शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, April 11, 2013

अन्तरिक्षबाट नेपाल 'सबैभन्दा नजिक'

काठमाडौं, चैत ३० - 'अग्ला अग्ला हिमालको कारण अन्तरिक्षबाट नेपाल चिन्न सजिलो छ। सानो देश भए पनि अन्तरिक्षबाट हेर्दा नेपाल यहाँ छ भनेर स्पष्ट हुन्छ,' रुसी अन्तरिक्ष यात्री भ्लादिमिर निबेकोझाभले भने।
'अग्ला हिमालले नेपाललाई चिनाउन मात्रै होइन अन्तरिक्षबाट नेपाललाई सबैभन्दा नजिक समेत बनाएको छ,' झानिबेकोभले यसो भनिरहँदा कमलपोखरीस्थित रुसी विज्ञान तथा संस्कृति केन्द्रको हल तालिले गुञ्जयमान बनेको थियो।
पहिलो महिला अन्तरिक्ष यात्री भ्यालेन्टिना टेरेस्कोभाले अन्तरिक्ष यात्रा गरेको स्वर्ण वर्ष र अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्री दिवसमा नेपाल खगोलीय समाज (नासो) र केन्द्रले नेपालीसँग अन्तरिक्ष यात्री झानिबेकोभको अन्तर्क्रिया जुराएको थियो।
पाँचपटक अन्तरिक्षमा पुगेका ७१ वर्षे झानिबेकोभले १ सय ४५ दिन १५ घण्टा र ५६ मिनेट अन्तरिक्षमा बिताएका छन्। त्यसक्रममा उनी र उनको समूहले भूभाग, जैविक विविधता, भौतिक विज्ञान, रसायनशास्त्र र औषधि विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।
'पाँच वर्षकै हुँदादेखि अन्तरिक्षमा पुग्ने चाहना थियो,' उनले भने, 'युरी गागरिन अन्तरिक्षमा पुगेपछि मलाई यो कुराले तान्यो।'

उनले अन्तरिक्ष अभियानबाट खगोलीय अनुसन्धानमा मात्रै नभएर मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने धेरै विषयमा अध्ययन अनुसन्धान गर्न सहयोग गरेको बताए।
मैले अन्तरिक्षबाट नयाँ प्रकारको कपास बनाएको थिएँ। 'लामो धागो र निकै बलियो थियो,' उनले भने, 'यो नयाँ जेनेरेसनको कपास थियो। त्यो नै मेरो अनुसन्धानको सबैभन्दा महत्वपूर्ण रह्यो।'
उनले अन्तरिक्षमा अंकुरण गराएको कपासबाट ७८ मिलिमिटरको धागो बनको थियो। त्यसअघि सबैभन्दा राम्रो कपास उत्पादन इजिप्टको मानिन्थ्यो। 'त्यसको धागो ४५ मिलिमिटर मात्रै थियो,' उनले भने।
उज्वेकिस्तानको राजधानी तासकन्द नजिकै सन् १९४२ मा जन्मिएका झानिबेकोभले पहिलोपटक सन् १९७८ अन्तरिक्ष यात्रा गरेका थिए।
'यान रातको समयमा प्रक्षेपण भएको थियो। जब बिहान सूर्योदय भयो, त्यो बेला पृथ्वी हेर्दा निकै रमाइलो लागेको थियो,' उनले भने, 'पृथ्वीमा धेरैवटा रंग देख्न थाले। साँच्चै त्यो दृश्य अद्भूत थियो।'
अन्तरिक्षबाट हेर्दा पृथ्वी हेर्दा समुद्रै समुद्र देखिने बताएका उनको प्रश्न थियो, 'पृथ्वीलाई पृथ्वी कसले भन्न थाल्यो यसलाई समुद्र किन नभन्ने?' उनले समुद्रमा ठूला पानीजहाज हिँडेको बाटोमा उत्पन्न छालका दृश्यले अन्तरिक्ष यात्रीलाई रोमाञ्चित गर्ने बताए।
सन् १९८६ मा अन्तरिक्ष अभियानबाट सन्न्यास लिएका उनी रुसी एयरफोर्सको मेजर जनरल बनेका थिए। त्यसपछि राजनीतिमा सक्रिय उनी सोभियत संघ पतन हुँदाताका उज्वेकिस्तानको शीर्ष दोस्रो कार्यकारी पदमा पुगेका थिए। 'सेवा निवृत्त भएपछि आफ्नो रुचीको विषय भौतिकशास्त्रको अध्ययन अनुसन्धान गर्दै आएको छु,' उनले भने।
पछिल्लो समयमा अन्तरिक्ष विज्ञानमा ठूलो प्रगति भएको भन्दै उनले खुसी व्यक्त गरे। झानिबेकोभले मानिस चाँडै मंगल ग्रहमा पुगेर आउन सफल हुने दाबी गरे।
'अहिले नै अन्तरिक्षमा ५-६ महिना मानिस बस्न सक्ने भएका छन्,' उनले भने, 'यो बढेर एक डेढ वर्ष पुग्नेछ र मंगल ग्रहमासमेत मानिस पुग्ने छन्।' कार्यक्रममा खगोलशास्त्री, विद्यार्थी, प्राध्यापक र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका अधिकारीको सहभागिता थियो।
कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले नेपाल र रुसबीच अन्तरिक्ष कार्यक्रममा सहकार्य हुनपर्ने बताए।
'अन्तरिक्षको क्षेत्रमा अध्ययन गर्ने हाम्रोमा धेरै युवा छन्,' शाक्यले भने, 'रुससँग मंगोलियाले सहकार्य गरेर अन्तरिक्षयात्री बनाएर अन्तरिक्षमा पठाउन सक्छ भने नेपालले किन नसक्ने।'
-Nagariknews.com

No comments:

Post a Comment