शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 12, 2024

गीताश्री शर्माको कथा


कुरी टाका !


- गीताश्री शर्मा
हिउँदका दिन । गान्तोकको ठिही ! सधैँको चटारो ! दुवैबाट छुट्कारा पाउन गोकुल र गौरी मधेस झरे ! गोकुलले नेपाल जाने कुरा राख्यो । रातदिन गएको ठाउँ, गौरीले यस पटक कोलकोता जाने कुरा गरी । गोकुल नतमस्तक, कुरा काटेन । श्रीमतीको मनशाय बुझेर गोकुलले छोरीलाई शताब्दी रेलको अनलाइन टिकट काट्न लगायो । सुइँको नै नदिइकन चखेवाचखेवी जोइपोइ कोलकोता हानिए। शताब्दीको सेवा, ससुराली गएको ज्वाइँको भन्दा कम थिएन, गौरी रमाएकोमा गोकुल गदगद थियो ।
गोकुलका निम्ति कोलकोता पानीको पँधेरो थियो, गौरीको प्रथम ! उत्सुक देखिन्थी । कहिले बाहिरको, कहिले भित्रको फोटो खिच्न भ्याइनभ्याई थियो ।
मिडल्टन रोडस्थित "सिक्किम हाउस" सिक्किमेहरूका निम्ति आफ्नै घरजस्तै हो । कोलकोता पुगेपछि कालीघाटमा रहेको पवित्र कालीमन्दिर दर्शन नगरे मनोकामनासँगै यात्रा पूरा हुँदैन, सबैको मान्यता छ ।
बिहानै नुहाइधुवाई गरी गौरी र गोकुल चियामात्र खाएर मन्दिर हिँडे । "यहाँका पन्डाहरू बाठामात्र होइन धूर्त पनि छन्", गोकुले गौरीलाई सतर्क गरायो । एकजना पन्डाले भीआइपी दर्शन गराउन पछिबाट छिरायो । मन्दिर भीडभाड थियो । गोकुल भगवानको परम् भक्त भएर पनि लाइनमा उभिनु एलर्जी ठान्थ्यो ।
दर्शन गरेर निस्कँदा समय निकै बितेछ, भुँडीमा मुसा कुद्न थाले । मन्दिर परिसको नवनिर्माणले वरिपरिका ससाना दोकानहरू जताततै अव्यवस्थित थिए । भोकले खपिनसक्नु भएको थियो । त्यसै पनि गोकुल चिनीको बिमारी, गौरी आफूलाई भन्दा पनि पतिको चिन्तामा देखिन्थिन्। यता उता खाने ठाउँ हेर्न थालिन् । छेउछाउका दोकानेहरू कराउँदै थिए,- "कुरी टाका," "कुरी टाका" गौरीले भोकको ज्वाला दन्किएको पेट, "पुरी" भनेको सुनिछन्, "यहाँ पुरी पाउँदो रहेछ, खाएर जाउँ हुन्न ?" गोकुललाई खुसी पार्न गौरीले भनिन् । गोकुल मुसुमुसु हाँस्यो ! "उ--ऊ-- सुन्नु त ...... !"
"कुरी टाका, कुरी टाका" मन्दिरमा चढाउने फूलका ढाकी र अन्य सरसामान वरिपरि राखिएका थिए । "लाटी त्यो त फूलवाला हो! "कुरी टाका" भनेको बङ्ला भाषामा 'बीस रुपियाँ" भनेको।
बिचरा गौरी ! भाषा नबुझेपछि के लाग्छ ? फेरि भोकले अलसतलस भएको समय पुरी सुन्नु पनि स्वाभाविक हो । गौरीका गाला त्यसै पनि काश्मिरी स्याउ जस्ता, रगत चुहुला जस्ता भए ।
"बङ्ला भाषा मीठो र धनी छ, सबै पढन्ते छन् , रवीन्द्र सङ्गीत विश्वप्रसिद्ध मानिन्छ। लाखौँका सङ्ख्यामा पुस्तक, पत्र-पत्रिका बिक्छन् । भाषा सिक्नुपर्छ।" गोकुलले गौरीलाई सम्झायो ।
अहिले पनि गोकुलले कुरी र पुरीको कुरा झिकेर गौरीलाई रातोपिरो मात्र होइन साथीभाइका छेउमा लाजमर्दो बनाउँछ। -गान्तोक, सिक्किम

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment