शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 18, 2011

स्वास्थ्य र समृद्धिको प्रतिक रुद्राक्ष -त्रिचन्द्र 'प्रतीक्षा'

नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई 'लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल ।' भनेर परिभाषित गरिएको छ ।
त्रिचन्द्र 'प्रतीक्षा'
रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।

इन्डोनेसियामा उत्पत्ति भएको अनुमान गरिएको यो वनस्पति पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् ।
रुद्राक्ष दुई शब्द रुद्र+अक्ष मिलेर बनेको हो । रुद्र यानि भगवान् शिव र अक्ष यानि आँसु । अर्थात् भगवान् शिवको आँसुबाट जुन रुख अस्तित्वमा आए त्यसैलाई रुद्राक्ष भनियो ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्य मुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो ।
नेपाली भाषामा रुद्राक्ष, संस्कृति भाषामा रुद्रक, रुद्राक्षा, शिवाक्ष आदि भनिन्छ भने अङ्ग्रेजीमा अल्ट्रासमबिड, ल्याटिन भाषामा एलिओ कार्पसजेनिट्स र हिन्दी भाषामा रुद्राक्ष नै भनिन्छ ।

रुद्राक्षको प्रकार
'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ भने एक मुखी रुद्राक्षलाई शिवको प्रतिक (रूप) मानिन्छ । यो एक मुखी रुद्राक्ष १२ वर्षमा एक पटक एउटा मात्र फल्छ र भाग्यमानीले मात्र सो एक मुखी रुद्राक्ष भेट्टाउँछ भन्ने किंवदन्ती रहिआएको छ ।
स्कन्दपुराणमा वर्णन गरिएअनुसार रुद्राक्षको गिर्खा (पाटाहरू) को आधारमा चौध थरिका रुद्राक्ष हुन्छन्, जसलाई हामी मुखी पनि भन्छौं । १ देखि १४ मुखी रुद्राक्षलाई कुन स्वरूप, फाइदा हुन्छ त्यसको विवरण हेर्नुहोस् ।
मुख    स्वरुप     धारण गर्दाको फाइदा   
१ मुखे  -  शिव  -पाप नाश, लक्ष्मीको बास, वाधा हट्ने, इच्छा पुरा हुने   
२ मुखे  - देवेश   -मनोकामना पुरा हुने, पाप-मुक्ति र गर्भरक्षा गर्ने   
३ मुखे   - सिद्ध     -कार्य सिद्धि, विद्यामा लाभ   
४ मुखे   - ब्रहृमा     -स्वास्थ्य लाभ, ज्ञानी, धनवान   
५ मुखे  -  रूद्र     -कम्तीमा ३ दाना धारणा गर्दा मनोकामना पुरा हुने   
६ मुखे   - कार्तिकेय     -एकाग्रता र ज्ञानवर्धन   
७ मुखे  -  काम एवं धन   -आकस्मिक धन प्राप्ति हुने   
८ मुखे  -  भैरव    -व्यापारी वर्गका लागि परमोपयोगी   
९ मुखे  -  कपोल    -दुर्गाको प्रतिनिधि भएकोले सधैं सफलता र यश प्राप्ति   
१० मुखे  -  विष्णु    -समस्त कामनाको सिद्धि र स्वास्थ्य लाभ हुने   
११ मुखे   - एकादश रूद्र    -र्सवत्र विजय, समृद्धिशालिता   
१२ मुखे  - आदित्य     -तेजस्वी हुने, सौभाग्यवर्द्धक   
१३ मुखे  - विश्वदेवता    -सौभाग्य र कामना प्राप्ति   
१४ मुखे  -  परम शिव   - सदा निरोगी, सर्व पाप नाश हुने   

यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ ।
सक्कली रुद्राक्ष पत्ता कसरी लगाउने ?
रुद्राक्षलाई पानीमा हालेर हेर्ने, जुन रुद्राक्ष पानी मुनि गएर बस्छ, त्यो रुद्राक्ष सक्कली हो, जुन रुद्राक्ष पानी माथि तैरिन्छ भने त्यो नक्कली रुद्राक्ष हो जसलाई प्रयोग गर्नु हुन्न ।
एक मुखी रुद्राक्षलाई पवित्र भावनाले कुनै पनि केराको खम्बामा प्वाल पारेर त्यसभित्र राख्ने भोलि पल्ट केराको खम्बालाई काट्ने काट्दा खम्बा सजिलै काटेमा रुद्राक्ष नक्कली हो, खम्बा काठ जस्तै कडा भएर काट्न सकेन भने सक्कली हो । रुद्राक्षलाई त्यहाँबाट निकाल्दा केही समयपछि त्यो केराको खम्बा (रूख) स्वतः नै ढलेर जानेछ ।
कुनै पित्तलको भाँडामा एक मुखी रुद्राक्षलाई राखेर, त्यसमाथि १०८ वटा बेलको पत्र लिएर त्यसमा ''ॐ नमः शिवाय'' मन्त्र चन्दनले लेखेर रुद्राक्षको माथि बेलपत्र रातभर राखिदिनु, बिहान तपाईंले उक्त रुद्राक्ष बेलपत्रको माथि आएको पाउनु हुनेछ ।
रुद्राक्षको दानालाई घाममा ६ घण्टासम्म राख्दा पनि चर्केमा नक्कली, नचर्केमा त्यो असली मानिन्छ ।
एक मुखी रुद्राक्ष विद्युत् संवाहक हुन्छ । रुद्राक्षलाई दुईतिर तामाका दुई टुक्राका माझमा राख्ने वित्तिकै नाच्न थाल्छ ।
एक मुखी रुद्राक्षलाई गाईंको काँचो दूधमा रातभर राखिदिए बिहान त्यो दूध या त दहि जस्तै जम्छ, या फाटेको देखिन्छ ।
एक मुखी रुद्राक्षमा ध्यानपूर्वक हेर्दा आँखा वा त्रिशूलको चित्र कहीँ न कहीँ अवश्य देखा पर्दछ ।
कुनै पनि रुद्राक्ष सक्कली/ नक्कली पत्ता लगाउनका लागि रुद्राक्षमा अलिकति फेभिकलले पोल्ने सुकेपछि उक्त - रुद्राक्षलाई तातोपानीमा हालिदिने फेभिकल सजिलै उप्केमा रुद्राक्ष सक्कली हो फेभिकल उप्केन भने रुद्राक्ष नक्कली हो भने थाहा हुन्छ ।

रुद्राक्षको मूल्य
नेपालको पूर्वी क्षेत्र भोजपुर र सङ्खुवासभामा रुद्राक्षको उत्पादन अन्य ठाउँमा भन्दा व्यापक हुन्छ । रुद्राक्ष १ मुखे बहुमूल्य हुने गर्दछ भने ४, ५, ६ मुखेसम्म निकै सस्तोमा किनवेच हुन्छ भने २, ३, ७ देखि १३ मुखे पनि त्यहि अनुपातमा सस्तो भए पनि प्रतिकिलो ग्रामको रू. ५० देखि १०० रूपियाँसम्ममा खरिद बिक्री हुने गरेको भोजपुर निवासी एक रुद्राक्ष व्यापारी श्रीकान्त बस्नेत बताउनुहुन्छ । यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको व्यापार गरेर बस्ने रुद्राक्ष भण्डारका एक व्यापारीका अनुसार बजारमा खरिद विक्री हुने रुद्राक्षको मूल्य यसप्रकार रहेको अनुमान छ-

रुद्राक्ष र स्वास्थ्य
अनुसन्धानबाट सिद्ध भैसकेको छ कि रुद्राक्षबाट मुटुको रोग, रक्तचाप, छालाको रोग, टाउको दुख्ने, मन भ्रान्ति हुने, दिमागी गडबडी, मुर्छा पर्ने, तेज ज्वरो, निमोयिया, क्षयरोग, विषको प्रभाव कम पार्ने आदि रोगमा प्रभावकारी लाभ प्राप्त गर्न सकिन्छ । रुद्राक्षमा क्यान्सर जस्तो असाध्य रोगलाई पनि निको पार्न सक्ने क्षमता भएको रसायनशास्त्री डा. विहिम जमुरले बताएका छन् ।
उच्च रक्तचापः उच्च रक्तचापलाई नियन्त्रण गर्नका लागि पाँचमुखी रुद्राक्षको २ दाना रातभर एक गिलास पानीमा भिजाएर राख्ने, बिहान उठेर खाली पेटमा शौचक्रिया पछि उक्त पानी पिउने । रुद्राक्ष दाना भिजाउन तामा वा अन्य कुनै धातुको भाँडोको प्रयोगमा ल्याउनु पर्छ ।
मानसिक रोगः मानसिक रोग, स्मरणशक्ति क्षीण तथा मन मस्तिष्कका कुनै पनि विकारयुक्त रोग भएकाहरूले चारमुखी रुद्राक्षलाई दूधमा हालेर १०/१५ मिनेट उमाली २० दिनसम्म बिहान बेलुका सो दूध पिउने गरेमा आश्चर्यजनक लाभ पाउन सकिन्छ ।

रुद्राक्षसँग जोडिएका केही महत्वपूर्ण कुरा
· कहिले पनि कुनै अर्को व्यक्तिसँग आफ्नो रुद्राक्ष साट्नु हुन्न ।
· रुद्राक्ष सधैँ चाँदी, सुन, तामा वा पञ्चधातुमा राखेर धारण गर्नुपर्छ । यसलाई धागोमा पनि राखेर लगाउन सक्नुहुन्छ तर धागो रातो वा कालो हुनुपर्छ ।
· सबै रुद्राक्षमा समान गुण हुने गर्दछ । कुनै पनि रुद्राक्ष अर्को भन्दा कमजोर हुँदैन ।
· रुद्राक्ष धारणबाट एकाग्रता तथा स्मरण शक्ति मजबुत हुने गर्दछ ।
· रुद्राक्ष न त नकरात्मक ऊर्जा उत्सर्जित गर्दछ, न त यसलाई धारणबाट कुनै खराब प्रभाव व्यक्तिमा पर्दछ ।
· रुद्राक्ष धारण गरेको ४० दिनभित्रै नै व्यक्तित्वमा परिवर्तन देखाउन थाल्नेछ ।
· रुद्राक्ष सधैं सफा राख्नुपर्दछ । यसलाई पूजा कोठामा राख्न श्रेष्ठ मानिन्छ ।

सर्वश्रेष्ठ रुद्राक्ष र वर्ण विभेदः
शिवपुराणका अनुसार रुद्राक्ष यस लोकमा उत्तम फल दिने तथा सुख-सौभाग्यलाई वृद्धि गर्ने, जुन रुद्राक्ष अमलाको फल बराबर हुन्छ । रुद्राक्षको दाना जति सानो हुने गर्दछ, त्यति त्यति बढि फल दिनेमा पर्दछ । पुराणका अनुसार ठूलो रुद्राक्षका अपेक्षा सानो रुद्राक्ष धेरै फल (परिणाम) दिने हुन्छ । त्यस्तै अमला आकारको रुद्राक्ष सबैभन्दा राम्रो, बयर आकारको मध्यम र चना आकारको रुद्राक्ष निम्नस्तरको मानिन्छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।
दुईवटा रुद्राक्ष एकै ठाउँमा जोडिएका छन् भने ती जुम्ल्याहालाई साक्षात् गौरी-शङ्करको स्वरूप मानिन्छ ।
रुद्राक्षको वर्ण अनुसार सेतो रुद्राक्षलाई ब्राहृमण, रातोलाई क्षत्रीय, पहेँलोलाई वैश्य र कालो रुद्राक्षलाई शूद्र ठानिन्छ । धार्मिक मतअनुसार यो स्वास्थ्यवर्द्धक वनस्पतिलाई चारै वर्णको स्त्री पुरुषले धारण गर्न सक्छन् ।
युवामञ्च २०६७ चैतमा प्रकाशित

No comments:

Post a Comment