शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 8, 2017

गौतम बुद्ध शान्तिका दुत होइनन् –बसन्त महर्जन, बौद्ध धर्मविद्

बसन्त महर्जन
वसन्त महर्जन लेखक तथा अन्वेशक हुन् । बौद्ध अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट २०७१ मा एमएका गोल्ड मेडलिस्ट उनी हाल ललितपुरस्थित पाटनमा रहेको लोटस एकेडेमी कलेजमा बौद्ध धर्म अध्यापन गराउँछन् ।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा २०६१ मा एमए गरेका उनले बुद्ध र बुद्ध धर्मसम्बन्धी ७ वटा पुस्तक लेखिसकेका छन् । हिमाल साप्ताहिकमा नियमित रुपमा बुद्ध र पुरातत्वसम्बन्धी स्तम्भकारसमेत रहेका महर्जनले पत्रकारिताबाटै बुद्ध धर्मबारे लेखन यात्रा सुरु गरेका थिए । पत्रकारितामै पहिलोपटक बौद्ध बिट रोजेका उनी मुदिता नेपालका अध्यक्ष पनि हुन् । यस संस्थाले बुद्ध धर्मसम्बन्धी प्राज्ञिक अध्ययन तथा छलफल चलाउने, यस धर्मसम्बन्धी अनुसन्धान गर्ने कार्य गर्दछ । महर्जनले बुद्ध जयन्ती र बुद्ध धर्मबारे बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

बुद्ध धर्म र नेपाल

बुद्ध नेपालमै जन्मे । तर, नेपालमा बौद्ध धर्मसम्बन्धी जागरण आएको धेरै भएको छैन । काठमाडौंमा बुद्धकै युगमा बौद्ध धर्मसम्बन्धी प्रचार भएको हो । तर, बीचमा गोलमाल भयो । राणा शासनले बुद्ध धर्ममाथि दमन गरेको थियो । बुद्ध धर्म मान्नेलाई देश निकाल्ने, प्रचार गर्नेलाई खोजीखोजी जेल हाल्नेसम्म काम गरे । काठमाडौंबाट भोजपुर पुगेका भिक्षु महाप्रज्ञा र भिक्षु अमृतानन्दलाई समातेर जेल हालेका थिए । बुद्ध धर्मसम्बन्धी किताब निकाल्नेहरुलाई पनि जेल हाल्थे । तैपनि काठमाडौंका केही नेवारहरुले यसलाई निरन्तरता दिए । प्रजातन्त्रपछि पनि नेपालमा बौद्ध धर्मबारे खासै जागरण आएन । शेर्पा, तामाङ, गुरुङ जातिमा बौद्ध धर्मबारे जागरण आएको दुई दशक भयो । अहिले त बाहुनक्षेत्रीदेखि अन्य जातिमा पनि बौद्ध धर्मबारे जागरण आएको छ ।

अध्ययन सामग्रीको कमी

जुनसुकै धर्ममा आस्था राख्न र प्रचार गर्न अध्ययन सामग्रीको आवश्यकता हुन्छ । नेपाल भाषामा विभिन्न किताब आयो । बुद्ध धर्मको अध्ययनका लागि चारवटा भाषा महत्वपूर्ण छ, पाली, संस्कृत, तिब्बतियन र चिनियाँ । यी चारवटा भाषा जानेमा बुद्ध धर्म अध्ययन गर्न सजिलो हुन्छ । नेपाल भाषामा बौद्ध धर्मसम्बन्धी सामग्रीहरु छन् । त्यसैगरी अंग्रेजी भाषामा पनि उपलब्ध छन् । तर, ती पनि अनुवाद भएका हुन् । नेपाली भाषामा अध्ययन सामग्री निकै कम छन् । यसले गर्दा पनि नेपालमा बौद्ध धर्मसम्बन्धी विभिन्न भ्रमहरु छन् ।

बुद्ध जयन्ती विवाद र फरक मिति

अहिलेको बुद्ध जयन्ती २५६१ औं वा २५४१ औं भन्नेमा विवाद देखिएको छ । यो विवाद देखिनुको मुख्य कारण नेपालमा जयन्तीमा फोकस गरेका कारण हो । मितिमा भन्दा पनि वैशाख पूर्णिमालाई महत्व दिनुपर्छ । यो कतिऔं बुद्ध जयन्ती भन्ने प्रश्न गर्नुभन्दा वैशाख पूर्णिमालाई हामीले महत्वपूर्ण रुपमा मान्नुपर्छ । बुद्ध जयन्ती भनेको जन्मदिन मात्र समेटिन्छ । बुद्ध पूर्णिमा बुद्धको जन्म, बुद्धत्व लाभ र बुद्धको महापरानिर्वाण भएको एउटै दिनमा मनाइन्छ । त्यसैले यसलाई बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमा भन्नुपर्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ती र महापरिनिर्वाण तीन महत्वपूर्ण अवसर एकै दिन परेको त्रिसंयोगलाई संस्मरण गर्दै संसार भरका बौद्धहरू वैशाख पूर्णिमाका दिन उत्सव मनाउँछन् । विभिन्न मुलुकमा फरकफरक मितिमा मनाइनुको कारण फरकफरक कल्चरका कारण हो । बुद्ध धर्मले दर्शन दिने हो । कल्चर आफ्नो ठाउँअनुसार अपनाउने हो । थाइल्यान्डमा वैशाख पूर्णिमादेखि जेठ पूर्णिमासम्म एकमहिनासम्म मनाइन्छ । बुद्ध पूर्णिमामा बुद्ध धर्मसम्बन्धी सुत्रपाठ गर्ने, पूजापाठ गर्ने, चैत्यविहार घुम्ने यसरी नै बुद्ध पूर्णिमा मान्न सकिन्छ ।

तन्त्रमन्त्रमा बौद्धधर्म

तन्त्रमन्त्र बौद्ध धर्मले पहिले बर्जित गरिएको हो । तर, बुद्धकै बेला पनि तन्त्रमन्त्र लागु थियो । कतिपय अवस्थामा बुद्ध आफैले पनि तन्त्रमन्त्र प्रयोग गरी उपादेश दिनुभएको थियो । अहिले बुद्ध धर्ममा पनि तन्त्रमन्त्र छन् । धर्मलाई विभिन्न अवस्थामा प्रयोग गर्दै आएपछि यसमा थपिएका फिचर जस्तै हुन् तन्त्रमन्त्र । ठाउँअनुसार बौद्ध धर्ममा विभिन्न सामाजिक विषयहरु जोडिन सक्छन् ।

राज्य र बुद्ध वाज बर्न इन नेपाल

बुद्ध धर्मको प्रचार र संरक्षणमा अहिले राज्यले नहेरेको भन्न मिल्दैन । हेरिरहेकै छ । तर, सरकारमा बौद्ध धर्मसम्बन्धी ज्ञान भएका मानिसहरुको उपस्थिति नहुनाले नीति नबन्दा अलि कमजोर देखिएको हो । बौद्ध धर्मसम्बन्धी व्यक्ति, समुदायले बुद्धका तिथिमिति भव्य रुपमा मनाउँदै आएका छन् । तर, हाम्रै देशमा जन्मेका बुद्धको बारेमा सरकार उदासिन भएको जनताको गुनासोलाई सरकारले खासै ध्यान नदिएको भने हो ।
अहिले कतिपयले बुद्ध वाज बर्न इन नेपाल भन्दै विभिन्न धन्दा पनि चलाएका छन् । यो भन्नै पर्ने कुरै होइन । यो कसले नमानेको छ र । भारतले पनि नेपालमै जन्मेको भनेर स्विकार गरेकै छन् । यसमा केही स्वार्थी व्यक्तिहरुले बुद्धलाई कमाइ खाने भाँडोको रुपमा लिएका छन् ।

बुद्ध संसारका ज्योति

बुद्धलाई ‘लाइट अफ एसिया’ भनेर प्रचार गरिएको छ । बुद्ध एसियाका ज्योति हो र ? उहाँलाई त युरोपियन, अमेरिकनले पनि मान्छ नि किन एसियाको ज्योति भन्दिने ? उहाँ संसारकै ज्योति हुनुहुन्छ । उहाँलाई एसियामा खुम्च्याउँदा नेपाली दंग परेको देख्दा मलाइ उदेक लाग्छ । उहाँ मानव मात्रका लागि हो, प्राणीमात्रका लागि हो । बुद्धको उपदेश संसारभरका लागि हो । त्यसैले हामीले अब उहाँलाई संसारकै ज्योति भन्नुपर्छ ।

बुद्ध शान्तिका अग्रनायक

बुद्धलाई प्रचार गर्दा शान्तिका अग्रदुत भन्छन् । के बुद्ध शान्तिको दुत हुन् त ? बुद्ध कसैको मेसेन्जर हो र ? उहाँभन्दा माथि कोही हुनुहुन्छ र ? यसले हेर्दा उहाँबीचका सन्देशवाहक जस्तोमात्र देखिन्छ । शान्तिको दुत होइन, अग्रनायक हुनुहुन्छ उहाँ । त्यसैले उहाँ शान्तिका दुत होइन । उहाँ नै सबैभन्दामाथि हुनुहुन्छ ।

बौद्ध धर्ममा पवित्रस्थलहरु

बौद्धहरुले प्रार्थना गर्दा अतीतका बुद्ध, अहिलेको बुद्ध र पछिका बुद्धलाई सम्झन्छौं । अतीतका बुद्ध २७ जना हुनुहुन्थ्यो, अहिलेको गौतम बुद्ध हुनुहुन्छ । पछिको आउनु भएको छैन । अहिले बुद्धको शासन चलिरहेको
लुम्बिनी, बोधगया सारनाथ, कुशीनगर चार स्थान बौद्ध धर्मको प्रसिद्ध स्थल हुन् । स्वयम्बु, बौद्धजस्ता स्तुपा र विहामा गएर पनि बुद्धलाई दर्शन गर्न सकिन्छ । बर्मा, श्रीलांक, थाइल्यान्डमा यस्ता स्तुपाहरु प्रशस्तै छन् । स्तुपामा माने घुमाउदाँ पनि मन शुद्ध हुन्छ । यसमा ओम माने पद्मे हुँ भन्ने वाक्य पुरा हुन्छ र बुद्ध चित्त पनि ओम माने पद्मे हुँ भन्दै मन्त्र जप्दा एकाग्रता प्राप्त हुन्छ ।

मेरा किताबहरु

मैले लुम्बिनी ऐतिहासिक तथा पुरातत्विक अध्ययन, गौतम बुद्ध, बुद्धको आत्मकथा, लुम्बिनी, बुद्ध र महिला, बुद्ध एक भ्रम अनेक र खस साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन गरी सात वटा किताब लेखेको छु । यी किताबहरुमा बुद्ध धर्मबारेका भ्रमहरुलाई चिरफार गर्ने प्रयत्न गरिएको छ । खश सम्राज्यमा बुद्ध धर्मको कसरी पतन भयो भन्नेबारे पछिल्लो किताबमा चर्चा गरिएको छ ।

No comments:

Post a Comment