शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 28, 2024

माणिकरत्न शाक्यका दुई कविता



तिमी र म 













बिलौनाको पहाड ठड्याएर
प्रत्येक भूमरीमा
मर्मस्पर्शी चोटहरू बोकेर
अविरल आँसुको धारा बगाए पनि
टुक्रे कागजजस्तै जता उडायो उतै उडेर
ढुङगाजस्तै मूर्तरुप बनेर बाँच्दैछु ।

आँखाबाट वर्षेको आँसु लिएर
व्यथारुपी आगो मनको
अन्तरकुन्तरमा जलाएर नकोट्याऊ प्रिय !
तिम्रो मुस्कानले सपनाका ती आकाँक्षाहरू
सबै रित्तिइसकेका छन्
कसैले उठाउने चेष्टा गर्दैनन्
बरु मरणासन्न पारेर घायल
यो मनलाई टुक्र्याई
सुझावका बग्रेल्ती बिस्कुन बोकाउनेहरू
मनलाई हलुङगो पार्न सक्दैनन्
गहिराइको अनुभव छामेर
कलेजो रित्तिँदै रित्याउँदै गएको म
प्रत्येक सगरमा
धमिलो मन बोकेर
ढुङगाजस्तै मूर्तरुप बनेर बाँच्दैछु ।

***********  

उज्यालोको खोजी













मान्छेका विचारहरू जब क्रुर बन्छन्
अन्यायका सीमाहरू सतहभन्दा
माथि पुग्छन् ...

अनि उसका मनभित्र गुम्सिएका व्यथाहरू
आगो बनेर सल्किन खोज्छन् सक्दैनन्
पुनः खोज्छन् सक्दैनन् ...

पश्चात् मनभित्रका ज्वारभाटाहरू
फुट्नलाई कमजोर विन्दुको खोजीमा
आँधीको कम्पनझैं गर्जेर
पृथ्वीलाई डगमगाउन खोज्छ
डगमगाउँदा डगमगाउँदै सतहको केही लाग्दैन
अनि विष्फोट भए अन्यायी रातको
सदासदाका लागि अन्त्य हुन्छ ...

रामायणमा रावणको अन्त्य
महाभारतमा कौरवको अन्त्य
र आज सीमाहीन् भएर हुँकारको भरमा
अझ भनूँ भने शक्तिको आडमा
राम्रा विचारहरूलाई
सुन्ने कानका जालीहरू फुटेकाले होला
आफ्नै एकलौटी -
मनलाग्दो तरिकाले
जे जे गर्न मन लाग्यो
त्यही त्यही गरेको छ
जे गर्नु हुँदैनथ्यो
त्यसैले अत्याचारी रक्तवीजहरू
छताछुल्ल भएर पोखिँदैछ धरामा
क्रुरताको राँकोले उज्यालोको खोजीमा
दिनपछि रातलाई निम्त्याएझैँ
हरपलमा निम्त्याउनु परेको छ ।

-सरस्वती नगर, कपन


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment