शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, September 26, 2013

नेपाललाई सिक्किमीकरण कि भुटानीकरण ?

● बी के पाण्डे /बेलायत
Indian-encroachement-in-nepal-121234नेपालमा अहिले सबभन्दा बढी छलफलको विषय नेपालमा भइरहेको भारतीय हस्तक्षेप बन्न पुगेको छ । सीमामा रहेका छिमेकीहरु चीन र भारतमध्ये नेपालको व्यपारिक, सामाजिक, सास्कृतिक, धार्मिक लगायतका सम्बन्धहरु भारतसँग बढी भएकोले पनि भारतसँग सम्वाद तथा विवाद दुबै बढी हुनु स्वभाविक पनि हो । अर्कोतर्फ भौगोलिकरुपमा पनि चीनसँगको सीमा आवागमनको दृष्टिकोणले अत्यन्त अप्ठेरो अवस्थामा रहेको छ भने भारतसँगको सीमा अत्यन्त सजिलो रहेको छ । चीनले पनि नेपालको सीमा मिचेको छ भन्ने बारेमा चर्चा नउठेको होइनन् तर भौगोलिक विकटताको कारणसमेतले गर्दा यसले त्यति धेरै मानिसको ध्यान आकर्षण गर्न सकेको छैन ।
भारतले नेपालको सीमा मिचेको सवाल भारतको विरोधको लागि विरोध गरिएको सवाल मात्र होइन । यथार्थमा भारतले निर्लज्ज ढंगले नेपालको भूभाग अतिक्रमण गरेको छ । नेपालको राजनीतिमा हस्तक्षेप गर्ने गरेको छ र यसको लागि भारतीय जासुस संस्था ‘र’को नेपाल कृडा भूमि नै बन्न पुगेको छ । भारत र नेपालबीच रहेका असमान सन्धिहरुको कारण नेपाल लामो समयदेखि नै पीडित हुँदै आएको छ ।
अंग्रेजहरुको पालामा भएको सन्धिको कारणले नेपालले आफ्नो भूभाग गुमाउनु पर्दाको पीडा पुरानो भए पनि अझै बेलाबेलामा नराम्ररी बल्झने गर्छ । नेपालको अर्थतन्त्रमा भारतीय पकड रहेको सवाल पनि एक तितो यथार्थ हो । नेपालको सुरक्षा व्यवस्थामा पनि भारतले अप्रत्यक्षरुपमा आफ्नो पहुँच पु¥याउन सफल भएको छ । पहिला चीनसँग राम्रो सम्बन्ध नभएको कारण भारत नेपालमा आफ्नो दरो उपस्थिति जनाउन सक्रिय थियो । तर, अहिले उसको चीनसँगको सम्बन्धमा ठूलो सुधार आएको छ तापनि पाकिस्तान तथा मुश्लिम अतिवादी एवं भारतीय माओवादीहरुको कारण अहिले नेपालमा बढी चासो देखाउने गरेको छ ।
भारतले नेपालको हरेक क्षेत्रमा आफ्नो हैकम जनाउन खोज्ने कुरालाई उसको राम्रो प्रवृति होइन भन्ने कुरा निसंकोच भन्न सकिन्छ तर यसको लागि सबभन्दा दोषि पक्ष इतिहास बनेका राणा र शाहहरु हुन् भने वर्तमानमा नेपालका राजनीतिक दल र ती दलका नेताहरु हुन् । नेपालका राजनीतिक दल तथा नेताहरुको भारतलाई हेर्ने सवालमा कुनै ठोस नीति नै छैन । कहिले अत्यन्त भारत विरोधीको रुपमा प्रस्तुत हुने तर कहिलेकाहीँ भारतको नाङ्गो दलाली गर्न पनि तयार हुने प्रवृति सबैले देखेको र बुझेकै कुरा हो । सरकार भन्दा बाहिर हुनासाथ जतासुकै भारतीय हस्तक्षेप देख्ने तर सरकारमा पुग्नासाथ भारतमा हाँजीर बुझाउन गएर स्वाभिमान लिलाम गर्ने प्रवृत्तिबाट कुनै पनि नेताले आफूलाई अलग राख्न सकेका छैनन् । त्यस्तैगरी नेपालमा एकाथरी यस्ता व्यक्तिहरु पनि छन् जसले पाकिस्तान र चीनको स्वार्थमा काम गर्ने गर्दछन् । त्यस्ता व्यक्तिहरु सपनामा पनि भारतको कसरी विरोध गर्ने भन्ने कुरामा नै रमाउने गर्दछन् । उनीहरु नेता, कार्यकर्ता, एनजीओ, पत्रकार, मानव अधिकारीवादी आदिको भेषमा छन् । यस्तो खालको काम गरे वापत उनीहरुले आ–आफ्नो हैसियत अनुसारको प्रतिफल ती देशका दूतावासबाट पाउने गर्दछन् ।
त्यस्तैगरी केही अति दक्षिणपन्थी र अति वामपन्थी सोच राख्नेहरु पनि भारतको विरोध गर्ने सवालमा एउटै कित्तामा उभिन पुग्छन् । उनीहरु भारतले नेपाललाई सिक्किम बनाउन लागेको भन्ने कुरा भन्दा तल्लो तहको भारतीय हस्तक्षेपको कुरालाई उराल्न चाहन्नन् । नेपाली जनतामा भारत विरोधी जुन भावना रहेको छ, उनीहरु यसलाई आफ्नो पक्षमा पार्न पनि सिक्किमीकरणको कुरालाई नै हरसमय प्रमुख मुद्दा बनाउने गर्दछन् ।
भारतको बेलाबेलामा कडा विरोध जनाउनेमा केही मिडिया हाउसहरु पनि रहेका छन भने केही मिडिया हाउस सधैँ भारतको पक्षमा खडा हुने गर्दछन् । भारतको पक्षमा सधैँ देखा पर्ने मिडिया हाउस भन्दा आफ्नो स्वार्थ प्रतिकुल हुनासाथ भारतले नेपाललाई सिक्किम बनाउन लाग्यो भनेर हल्ला पिटाउने मिडिया हाउसहरु नेपाली जनतालाई बढी प्रभावित बनाउन सफल भएका छन् । जसले गर्दा त्यस्तो मिडिया हाउस जब भारतको विरुद्धमा खनिन थाल्छ नेपालका केही प्रवुद्ध वर्ग पनि त्यसैको लहलहैमा लाग्न थाल्छन् । त्यस्ता मिडिया हाउसहरुको विभिन्न आर्थिक र व्यपारिक स्वार्थ रहेको कुरा समाचारमा आएका पनि हुन् । नेपालको सत्ता ढाल्ने र खडा गर्नेसम्मको हैसियतमा पुगेको एक मिडिया हाउसले अख्तियारले डामेका व्यक्ति नै अख्तियार प्रमुख भएको घटनालाई नेपालमा आकास नै खस्न लाग्यो भने झैँ आतिरञ्जित गरी सिक्किमी इतिहास छापेर आफ्नो स्वार्थ रक्षाको बार्गेनिङ सुरु गरेको छ । यस्ता खाले मिडिया हाउसहरु आफूलाई आवश्यक परेको बेलामा भारत विरोधी नेपाली भावनालाई दुरुपयोग गरेर बाली भित्र्याउन पछि पर्दैनन् । नेपाली जनताहरु यस्तो ‘व्यपारीक राष्ट्रवाद’सँग पनि होसियार हुनु जरुरी छ ।
सिक्किमीकरण कि भुटानीकरण ?
भारत नेपाललाई सिक्किम बनाउन चाहन्छ कि भुटान बनाउन चाहन्छ भन्ने कुरा अहिले विशेषरुपमा छलफल हुनु जरुरी छ । नेपालको संक्रमणकालीन स्थिति, राजनीतिक दल तथा नेताहरुको भारतमुखी प्रवृत्तिका कारण भारतलाई नेपालमा चलखेल बढाउन निकै सजिलो भएको छ । भारतमा प्रायः दक्षिणपन्थीहरुकै सरकार बन्ने क्रम रहेकोले विदेश नीतिमा आधारभूत रुपमा खासै फरक दृष्टिकोण रहेको छैन । झन् यसमाथि पनि छिमेकी देशहरुसँग कस्तो नीति लिने भन्ने सवालमा जो सुकैको सरकार बने पनि खासै फरक पर्दैन, किनभने भारतमा ‘र’ ले नै छिमेकी देशहरुसँगको नीति र कार्यक्रम तय गर्ने गर्दछ ।
भारत नेपाललाई सिक्किम बनाउन सकिन्छ भन्ने खालको हिम्मत गर्न सक्ने स्थितिमा अहिलेसम्म पुग्न सकेको छैन । भारतले कव्जा गर्दा सिक्किमको वस्तुगत स्थिति कस्तो थियो तथा सिक्किमको राजा र राज्यको हैसियत कस्तो थियो भन्ने कुरालाई पनि ध्यान दिनु जरुरी छ । साथै तत्कालीन र वर्तमान अन्तर्राष्ट्रिय मान्यतामा आएको विकासक्रमको पनि विश्लेषण हुनु जरुरी छ । सिक्किम कव्जा जमाए झैँ नै नेपाललाई कव्जा जमाउन सकिन्न भन्ने कुरा भारतले राम्रोसँग बुझेको छ । सिक्किममा झैँ नेपाली जनताको समर्थन भारतीय पक्षमा जुटाउन सकिन्न भन्ने पनि ‘र’ले राम्रैसँग बुझेको छ । अर्थात, नेपाल धेरै अर्थमा सिक्किम होइन भन्ने कुरा भारतलाई राम्रोसँग थाहा छ । त्यसैले भारत नेपाललाई सिक्किमीकरण होइन कि भुटानीकरण गर्ने पक्षमा रहेको छ र अहिले यो कार्यमा एकपछि अर्को सफलता पनि पाउँदै गएको छ ।
के सिक्किमीकरणको योजना नै छैन त ?
भारत अहिले नै नेपाललाई सिक्किम बनाउने तयारीमा छैन तापनि समयको अन्तरालमा यसको तयारीमा लाग्दैन भन्न सकिन्न । तर यसको लागि नेपालको भुटानीकरण सबभन्दा पहिलो आवश्यकता हो । अन्तर्राष्ट्रियरुपमा एक सार्वभौमसम्पन्न देशको रुपमा स्थापित देशलाई सिक्किमीकरण गर्न सर्वप्रथम अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र मुल्य तथा मान्यताहरुमा परिवर्तन आउनु पर्छ वा अहिलेको अन्तर्राष्ट्रिय व्यवस्थाको जुन संरचना र नीतिगत प्रस्थापनाहरु स्थापित भएका छन् ती सबै भताभुङ्ग भएको हुनुपर्छ ।
अर्कोतर्फ नेपालको उत्तरी सीमामा रहेको तिब्बत चीनबाट अलग भएको हुनुपर्छ । तत्काल यी कुराहरुमा परिवर्तन आउने कुनै संकेत देखिएको छैन । तर यदि चीनबाट तिब्बत अलग भयो र अन्तर्राष्ट्रिय संरचना र मान्यतामा व्यापक फेरबदल आएमा सिक्किम निले झैँ नेपाललाई निल्न पनि भारतले लाज मान्ने छैन भन्ने कुरामा शंका गर्नु जरुरी छैन । तथापि भारत अहिले नेपालसँग जोडिएको भूभागमा सीमा मिच्ने तथा सीमाका नेपालीलाई सताउने काम सम्ममात्र सिमित रहने छ भने नीतिगतरुपमा सिङ्गो नेपाललाई भुटानीकरण गर्नेमा नै आफ्नो सम्पूर्ण शक्ति खर्च गरिरहने छ ।
भुटानीकरणको लागि को दोषि ?
नेपाल अहिले जुन भुटानीकरणको क्रममा रहेको छ । यसको प्रमुख दोषि भारत होइन । यसको प्रमुख दोषि नेपालका नेताहरु र राजनीतिक दलहरु नै हुन् । पार्टीगत तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर भारतसँग समानताको आधारमा व्यवहार गर्न नसक्ने नेताहरुले नै अहिलेको अवस्था सृजना गरेका हुन् । ‘र’लाई नेपालमा एजेण्ट खोज्न कुनै पापड पेल्नु परेको छैन । नेता, कार्यकर्ता, पत्रकार, मानवअधिकारवादी, व्यापारी, उद्योगी, बुद्धिजीवि लगायतका हरेक क्षेत्रमा ‘र’को एजेण्ट बन्न हानथाप रहेको छ । भारतीय दूतावासमा भित्रिनको लागि हरेका तप्काका व्यक्तिहरु अत्यन्त लालयित रहने गरेका छन् । सिंहदरबारमा फोटो झुण्ड्याउनको लागि भारत दाहिना हुनुपर्छ भन्ने खालको मनोविज्ञानको विकास नेपाली नेता आफैले गरेका हुन् । त्यसैले भारतलाई सरापेर मात्र भुटानीकरणको क्रममा रहेको नेपालको स्वाभिमान जोगाउन सकिन्न । यसको लागि नेपालका विभिन्न तप्काका मानिसहरु जसले भारतीय तावेदारी गर्ने गर्छन्, उनीहरुलाई सप्रमाण नङ्ग्याउनु जरुरी छ । आफ्नो घर ठीक ढंगले चलाउन नसक्ने अनि छिमेकीले हेपे वा सिक्किमीकरण वा भुटानीकरण गर्न लाग्यो भनेर चिच्याउनुलाई मात्र सहि मान्न सकिन्न । अथवा सुरुङ खनेर वा तुरुङ खडा गरेर दुई देशबीचको सम्बन्धलाई सही बाटोमा ल्याउन सकिँदैन ।
भारत र चीनसँगको सम्बन्ध 
भौगोलिक सुगमता, साँस्कृतिक सामिपत्या र व्यपारिक अनिवार्यताको कारण नेपालको सम्बन्ध भारत र चीनसँग एकैखालको हुन सक्दैन । कुटनीतिक भाषामा समान दुरी कायमा राख्ने भनिए पनि व्यवहारमा यथार्थवादी हुनु जरुरी छ । भारतमा लाखौँ लाख नेपालीहरु अहिले पनि रोजगारीमा रहेका छन् । त्यतिमात्र होइन भारतीय सेनामा पनि नेपालीहरुको ठूलो संख्या रहेको छ । यति ठूलो संख्यामा नेपालीहरुले रोजगारी पाए पनि अथवा पेन्सनको रुपमा अरबौँ भारतीय रुपैयाँ नेपाल भित्रिए पनि नेपालको भारतीय मुद्रामा सोधनान्तर र व्यपार घाटा विकराल रहेको छ । हाम्रा गाउँघरमा खेतीयोग्य जमिन बाँझै छन् तर त्यही गाउँका मानिसहरु भारतमा उब्जेका तरकारी किनेर खान थालेका छन् । कृषि प्रधान मुलुक भन्ने तर अब तरकारी पनि भारतको खानु पर्ने स्थितिले भारतलाई सरापेर मात्र नेपालको उत्थान हुन सक्दैन । स्वाभिमानी राष्ट्र बनाउन आर्थिक उन्नति पनि जरुरी छ । साथै, भारतीय सेनामा नेपालीहरु भर्ती हुने जुन परम्परा छ, त्यसलाई पनि एक निश्चित अबधिभित्र बन्द गर्नु पर्छ । भारतीय सरकारले मात्र होइन नेपालीलाई भारतीय जनताले पनि हेप्ने गर्दछन् । भारतीयको लागि बहादुर, नगरवधु, चाचा र गोर्खा बन्ने परिस्थिति समाप्त गरेर मात्र भारतसँग स्वाभिमान तथा गौरवपूर्ण सम्बन्ध कायम गर्न सकिन्छ ।
भारतसँग जति सामिप्यता छ, त्यति चीनसँग नभए पनि उत्तरी नाकाहरुमा यातायातको सुविधा पु¥याउन सकिएमा चीनसँग पनि हाम्रो व्यपारमा व्यापक बृद्धि हुन सक्छ । तर व्यपार गर्नु भनेको आयत मात्र गर्नु हो भन्ने खालको अवस्थामा नेपाल पुगेको छ । यदि नेपालले कृषिमा उत्पादन र उत्पादकत्व बढाउने खालको नीति लिन सक्दैन भने नेपाल भारतको मात्र होइन चीनसँग पनि ‘मारे मार पाले पाल’ भनेर आत्मसमर्पण गर्नु पर्ने स्थितिमा पुग्ने छ । नेपालले आयत प्रतिस्थापन गर्ने उद्योग सञ्चालनको साथै खाद्यान्नमा पूर्ण आत्मनिर्भर हुने नीति लिनु जरुरी छ । अन्यथा यही हिसावले नेपाल दिनानुदिन कमजोर हुँदै गएमा नेपालले चीन र भारतसँग राख्ने सम्बन्ध वा नीतिगत धारणाको कुनै अर्थ रहँदैन । कमजोर र गरीव हुँदै गएको अवस्थामा छिमेकीहरुले गर्ने व्यवहार कति रुखो र अपमानजनक हुन्छ भन्ने कुराको आभाष अहिले नै पाउन सुरु भई सकेको छ ।
भारतमा माओवादी सशस्त्र युद्ध
भारत सरकारको लागि भारतीय माओवादीहरु ठूलो चुनौतिको रुपमा देखापरेका छन् । भारत सरकारले माओवादीहरुलाई हतियारकै बलमा दमन गर्ने नीति लिएको छ । भारतका करिब २२० जिल्लाहरुमा माओवादीहरुको प्रत्यक्ष अप्रत्यक्ष पकड रहेको छ । ग्रामिण क्षेत्रमा सिमित रहेका माओवादीहरु अहिले सहरी क्षेत्रमा पनि फैलिन पुगेका छन् । भारतीय सरकारले दमनको नाममा गरिरहेको गैरन्यायिक हत्याको कारण माओवादीतर्फ सहानुभूति स्वरुपसमेत समर्थन बढिरहेको छ । अहिले बौद्धिक समुदायमा पनि माओवादीका शुभचिन्तकहरु देखा पर्न थालेका छन् । भारतमा बढ्दो माओवादी सशस्त्रको युद्धको प्रमुख प्रेरक शक्तिको रुपमा भारतले नेपालका माओवादीलाई लिने गरेको छ । यही कारणले गर्दा नेपालका माओवादीलाई शान्ति संझौतामा ल्याएर हतियार बिसाउने अवस्था सिर्जना गर्न भारत हरतरहको सहयोग गर्न तयार भयो । तर अहिले हतियार बिसाई सकेको माओवादीबाट जुन एक चिरा फेरि पुरानै बाटोमा जान लागेको छ, यसलाई दृष्टिगत गरी भारत फेरि नेपालमा आफ्नो चलखेल ह्वात्तै बढाउन थालेको छ । भारत आफ्नो देशमा रहेका माओवादीलाई जसरी दमनको बाटोबाट नै सामना गर्दैछ नेपालमा पनि यदि वैद्य समुहले हतियार उठाएमा दमन नै होस् भन्ने चाहन्छ । अहिलेसम्मको गतिविधिलाई विश्लेषण गर्ने हो भने मोहन वैद्यको नेतृत्वमा रहेको नेपालका माओवादीहरु पुरानै बाटोमा जान बाध्य हुने स्थिति सृजना हुँदै गएको छ भने भारतले पनि नेपालमा आफ्नो सक्रियता निकै बढाएको छ ।
सारंशमा भन्नु पर्दा भारत नेपालको असल छिमेकी बन्नेतर्फ उन्मुख रहेको छैन । यसमा उसलाई मात्र दोष दिएर नेपाली नेताहरु तथा राजनीतिक पार्टीहरुको दायित्व पुरा हुन सक्दैन । सबैले आत्मसमीक्षा गर्नु पर्ने बेला आएको छ । साथै भारतसँगको सम्बन्धलाई यथार्थवादी भएर हेर्नु पनि जरुरी छ । भारतले आफ्नो स्वार्थ अनुकुल नीति लाद्न खोज्नुलाई कुनै नौलौ कुरा मान्नु पर्दैन किनकि हरेक मुलुकले आफ्नो स्वार्थलाई ध्यान दिएकै हुन्छन् । तर हामीले हाम्रो स्वार्थ लाद्नु त परै जावोस् सामान्य हाम्रा कुरा पनि भारत समक्ष राख्न सकेका छैनौँ । त्यसैले सबभन्दा पहिला कुरा राख्न सक्ने हुनु प¥यो । स्थितिलाई उरालेर भारतले सिक्किम बनाउन लाग्यो भन्ने हल्ला गरेर केही भ्रष्ट मिडिया हाउस र भारतको उग्र विरोध गरेर जनतामा स्थापित हुन सकिन्छ भन्ने गैर जिम्मेवार राजनीतिक नेताहरुको लहलहैमा लाग्नुले धोखा हुन सक्छ । स्पष्ट छ भारत नेपाललाई सिक्किमीकरण होइन कि भुटानीकरण गर्न चाहन्छ र यसमा एकहदसम्म सफलता पनि पाएको छ । अहिलेको अवस्थामा नेपाली जनताहरु भारतसँग यथार्थवादी सोचको आधारमा व्यवहार गर्न तयार हुँदै भुटानीकरणको विरुद्धमा सशक्तरुपमा उभिनु अत्यन्त जरुरी छ ।
(सत्यतथ्य मासिकको मे २०१३ को अंकमा प्रकाशित यो लेख महत्वपूर्ण लागेर राखिएको हो ।)

No comments:

Post a Comment