको छ । तर, पाँच दिन बित्दा समेत सरकारको उपस्थिति हुन सकेको छैन ।
धादिङको उत्तरी क्षेत्र पीडामा रहेको छ । फुलखर्कमा रहेका स्थानीय शिक्षक दामोदर भट्टले हालसम्म कुनै पनि राहत तथा उद्धारको काम नभएको जानकारी दिए । धादिङको उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । करिब ९९ प्रतिशत घर भत्केका छन् ।
नुवाकोटको हालत पनि उस्तै रहेको छ । नुवाकोटमा पनि मङ्गलबार एक हेलिकोप्टर पुगेको भएपनि कुनै उद्धार गर्न सकेको छैन । धादिङमा त राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटीको सेयरका लागि मात्रै हेलिकोप्टर उपलब्ध गराएको जस्तो रहेको स्थानीयले गुनासो गरेका छन् ।
घर खोसिएका, जीवन खोसिएका, पशु चौपाया मारिएका र थात थलो हरेकाहरुलाई राज्यले राज्यको व्यवहार नगर्दा आक्रोश फैलदै गएको छ । यसलाई तत्काल सम्बोधन गर्नु आवश्य देखिएको छ ।
साभार: सेतोपाटी डटकम