शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, April 29, 2015

‘धरहरा ढल्दै गर्दा कहाली लागेको याद छ’


धरहरासँगै ढलेर बाँचेका सञ्जीवको बयान

मेरो नाम सञ्जीव श्रेष्ठ हो । कक्षा १० पढ्दै गर्दा रामेछापको भीरपानी गाविसबाट काठमाडौं झरेको हुँ ।
जीविकोपार्जनका लागि होटलमा मजदुरी गर्न थालेँ । कुकको काम थियो मेरो । अहिले म पुल्चोकको एक रेस्टुरेन्टमा काम गर्दैछु । वसन्तपुरमा मेरो कोठा छ ।

हप्ताको अरु दिन काममा व्यस्त हुने भएकाले शनिबार म धेरैजसो घुम्न निस्कने गर्दछु । शनिबार एक दिन घुम्नाले मलाई हप्ता दिनभरि नै ऊर्जावान् बनाउने हुँदा यसो गर्ने गर्दछु । त्यो शनिबार पनि म घुम्न जाने मुडमा नै थिएँ । एक जना साथीले आज धरहरा जाऔँ भनेकाले मैले उनलाई खाना खाएर निस्कने जानकारी दिएँ । र, धरहराका लागि हिँडें ।


टिकट काटेर धरहराभित्र पस्दा शायद पौने १२ बजेको हुँदो हो । काठमाडौं आएको यत्तिका वर्ष बितिसक्दा पनि म पहिलो पटक धरहरा चढ्दै थिएँ । निकै रमाइरहेको थिएँ, काठमाडौंलाई उच्च स्थानबाट नियाल्नका लागि । साथीसँग संवाद गर्दै सिँढी उक्लिरहेको मेरो सास बिस्तारै बढ्दो थियो र सँगै मेरो उत्साह पनि । चढ्ने र ओर्लने क्रम पनि बाक्लिएको थियो। करिव ३० जना मान्छे जाली समात्दै थिए । म काठमाडौं नियाल्ने ठाउँमा पुगेँ । त्यहाँ फलामको जाली थियो । सबैभन्दा माथि पुगेपछि आनन्द लाग्यो । धेरै रमाइलो पनि लाग्यो ।

जालीबाट सहिदगेटतिर हेर्दै थिएँ । तलतिर फोटो खिँच्ने मान्छेको भीड पनि त्यस्तै थियो । ठीक त्यसै बेला हावा आएको जस्तो लाग्यो । स्वाँ…. स्वाँगरेको जस्तो लाग्यो । शनिबार हावा पनि राम्रै आयोजस्तो लागिरहेको थियो । शितल होला भन्ने पनि लाग्यो । भूकम्प आएको भन्ने थाहा भएन ।  एकछिनमा लचलच लच्किन थाल्यो । जालीभन्दा अलि तल्लो भागबाट झरेको जस्तो लाग्यो ।
एकछिन तल झर्दासम्म त मलाई थाहा थियोधरहरा झर्दै छ भनेर । तर, कहाली लाग्दै थियो; मैले हाम फाल्न सकिनँ । त्यसपछि के भयो, थाहा भएन । शायद बेहोस भएछु । वीर अस्पताल अगाडि बाटोमा ५ बजेतिर मैले आफैंलाई पाएँ । सपनाजस्तै लागिरहेको थियो । दाइ ! मलाई पानी दिनाेस् न भनें । उसले पानी दियो । आँखा हेर्न मिलेको थिएन  । आँखामा पानी हालेँ तर केही देखिनँ । उठ्न खोेजेँ, सकिनँ । एक छिनपछि स्ट्रेचरमा लिएर मलाई ट्रमा सेन्टरमा पुर्याइयो । पछि त्यसो गरेको भए बाचिँदैनथियो होला । मेरो हात भाँचिएको छ । अनुहारमा चोट छ । मलाई भाग्यले बचायो । त्यो दिन सम्झँदा सपनाजस्तै लागिरहेको छ । जिन्दगीमा कहिल्यै नसोचेको कुरा भयो जस्तो लाग्छ ।
सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित


धरहरासँगै ढलेर बाँचेका सञ्जीवको बयान