शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 12, 2017

रेडियो नेपालको इतिहास


-त्रिचन्द्र प्रतीक्षा 

सञ्चार माध्यममध्ये रेडियो विशेष मानिन्छ । राष्ट्रको सर्वाङ्ग विकासमा रेडियोको मत्वपूर्ण भूमिका रहेको हुन्छ ।  रेडियोको आविष्कार इटलीका वैज्ञानिक मार्कोनी हुन् ।  उनले सन् १८९९ मा ३१ माइलसम्म टिप्न सक्ने रेडियो सन्देश प्रसारण गर्न सफल भए । आज रेडियो नसुन्ने र नदेख्ने मान्छे प्रायः पाउन गाह्रै होलान् । यसको विकासले हरेक क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न सघाउ पुर्याएको देखिन्छ । निश्चय पनि यस माध्यमबाट स्वास्थ्य, शिक्षालगायत विविध विषयमा पुर्याएको योगदान महŒवपूर्ण छ ।  रेडियो नेपाल सर्वप्रथम वि.सं. २००३ मङ्सिर महिनासम्म हाल विद्युत् प्राधिकरण रहेको भवन रत्नपार्कबाट पाँच वाटबाट प्रसारण आरम्भ भएको मानिन्छ ।  सो प्रसारण सात/आठ महिनापछि एक्कासी बन्द भयो र सो स्थानबाट दिनको १ः३० देखि ३ बजेसम्म कार्यक्रम प्रसारण हुन्थ्यो ।  पद्म शमशेर देश नकाला भएपछि उक्त रेडियो बन्द हुन पुग्यो । 

जहानियाँ राणा शासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरस्थित रघुपति जुट मिलमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो ।  भारतबाट लुकाईछिपाई ल्याएको आकाशवाणी सेट जडान गरेर सोही मिलको सानो कोठाबाट वि.सं. २००७ मङ्सिर २८ गते क्रान्तिको हुङ्कार छेड्न थालियो ।  सोही आकाशवाणीबाट क्रान्ति नायकहरूले बिहान ८ः३० बजे आफ्नो आवाज प्रसारण गरे ।  सुरुमा आएको आवाज थियो ‘यो क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियो हो ।  हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ । ’ ४१ मिटर बेण्ड शर्टवेभमा प्रसारण गरिएको रेडियोको आवाज काठमाडौँ, दार्जिलिङ, गोरखपुर, कलकत्ता र बनारससम्म सुनिएको थियो । 

त्यस लगत्तै विराटनगरकै गणपति कटन मिलको क्वाटर छेउको भवनमा प्रजातन्त्र रेडियो स्थानान्तरण भयो ।  त्यही भवनलाई नेपालको पहिलो रेडियो स्टेशनको रूपमा मान्यता दिइयो । सशस्त्र सङ्घर्षका समाचार प्रसारित गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो ।  यस रेडियो केन्द्रको स्थापना र सञ्चालन गर्नमा तारिणीप्रसाद कोइरालाको उल्लेख्य योगदान रह्यो ।  यसका पहिलो उद्घोषकमा गजाधरभक्त माथेमा थिए ।  यस्तै समाचारमा तारिणीप्रसाद कोइरालाले नेपालीमा, प्रसिद्ध कवि फणीश्वरनाथ रेणुले हिन्दीमा र विजयालक्ष्मी कोइराला (बीपी कोइरालाकी बहिनी) ले अङ्ग्रेजीमा समाचार वाचन गर्नुभयो ।  त्यसको केही समयपछि तारिणी निर्झर भन्नेले हिन्दी कार्यक्रम सञ्चालन गर्नुका साथै हिन्दीमा समाचार प्रसारण गर्न थाल्नुभयो ।  

‘तारिणीप्रसाद कोइरालाद्वारा रचित ‘नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लिई...’ भन्ने बोल गीत जब रेडियोबाट प्रसारण हुन्थ्यो तब मजदूरहरूको रगत तातिन्थ्यो र आन्दोलित हुन्थे’ तत्कालीन समाचारवाचक गजाधरभक्त माथेमाकी धर्मपत्नी गङ्गादेवी माथेमाले उत्साहपूर्वक बताउनुभएको थियो ।  

राणा शासन हटाउन र राष्ट्रलाई नै शोषण र दमनबाट उन्मुक्ति दिलाउन प्रजातन्त्र रेडियोले अत्यन्तै महŒवपूर्ण भूमिका खेलेको थियो ।  श्री ५ त्रिभुवनबाट २००७ फागुन ७ गते नेपाल अधिराज्यको लागि प्रजातन्त्रको घोषणा गरे ।  विभिन्न भागमा चर्किरहेको आन्दोलनको सन्दर्भमा विराटनगर कटन मिलको सानो कोठाबाट सञ्चालित ‘क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियो’ को प्रसारण पनि बन्द भयो ।  रेडियो बन्द भएपछि तारिणीप्रसाद कोइराला काठमाडौँ फर्कनुभयो ।  उक्त रेडियोलाई काठमाडौँमा सार्न बालकृष्ण समको निवास ज्ञानेश्वरमा बैठक बस्यो ।  उक्त बैठकमा बालकृष्ण लगायत तारिणीप्रसाद, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठको समेत सहभागिता थियो । 

राणा प्रधानमन्त्रीका नाति–नातिनीहरूलाई पढाउने गरेको बङ्गला, जहाँ आकाशवाणी सेट पनि रहेको थियो, त्यहीँबाट २००७ साल चैत २० गते ‘क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियो’ बाट बिहान र बेलुका एक–एक घन्टाको फरक कार्यक्रम प्रसारण सुरु गरियो ।  २००८ वैशाख १ गतेबाट क्रान्तिकारी भन्ने शब्द हटाएर ‘प्रजातन्त्र रेडियो नेपाल’ मात्र भन्न थालियो ।  त्यसको चार महिनापछि प्रजातन्त्र शब्दलाई झिकेर ‘नेपाल रेडियो’ नाम राखियो ।  केही दिनपश्चात् त्यसलाई पनि संशोधन गरेर ‘रेडियो नेपाल’ मात्र राखियो ।  यो नामकरण नेपाली व्याकरणमा सामञ्जस्य नभएको तर्क बालकृष्ण समले दिए पनि यही नाम उपयुक्त भएको कुरा तारिणीप्रसादले अनुमोदन गर्नुभयो, जुन आजसम्म पनि यही नामबाट रेडियो सञ्चालन हुँदै आइरहेको छ ।
  
लामो समयदेखि नेवारीभाषाका समाचारवाचक हरि श्रेष्ठले त्यो समयको रेडियो नेपालको अनुभव यसरी सुनाउनु हुन्छ– प्रकाशमानले नेपालीमा समाचार पढ्न सिध्याए त्यसपछि उद्घोषिका एलिस राणाले अब नेवारीमा समाचार सुन्नुस् भनेर माइक मेरो सामुन्ने राख्न ल्याइन् ।  म समाचार पढ्दै थिएँ, प्रकाशमानले आफू बसेको मेच आफैँले अगाडिपछाडि हल्लाइरहेका थिए ।  अकस्मात् प्रकाशमान पछिल्तिर पल्टन पुगे, उनी हठात् उठ्न सकेनन्, दायाँ बायाँ रहेका अरू मेच नसारी उनलाई उठाउन सक्ने अवस्था पनि त्यहाँ थिएन ।  उद्घोषिका खित्खित् हाँस्न थाले र समाचार पढिरहेको मैले पनि हाँसो थाम्न सकिनँ ।  तारिणीले रश्मिसँग भएको रुमाल हतपत लिएर मेरो मुखमा कोच्न ल्याए तर पनि हाम्रो हाँसो माइकले टिपिहाल्यो ।’

राष्ट्रव्यापी प्रसारण हुने रेडियो नेपालको कोठामा एउटा हारमोनियम, एकजोर तबला, एउटा पुरानो सोफा केही टेबुल र मेचहरू थिए, अनि सबै त्यति एउटा कोठामा उद्घोषिका, समाचार सम्पादक प्रसारक सबै बस्थे ।  ठाउँ नपुगे तल शतरञ्जा बिछ्याइराखेको भुइँमा बसेर एक घण्टाको कार्यक्रम प्रसारण गर्नुपथ्र्यो ।  भनौँ, त्यसबेलाको रेडियो नेपालको कथा कसैले सोचेभन्दा भिन्न थियो ।  एउटा सानो प्रसारण कोठा, अनि गोजीमा अटाउन सक्ने एउटा माइक, त्यही रेडियो नेपाल थियो ।  टेबुलमाथि रहेको सानो माइकलाई उद्घोषिकाले उताउता सार्नुपर्ने, जसले बोल्ने हो उद्घोषिकाले उसको सामु लैजानुपथ्र्यो ।  त्यो एउटा माइक कार्यक्रम हुञ्जेल उद्घोषिकाले यताउति सारिराख्नुपर्ने अवस्थामा थियो । 

यही माइक हराएपछि कार्यक्रम नै रोकिएको संस्मरण गर्दै हरि श्रेष्ठ भन्नुहुन्छ, एक पटक त्यहीँको पिउनले रिसका झोँकमा माइक उठाएर लगेछ, एउटा सानो माइक त्यो पनि नभएपछि त रेडियो प्रसारण नै बन्द हुने परिस्थिति आयो ।  तारिणीप्रसाद चिन्तित भए, बल्लतल्ल माइक उठाएर लैजाने पिउनलाई समातेर ल्याइयो ।  तारिणीले सोधे– किन माइक उठाएर लगेको ? पिउनले यथार्थ बताउँदै भने– ‘हो, मैले माइक उठाएर लगेको हुँ ।  तलब नपाएको तीन महिना नाघिसक्यो, आज आउला छैन, भोलि आउला छैन ।  तलब नलिएर सधैँ कसले मरेर काम गर्न सक्छ ? मेरी जहान बिरामी छिन्, औषधि किन्ने समेत पैसा भएन, त्यसैले मैले माइक उठाएर लगेको हुँ ।  काममा लगाएपछि मान्छेलाई पैसा दिनुपर्छ, होइन भने जाऊ भन्नुपर्छ । ’ तारिणी नाजवाफ भए ।  उनले पिउनलाई आफ्नो खल्तीबाट चालीस रुपियाँ दिएर माइक फिर्ता लिए । 

‘रेडियो नेपाल प्रसारण ऐन’ भने २०१४ मा मात्र जारी भयो ।  प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक चार घण्टा प्रसारण हँुदै आएको रेडियो वि.सं. २०१७ मा प्रसारण अवधि बढेर दैनिक पाँच घण्टा पुग्यो ।  वि.सं. २०२५ मा दिनमा १२ घण्टा प्रसारण समय बढाइयो भने वि.सं. २०४१ बाट दैनिक साढे १३ घण्टा प्रसारण हुन थाल्यो ।  आजभोलि २४ घण्टा नै नियमित प्रसारण हुने गर्छ । 

विश्वमा विद्युतीय चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भए पनि रेडियोको प्रसारण भने सन् १९१९ देखि मात्र भएको देखिन्छ तर सन् १९१८ मा ली द फोरेस्टले न्युयोर्कको हाइब्रिज क्षेत्रमा संसारकै पहिलो रेडियो स्टेशन सुरु गरे तर स्थापनाको केही समयपछि नै प्रहरीले अवैधानिक भनेर उक्त रेडियो स्टेशन बन्द गरिदियो ।  पछि एक वर्षपछि ली द फोरेस्टले नै सन् १९१९ मा सान फ्रान्सिकोमा अर्के रेडियो स्टेशन स्थापना गरे ।  सन् १९२० नोभेम्बरमा नौसेनाको रेडियो विभागमा काम गरिसकेका फ्रयाक कोनार्डले संसारमै पहिलो पल्ट कानुनी रूपमा दर्ता गरेर रेडियो स्टेशन स्थापना गरे ।  अमेरिकाको पिटूसवर्ग शहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमा नै पहिलो पटक व्यावसायिक रेडियो प्रसारण सुरु गरेको हो ।  त्यसको लगत्तै सन् १९२० को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो ।  

साभारः गोरखापत्र दैनिक

No comments:

Post a Comment