शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, October 16, 2023

पारिवारिक पुनर्मिलनको चाड दशैँ

–त्रिचन्द्र प्रतीक्षा 

दशैँ विशेषतः नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । यसको धार्मिक समाजिक र सांस्कृतिक पक्ष निकै गहिरो छ । यसले गर्दा दशैँलाई महत्वका साथ हेर्ने गरिन्छ । सांस्कृतिक रुपमा हाम्रा हरेक चाडपर्वले दिने सन्देश अर्थपूर्ण मानिन्छ । अतः राष्ट्रिय चाडपर्वमध्ये दशैँलाई विशेष मान्ने गरिएको हो । यसबाट धार्मिक र सामाजिक सहिष्णुता बढाउन यसको भूमिका निकै प्रभावकारी देखिन्छ । 

त्रिचन्द्र प्रतीक्षा

नेपालमा वर्षको दुईपटक दशैँ मनाउँदै आइरहेका छौँ । नेपाली समाजमा परम्परागत रुपमा मनाइने दशैँका दुई पक्ष छन् । आश्विन शुक्लपक्षमा मनाइने दशैँलाई बडादशैँ पनि भनिन्छ । चैत्र शुक्लपक्षमा मनाइने दशैँलाई सानो दशैँ अथवा चैत महिनाको दशैँ भएकाले यसलाई चैते दशैँ भनिन्छ ।

संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दशैँ’ । नेपालमा मनाइने विभिन्न चाडमा प्रमुख राष्ट्रिय चाड भएर नै यसलाई ‘बडा’ अर्थात् सर्वश्रेष्ठ चाड मानी ‘बडादशैँ’ भनिएको छ । संस्कृतिविद् पुण्यरत्न बज्राचार्यका अनुसार दशैँ किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन धुमधामका साथ मनाउने भएकोले दशैँ भनिएको हो अर्थात् यो चाड मनाउने बेलामा गर्नुपर्ने दस संयम हो । यही संयमनै दशैँ भएको हुनुपर्छ । चैते दशैँ र बडादशैँ भनेर नेपाल समाजमा मनाइने गरेको चाड कतै चारपल्टसम्म मनाइने गरेको प्रमाण विगतका साहित्यहरुमा भेटिन्छन् । देवीभागवतमा पनि चारै वटा दशैँको उल्लेख छ । भनिन्छ पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशैँ मनाउने चलन थियो ।

दशैँ कहिलेदेखि मनाउन थाले भन्ने विषयमा केही अभिलेखले यसो भन्छ, प्राचीन धर्मग्रन्थ र शास्त्रहरुका अतिरिक्त ऐतिहासिक सामग्री पाटन च्यासलटोलको लिच्छविकालका अभिलेखमा समेत ‘दशमी गोष्ठी’ शब्द पाइन्छ । जसअनुसार लिच्छविकालमा पनि दशैँ मनाउने चलन रहेको बुझिन्छ । यस्तै, ‘ठ्यासफू’को प्रमाणबाट मल्लकालमा दशैँ धुमधामका साथ मनाइन्थ्यो भन्ने थाहा पाइन्छ । 

मल्ल राजाहरुको लागि दशैँको महङ्खव कतिसम्म थियो भन्ने कुराको ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ६८६ तद्नुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा पाइएको छ । सो पत्रमा लेखिएको छ, ‘सोही साल आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार गरे, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर पनि बनाए ।’

दशैँ चाडको उत्पत्ति नेपालमा कहिलेदेखि भए होला भन्ने कुरामा दुई धारण छन् । एउटा मतअनुसार नेपालमा दशैँ चाडमा खड्ग यात्रा (पायाः वनेगु) चलन भएकोले यो चाड मनाउने चलन नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि नै भएको हो भन्ने एकथरि विद्वानको छ । अर्को इतिहासले भने सिम्रौनगढका राजा हरिसिंहदेवले ने.सं. ४०४ मा तुलजा भवानी समेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दशैँ सुरु भएको अनुमान गरिन्छ । 

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन मान्ने भएको कारण पनि दशैँ भनेको भन्नेहरु पनि छन् । दशैँको प्रारम्भ प्रतिपदाको दिन घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । नदीबाट ल्याइएको बालुवाको वेदी बनाई पूजाकोठा वा विशेष दशैँ कोठामा सफासुग्घर गरी टपरी, भिउँट वा भुइँमै राखेर जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकै जस्ता अन्य पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । जमरा राख्ने नेपाली संस्कृति एवं परम्पराको परिपूरक शब्द हो । नेपाली भाषामा घटस्थापना भनिन्छ । घट भनेको कलश हो, कलश थापना गरेर जमरा राख्ने भएको हुनाले घटस्थापना भनिएको हो । यसैदिनबाट दशैँ सुरु भएको मानिन्छ ।

यसैदिन स्थानीय नेवारहरु नौ दिनसम्म विभिन्न तिर्थस्थलहरुमा गएर नुहाउने र देवदेवी वा शक्तिपीठको दर्शन गर्ने भएको हुनाले नवरात्रि (नौरथ) पनि भनिन्छ । शहरको टोलटोलमा धर्मावलम्बीहरु जम्मा भएर बाजा बजाउँदै प्रत्येक दिन सूर्योदय हुनुअगावै नुहाउन जाने गर्दछन् ।

त्यसपछि सप्तमीदेखि दशैँको भव्यता सुरु हुन्छ । यस दिनलाई फूलपाती भनिन्छ । यस दिन घरघरमा फलफूल र विशेष किसिमका फूल जमरा राखेको स्थान र श्रीभगवतीलाई पूजा गर्ने कोठामा भित्र्याइन्छ भने गोरखाबाट ल्याएर जमलमा राखिएको फूलपातीलाई जङ्गी, निजामती कर्मचारीलगायत उपस्थिति भइ हनुमानढोकामा भित्र्याइन्छ । यसैदिन टुँडिखेलमा फूलपातीको हर्षबढाई गरिन्छ । नेपालका केही नेवार समुदायमा सप्तमीको बदला अष्टमीको दिनमा मात्र फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ ।

फूलपातीमा नौ प्रकारका विरुवाका पत्र वा पालुवा हुने हुनाले संस्कृतमा यसलाई नवपत्रिका पनि भनिन्छ । नवपत्रिकाको परिचय दिँदै संस्कृत ग्रन्थहरुमा भनिएको छ – ‘वदली दाडिमी धान्या हरिद्रा मानकं कचु विल्वाशोकौँ जयन्ती च विज्ञेया नवपत्रिका ।।’ अर्थात् नवपत्रिका भनेको केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती हो । यी नौवटा विरुवाका पत्रलाई महासप्तमीको दिन अपराह्नको शुभसाइतमा भित्र्याइ बेलुकी नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरुमा विभिन्न देवीहरुको पूजा गरिन्छ ।

त्यसपछि महाअष्टमी र महानवमीका दिन श्री दुर्गा भवानीको विशेष पूजा हुन्छ । यसैदिन वर्षको एक दिन मात्र सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला गरिन्छ । अष्टमी र नवमीको मध्यरातलाई कालारात्रि भनिन्छ । कालरात्रिमा देवीस्थानहरुमा पहिलेदेखि चलिआएको विधिअनुरुप पूजा र पाठ गर्ने कार्य हुन्छ, यसलाई गुप्त पूजा पनि भनिन्छ । विशेष गरी बलि लाग्ने देवदेवीहरुका स्थान कोट, पीठ र मौलाहरुमा बलि दिइएर पूजा गर्छन् । उक्त रात महाकाली जागा भइरहने किंवदन्तीअनुसार हनुमानढोका दशैँघरमा पनि ५४ बोका ५४ राँगाहरुको बलि दिनुका साथै खड्गसिद्दी पनि गरिन्छ ।

दशैँको अन्तिम दिन दशमीका दिन विशेष महत्वपूर्ण मानिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरा बिर्सजन गरी दुर्गालाई चढाएको रातो र सेतो वस्त्रको कपडालाई प्रसादका रुपमा घाँटीमा लगाइन्छ भने घरको मुली वा मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । यस दिन मान्यजन, इष्टमित्र, नाताकुटुम्बकहाँ टीका थाप्न जानेहरु उत्तिकै हुन्छन् । तर असन, वटु, मूबहालमा भने टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिनमा मात्र विजय दशमीको टीका थाप्ने गरिन्छ । यसरी टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । पूर्णिमादेखि दशैँ चाडको अन्त्य हुन्छ । पारिवारिक एकता, पारिवारिक भेटघाट र पारिवारिक पुनर्मिलनको प्रतीक होभन्दा अत्युक्ति नहोला । 

–गोरखापत्र दैनिक, असोज १०, २०७९ मा प्रकाशित

No comments:

Post a Comment