शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, October 11, 2013

नेपालका शक्तिपीठहरू

नेपाललाई शक्तिभूमि भनिन्छ। नेपालमा शक्तिस्वरूपा भगवतीका अनेकौं मन्दिर छन्। नेपालका प्रायः हरेक गाउँमा ग्रामदेवीका रूपमा प्रतिष्ठित विविध रूप र विशेषतायुक्त देवी मन्दिरहरू छन्। बडादसैंका अवसरमा ती सबै स्थानमा विशेष पूजा-आराधना गरिन्छ। यीमध्ये पनि शक्तिपीठ मानिने पुराणमा वणिर्त मन्दिरहरूलाई विशेष महत्व दिने गरिएको छ। हुन त सबै देवी मन्दिरहरू शक्तिपीठ नै हुन् तापनि सतीदेवीको अंग पतन भएर उत्पत्ति भएका मन्दिरलाई मात्र शक्तिपीठ भनिन्छ। स्कन्द पुराणअनुसार सत्ययुगमा भगवान् शंकरकी अर्धाङ्गिनी शक्तिस्वरूपा देवी सतीको मृत्युपछि शक्तिपीठहरू उत्पन्न भएका हुन्। पिता दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा आफ्ना पति महादेवको निन्दा गरिएपछि सहन नसकी सतीदेवीले यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरिन्। त्यसपछि महादेवले आफ्ना गणहरूद्वारा दक्षयज्ञ विध्वंश गराई दक्षलाई पनि सजाय दिएपछि मृत सतीदेवीलाई बोकेर यत्रतत्र हिँड्न थाले। यसरी हिँड्दा सतीदेवीका अंग विस्तारै झर्दै जान थाले र जहाँ-जहाँ सतीदेवीका अंग पतन भए त्यहाँ-त्यहाँ एक-एकवटा शक्तिपीठ, महादेव तथा योगिनी उत्पत्ति भए। विश्वभरिमा यस्ता शक्तिपीठ ५२ वटा रहेको बताइन्छ।

नेपालका शक्तिपीठहरू

श्री गुह्येश्वरी ः सतीदेवीको गुह्य पतन भएको विश्वास गरिने गुह्येश्वरीको मन्दिर काठमाडौंको बाग्मती नदी किनारमा छ। यो स्थानमा सर्वप्रथम तेत्तीस कोटी देवी-देवताले आराधना गरेको विश्वास छ। बडादसैंको अवसरमा घटस्थापनाको दिनदेखि नै विशेष पूजाआजा हुने यो शक्तिपीठमा अन्य समयमा पनि भक्तजनहरूको भीड लाग्ने गरेको छ। यहाँ देवीको कुनै मूर्ति छैन। सतीदेवीको गुह्य पतन भएको ठाउँमा मन्दिरको गर्भगृह छ जहाँ एउटा सानो प्वाल मात्र छ। त्यही ठाउँमा श्रद्धालुहरूले भक्तिपूर्वक पूजा-आराधना गर्छन्।

श्री दन्तकाली ः दन्तकाली देवीको मन्दिर सुनसरी जिल्लाको धरानमा छ जहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम गङ्गा आदि नदीहरू आई पूजा-आराधना गरी वरदान प्राप्त गरेको उल्लेख शास्त्रहरूमा पाइन्छ। दन्तकालीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुने गरेको छ।

श्री वागेश्वरी ः बाँके जिल्लाको नेपालगञ्जमा वागेश्वरी देवीको मन्दिर छ। त्यहाँ सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम किन्नरहरू आई आराधना गरेको विश्वास गरिन्छ। एउटा ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाल अधिराज्यमा गाभिएपछि मात्रै पत्ता लागेको हो। वागेश्वरीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री कमलाक्षी ः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षी देवीको मन्दिर छ। यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम योगमार्गीहरूले आराधना गरी योगसिद्धि प्राप्त गरेको विश्वास गरिन्छ। एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देख्न सकिन्छ। कमलाक्षीमा पनि घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा गरिन्छ।

श्री छत्रेश्वरी ः सल्यान जिल्लाको छायाक्षेत्रमा छत्रेश्वरी देवीको मन्दिर छ। यहाँ सतीदेवीका शेष रहेका सम्पूर्ण अंग पतन भएको विश्वास गरिन्छ। भगवान् शंकरले विशेष पूजा-आराधना गरेको विश्वास रहेको हुँदा यो स्थानमा कुनै पनि अवसरमा बलि चढाइँदैन। नेपाल अधिराज्यभित्र यो मात्र त्यस्तो शक्तिपीठ हो जसमा बलि निषेध छ।

श्री भैरवी ः काठमाडौं जिल्लाको गोकर्ण क्षेत्रमा भैरवी देवीको मन्दिर छ जहाँ सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम विष्कुम्भहरू आई पूजा गरेको विश्वास छ। भैरवी मन्दिरमा पनि घटस्थापनका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री ज्वालादेवी ः दैलेख जिल्लाको सदरमुकाम नजिक नाभी र छामगाड खोलाको किनारमा ज्वालादेवीको मन्दिर छ। यो स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको विश्वास गरिन्छ। ज्वालादेवीमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

श्री जालपादेवी ः नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली र तादी नदीको दोभान देवीघाटमा जालपादेवीको मन्दिर छ। यो स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको विश्वास छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिर नजिकै दोभानमा गरिएकाले नेपालको इतिहासमा यो मन्दिरको विशेष स्थान छ।

श्री गलेश्वरी ः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा गलेश्वरी देवीको मन्दिर छ। उक्त स्थानमै भएको गलेश्वर महादेवको मन्दिर पनि निकै प्रसिद्ध छ। एउटै परिसरमा शक्ति र शिवको मन्दिर रहेकाले पनि यो स्थानको विशेष महत्व छ जहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको विश्वास छ।

नेपालका केही प्रमुख देवी मन्दिरहरू

श्री तलेजु भवानी ः काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु वा तुलजा भवानीको मन्दिर यसकारण पनि प्रसिद्ध छ कि यो वर्षको एकदिन अर्थात् शारदीय नवरात्रको महानवमीका दिन मात्र खुल्छ। उपत्यकाका तीनै सहरमा अवस्थित तलेजु भवानीलाई सिम्रौनगढबाट ल्याइएको हो। मल्लकालदेखि नै राजाहरूका इष्टदेवीका रूपमा पूजा गरिने यी देवीलाई नेवारहरूले समेत इष्टदेवी मान्ने गरेका छन्। यी देवीसित जोडिएका अनेक किंवदन्ती प्रचलित छन्। उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला आदि स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ।


श्री चण्डेश्वरी ः काभ्रे पलाञ्चोक जिल्लाको बनेपास्थित चण्डेश्वरीलाई स्थानीय बासिन्दाहरू शक्तिपीठ नै मान्छन्। बडादसैं र चैतेदसैंका अवसरमा भक्तजनको घुइँचो लाग्ने यो मन्दिरप्रति स्थानीय जनताको विशेष श्रद्धा रहिआएको छ।

श्री पाथीभरा ः ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा १२ हजार फिटको उचाइमा अवस्थित पाथीभरा मन्दिर नेपालका हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि उत्तिकै आस्थाको केन्द्र बनेको पाइन्छ। यहाँ श्रीभवानीको ठूलो मन्दिर छ।

श्री सिंहवाहिनी ः तेर्‍हथुम र पाँचथर जिल्लाको सीमाक्षेत्र यासोकमा सिंहवाहिनी देवीको मन्दिर छ। यो मन्दिर परापूर्व कालमा बटुवाहरूले पत्ता लगाएको विश्वास गरिन्छ। बडादसैंको अवसरमा यो मन्दिरमा श्रद्धालुहरूको घुइँचो देख्न सकिन्छ।

श्री कन्काई माई ः यो मन्दिर झापा जिल्लाको कन्काई नदीको किनारमा छ। झापा जिल्लाका आदिवासी राजवंशीहरूकी आराध्यदेवी कन्काई माईले रोगव्याधिबाट रक्षा गर्छिन् भन्ने जनविश्वास छ।

श्री छिन्ताङ भगवती ः यो मन्दिर धनकुटाको छिन्ताङ गाविसमा छ। श्रीभवानीका सहस्रौं स्वरूपमध्ये एक छिन्ताङ भगवती लिम्बू समुदायकी आस्थाकी प्रतीक मानिन्छिन्।

श्री कमलामाई ः विष्णु पुराणको मिथिला माहात्म्यमा समेत वणिर्त कमलामाईको मन्दिर सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट ११ किलोमिटर दक्षिणमा छ। यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको पाइन्छ।

श्री तौथलीमाई ः सिन्धुपाल्चोक जिल्लाको पूर्वी भेगमा रहेको तौथलीमाई मन्दिरमा दसैंका दिन ठूलो मेला लाग्छ।

श्री मैदी भगवती ः यो मन्दिर धादिङ जिल्लामा छ। महिषासुरको विनाशपछि सिंहवाहिनी देवीले विश्राम लिएको विश्वास गरिने यो मन्दिरमा पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएकाले यसको ऐतिहासिक महत्व छ।

श्री विन्ध्यवासिनी ः कास्की जिल्लाको पोखरामा अवस्थित विन्ध्यवासिनीलाई नेपालमा आगन्तुक देवी मानिन्छ। पुराणमा वणिर्त कथाअनुसार श्रीभवानी दक्षिण भारतको विन्ध्याचलबाट हिमालयतर्फ जाने क्रममा यहीँ आएर रोकिएकी हुन्। बडादसैंको अवसरमा यो मन्दिरमा दर्शनार्थीहरूको भीड लाग्छ।

श्री कालिकादेवी ः लमजुङ जिल्लाको बेसी सहरमा अवस्थित कालिकादेवी शाहवंशीय राजाहरूकी आराध्यदेवी हुन्। द्रव्य शाहले गोर्खा राज्यको स्थापना गरेपछि यिनै कालिकादेवीको प्रतिरूपलाई गोर्खा राज्यमा स्थापित गरेका थिए।

श्री अर्घाकोटदेवी ः चौबीसे राज्यहरूमध्ये एक अर्घा राज्यका सेन राजाहरूकी आराध्यदेवी अर्घाकोट देवीको मन्दिर अर्घाखाँची जिल्लाको अर्घाकोटमा छ।

श्री खैराबाङ ः सल्यान जिल्लाको सदरमुकाम खलङ्गा बजारबाट २० किलोमिटर दक्षिणमा खैराबाङ भगवतीको मन्दिर छ। यो मन्दिरमा घटस्थापनादेखि पूणिर्मासम्म विशेष पूजाआजा हुन्छ।

श्री देउती बज्यै ः सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरबाट २ किलोमिटर पूर्वमा अवस्थित देउती बज्यैलाई बालबालिकाहरूकी संरक्षिका मानिन्छ। दसैंमा यो मन्दिरमा विशेष पूजाआजा गरिन्छ।

श्री त्रिपुरासुन्दरी ः डोल्पा जिल्लाको उत्तरपश्चिम क्षेत्रमा सानी भेरी नदीको किनारमा अवस्थित त्रिपुरासुन्दरी देवीलाई दानवराज मयकी आराध्यदेवी मानिन्छ। त्रिपुरासुन्दरी देवीको अर्को प्रसिद्ध मन्दिर धादिङ जिल्लामा छ। यी दुवै मन्दिरमा दसैंमा विशेष पूजा हुन्छ।

श्री बडीमालिका ः बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने यो मन्दिर समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ। बडादसैं र चैतेदसैंमा ठूलो मेला लाग्ने यो मन्दिरमा भक्तहरू मालिकादेवीकी आमाको पूजा गर्छन्। मालिकादेवीको मन्दिर पनि बाजुरामै १४ हजार ४ सय फिटको उचाइमा छ।

श्री वरदादेवी ः अछाम जिल्लाको सदरमुकाम मंगलसेन नजिकै गाजरा भन्ने ठाउँमा वरदादेवीको मन्दिर छ। रामारोशन पहाडको फेदीमा अवस्थित वरदादेवीको यही मन्दिरमा जुम्लाका प्रसिद्ध राजा जितारी मल्लले आफ्नो राज्य विस्तारका क्रममा विशेष पूजा-आराधना गरेको जनविश्वास छ।

श्री सखडा भगवती ः सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा सखडा भगवतीको मन्दिर छ। छिन्नमस्ता भगवती समेत भनिने यो मन्दिरमा दसैंमा विशेष पूजा-आराधना हुन्छ।

श्री उग्रतारा ः डडेलधुरा जिल्लाको सदरमुकामस्थित श्री उग्रताराको मन्दिरमा वर्षैभरि श्रद्धालुहरूको भीड लाग्छ। स्थानीय बासिन्दाहरू उग्रतारालाई सबै किसिमका विघ्नहर्ताका रूपमा पूजा गर्छन्।

श्री महाकाली ः कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरस्थित महाकालीलाई स्थानीय जनता भारतको पूर्णगिरिमा रहेको शक्तिपीठको एउटा खण्डका रूपमा पूजा गर्छन्। नेपालको पश्चिमी सीमा महाकाली नदीको नामकरण यिनै देवीको नामबाट गरिएको विश्वास छ।

श्री तालबाराही ः कास्की जिल्लाको पोखरास्थित फेवातालमा रहेकी तालबाराहीलाई सबै किसिमका तालतलाउहरूकी स्वामिनीका रूपमा पूजा गरिन्छ। दसैंमा यो मन्दिरमा दर्शनार्थीहरूको ठूलो घुइँचो हुन्छ।

श्री गढीमाई ः बारा जिल्लाको सदरमुकाम कलैया बजारदेखि दक्षिणमा पर्ने गढीमाई स्थानीय जनताको ठूलो आस्थाकेन्द्र हो। हरेक ५ वर्षमा ठूलो मेला लाग्ने यो मन्दिरमा नेपाल अधिराज्यमै सबैभन्दा बढी बलि चढाइन्छ। दसैंमा गढीमाईमा विशेष पूजाआजा हुन्छ।

श्री डिंग्रे भगवती ः रुकुम जिल्लाको सदरमुकाम मुसिकोटस्थित यी भगवतीलाई स्थानीय बासिन्दाहरू सन्तानेश्वरी देवीका रूपमा पूजाआजा गर्छन्। बडादसैंको अवसरमा यो मन्दिरमा ठूलो घुइँचो लाग्छ।

श्री नैनादेवी ः कैलाली जिल्लाको सदरमुकाम धनगढीमा अवस्थित नैनादेवी मन्दिरको सम्बन्ध भारतको नैनीतालस्थित नैनादेवीसँग रहेको स्थानीय जनविश्वास छ। बडादसैंको अवसरमा बलि चढाइने यो मन्दिरप्रति स्थानीय जनताको ठूलो आस्था छ।

श्री दक्षिणकाली ः काठमाडौं उपत्यकाबाट २१ किलोमिटर दक्षिण शेषनारायण गाविसमा यो मन्दिर छ। हरेक समय उत्तिकै भीड लाग्ने यो मन्दिरमा शनिबार र मंगलबार विशेष घुइँचो हुन्छ। नवरात्रिका अवसरमा विशेष रूपले पूजा हुने यो मन्दिर निकै प्रसिद्ध छ।

श्री शोभाभगवती ः काठमाडौं उपत्यकामा विष्णुमती नदीको किनारमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो। दसैंमा यो मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ।

श्री मैतीदेवी ः काठमाडौं उपत्यकाको मैतीदेवीमा अवस्थित यो मन्दिर उपत्यकाको प्राचीन एवं प्रसिद्ध मन्दिर हो। मैतीदेवी भन्ने स्थानको नाम यिनै देवीको नामबाट रहेको हो। बडादसैंका अवसरमा यो मन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ।

श्री भद्रकाली ः श्रीमद्भागवत महापुराणमा समेत उल्लेख भएको भद्रकाली मन्दिर काठमाडौं उपत्यकाको केन्द्रमा छ। यो निकै प्रसिद्ध मन्दिर हो। अन्य समयमा पनि श्रद्धालुहरूको कमी नहुने यो मन्दिरमा दसैंमा भक्तजनको ठूलो भीड लाग्छ।
साभार: नारी मासिक

No comments:

Post a Comment