नेपाली साहित्यको आँगन महिलाका आवाजले सधैँ उज्यालो पार्दै आएको छ। घर–व्यवहार र सामाजिक बन्धनका बीचबाट पनि नेपाली नारीले आफ्ना दुःख, सुख, सपना, संघर्ष र मनका कुरा शब्दमा पोख्दै आएकी छन् । ती शब्दहरू आज कविता बनेर समाजको ऐना मात्र होइन, समयको साक्षी पनि बनेका छन् ।
महिला सर्जकहरूले नेपाली साहित्यमा केवल आफ्नो उपस्थिति जनाएका छैनन्, आफ्नो छुट्टै स्वर र पहिचान पनि स्थापित गरेका छन् । उनीहरूले नारी जीवनका भोगाइ, विभेद, माया, ममता, स्वतन्त्रता, संघर्ष र सामाजिक विसङ्गतिलाई साहित्यको विषय बनाउँदै नेपाली कविताको विषयवस्तु र संवेदनालाई फराकिलो बनाएका छन् । विभिन्न साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नु, आफ्ना कृति प्रकाशित गर्नु, साहित्यिक संस्था तथा गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु र नयाँ पुस्ताका सर्जकलाई लेखनतर्फ प्रेरित गर्नु उनीहरूका महत्वपूर्ण उपलब्धि हुन् ।
तर यो यात्रा सहज भने छैन । घरको जिम्मेवारी, समयको अभाव र सामाजिक सोचका अनेक पर्खालबीच पनि महिला सर्जकहरू निरन्तर कलम चलाइरहेका छन् । यही निरन्तरताले नेपाली साहित्यमा नयाँ पुस्ताका महिला कविहरूका लागि बाटोसमेत फराकिलो बनाउँदै गएको छ ।
कविता संसार महिला सर्जकका यी आवाजलाई सम्मानपूर्वक पाठकमाझ पुर्याउने साझा चौतारी बन्न चाहन्छ । किनकि महिलाको अनुभव र आवाजबिनाको साहित्य अधुरो हुन्छ । आधा आकाशका अनुभूति र आवाज समेटिएपछि मात्र नेपाली साहित्यको आकाश अझ फराकिलो र समृद्ध बन्न सक्छ ।
अङ्क ३६ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस् ।


No comments:
Post a Comment