शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 5, 2024

कृष्ण प्रधानको व्यङ्ग्य


 संवर्द्धना/अभिनन्दनमा खेलाँचीको पौंठाजोरी

  कृष्ण प्रधान


अचेल ठूला-बड़ा कुनै पनि महामहिमले सामान्य खोके कि उनलाई संवर्द्धना/अभिनन्दन गर्नेहरूको धुइरो लाग्छ । उबेला संवर्द्धना/अभिनन्दन भन्ने कुरो जोसुकैलाई, लरतराहरूको भाग्यमा पटक्कै जुरेको थाहा छैन मलाई । कुनै पनि क्षेत्रमा विशेष अभूतपूर्व योगदान पुऱ्याउनेहरूलाई मात्र सम्मानपूर्वक संवर्द्धना / अभिनन्दन गरी उनको योगदानको कदर गरिन्थ्यो। अचेल त्यस्तो छैन । अचेल काखी चेपाइ, लबी, भाइ-भतिजावादको बुइँ चढ़ेर संवर्द्धना/अभिनन्दनले पौठाजोरी खेलिरहेको स्पष्ट देखिन थालिएको छ । कतिले यसलाई जुङ्गा हेरेर भाग लाएको हो भने पनि यसमा म पटक्कै सहमत छैन । अचेल ता जुङ्गा नहुनेले पनि संवर्द्धना/अभिनन्दन आफ्नो झोलामा हालिनै रहेका छन् कि हालिनै रहेका छन् ।       

हुन ता अहिले समय नै प्रोपोगाण्डा अर्थात् प्रचार-प्रसारको छ । प्रोपोगाण्डा हुनुपर्छ तर त्यसको पनि एउटा मर्यादा छ, सीमा हुन्छ । कुनै पनि मान्छे हिजोआज प्रचार-प्रसार चाहन्छन् । यो मान्छे नामको जनावरमा हुने स्वाभाविक प्रवृत्ति हो। तर केरा पायो भन्दैमा बोक्रैसित गमऱ्क्याउनु चाहिँ हुँदैन भन्ने मेरो मूख विचार छ । यो संवर्द्धना/अभिनन्दन ग्रहण गर्न के साह्रो रहर लागेको...अचम्म र उदेक लाग्छ ।

साहित्य-संस्कृति-समाज-खेलकूमा अमूल्य, कसैले गर्नै नसकेका काम फत्ते पार्न सक्नेलाई मात्र संवर्द्धना/अभिनन्दन प्रदान गरिएको हो अरुको होइन तर संवर्द्धना/अभिनन्दनकै इज्जत बाँच्छ क्यारे! खासै भनुँ भने, यो संवर्द्धना/अभिनन्दनको कुनै मान-मर्यादा, इज्जत-सम्मान केही छैन । किनभने, संवर्द्धना/अभिनन्दन  समारोह आयोजन गर्ने संस्थाका सदस्यगणले रगत पसिना फुर्मास गरी प्रदान गरेका संवर्द्धना/अभिनन्दन पत्र, कदर पत्रको सम्मान प्राप्त गर्नेहरू कतिले  गरेका होलान् वा गर्दा हुन् त्यसमा प्रश्न चिन्ह उभ्याउन सकिन्छ । धेरै साहित्यकाहरूका घरतिर जाने अवसर प्राप्त भएको छ । उनीहरू विभिन्न संवर्द्धना/अभिनन्दनले सम्मानित भएका छन् । कुनै कुनै साहित्यकाहरूका संवर्द्धना/अभिनन्दन पत्र (कुनै ऐनाको फ्रेममा बाँधिएका, कुनै कुनै भने लेमिनेसन गरिका)हरूको थाक देखेँ । उनको अध्ययन कक्षका भित्ताभरि संवर्द्धना/अभिनन्दन पत्रै-पत्र सुन्दर रुपमा सजाएर वा झुण्ड्याइए राखिका देखिए पनि ठाउँ नपुगेर धेरजसो  संवर्द्धना/अभिनन्दन पत्र गोदाममा वा टाँड़मुनि खाँदेर राखिएको देखिन्छ । संवर्द्धना/अभिनन्दन पत्र प्रदान गर्नेले कति मान, कति मर्यादापूर्वक प्रदान गरिएका त्यस्ता संवर्द्धना/अभिनन्दन पत्रहरूको अपमानले आत्महत्या गरे झैं  लाग्छ मलाई । 


"

कतिले चाहिँ
संवर्द्धना
/अभिनन्दन पत्र 
पाउनको निम्ति आयोजक संस्थालाई
जम्मै खर्चपात बेहोर्छन् भन्न पनि गाइँगुइँ छ।


"

खुसामदी गरेर, जदौहजूरी गरेर, लबीको माध्यमबाट फेला पारेका संवर्द्धना/अभिनन्दन पत्रलाई घरमा पुऱ्याएपछि अफालिने गरिन्छ वा त्यसको कुनै मान-सम्मान नरहेको बुझिन्छ । आफूले साँच्चै अभूतपूर्व योगदान पुऱ्य़ाएर, रगत पसिना फुर्मास गरी सम्बन्धित विषयमा केही गरेको भए पो त्यस्ता संवर्द्धना/अभिनन्दन पत्रको मुल्य र मह्त्व बुझ्छन्। बाँदरलाई अदुवाको के स्वाद? संवर्द्धना/अभिनन्दन पत्र विशाल दर्शक अघि ग्रहण गर्नुछ, पुष्पहार लाउनुछ, करतल ध्वनिले स्वागत हुनु छ अनि साँझतिर आज मलाई फलानु संस्थाले फलानु विषयमा योगदान पुऱ्य़ाए वापत प्रदान गरेको संवर्द्धना/अभिनन्दन पत्रको निम्ति फलानु संस्थाप्रति आभार व्यक्त गर्दछु" भनी स्टट्यासमा लेख्नाका साथै संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्दै गरेका ठूल्ठूला फोटाहरू पोष्ट गर्छन्। बस यति भए उनको धोको पुग्यो ।

कतिले चाहिँ संवर्द्धना/अभिनन्दन पत्र पाउनको निम्ति आयोजक संस्थालाई जम्मै खर्चपात बेहोर्छन् भन्न पनि गाइँगुइँ छ। तसर्थ आफूले खर्चपानी दिएर संवर्द्धित/अभिनन्दित हुने संवर्द्धना/अभिनन्दन पत्र भोगी जनावरहरू नि रहेछन् भन्ने प्रमाणित भइसकेको छ ।

खासै कुरा भन्नु हो भने, संवर्द्धना/अभिनन्दन प्रदान गर्ने गराउने चलनले राँटो लाइसकेको छ । जस्तो जोसुकै जुनसुकै पाराले संवर्द्धना/अभिनन्दन पत्र प्राप्त गर्नेले आफूलाई अरुभन्दा निकै अग्ला, भयङ्कर, सर्वश्रेष्ठ ठान्ने गर्दछन् । खासै योगदान पुऱ्याएर संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने असली भागीदारले आफूले ग्रहण गरेका संवर्द्धना/अभिनन्दन पत्रलाई बड़ो आदरपूर्वक आफ्नो बैठक कोठामा राख्छन् । बैठक कोठामा त्यसले शोभा बढ़ाएको हुन्छ। तर आफूले ग्रहण गरेका संवर्द्धना/अभिनन्दन पत्रको विज्ञापन गरेको कहिल्यै देखिँदन । तर भुइँफुट्टे संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्नेले आउने जाने सबैले देखुन् भनी घरको बाहिर झुण्ड्याएको पनि देखिएको छ ।

कुरा निस्किहाल्यो। एउटा नामुद्दार संस्थाका सचिव र अध्यक्षले मलाई सम्मान गर्ने कुरो जाहेर गर्दा मैले सो सम्मान ग्रहण गर्न असहमति जनाउँदै भने, होइन...क्षमा गर्नुहोला। मलाई अझै केही काम गर्न दिनोस्। अहिल्यै नै संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने मेरो समय भएको छैन ।

सचिवले भने, ''तपाईंका कृतिहरू कतिवटा प्रकाशित भइसकेका छन्?

मैले भनेँ, पैत्तीसवटा ।

अध्यक्ष बोले, ओहो...सरी...सरी...त्यसोभए तपाईं हाम्रो संस्थाबाट दिइने संवर्द्धना/अभिनन्दन पत्रको हकदार बन्न सक्नुहुन्न ।"

मैले तुरुन्तै सोधेँ, किन हजूर?

सचिव बोले गम्भीर मुद्रामा- ए...हाम्रो संस्थाले ता एउटै पनि कृति प्रकाशित नगरेका साहित्यकारलाई मात्र संवर्द्धना/अभिनन्दन गर्छौं। तपाईंलाई यति धेर किताब कसले छाप्नु भन्यो?" म मौन बसेँ ।

हिजोआज यो संवर्द्धना/अभिनन्दन पत्र प्रदान गर्ने वा ग्रहण गर्ने परम्परा पगली आइमाईको धोतीजस्तो लाग्न थालेको छ मलाई । किनभने ऐरै-गैरे-नत्थुखैरेलाई पनि संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिन्छ । यसकारण यो परम्परा खेलाँची भएको छ । अब संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिनुमा खेलाँची गरिनु हुँदैन । लापरवाही गरिनु कदाचित हुँदैन। नत्र गुहू र गोबरमा भिन्नता र फरक नै के रहला?

कुनै पनि क्षेत्रमा कुनै योगदान नपुऱ्याइ आफूले नै खर्चपानी बेहोरी संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने भाइरसलाई मनभित्रैबाट उखेलेर फ्याँक्नुपर्छ । यो संवर्द्धना/अभिनन्दनमा खेलाँचीको पौंठाजोरीमा रोकथाम गरिनुपर्छ । ताकि संवर्द्धना/अभिनन्दन ग्रहण गर्न योग्यका व्यक्तिको सम्मानमा कुनै कलङ्क नलागोस् । कसैलाई नाकनिक नहोस् ।

-सिलिगुड़ी (भारत)


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment