कमजोर मानसिकताको उपज
-प्रीती "सैन्धवी"
जब मान्छे
शारीरिक रूपमा बलवान् भएर पनि
मानसिक रूपमा कमजोर हुन्छ
तब ऊ
आफैँले चालेका हरेक कदममा ठोक्किन्छन्।
जब सोच्ने क्षमतामा ह्रास आउँछ
बुझ्नलाई पनि समय लाग्छ
अगाडि बढ्न खोज्छ ऊ
तर विडम्बना
पाइलाहरू पछाडि धकेलिन्छन्
मनले लडे पनि समाजका कू-रीतिहरूसँग
ऊ फगत् एक्लो
हारिने छ पलमै ।
ऊ सुन्दर
शान्त
अनि
सौम्य छ
अँधेरीको जून जस्तै
ऊ विक्षिप्त बन्छ
जूनको बाहिरी आवरण हेरेर
उसलाई लाग्छ
बादलले घेरेर
जूनमा धब्बा लागेको छ
श्रापित् छ जून पनि तारा पुञ्जहरूबाट ।
ऊ आफैँमा हराउँछ
आफैँसँग पोख्छ ऊ आफ्नै मनका वेदनाहरू
चाहेर पनि ऊ भन्न सक्दैन कसैलाई
मनभित्र गुम्सिएका हजारौं दुखेसोहरू
साँचेका सपनाहरू पूरा गर्ने ल्याकत हराउँछ
परिवारको उत्तरदायित्व बोकेको छ उसले
कर्तव्यका भारहरू छन् काँधमा
आफ्नै मगजको भारीले ऊ
उठाउन सक्दैन जिम्मेवारीका बोझहरू।
आफ्नै दुर्भाग्य सम्झेर
ऊ चुपचाप-चुपचाप
नितान्त
शान्त भएर बस्छ
हेर्दा ऊ शान्त देखिन्छ
कसलाई के थाहा
उसको दिमागका लाखौं माकुराहरूले जालो बनाइरहेका छन्
उदासीको
एक्लोपनाको
सबै भएर पनि एक्लो हुनुको
ऊ आफैँ प्रश्न वाचक
ऊ आफै जवाफदेही।
ऊ चाहन्छ यौटा असल कार्य गर्न
ऊ चाहन्छ समाज बदल्न
ऊ चाहन्छ समाजले उसलाई चिनोस्
वास्तवमा
ऊ बच्न चाहन्छ समाजको वहिष्कारबाट
तर अपसोच
धेरै ढिला भइसकेको हुन्छ
उसलाई लाग्छ
उसको लागि कुनै स्थान छैन समाजमा
उसले वास्तविकतामा आफूलाई
निकै एक्लो पाउँछ
आफैँलाई घृणा गर्न थाल्छ ऊ
किनकी
ऊ आफैँमा बलवान् भएर पनि
उसको मानसिकता कमजोर भएको छ।
No comments:
Post a Comment