-जुनू घिमिरे
प्रिय मान्छे तिमी खुसीको बाटो हिँड सके बाटोको काँडा उखेलौँला नसके तिमीले टेक्ने पैतालामा यी हात बिछ्याउँला हो, प्रिय !
तिमी सजिलो हिँड सकेसँगै पाइला चालौँला नसके तिमीमा ऊर्जा हालौँला तिमी भएर म म भएर तिमी बाँकी जीवन पालौँला । तिमी शिखर हौ शिखरले ठडिएको शोभा दिन्छ म धरातल मेरो छातीमा टेकेर तिमी आकाशसँग टक्कर गरिरहेछौ । आकाश/बादल/जून/तारा सबैसँग प्रतिस्पर्धा गर तर, तिमी भन्दा तल रहेको भूइँसँगको प्रतिस्पर्धाले कहीँ पु-याउँदैन तिमीलाई । प्रिय मान्छे, एउटा कुरा याद छ तिमीलाई यो अस्तित्वको लडाइँमा जित कुन विन्दुमा भेटिन्छ होला? यदि विजयको ताज तिमीले पहिरियौ भने म प्रति निर्वाद उभिन सक्छौ? या म तिमी प्रति प्रतिवाद गर्नसक्छु? तिमी र म ओछ्यानदेखि चिहानसम्मको साथी तर बाटो किन फरक खोजिरहेछौँ? जीवनसँगको प्रतिस्पर्धाले मान्छेलाई मान्छे बनाउँछ तर सम्बन्धसँगको प्रतिस्पर्धाले मान्छे मान्छेमा दुस्मन बनाउँछ यो प्रतिस्पर्धाको खेल आजै बन्द गरौँ । चितासम्मको साथ पुन एकपटक संकल्प गरौँ नत्र मनको आगोमा होमिएर जिउँदै मसान हुनेछौँ हामी त्यसैले फ़ेरि एकपटक भन्छु हिजो मरिसक्यो आज ब्यूताएर भोलि जन्माउँ ।
No comments:
Post a Comment