शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 15, 2024

नन्दलाल आचार्यका तीन लघुकथा

१. अमृतबेला


“कसैको बाउको करेसाबारी फाडेको थिइनँ; किन यस्तो वेदनाको पगरी भिराइस् ?” उषाको लाली छरिन अत्तोपत्तो नै नभएको क्षणमा मन्दिरबाट मान्छेको यस्तो आवाज आयो । र; थपिँदै गयो–
– आज म एकएक हिसाब चुक्ता गरेर छाड्छु ।
– तँ बैरी हुन्छस् भने म तेरा विरूद्ध खनिँदा पाप लाग्दैन ।
– मैले जीवनभर तेरो गुलामी गरेँ, अहिले ७९ नाघेपछि आँसु पिएर जिउन वाध्य पारिस् ?
– तँ धोकेवाज होस्, तँ कृतघ्न होस्, तँ विश्वासघाती र अधर्मी होस् ।

यसरी नानाथरी फलाकेको आवाज आइरह्यो । मान्छे गाली गरेर थाक्यो । हर आशाको दैलो बन्द भएपछि मुड्कीले मूर्तिको नाकमुखमा हान्न थाल्यो ।

“हान, जतिसक्दो हान । तिम्रै घैलामैला बटुल्न कुरेर बसेको छु ।” भगवान् बोले । र; थपेँ–
– मलाई यस कुनामा थुपारेर उल्टै अन्याय गर्यौ ।
– मेरो अमनचयन खोसेर मलाई गुफाबासी तुल्यायौ ।
– मेरा मुद्दाका सारा फाइल बन्द गरी शिरमा बसायौ र बेलाबेलामा तलबाट सुइराले घोच्न थाल्यौ ।

मान्छेको होस् फर्कियो । हात जोड्दै बिन्ती बिसायो– “मैले भुलले तपाईँ माथि हात छाडेँ । म सारा बोली फिर्ता लिन्छु । बदलामा मलाई क्यान्सरले गुम्न लागेको जीवन फर्काइदिनुस् ।”

भगवान् बोले, “यस अमृतबेलामा चिच्याउने बानी त्याग । आफूभित्रको घण्टी बजाउने नयाँ बानी रोज ।”

++++

२.  उपचार
“सबै सुख दिइस्; अब मात्रै एक पटक दुःख दे ।” बाको कुराको जवाफमा मैले आनाकानीको भाषा बोलेँ; “म बालाई सुख दिन जन्मेको हुँ । दुःख दिन मेरो संविधानमा लेखेकै छैन ।”
– नलेखेको भए लेख् ।
– आफ्नो अनुकूल संविधान फेर्दै हिँड्न चाहन्न ।
– म तेरो बाउ, तँ मेरो छोरो ! म भन्छु, तँ समयानुकूल काम फत्ते गर् । 

यसरी बुबाले जिद्दीको महाभारत ठड्याउनुभयो । म हायलकायल भएँ । चौरासी  गरिसकेका बुबाको मन चिमट्ने साहस आएन मेरो । 

म पग्लेको देखेर हात जोड्दै उहाँले भन्नुभयो, “तेरो सेवामा कुनै कमजोरी छैन । तँ मेरो विन्ती बुझिदे । मलाई आनन्दको श्वास फेर्न दे ।”

“जीवनसँग जुध्नुको मज्जा अर्थोकबाट पाइन्न ।” मनमा यस्तो विचार आउँदै थियोे । बुबाको दयनीय अवस्थाले गर्दा आँखा र ओठले एकसाथ धर्म छाड्न पुगेछन् ।


बुबाले नै मनमा ऊर्जा भरिदिनुभयो र भन्नुभयो; “माया र भावनाको पिछलग्गु बन्दा धोका मिल्छ, वास्तविकताको पछि लागे संसार  जितिन्छ ।”


म शान्त भएँ । मन बलियो बनाएँ । उहाँको उपचारमा अनेक ठाउँ पु-याएको र सबै ठाउँबाट घरै फर्काउन भनेको सम्झेँ । शारीरिक  पीडाले उहाँ हर्दम छट्पटिएको साक्षी म स्वयं थिएँ । बुबासँगै चौबीसै घण्टा रहेर पनि उहाँको मन पढ्न नसकेकोमा म घोत्लँदै थिएँ; उहाँको बोली सुनेँ; “पीडाले छट्पटाउँदै हरपल मर्न सक्तिनँ अब ।”


मैले जिज्ञासु नेत्रले उहाँतिर हेरेँ । उहाँले थप्नुभयो; “डाक्टरको रोहबरमा सिर्फ एकै पटकमा सेलाउने कानुनी उपचार गरिदे ।”


++++

३. राखी
“तेरो बोली त के अनुहार पनि हेर्न चाहन्न ।” खप्पिसराजले क्रोध जतायो । उसका मतियारहरुले थपडी बजाएर समर्थन गरे ।

क्रिमराजले प्याच्चै भन्यो; “मलाई झन तेरो छायादेखि नै घृणा जाग्छ ।” उसका समर्थक पनि चार हात उफ्रिए ।
केही समयदेखि उनीहरु बीच पानी बाराबार थियो । एउटै छानामुनि बसेर दुबै टाउका माथिको छानो कोतर्थे । जतिजति छानो घाइते हुन्थ्यो उतिउति उनीहरु रमाउँथे । यस्ता क्रियाकलापले घर धराप भएर गयो । घनघोर वर्षाले छानो चुहेर उनीहरु दुबै घरको न घाटको भए ।

यद्यपि बाझाबाझमा उत्रिरहे । पाखुरा सुर्कासुर्की चलिरह्यो । मल्लयुद्धको शंख बजाउन आदेश हुनै लाग्यो । चारैतिर प्रलयको धुँवा मडारिँदै गयो । खोलामा पानीको साटो रगतका फाल्सा बग्ने सम्भावना जिउँदो हुँदै आयो । पाखुरीमा शक्ति र मनमा अङ्कार हुनेहरु होली र दशैँ एकै पटक आउँछ भन्दै थिए । तिनै अतिवादको नेतृत्व खप्पिसराज र क्रिमराजले समाल्दै थिए ।


त्यति बेलै नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोर सेता दारीसहित टुप्लुक्क देखापरे । एकाएक खप्पिसराज र क्रिमराज फ्रिज भए । चारैतिरको सङ्कटको तुवाँलो हट्दै आयो । मन्दमन्द सुवाससहितको शितल हावाले पुष्पवृष्टि गराउन थाल्यो । अहङ्कारी शिर लत्रिए । निर्दोष चेहरा उज्यालिए ।


“बंगाल विभाजनको क्रममा हिन्दु–मुस्लिमको बिचमा भाइचाराको मोहनी मैले नै लगाएको थिएँ ।” टैगोरको यस्तो बोली सुनेर अतिवादी नाइकेले आशले शिर उठाउँदा उनले थपे; “दिगो हितका लागि तिमीहरुले रक्षा बन्धनको सूत्रमा उनिनुपर्छ ।”

-बेलका नपा २ सिद्धाार्थटोल, उदयपुर 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment