शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, April 6, 2021

धक्कमक्क राष्ट्रिय फूलः लालीगुराँस

 

-त्रिचन्द्र प्रतीक्षा 

लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रुपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको रुपमा मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएको कारण लालीगुराँस धेरै पटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अंग्रेजीमा रोडोडेनड्रन भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ । 

हालै प्रकाशित कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । समुन्द्री सतहबाट गुराँस १ हजार ३०० देखि ४ हजार ६०० मिटरको उँचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ फागुन तिर फूलेर वैशाख जेठसम्म फूल्ने गर्छ । तर, छिटो फूल्ने ठाउँमा पुस महिनामा पनि फूलेको देखिन्छ । यो फूल फुलेपछि डाँडाकाँडा नै रंगीन र मनमोहक हुन्छ । 

-त्रिचन्द्र प्रतीक्षा
लालीगुरासँको बोट १० से.मीदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाई लगभग पाँचदेखि १५ से.मी.सम्म हुन्छ । फूलको आकार औसत अरु फूलभन्दा केही ठूलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा फूलका झुप्पा भई फुल्छ । रुखको उचाई र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रंगको हुन्छ । पहाडी भू–भागमा यसको रुख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।
लालीगुराँसको फूल विश्वमै विशिष्ट फूलका रुपमा चिनिन्छ । विश्वमा नै सबैभन्दा ठूलो लालीगुराँसको फूल नेपालमै फुल्छ । एक हजार ८२५ मिटरको उचाइमा इलामको मंगलबारे गाविसमा नेपालमा मात्र पाइने रातो सिन्दूरे रङको एकथरि लालीगुराँस पाइन्छ । विश्वको सबैभन्दा अग्लो लालीगुराँसको फूल र रुख पनि यहि हो । १६.१ मिटर अग्लो यो लालीगुराँसको रुखलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रुख भनेर उल्लेख गरेको छ ।

यस्तै, प्राकृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीय स्थलको रुपमा परिचित संखुवासभा र धनकुटाको संगमस्थलमा रहेको साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दाःगपा गाविस मिलाई नेपाल सरकारबाट २०७२ असोज १ गते लालीगुराँस नगरपालिकको घोषणा गरेको छ । 

लालीगुराँस फूल भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रुपमा राखिएको छ । यस्तै, लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको राष्ट्रिय रुख पनि हो । त्यस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मीर र पाकिस्तानतर्फको कश्मीरको पनि प्रान्तीय फूल हो । लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाको पनि प्रान्तीय फूल हो । साथै, वेस्ट भर्जिनियाको प्रान्तीय झण्डामा पनि यो फूल अङ्कित छ । 

यतिबेला गुराँस फूल्ने मौसम हो । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको छ । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जोकोही मोहित हुन्छन् । यो फूल नेपालको राष्ट्रिय फूल भएकोले यसप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । 

यो फूल हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिहरुमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । रातो रंगको गुराँस पोषक तत्वले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केही गम्भिर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डीको दुखाई र उच्च रक्तचाप फाइदा पुर्याउँछ । गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई सुकाएर राख्न सकिन्छ । गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता छ ।
-गोरखापत्र दैनिकमा प्रकाशित

No comments:

Post a Comment