हर्कमान अनि जून र घाम
- रचना 'अनाकार'
प्रवाहहरुको अवरोहसितै
बग्दै/बगिरहदैं अविरल
वक्र रेखाहरुभित्र
छचल्किरहन्छ जून 
टिस्टाको जलसतहभरि..
कि चाहिँ पोखिरहन्छ
शून्य रातहरुमा
हर्कमानका आँखाहरुका डिलबाट 
नि:शब्द थोपा थोपा चुहुँदै...।   
उघाएर जून 
एक अञ्जुली पानीको दहभित्र
निर्निमेष हेरिरहन्छ हर्कमान 
अटाएर जून आफ्नै 
हत्केलाको आयतनभरि
समयको प्रतिविम्ब खोजिरहन्छ हर्कमान ।
जूनभित्र अचेल 
मायालु स्वास्नीको जून जस्तै रुप
हेर्न बिर्सिसकेको छ हर्कमान,
जूनको ऐनामा हिजाज 
जून जस्तै छोरीको मुस्कान 
हेर्न भुलिसकेको छ हर्कमान ।
अर्थहीन बचाइको अस्तु सेलाउन
उभिएर एक्लै बगरमा
टिस्टासितै बग्न खोजिरहेको जूनलाई 
भिजेका परेलीहरुले सुमसुम्याउँदै
आफैलाई हराइपठाउन 
चाहन्छ हर्कमान ।
छातीभित्र कुनी के के सल्बलाउँछ 
एउटा दुखाइको तूफान जस्तो...
एउटा वेदनाको ज्वाला जस्तो...
हुरी चल्छ छातीभरि
तर ...
कविता लेख्न जान्दैन हर्कमान ।
कविता कोर्न सक्ने भए हर्कमान
हिमालको भित्ता भित्ताबाट 
घामका तरल रङ्गहरु टिपेर 
मनको क्यानभासभरि
कविताका थुप्रै 
पोट्रेटहरु बनाउँथ्यो शायद,
मुट्ठीभित्र घामका पहेंलै
किरणहरु पोको पारेर 
छानुभरि कविताकै 
बिस्कुन सुकाउँथ्यो हर्कमान ।
घाम....!
यत्रतत्र पोखिएको छ 
आँगनभरि...
बाटोभरि...
बारीको कान्लाभरि...
हर्कमानको पुर्पुरोमा टल्किरहेका 
पसीनाका फुच्चे थोप्लाहरुभरि...!
हत्केलाले घाम छेल्दै हर्कमान
खोजिरहन्छ त्यही घाम 
बाक्लो कुहिरोले डम्मै ढाकिएको
मनको अँध्यारो आकाशभरि ।
कस्तो पक्षपाती घाम ..!
जो उदाउनै चाहँदैन
हर्कमानको विश्वासको डाँडामाथि ।
गोलाकार परिसीमाभित्र
खुम्चिएको आफ्नै छायाँ हेर्दै 
के के सोंचिरहन्छ हर्कमान...!
आकाशबाट टिपेर घाम 
एक भाँडा टर्रो चिया उमाल्न 
धूँवाको पिरो मुस्लोभित्र 
निस्सासिरहेको चिसो दाउरामाथि 
थपक्क राखिदिन चाहन्छ हर्कमान,
कि चाहिँ चिम्टाले च्यापेर 
झरिलो अङ्गार जस्तै बिंडीको ठुटा 
सल्काउन चाहन्छ हर्कमान,
न्यानो सिरानी घामकै लगाएर 
मीठो निद्रा निदाउन चाहन्छ हर्कमान ।
प्रहरहरुका पाइलासितै
हिँड़दै /हिँडिरहदैं अनवरत 
बिलाइरहन्छ घाम 
आकाशको एक छेउबाट 
कि चाहिँ चुहिरहन्छ 
थकानको थोपा थोपा हुँदै
हर्कमानको रित्तो निधारबाट ।
कटेरोबाट उठिरहेको धूँवाको 
डोरीले बाँधेर घिस्याउँदै
हर्कमानका लावारिस सपनाहरु
घाम हिँडिरहन्छ नीलो सड़कभरि...!
पानीको हरियो तरङ्गहरुसितै बगाउँदै
हर्कमानका विचलित रहरका टुक्राहरु
वक्र रेखाहरुभरि छचल्किँदै जून 
बगिरहन्छ टिस्टाको छातीभरि...!!
-खर्सांग/दार्जीलिंग 


No comments:
Post a Comment