सूनको प्यालाभरिको विष
खै ! कस्तो दुनियाँ यो ? घरभित्र पनि त्रस्त घर बाहिर पनि त्रस्त यहाँ आफ्नै छायाँको पनि विश्वास हुँदैन यहाँ आफ्नै मायाको पनि भरोसा हुँदैन, यहाँ शंकै शंकामा हात मिलाउनु पर्छ यहाँ प्रतिदिन आफैलाई विष पिलाउनु पर्छ, यहाँ कि त भाग्दै हिँड्नु पर्छ कित त प्राण हत्केलामा राख्दै जिउनु पर्छ किन कि हामी आजको दुनियाँमा छौं, जो आफै चर्किँदै गएको आफै तोडिँदै गएको आफै मक्किदै गएको बारुदले छिया छिया यो जीर्ण भग्नावशेष जो आफ्नै नङ्ग्राले अनुहार चिथोर्दै कुरूप र विभत्स छ, दर्पणमा आफ्नै रक्ताम्मे अनुहार हेर्दै तर्सिरहेछ मानौ गान्धारीको श्रापले यो श्रापित छ । कस्तो सृजना यो निरर्थक ? कस्तो उपलब्धि यो विनाशक ? हो, यो दुनिया आफ्नै लाश बोकेर श्मसान कुरिरहेछ कस्तो निर्माण र आविष्कार यो ? यतै चित्कार उतै चित्कार सन्त्रास र भय चारैदिशा ह्वास्स ह्वास्स रगत गनाउँछ जलमा, थलमा, नभमा मानवता जलेको धुवाँले आकाश ढड्याम्म ढाकेको छ खोरैबाट परेवाहरू गिद्दले लुछिरहेछ लेबानन, इरान, सिरिया, युक्रेन इजरायल, यमन र कता कता व्याप्त आर्तनाद सुनेर पनि भगवान् यहाँ असहाय छ मान्छेको वधशाला अघि बुद्ध अवाक छ, यस्तो लाग्छ अब यहाँ मुटु बिनाको मान्छे जन्मिन थाले छि: कस्तो व्यूह रचना यो ? कस्तो पागलपन यो ? मान्छेले मान्छे मार्नलाई अरबौं सम्पति दाउमा, व्यूह रचना त तोड्नलाई होइन जोड्नलाई हुनु पर्ने दूरत्व मेट्नलाई हुनपर्ने प्रेम र सद्भावले समेट्नलाई हुनपर्ने | यसैले म यो युगलाई घृणा गर्छु यो सूनको प्यालाभरिको विष हो यो मानवताको महापरिहास हो ।
अतीतसितको दूरत्व
खै ! कता कता, के के बाट
उन्मुक्त हुन सकेन यो जीवन !
आफैलाई पछ्याउँदै.....
अतीतका पाइलाका डोबहरूले
चिच्याइ चिच्याइ बोलाउँछन्,
सञ्चोले बाटो हिँड्न सकिँदैन
वाध्य हुन्छु पटक पटक पछि फर्किनु
म र अतीतबिच दूरत्व कोरिँदै छ
यो टाढिएको अतीतले मलाई
एक निर्मोहीले जस्तो
चट्ट माया मारेर भुल्न सकेन
भुसुक्कै बिर्सिनु सकेन
हो, मलाई मेरो अतीतको
औधी माया छ;
अहँ म विश्वासघात गर्न सक्दिनँ यसलाई
यही मेरो वर्तमानको धरातल हो
यही मेरो उभिने ठाउँ हो।
यो सितको मेरो दूरत्वभित्र
न्याय नपाएका
कतिपय क्षणहरू पनि छन्
जसको स्मरण मात्र गर्दा
गहहरू निथ्रुक्क भिज्छन्
थोपा भएर तप् तप् चुहिन्छन्,
निकै अघिल्लो थुम्कोमा आइपुगेछु अब त
तर मलाई भेट्न पछि पछि दगुर्दै
स्याँ स्याँ हुँदै आउँछ अतीत
पछि फर्केर म हेर्छु
देख्छु तर स्पर्श मात्र पनि गर्न सक्दिनँ
देख्छु तर अङ्गालोमा कस्न सक्दिनँ
यो जनमभरिको माया भएर पनि
आँसुका थोपाहरूले
पटक पटक ब्युँझाएर
भुल्नै दिँदैन व्यथाहरू
देख्न नसकिने चोटहरू
दुखिरहन्छन् मुटुभरि
यो आँसु पानी मात्र कहीँ हो र !
एउटा सिङ्गो कालखण्ड
यसले पिठ्यूँमा बोकेर ल्याएको छ,
यसैले यो अतीतसितको दूरत्व मलाई
कता कता दुखिरहन्छ
कसैले नदेख्ने गरी
कसैले नसुन्ने गरी ।
******************
अक्षरहरू
अन्त पनि नहोला
यो भुलभल्लैयामा परेकाहरूका यात्राको
शाश्वत सत्यसित सम्पर्कित सडक छोडेर
पगडण्डीभरि कुदिरहेका छन्
भ्रमित लावा लस्करहरू
झुण्ड झुण्डमा,
आउ हाम्रो पछि पछि
मूल सडक यही हो भन्छन्,
अनुहार छोपेका आकृतिहरू
तमासाका जमातहरू
बुझें भन्छन् आफै नबुझ्नेहरू
चिनें भन्छन् अन्धो आँखाले,
हो, तिम्रो दृष्टिले भ्याउने
एक फोक्टा आकाश नै ब्रह्माण्ड होइन;
गन्तव्य पुग्ने राजमार्ग त
यति विशाल छ
यति अनन्त छ
कि तिम्रो हाम्रो दृष्टिले भ्याउँदैन
यसको फैलावटसम्म पुग्न,
न पूर्व छ, न पश्चिम
न उत्तर छ, न दक्षिण
बस् अनन्त अथाह छ
अटल र शाश्वत छ,
अब प्रश्न तिमीलाई नै छ मेरो
खै कता मेटिए तिम्रो खोजभित्र
प्रेमका अक्षरहरू ?
बन्धुत्वका अक्षरहरू ?
क्षमा र मानवताका अक्षरहरू ।
- नयाँ दिल्ली, भारत
No comments:
Post a Comment