शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 15, 2024

ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य'को कविता

  

 सालिनाप्रति समर्पित 

मैह्ना फागुन बाह्रको दिन थियो मध्याह्न ढल्केपछि
पत्यारै नहुने भयो नि घटना मच्चाउने त्रासदी
सुन्दैमा मुटु काँप्छ, फाट्छ मन यो छाती बनी नौ चिरा
पङ्खाको मुनि झुण्डिएर मरिछन् ती शालिना बालिका ।।१।।
 
मात्रै ते¥ह पुगेर चौध वयमा लाग्दै गरेकी थिइन्
छात्रावास बसेर आठतिर ती पढ्दै रहेकी थिइन्
छुट्टीमा शनिबार न्वाइ कपडा जुत्ता धुँदै पो थिइन्
के सम्झेर, बुझेर हाय बिचरी ती शालिना भुण्डिइन् ।।२।।
 
आमा–बाबु थिए, परन्तु टुहुरीजस्तै बनेकी थिइन्
ती आफन्तसमेतबाट पहिल्यै टाढा भएकी थिइन्
आमा–बाबु भने दुवै अलग थे सम्बन्ध विच्छेदमा
कोही साथ थिएन दुःख–सुखमा पोख्ने गुनासो त्यहाँ ।।३।।
 
आमा छन् परदेशमा सँगसँगै बाबू छ अर्कै उता
बाबा छन् घरमा परन्तु सँगमा आमा छ अर्कै यता
मामाको घर पर्छ झन् नजिकमा विद्यालयै छेउमा
पर्दा दुःख थिएन आखिर कुनै मान्छे भने साथमा ।।४।।
 
गाली शिक्षक गर्दथे घरिघरी वार्डेन हप्काउँथे
साथी भन्नु झनै मिलेर त्यसमा होच्याइ बोलाउँथे
साराबाट विरक्त जीवन हुँदा एक्ली सरीकी थिइन्
यस्तै कारणले विना कसुरमा ती शालिना झुण्डिइन् ।।५।।
 
डोरी स्काउटको गला टनटनी घाँटी कसेको थियो
देख्ता मानिसले शरीर उनको लत्री सकेको थियो
चश्मा साथ थियो, मुहार उनको उस्तै थियो सुन्दर
मात्रै प्राण थिएन हाय विचरी ती शालिनाको तर ।।६।।
 
आमाको अनि बाबुको र घरको माया कठै पाइनौ
जो आफन्त थिए तथापि तिनको झन् स्नेह नै पाइनौ
विद्यालयबाट हेलित हुँदा दुर्दान्त बाटो लियौ
यो संसार उसै त्यजेर दुनियाँ हे शालिना गैगयौ ।।७।।
 
पीडा थे मनभित्रका जति सबै गाली–पखाली गयौ
सारा छन् धरतीभरी झिलिमिली खाली तिमी पो भयौ
तिम्रो छैन यहाँ उपस्थिति हरे यो जन्म बेकार भो
लेखौं के र कथा–व्यथा हृदयले सम्झन्छु धिक्कार हो ।।८।।
 
छोरी जन्मनु पाप हो यदि भने यो सृष्टि बेकार हो
एक्लो बन्नुछ यस्तरी अझ भने आफन्त धिक्कार हो
मर्दा न्याय भएन बाँच्नु कसरी पाइन्न बाटो भने
यो संसार निरर्थ बन्दछ स्वयम् छोरी भएनन् भने ।।९।।
 
तिम्रो रूप स्वरूप सुन्दर हुँदा लाग्थ्यो थियौ किन्नरी
स्वर्गैबाट परी झरेर पृथिवी आयौ बनी सुन्दरी
थोरै काल जिएर दुःख–सुखको संसार छाडी गयौ
को लेख्ला अब दुःखको विरहको साझा कहानी भयौ ।।१०।।
 
मान्छे हो अब राखिदेउ करुणा केले भयो दुर्गति
माया–प्रेम नपाउँदा विरहमा आयो कुनै दुर्मति
आफ्ना बालक–बालिका सँगसँगै हुर्काउ माया गरी
अर्काको भरमा नराख यसरी झुण्डेर मर्लान् चरी ।।११।।
 
- महाकवि देवकोटा आश्रम, हालः बेघर ।

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment