बुद्धिमानको त्यो बुद्धि
● ओम बस्नेत
बुद्धिमान गाउँको ठेकदार हो। जे जस्तो काम गरेतापनि आखिरमा पाउने भनेको उनले नै हो । काम पाउन लागि उनी कुरा गर्न निकै सिपालु छन् । त्यति मात्र हैन, उनी जे गर्न पनि तयार हुन्थे ।
सुखालाखा गाउँको समस्या भनेको खानेपानीको हो । हिउँदको समयमा उक्त गाउँमा बिहेबारी र मर्दापर्दा गाउँका युवाहरु मिलेर समाजसेवाको रुपमा निकै टाढाबाट पानी बोकेर ल्याएर काम चलाउने गरिन्थ्यो । हरेक चुनावको बेला पानीका लागि त्यहाँ भोट माग्ने गर्दथ्यो । चुनाव जितेपछि त्यो नारामा मात्र सीमित हुन पुग्थ्यो । त्यस ठाउँमा धेरै समयदेखि खेती कम, कुरा बढी हुन्थ्यो । भनौं त त्यहाँ आकाशे पानीको भरमा खेती हुँदै आइरहेको थियो । यो समस्या तिनै गाउँलेहरुलाई मात्र अवगत छन् ।
देशव्यापी रुपमा जल जीवन परियोजनाको सर्वे भयो । त्यसमा सुखालाखा पनि परेको थियो । वर्षातको बेला `मुसे खोल्सा´को पानी उब्जनीलाई पुगे पनि हिउँदमा त्यो सुक्थ्यो । यसैलाई ध्यान दिदैं डिपीआर तयार भयो ।
बुद्धिमानले बढी बुद्धि लगाएर पाइप विछ्याउने काम गरे । आरसीसी ट्याङ्की बनायो तर वर्षातमा सुरु गरेको काम सक्दा नसक्दै हिउँद लागि हाल्थ्यो । मार्च महिनामा भुक्तानी पाउनु पर्ने हुँदा उनको गृहकार्य निकै बढ्यौ ।
विभागबाट निरीक्षणका लागि आउने भए । स्थानीय पञ्चायत र गाउँका टाठाबाठा पनि कमिशन पाउने भएकाले आए । पानी गाउँमा आउने दिनको घोषणा भयो ।
सबै खुसी थिए । अब बुद्धिमानको महान् बुद्धिको खेल सुरु भयो । इसलामपुरका कामदारहरुले आदेश बमोजिम रातभरि खोलाबाट पानी बोकेर गाउँको सिरानमा बनाएको ट्याङ्कीमा भर्नुपर्ने भयो ।
राती आफै पुगेर कामदाहरुलाई चिया र खाजा खुवाएर बिहानसम्म ट्याङ्की भराए । विभागबाट निरीक्षण टोली आयो । सो दिन घर घरमा पानी एक घण्टा आएकाले फारो गरेर चलाउन भन्यो । यसरी निरीक्षण कार्यक्रम सके लगत्तै उनले भुक्तानी पाइयो । यसपछि उनी मधेशतिर झरे । विभागबाट फोन आएपछि उनी नराम्रोसित झस्केका थिए । अब धाराबाट पानी आउन छाड्यो । तैपनि यसमा कुरा मिलाउन हरेक ठाउँमा च्यानल मिलाएर काम तमाम गरे ।
मौकामा चौका हान्न खप्पिस बुद्धिमान सत्तारुढ पार्टीमा प्रवेश गरे । त्यहाँ उनलाई भव्य स्वागत गरेको थियो । तसर्थ उनी विभिन्न सञ्चार माध्यममा मज्जाले छाएको थियो । अन्तत:बुद्धिमानले आफ्नो बुद्धिको कमाल देखाएर नै छाड्यो ।
*******************
चन्दनको दाउरा
गंगाघाटमा गुप्ता सरको आमाको अन्तिम संस्कार भयो । १०/१२ जना थियौं मलामी । मलामीमा पनि अनौठो अनुहार परेको म हुँदा गुप्ता सरको आफन्तहरुको चासोको विषय भएको थियो ।
हामी एघार वर्षसम्म एउटै स्कूलमा थियौ तर नेपालीभाषा कहिले सिक्न सकेनन् गुप्ता सरले । उनकै हिसाबले जति नेपालीभाषा बिगार्न सक्थे त्यति बिगारे । अझ अघि नबढ़ोस् भनेर म हिन्दी नै बोल्थें ।
"मरेरे मरेरे आई पोंगी हाले। ओकालो चल्ने बानी छैन नो" भन्थे कुरा सुनेर सबै स्टाफहरु हाँस्थे। गुप्ता सर असल जिन्दगीमा पनि धेरै हिसाबले चल्थे । खानेकुरा फ्याँकेको देख्नै सक्दैन थिए । पुरानो पाइण्ट काटेर धोक्रो बनाउँथे । बजारमा किनेर केही खाँदैन थिए, बजारको रेडिमेड खानेकुरा स्वास्थ्यको लागि हानीकारक छ उनी भन्थे । उनको यसप्रकारको गतिविधि र व्यवहारले म धेरै प्रभावित पनि थिएँ ।
उनले अवकास प्राप्त गरेको दिन हाम्रो धेरै लामो गफ भएको थियो । "कभी आइएन् ओमजी हमारे घर बनारसमें भी" भनेको थियो मलाई ।
केही वर्षपछि बनारस घुम्न परिवारसहित गएँ । फोन गरेर बनारसमा छु भनी हालें। उनले भने, "अरे ओमजी मेरी माताजीका स्वर्गवास हुआ है। अस्पताल से घर लेके जा रहे हैं अभी। आप इधर ही हैं तो कल आईए" भने पछि म जसरी पनि जानै पर्ने भो ।
म बसेको होटलदेखि एक घण्टाको बाटो रहेछ । परिवारलाई होटलमै छाडेर म लागें गुप्ता सरको घर बिहानै । म ठिकै समयमा पुगेछु । मलामीमा सरिक हुन पाएँ । "राम नाम सत्य है" भन्दै पुग्यौ गंगाघाट ।
सबै काम सकियो तर गुप्ता सर र उसको बूढ़ो बाबुको झगड़ा हेर्न लायकको थियो । सरको एउटा हातमा दाऊ (बाम्फोक जस्तै) थियो अर्को हातमा कालो दाउरा । शव जलाईसकेपछि सबै दाउरा एक ठाउँमा जम्मा गरेर अधकल्चो डढेको कालो भाग खुर्किदै थिए । कुरा बुझ्दा त्यो दाउरा मामुली थिएन चन्दनको रहेछ।
"इतना भी कंजूसी मत दिखाओ की लोग तुम पर हँसे। क्या बेवकूफी है ये फेंको सब" भन्दै थिए उनको बाबुले ।
"मेरी माँ की अंतिम इच्छा थी कि उनका पुरा शव चन्दन की लकड़ी से जले। मैंने उनकी इच्छा पूरी की लेकिन ये बचा हुआ लकड़ी क्यों फेकुं इसको साफ करके घर मे रखेंगे तो फिर एक दिन काम मे आएगा । पन्द्रह हजार लिया है लकड़ी वाला ने । इतनी मेहेंगी लकड़ी है क्यों बर्बाद होने दूँ?" भने सरले । मलाई थाह थियो गुप्ता सरको बानी । बाबु छोराको ठुस्का ठुस्कीमा छोराले जित्यो। गुप्ता सरको हिसाब मलाई पनि मनप-यो।
मेरो श्रीमतीलाई होटलमा आएर सुनाएँ । सुनाउनै पर्ने थियो ।
-सिक्किम
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment