हिजोआज नर्सिङ अध्ययनको ‘क्रेज’ (आकर्षण) बढ्दो छ । आजको परिवेशमा युवतीहरू एसएलसी दिनसाथ नर्सिङ प्रवेशका लागि राजधानीका थुप्रै इन्स्टिच्युटमा प्रवेश परीक्षाका लागि तयारी कक्षा लिनेको लर्को देखिन्छ ।
नर्सिङ अध्ययनको क्रेजसँगै यसको भूमिका पनि बढ्दै गएको देखिन्छ । करिब ८९ वर्षको लामो सङ्घर्षमय इतिहास बोकेको नेपालको नर्सिङ क्षेत्र मुलुकका पुराना स्वास्थ्य संरचनामध्ये पर्छ । वि.सं. १९४७ मा वीर अस्पताल स्थापना भएको ४० वर्षपछि त्यसै अस्पतालको अन्तरङ्ग विभागका बिरामीलाई प्रत्यक्ष सेवा पु¥याउने, घरघरमा गएर गर्भवती महिलाहरू प्रसूति गराउने र नवजात शिशुको स्याहार गर्नेजस्ता मातृशिशु स्वास्थ्यसम्बन्धी दायित्व लिने उद्देश्यले वि.सं. १९८५ देखि विविधरूपमा चार जना नर्स विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढ वर्षे तालिमका लागि भारत पठाएर ‘सुत्केरी गराउने विधि’ को अध्ययन गरेपछि सुरु भएको मानिन्छ । पछि वि.सं. २००९ मा उमादेवी तथा रुक्मनी चरण श्रेष्ठलाई भारतमै चार वर्षे नर्सिङ तालिमका लागि पठाइयो । उनीहरू फर्किएपछि विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा वि.सं. २०१३ मा वीर अस्पतालबाट औपचारिकरूपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो । वि.सं. २०२८ बाट विश्वविद्यायलले नर्सिङ शिक्षाको अध्ययन सुरु गरेको हो । यतिबेला नेपालको नर्सिङ शिक्षाले निकै फड्को मारिसकेको छ ।
आजका अभिभावकहरूको चाहना केही गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ । आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रूपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण पनि फेरिएको छ । अन्य विषयहरूको दाँजोमा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीको आकर्षण बढेको छ ।
हुन त नर्सिङ अध्ययन गरेका मध्ये ठूलो हिस्सा स्वदेशमै खपत हुने गरेको छ । यद्यपि ६० प्रतिशत युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा ‘करिअर’ बनाउने सोचमा रहेको पाइन्छ । नेपाली नर्सका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा र अन्य युरोपेली देशहरूमा करिअर बनाउने बाटो खुला गरिदिएको छ । नेपालमै सरकारी तथा निजी चिकित्सालयको सङ्ख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज बन्नुले स्टाफ नर्स प्रतिको आकर्षण कायमै रहेको छ ।
नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार नेपालमा ३९ हजार सात सय ८६ पीसीएल (प्रमाणपत्र तह) र बीएसी नर्स र २७ हजार दुई सय ९६ भन्दा बढी अ.न.मी. गरी ६७ हजार ८२ नर्सले नर्सिङ काउन्सिलमा नाम दर्ता गराएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् भने आठ सय २३ जना विदेशी नर्सले नेपालमा बसेर काम गर्ने अनुमति लिएको पाइन्छ । यस्तै निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् । परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्यमा कायरत नर्सको यकिन तथ्याङ्क नभएको बताउँछिन् ।
विश्व स्वास्थ्य सङ्गठनले प्रतिहजार जनसङ्ख्या बराबर २.५ अर्थात् कम्तीमा तीन जना नर्स आवश्यकपर्ने बताएको छ । तर, नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसङ्ख्यालाई आधार बनाउँदा एक हजार जनसङ्ख्यालाई एउटा नर्स पनि भाग पुग्दैन । हाल २५ हजार नर्सले २ करोड ६४ लाखभन्दा बढी जनसङ्ख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । छिमेकी मुलुक भारतमै प्रतिहजार जनसङ्ख्यामा दुई नर्स छन् । भुटानमा एक, श्रीलङ्का दुई, चीनमा दुई, बेलायतमा नौ, अमेरिकामा १०, अस्ट्रेलियामा ११ र जापानमा ११ नर्स एकहजार जनसङ्ख्याको भागमा पर्छन् ।
अहिलेको तथ्याङ्कमा नेपालमा सरकारी र निजी स्तरबाट सञ्चालित दर्जनौँ मेडिकल कलेजबाट बर्सेनि पाँचहजार भन्दा बढी स्टाफ नर्स उत्पादन हुन्छन् । यति ठूलो सङ्ख्यामा उत्पादन हुने नर्सहरू सहर केन्द्रित हुन खोज्दाले पनि कामको अभाव देखिएको बुझाइ छ–वीर अस्पतालमा कार्यरत स्टाफ नर्स हिसिला प्रधानको । रोजगारीको अभाव र राम्रो पारिश्रमिक भएकोले पनि नेपाली नर्सहरू विदेश जानेको सङ्ख्या बढेको नेपाल नर्सिङ काउन्सिलका पूर्व रजिष्ट्रार दयालक्ष्मी वैद्यको बुझाइ छ । नेपाली नर्सहरूले विदेशमा स्तरीय अस्पतालमा रहेर कार्य गर्न अन्तर्राष्ट्रियस्तरका केही परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । ती परीक्षामा उत्तीर्ण भएकाले विदेशी नर्ससरह अवसर पाउँछन् । विकसित मुलुकमा रोजगारीका लागि गएकाहरूले न्यूनतम दुईहजारदेखि तीनहजार अमेरिकी डलर प्रति महिना कमाउने बताइन्छ ।
त्यसैले पनि तीन वर्षे नर्सिङ कोर्स सकिएपछि विदेश जाने क्रम दिनानुदिन बढ्दो छ । विदेशमा राम्रो रोजगारीको अवसर र दह्रो पारिश्रमिक भएकाले नै विदेश जानेको सङ्ख्या बढेको नेपाल नर्सिङ काउन्सिका पूर्व रजिष्ट्रार दयालक्ष्मी वैद्यको बुझाइ छ । पछिल्लो समय हालै नर्सहरूले गरिरहेको विभिन्न चरणबद्ध आन्दोलनले पनि यही पुष्टि गरेको छ कि नेपालमा नर्सहरूको पारिश्रमिक निकै न्यून छ । अझ प्राइभेट स्वास्थ्य सेवामा त सीधै श्रम शोषण हुने गरेको तथ्य बाहिर आएपछि नर्सहरूको हकहितका लागि स्थापित संस्था नेपाल नर्सिङ सङ्घले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनको अगुवाइ गरिरहेका छन् । नेपालमा उत्पादित नर्सहरूलाई नेपालमै राम्रो रोजगारीको वातावरण सिर्जना, धेरथोर सेवा सुविधा बढाएर पनि विदेश पलायन हुने नर्सहरूको मनस्थितिमा परिवर्तन ल्याउन सक्ने कुरामा विश्वस्त हुनुहुन्छ नर्सिङ परिषद्का रजिष्ट्रार जानकी के.सी. । उहाँ भन्नुहुन्छ– “स्वास्थ्य संरचनामा केही सुधार ल्याएमा मात्र पनि विदेश पलायनमा आधाआधी सङ्ख्या घट्नेछ ।” स्वास्थ्य क्षेत्रमा नर्सबिनाको सेवा कल्पनासम्म गर्न सकिँदैन । तसर्थ नर्सिङ क्षेत्रसँग सम्बन्धित स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ परिषद्लगायतका संस्थाहरूले ठोस नीति बनाइ कडाइका साथ व्यवहारमा लागू गर्नुपर्ने आवश्यक भइसकेको छ ।
No comments:
Post a Comment