त्रिचन्द्र प्रतीक्षा
तिहार वास्तवमा फूल र बत्तीको पर्व हो । शरद ऋतुमा मनाइने यस अवसरमा
भैलो र देउसीसमेत खेल्ने गरिन्छ । तिहार हाँसी–खुसीका बत्ती बालेर
झिलिमिलीका साथ रमाइलोपूर्वक मनाइने चाड हो । तर, हाम्रो देशमा एक जाति
यस्ता पनि छन्, जसले शोक एवम् दुःखको तिहार मनाउने गर्छन् ।
शोकको
तिहार मान्ने नेपालका आदिवासी जनजातिको नाम हो– थारू । पूर्व मेचीदेखि
पश्चिम महाकालीसम्मका तराईका २० जिल्ला यिनीहरूको मुख्य बसोवास क्षेत्र
हुन् । नेपालको जनगणना २०६८ अनुसार यिनीहरूको जनसङ्ख्या ६.५ प्रतिशत रहेको
देखिन्छन् ।
थारू जनजातिका मानिसद्वारा शोकको तिहारमा गीत गाउने गरिन्छ ।
जसमा मृतकहरूप्रति सद्भाव र जीवनको नश्वरताको सन्देश हुन्छ । शोकको गीत
गाउँदा उनीहरू नृत्य पनि गर्दछन् । जसको घरमा कसै न कसैको मृत्यु भएकै
हुन्छ । त्यस घरमा तिहारको एक दिन पहिलो घरमा सरसफाइ गर्ने गरिन्छ भने
यसलाई ‘चौका’ गर्ने भनिन्छ ।
तिहारको दिन मृतक परिवारका सबै
नातागोताहरूलाई बोलाइन्छ । आउने नातागोताले साथमा चामल, दाल आदि ल्याउने
गर्दछन्, जसलाई थारूहरू ‘छाछी’ भन्छन् । आगन्तुकहरूका लागि भोजन यसै चामल
दालबाट नै तयार गर्ने गरिन्छ ।
त्रिचन्द्र प्रतीक्षा |
राति भोजन गरेपछि बुढे बाबु या भवानीको नजिक पहिले नै तयार गरेको मण्डपको कुनामा थोरै खरानी बिछ्याएर त्यसलाई बाँसको टोकरीले ढाकिन्छ । छिमेकीले यसै स्थानमा दियो बालिदिन्छ, यो दियो रातभरि बालिन्छ ।
थारूहरूमा यो मान्यता छ कि स्वर्गीय आत्माले कुनै पनि योनिमा जन्म लिएको छ, त्यसको चित्र मण्डपको नजिक बिछ्याइएको खरानीमा आकृतिका रूपमा देखिन्छ । लगभग आधा रातमा नृत्य प्रारम्भ हुने गर्दछ । यसमा पाँच÷पाँचजना मानिसको दुई टोली हुने गर्दछ । यो टोलीहरू पूरै रात र दोस्रो दिन बिहानदेखि राति चन्द्रमाको उदय (चन्द्रमा नदेखिएसम्म) नहुन्जेलसम्म गीत गाइरहन्छ । यसलाई उनीहरू मण्डप या मण्डवा जगाउने भनिन्छ । मण्डवा जगाउनका लागि दुःख प्रकट गर्नेखालका गीत गाउने गरिन्छ । थारू जनजातिको अन्य अवसरहरूमा गाउने गीतहरूमा महिलाहरू सहभागी हुने गर्दछन् भने यस मण्डवा जगाउन गाइने गीतहरूमा भने महिलाहरूलाई सामेल गरिँदैन ।
दोस्रो रात आकाशमा चन्द्रमा देख्नासाथै गीत समाप्त गर्ने गरिन्छ तथा मण्डप पनि हटाइन्छ । मण्डप हटाउने समयमा पनि अर्को गीत गाउने गरिन्छ । यसप्रकार थारू जनजातिका मानिस तिहारमा मृतकको आत्मालाई शान्तिका लागि गीत र नृत्यको माध्यमबाट आफ्नो दुःख पोख्ने गर्दछन् । यस्ता गीतहरूमा जीवन नाशवान छ भन्ने शब्द व्यक्त हुन्छ भने गीत गाउन स्वरमा निराशाको कुनै पनि भाव हुँदैन । उनीहरूमा विश्वास र मान्यता छ कि नृत्य र गीतको माध्यमबाट दुःख व्यक्त गरेर व्यक्ति स्वचित्त हुने गर्दछ । शोक मान्न आएका आफ्ना नातेदार र अतिथि जब फर्केर आफ्नो घर जान तयार हुन्छन्, उनीहरूलाई मृतकका परिवारद्वारा चना, परबल दिएर बिदाइ गर्ने परम्परा रहेको छ । यसप्रकार थारू जनजातिको यो तिहार हाम्रोभन्दा एकदमै विपरीत मनोदशा प्रकट गर्ने तिहार हो ।
गोरखापत्रमा प्रकाशित
No comments:
Post a Comment