फेरि निःशब्द
पछि फर्कि हेरुँ भन्छु
भोगिएको जिन्दगीलाई
घाउहरुको खाटालाई
नमेटिएको तिर्खालाई
भन्न खोजेका मनका
हजार तर्क बितर्कहरु
तिम्रो अघि-----
बसेकी छु तिम्रो सामु
तिम्रो आँखाको उज्यालोमा
तर किन तिरमिर हुन्छ मेरो नजर
तिख्खर घाममा ऐना टल्किए झेैं ।
निःशब्द मेरो मौन आवाजहरु
जलिरहेछु
पग्लिरहेछु
तिम्रो आँखाको उज्यालोहरुमा
मेरो जलनको पीडा
मेरो भोगाइको दर्द
उज्यालो मात्रै खोज्नेहरुलाई
के थाह?
थोपा थोपा गर्दै जलेर
सकिनुको व्यथा
न्यानो मात्रै खोज्नेहरुलाई
के थाह?
निःशब्दका आकार अनि
प्रकारहरु ।
आशाका किल्लाहरु खोज्दैछु
ठिक त्यहि दिन हो
अन्तद्वन्द्वको छटपटाहटभरि
नुनिलो गहको दहमा
छछल्केको आँसु लुकाउँदै
भक्कानिएर मन रोएको दिन
टुक्रिएको मुटुले एउटा व्यथा
बोकेको दिन
सपना र आशाहरुको ताँत
छरपस्ट भएर
मनभरि आँसुको दह जमाएर
रोएको दिन
हो त्यो दिन !
घरको धुरी खम्बाले
आफ्नो सुत्ने ओछ्यान खोजेर
चिसो भुइँमा लमतन्न परेको दिन ।
हो,
त्यहि दिन हो ,धुरी खम्बाले बिष्मातका कोलाहल मच्चाउँदै
आकाशेै गर्जिनेगरि कोलाहलमा पनि मौन भएर सुतेका थिएँ
छामिन मैले मेरै मुहारमा
पीरका घर्काहरु कति छन् भनेर
चुपचाप मेरा दुखाईहरु
बाफिलो घामको रापमा नै सुकाएँ
कतिपय आगोको रापमा सेकाएँ
शून्य जीवन शून्यताभित्र धान्नुपर्ने विवशता ।
यसरी ---
छट्पटिएका विश्वासहरु
यताउता भाग्दै गर्दा
टुक्राटुक्रा भएर दगुर्दै गर्दा
आशाहरु छरपस्टिएर
डराएर कम्पित मनले
यताउता हेर्यो
उसले हेरेको धरती अचल थियो
त्यहि अचल धरतीले मलाई
एकटक लगाएर हेरेपछि नै
यो मन शान्त भएको थियो
अनि त विश्वास पनि थामिएको थियो।
छक्कपरि आफै वाल्ल परें
सुस्तरी सुस्तरी आकाशलाई चिहाएँ
जूनतारा त्यहिँ थियो
क्षितिजमा भुइँ कुहिरो
सेताम्मे भएर उडिरहेका थिए ।
हो,
हो अहिले म भुइँ कुहिरो भएकी छु
समयले दिएका निलडामहरु
आङभरि बोकेर
पिल्सिएर रक्ताम्मे भएका मनहरु बोकी
त्यहि अचल धरतीमा आशाका
किल्लाहरु खोजी हिँडदैछु ।
- दार्जिलिङ
No comments:
Post a Comment