शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 9, 2015

एउटा अवैध घर, जसले लियो २८ जनाको ज्यान



  • मदन ढुङ्गाना
यो सोभाभगवती पुल नजिकै भत्किएको एक घरको भग्नावशेषको दृश्य हो । वैशाख १२ गते आएको विनाशकारी भूकम्पको पहिलो धक्कामै भत्किएर २८ जना मानिसको ज्यान लिएको यो ज्यानमारा घर अहिले भग्नावशेष मात्र बाँकी छ ।
डल्लुका सुगतानन्द शाक्यले २०५० सालमा यो घर बनाएका थिए । साँढे ५ तल्ले यो घरका प्रत्येक फ्ल्याटमा ८ वटा कोठा थिए र ती सबै कोठाहरु भाडामा लगाइएका थिए । घरको पहिलो तल्लामा फेन्सी, हार्डवयर लगायतका पसल थियो भने तेस्रो तलामा एउटा जिम हल थियो । डेरामा बस्नकै लागि २८ वटा कोठा भाडामा लगाइएको थियो । तर वैशाख १२ गते आएको पहिलो भूकम्पको धक्कामै यो घर यसरी धूमिल भयो र २८ जनाले त्यही घरमा पुरिएर ज्यान गुमाए ।

विष्णुमति खोलाको किनारमा निर्माण गरिएको यो घरको नक्शा पाससमेत गरिएको थिएन । काठमाडौं महानगरपालिका कार्यालयमा रहेको तथ्याङ्मा यस घरको नक्शा पास नै छैन । किनभने यो घर विष्णुमति करिडोरभित्र परेको थियो र त्यहाँ घर बनाउन प्रतिबन्ध थियो । शोभाभगवती पुलछेउ सुगतानन्द शाक्यको नाममा २ रोपनी १३ आना जग्गा थियो । त्यसमध्ये आफू बस्नका लागि उनले एउटा सानो छुट्टै घर निर्माण गरेर परिवारसँग बसिरहेका थिए । त्योबाहेक अर्को एउटा घरअहिले पनि भाडामै दिइरहेका छन् भने भत्किएको घर पनि उनले भाडा खाने उद्धेश्यले निर्माण गरेका थिए । भत्किएको घरसँगै सरकारी जग्गा अतिक्रमण गरेर सुगतानन्दले अरु ४ वटा जस्ताका टहरासमेत निर्माण गरेका थिए र ती सबै भाडामा दिइएका थिए । पछि घरजग्गा कर लगायत अन्य विषयमा समस्या परेपछि २०६१ सालमा उनले ती जग्गामध्ये कित्ताकाट गरेर केही श्रीमती रेणुकादेवी शाक्य, केही छोरा समन्त शाक्य र केही आफ्नो नाममै राखे । र जुन घर भत्कियो, त्यसको रेखदेख सुगतानन्दका छोरा समन्तले गर्दै आएका थिए । तर वैशाख १२ गतेको भूकम्पले घर भत्काएर यही घरमा २८ जनाले ज्यान गुमाएपछि यस घरका केही थप रहस्यहरु सार्वजनिक भएका छन् ।

यस घरका घरधनी स्वयं स्वीकार गर्छन् कि घरको नक्शापास गरिएको छैन । तर नक्शापास नगरीकनै पनि २० औं वर्षसम्म यसरी उनीहरुले भाडा खाइरहेका थिए । त्यतिमात्रै होइन, उनीहरुले विष्णुमति करिडोरभित्र परेको जग्गामा घरमात्रै बनाएका थिएनन्, सरकारी स्वामित्वको जग्गासमेत मिचेका थिए । तर पनि महानगरपालिकाले कर भने लिइरहेको थियो र उनीहरु त्यही कर तिरेको कागज देखाएर जबर्जस्ती त्यस घर भाडामा लगाइरहेका थिए ।

हाल महानगरपालिकाभित्र घर बनाउँदा अनिवार्यरुपमा नक्शा पास गरेर मात्रै घर बनाउन पाइन्छ । महानगरले सामान्यतः साँढे २ तलाको मात्रै घरको स्वीकृति दिने गरिएको छ । तर बिना स्वीकृति सरकारी जग्गा मिचेर घर बनाउँदा पनि महानगरपालिका भने मुकदर्शक बनेर हेरिरह्यो र अहिले यो पीडा भोग्नुप¥यो । उनले बिना स्वीकृति साँढे ५ तल्लाको घरमात्रै बनाएनन्, घरमा प्रयोग गरिएको निर्माण सामग्री पनि अत्यन्तै कमजोर प्रयोग गरे । घरमा प्रयोग गरिएको रड हेर्दा पनि त्यो स्पष्ट हुन्छ कि यो घर कत्तिको कमजोर थियो भनेर । पहिले खोला बग्ने बालुवाको थुप्रोमाथि ठड्याइएको यो घर ज्यादै कमजोर थियो भन्ने कुरा निर्माण सामग्री र घर भत्कंदा देखिएको बालुवाले पनि स्पष्ट पारेको छ ।
घर किन र कसरी ठडियो भन्ने विषयमा जानकारी माग्दा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का प्रशासकीय प्रमुख पनि अनभिज्ञता प्रकट गर्छन् । उनी भन्छन्, ‘घर कसरी बन्यो थाहा भएन तर भत्काउन खोज्दा सकिएन ।
तत्कालीन अवस्थामा स्थानीय राजनीतिक दलको संरक्षणमा सुगतानन्दले उक्त घर बनाएका थिए । पछि महानगरपालिकाले धेरैपटक भत्काउन खोजेपनि स्थानीय राजनीतिक दल गुण्डा लगाएपछि महानगरपालिकाका कर्मचारी घर भत्काउन नसकी फर्कन बाध्य भएका थिए ।
यता महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेल समयमै उक्त घर भत्काउन नसक्नु महानगरको कमजोरी भएको स्वीकार गर्छन् । समयमै उक्त घर भत्काउन सकिएको भए अहिले क्षति बेहोर्नु पर्ने थिएन भन्दै त्यसमा महानगरको कमजोरी भएको महानगरको स्वीकारोक्ति छ ।
यता मृतकका परिवार पनि यतिबेला आक्रोशित बनेका छन् । उक्त घर बलियो थिएन भन्ने ढलेपछि मात्रै थाहा भएको भन्दै त्यस्तो घर बनाउने र बन्न दिनेलाई कारवाही गर्नुपर्ने मृतकका परिवारको माग छ । आफ्ना ७ जना नातेदार गुमाएकी उर्मिला थापा भन्छिन्, ‘दोषी सबैलाई कारवाही गरिनुपर्छ ।

खोला किनारमा बालुवामाथि कमजोर घर बनाएकाले आफुले आफन्त गुमाउनुपरेको भन्दै अब आफूहरुले घरधनीबाट क्षतिपूर्ति भराउन पीडित परिवारले माग गरेका छन् ।
यता पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि त्यस्ता घर बनाउने दोषीलाई कारवाही गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउनुपर्ने बताएका छन् ।
यसरी सरकारी जग्गा मिचेर भाडा खानकै लाचगि बनाइएको कमजोर घरले २८ जनाको ज्यान लिएको छ । सामान्य मापदण्ड पनि पूरा नगरी बनाइएका यस्ता धेरै घरमा परेर हजारौंले ज्यान गुमाएका छन् । यसमा पहिलो दोषी घरधनी स्वयं भएपनि महानगरपालिका दोषबाट मुक्त छैन । यसर्थ यस्ता संरचना निर्माण गर्ने सबैलाई कारवाही गर्दै यस्ता घरमा परेका मृतक परिवारलाई घरधनीबाटै क्षतिपूर्त भराउनु जरुरी छ ।
शोभाभगवती पुलनजिक भत्किएको साँढे ५ तल्ले घर त एउटा उदाहरण मात्रै हो । काठमाडौं उपत्यका लगायत देशका अन्य भूभागमा पनि यस्ता धेरै संरचना छन्, जुन मापदण्ड विपरीत छन् । यसपटकको भूकम्पले धेरै क्षति पुराएका घरहरुमा मुख्यतः यस्तै प्रकृतिका घरहरु छन् । महानगरपालिका वा नगरपालिकाबाट नक्शापास लगायतका अन्य विषयमा स्वीकृति लिनुपर्ने भएपनि धेरै घरधनीहरुले नक्शा पास नै गराएका छैनन् । पछिल्लो समय बनेका घरहरुमा सामान्यतः नक्शा पास गरिएपनि साँढे २ तलाको नक्शापास गराएर ८ तलासम्मको संरचना खडा गरिएका छन् । त्यो बाहेक घर बनाउँदा पिलरको आकार कम्तीमा ९ बाई १२ सेण्टीमिटरको हुनुपर्ने भएपनि अधिकांश घरहरु ९ बाई ९ सेण्टिमिटरका छन् । त्यससँगै खर्च जोगाउने दाउमा घरमा प्रयोग गरिने रड पनि सानो आकार छन्, जसका कारण यतिबेला यस्तो दुर्दशा भोग्नुपरेको छ ।
थोरै तलाको नक्शा पास गराएर भाडा खाने लोभले धेरै तला थप्ने घरहरु काठमाडौंमा धेरै छन् । अधिकांश घरहरुले नक्शापासभन्दा बढी तलाको घर बनाएका छन् । घर बनाउँदा महानगर वा नगरपालिकाले तोकेको इञ्जिनियरले पनि बदमासी गरिदिन्छन्, जसले समस्या झन् थपेको छ ।
केही समय अघिसम्म महानगरपालिकाले नक्शा पासभन्दा बढी तलाको घर पनि निर्देशन आएमा भत्काउने छु भन्ने शर्तमा पास गरिदिन्थ्यो । महानगरपालिकाको यही गल्तीका कारण पनि अहिले धेरैले ज्यान गुमाएका छन् । अब भने त्यस्तो गल्ती कदापि गर्नु हुँदैन । अब निश्चित समय दिएर मापदण्ड विपरीतका संरचनाहरु भत्काउनुपर्छ र जो जो दोषी छन्, तिनीहरुलाई कारवाही गरिनुपर्छ । क्षेत्रीय विकास विषयमा विद्यावारिधी गरेका एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई भन्छन्, ‘त्यस्ता संरचनाहरुलाई निर्ममतापूर्वक भत्काउनुपर्छ ।
एमाओवादी नेता भट्टराई मात्रै होइनन्, काठमाडौं उपत्यका विकास प्राधिकरणका सह आयुक्त डाक्टर भाइकाजी तिवारी पनि यस्ता संरचनाहरुलाई छाडे खतरा झनै बढ्ने संकेत गर्छन् । मापदण्ड विपरीतका घर बनाउनेदेखि घर बनाउँदा आकाश अतिक्रमण गर्नेलाई पनि कारवाही गर्नुपर्ने बताउँछन् उनी ।

अहिलेसम्म यो वा त्यो बाहानामा पन्छिरहेको महानगरपालिका पनि अब भने त्यस्ता संरचनालाई भत्काउने तयारीमा छ । हिँजो आफ्ना इञ्जििनियरहरुले केही पैसाको लोभमा पास गरिदिएका र स्वीकृति दिएका घरहरु पनि अब महानगरपालिकाको निशानामा पर्ने भएको छ । अब केही समय दिएर त्यसपछि मापदण्ड विपरीतका घर भत्काउने दाबी गर्छन्, महानगरका प्रवक्ता शान्ताराम पोखरेल ।
हो, यस्तो दुर्दशाबाट अब भने हामीले पाठ सिक्नै पर्छ । पहिलो कुरा अब घर बनाउँदा नक्शापास गराएर मात्रै बनाउनुपर्छ भने दोस्रो आफ्नो घरसँगै यदि कसकोे नक्सापास विपरीतका अग्ला घर भएपनि उजुरी गरी भत्काउन सहयोग गर्नुपर्छ र भत्काइनुपर्छ ।

No comments:

Post a Comment