पार्थक्य : सत्ता र म भुइँ मान्छे
शून्य !
अध्यात्मले बताउँछ
शून्य
अर्थात्,
ब्रह्म
निर्विकार चेतनतत्त्व ।
शून्य
अर्थात्
निराकार एउटा सम्भावना ।
जीवनको चक्रले सिकाउँछ
शून्य
अर्थात्
एउटा विन्दुबाट शुरु भएर
त्यही विन्दुसम्म आएर लोप हुने
आकारको यात्रा
शून्य।
त्यही शून्यबाट जन्मिएकी
"म"
एउटा सिङ्गो विचार।
म,
एकसँग जोडिएर एक मुष्ठ रहेर
एकलाई एकसँग जोड्दै एघार बनाएर
सिङ्गो समाजको अस्तित्वको निर्माणको आधार
जहाँ उभिएका छौ तिमी
थोपा थोपा 'म'हरुका मतले निर्मित विशाल महासागर
तिमी अर्थात् सत्ता !
हिजोआज
तिम्रो भव्यताभित्र
अटाउँदिन म
तिम्रो सभ्यताभित्र पनि
अटाउँदिन म
यसै त म एउटा विचार मात्रै न हो !
तर, खोइ किन?
तिम्रो फाँटिलो व्यवस्थाभित्र कसैगरि अटाउँदिन सिङ्गो म ।
तिम्रा ठूला ठूला योजनाहरुका
माहासागरभित्र
सङ्ग्लो मेरो विचारधारा अटाउँदैन
तिम्रो अवसरवादी नीतिका खुल्ला आकाशमा
मेरा उत्सर्गहरुका ध्रुवतारा अटाउँदैन ।
पुँजीवादी तिमी
तिमी,
स्वघोषित राजा
तिमीसित कहिल्यै नअघाउने
पैसा, सामर्थ्य र सत्ताको भोक छ ।
प्रगतिवादी म
म,
सामाजिक दायित्त्वको भारीले थिचेर कचल्टेको
असाधारण भुइँमान्छे
मसँग कहिले नमर्ने
परिश्रम, जाँगर र अठोट छ
तिम्रो जातिवादको कालो इतिहासमा
अटाउँदैन मेरो
उदारवादको रङ्गिन कथा ।
तिम्रै गणितले सिकाउँछ
शून्य
पछि लागे बिस्तार
अघि लागे नाश !
अहँकारको अन्धो घोडामा सवार तिमी
त्यहीँ
तिम्रो अघि रहेको शून्यको पछि पछि दौडिरहे छौ लगातार
भ्रमको चश्मा फुकाएर हेर
तिम्रो अघि
संसार जित्न निस्केको
महत्त्वाकांक्षी सिकन्दरको रित्तो हात छ ।
म
छातीभित्र सिङ्गो जाती बोक्ने योद्धा
मसँग सधैं
सत्यमेव जयतेको अटुट विश्वास छ।
तिम्रो नीतिले
तिमीलाई हार्नु सिकाएन
हराउनु सिकायो ।
हार्नु मलाई पनि छैन
तर
मेरो सिद्धान्तले
मलाई जिताउनु सिकायो ।
पार्थक्य यति मात्रै थियो
हाम्रीमाझ ।
म
शून्यबाट जन्मिएको
सिङ्गो विचारधारा
तिमी
भरिएर फेरि रित्तिएको
मात्र
एउटा रिक्त पात्र ।
रगतभित्र मृत कविता
एकदिन,
मान्छेको कोलाहलमय उपस्थितिदेखि पर
एक्लै हिँडिरहेको कविको आँखाले देखि पठायो
देशको एक कुनामा
घामको तातो पाइताला किच्चिएर
माटोमा तप्प खसेर हराएको
किसानको सङ्ग्लो रगत।
कविले आफ्नो कलममा भर्यो
माटोबाट चालेर
किसानको रगत
र
छर्कियो अक्षरहरुको मार्मिक एब्सट्रयाक
आफ्नो सेतो कमिजमा ।
एकदिन,
बजारको भीडभित्र एक्लै भौंतारिरहेको
त्यही कमिज देखि पठायो
संवेदनशील समालोचकको
एकजोड दोषी आँखाले
उसले आँखाको मसिना औंलाहरुले
सुम्सुमाउँदै छुट्यायो त्यहाँबाट
मर्म
शोषण
अभाव
भाग्य
र
कर्महरु अलग अलग ।
त्यहाँ हिँडिरहेका भीडबाट
फुत्त फुत्त निस्के
निवन्धकार
कथाकार
पत्रकार
गीतकार
उपन्यासकार
र
एक हुल नेताहरु ।
जसले चुपचाप टिप्दै हिँडे
किसानका
दुःख मर्म शोषण अभाव
भाग्य र कर्महरु
निवन्धकारले किसान लेखे
कथाकारले पीडा
गीतकारले मर्म
पत्रकारले मुद्दा भेटे
आख्यानकारले कर्म
अन्तमा
नेताको हात लाग्यो शोषण।
नेताले शोषण लेखेन
त्यही शोषण ओठमा झुन्डाएर उ दौडिरह्यो
किसानहरुको भीडभित्र
सुनेर आफ्नै शोषण
भावुक बनेर
निथ्रुक्क भिजे किसानहरु र भिजाए माटोको छाला।
सुनेर आफ्नै शोषण
भावुक बनेर
निथ्रुक्क भिजे किसानहरु र भिजाए माटोको छाला।
तर यसपल्ट
किसानको निधारबाट बहेन सङ्ग्लो रगत
यसपल्ट पनि
सङ्ग्लो रगत बगाउने पालो
किसानका भासिएका आँखाहरुका थिए ।
- खरसाङ
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment