यो दार्जिलिङ
जोश जाँगर
अस्मिता र अस्तित्वलाई
बन्दकी राखेर
शून्यताको बाहुपाशमा कसिएर
तड़पिरहेछ यो दार्जिलिङ ।
फोहोरले गिजोलिरहेछ
एका-अर्काको शङ्काले त्रसित छ
भातृत्व एकताको डोरी मक्किरहेछ
एक थोपा पानीको निम्ति
काकाकुली छटपटिरहेछ दार्जिलिङ ।
विश्वासै छैन एकाअर्कामा
कसलाई विश्वास गर्नु
कसलाई नगर्नु अन्योलमा छ
माथ्लो गाउँको तल्लो गाउँको
झण्डी आ-आफ्नै छ
मनोमालिन्यको जगजगी
जनताभन्दा यहाँ
नेताहरू नै बढ़ी छ
राजनीतिको घिच्रो निचारेकी
दार्जिलिङ अलमलिरहेकी छे ।
नेतृत्व छन् औँलामै गन्न नसकिने
आश्वासन छन् डोकोभरि थाम्न नसकिने
चौरस्ता अलपत्र परिरहेछ
गिताङ्गे डाँड़ा लबस्तरो भइसकेको छ
पोष्टर टाँस्ने भित्ता रमिता मात्र भएको छ
राजनीति हानथापमा
भीरको चिण्डो भइरहेछ दार्जिलिङ।
क्रुर शासनमा मारिएका सहिदहरूका
आँसुले बोटानिकल गार्डन आत्महत्या गर्छ
दार्जिलिङको छाती दुख्छ एक तमासले
सहिदहरूको आशा पूरा हुन सकेको छैन
पहाड़की रानी दार्जिलिङमा
अहिलेसम्म पनि
कञ्चनजङ्घा हाँस्न सकेकी छैन
मुटुभरि पीर बोकेर पनि
हाँसिरहेकी छ दार्जिलिङ ।
षड़यन्त्रको गोला बारुदले
चराहरूका मीठो स्वर बन्द सुनिँदैन अचेल
शान्ति जतिले भिक्टोरिया फल्सबाट आत्महत्या गरिसके
अशान्तिले घाँटी अठ्याइसक्यो
राजनीतिको शिकारले अलस तलस परेर
बबुरो दार्जिलिङ असहाय छे
अहो यो दार्जिलिङ निरीह छे ।
नयाँ जिन्दगीको आशा बोकेर
प्रसव हुने नवजात शिशुहरू
सबै अलपत्र छन्
भविष्य हराएको
के थाहा यी नवजात शिशुहरूलाई ।
पीड़ित छे अन्योलमा छे
तरै पनि
महाकालबाबाको आशीर्वादले
मन नपरी नपरी
मुस्कुराइरहेकिछे दार्जिलिङ ।
****************
पोथी बास्नुपर्छ यहाँ...
सेता परेवाका बथानहरू
शान्तिको पखेटा फैलाउँदै
नीलो आकाशमा रमाएका देख्दा
बाजहरू थुक निल्दै
सेता परेवाहरूलाई नङ्ग्राले लुछ्न खोज्छन्
यो वर्तमान ।
फूलहरू पनि कहाँ सुरक्षित छन् र
लुछिन्छन् हरेक साँझ बिहान
रात दिन पसिना खर्चिने
मालीको मानचित्र पनि रक्ताम्मै छ
यो वर्तमाननै बलात्कृत छ ।
सुन्दर बगैँचामा ढकमक्क फूलहरूमा
सन्त्रास सल्बलाउँछ
ढकमक्क फुलेका फूलहरूमा
ह्वास्स बारुद गन्हाउँछ
मानिसहरूको आङमा आतङ्क बुइँ चढ्दैछ
रातको निस्तब्धतामा
बाजहरूको अराजकता चल्छ
यो वर्तमान असहाय़ छ
मौन छ ।
पोथी बास्दा समसाँझमा
अशुभ आशङ्का मड़ारिन्छ
घर दलानमा
बारीमा चरिरहेका चल्लाहरू
बाजले टिपेर लाँदा
सुरक्षाले आत्महत्या गर्छ
यो वर्तमानलाई आतङ्क
त्रासले गिजोलेको छ...
यसैले....
परेवाहरू घुर्दैनन् अचेल
मयूरहरू प्वाँख फैलाउँदैनन् हिजोआज
दन्दनी आगो बलिरहेछ बाजहरूका आँखामा
निहत्था परेवाहरू बलजफ्ती लुछिँदैछन्
बर्बरताको छालहरूले स्वतन्त्र लुटिँदैछन्
ब्वाँसाहरूको यौनक्रीड़ाले
वर्तमान यो निरीह छ
वर्तमान यो असहाय़ छ ।
चखेवा-चखेवीको प्रेमालापमा पैह्रो गएको छ
ढुकुरजोड़ीको उन्मुक्त उड़ान विकलाङ्ग भएको छ
कपट, सन्त्रास विभीषिकाले
यो वर्तमान अल्मलिरहेको छ।
अब यो अल्मलिरहेको वर्तमानमा
न्यानो घाम लाग्नुपर्छ
अब आउनुपर्छ
असुरक्षित चेलीबेटीहरूको
इज्जत र आबरु जोगिनुपर्छ
जोगाउने प्रयास गर्नुपर्छ
ब्वाँसा र बाजहरूको
नङ्ग्रा उखेलेर फ्याँक्नुपर्छ
यो वर्तमानमा अब
परेवाहरू निर्धक्क आकाशमा विचरण गर्नुपर्छ
चखेवा चखेवीहरूले स्वतन्त्र प्रेमक्रीड़ा गर्नुपर्छ
ढुकुरजोड़ी नडराई घुर्नुपर्छ।
यो वर्तमानमा
अब हरेक साँझ पोथी बास्नुपर्छ
एउटा बलिष्ठ वर्तमान प्रसव हुनुपर्छ
साँझमा बास्ने पोथीहरूको
मुण्टो चुँड़ालेर धुरी कट्टाउनु होइन
यहाँ अब
बलात्कार बास्ने भालेहरूको
मुण्टो चुँड़ालेर घुरेन कट्टाउनुपर्छ...
भोलिको उज्यालोको निम्ति
भोलिको स्वतन्त्रता र सुरक्षाको निम्ति
अब यहाँ...यो वर्तमानमा
यहाँ पोथी बास्नुपर्छ
पोथी बासेर यहाँ
नारी सुरक्षाको शङ्खघोष गर्नुपर्छ ।
-खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment