शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 8, 2024

इन्द्रकुमार श्रेष्ठका दुई कविता




यस्तो गणतन्त्र !   

कसैलाई भोकभोकै मार्छ    
कसैलाई शीत लहरले मार्छ
पेट्रोल खन्याएर, झुन्ड्याएर
कसैलाई हाम्फाल्न लगाएर मार्छ
उद्योग बन्द ! कलेज बन्द !

वाध्य बनाएर युवालाई
लाइन लगाएर विदेश पठाउँछ
बसेकालाई करको भारी बोकाउँछ
आफू खान्छ, परिवारलाई ख्वाउँछ

गणगणमा बाँडेर आ-आफ्ना 'गण'लाई ख्वाउँछ।

भ्रष्टाचार/काण्ड सयौँ मचाउँछ
आफू र आफ्नाहरूलाई बचाउँछ
गर्नुपर्ने कामै नगरी
खालि नगर्नुपर्ने काम गर्न रुचाउँछ
हजारौँ विरोधले कामै गर्दैन
अगस्तिले जस्तै खान्छ, पचाउँछ
सुविधा लिन्छ, गाडी किन्छ
अझै सुविधाको महल बनाउँछ
गरिब जनतालाई झन्झन् ऋणको भारी बोकाउँछ
यस्तो गणतन्त्र यही देशमा आउँछ ।

******************

क्रमशः निरन्तर

इतिहासमा पढेको-     
सदाचार र सुशासन कायम गर्ने हल्ला गरेर
सत्तामा पुगेका जीबा 
सत्तासीन भएको भोलिपल्टैदेखि
अत्याचारी भएर निस्केकाले
सहनै नसकेपछि 
हजूरबाले आफ्नै बालाई मार्न लगाउनुभएछ !

अरुहरुका मुखबाट सुनेको-
सदाचार र सुशासन कायम गर्ने नारा उचालेर नै
हजूरबा पनि सत्तामा पुग्नुभएछ
तर सत्ताको कुर्सीमा बसेको साँझैदेखि
उहाँ पनि अराजकतावादी र हैकमवादी हुनुभएछ
अनि बाले सकेसम्म सम्झाउनुभएछ
कुनै उपाय नलागेपछि 
बाले पनि कठोर निणर्य गर्नुभएछ
बालाई आफैंले सुटुक्क मार्नुभएछ !

म आफैंले देखेको-
सदाचार र सुशासनकै पक्षमा कुरा गरेर
हजूरबाको निन्दा गर्दै 
बा पनि सत्तामा पुगिछाड्नुभयो
तर उहाँ पनि 
त्यो अलच्छिनी र अपजसे कुर्सीमा बसेकै बिहानैदेखि
एकदमै अलोकप्रिय लक्षण देखाउन थाल्नुभयो
मतिभ्रष्ट व्यक्तिका रुपमा परिचित हुनुभयो

एकपछि अर्को गरी
थुप्रै राष्ट्रघाती कामहरु गर्नुभयो
उपाय केही थिएन
जनमत लिनका लागि
सबैले देख्ने गरी
म आफैंले 
आफ्नै बालाई मारें ।

अहिले
मेरो छोरा मलाई देखिसहँदैन 
भन्छ-
‘तपाइँ रहँदासम्म देश रहँदैन ।’

-ओखलढुङ्गा हालः भक्तपुर

No comments:

Post a Comment