शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, September 28, 2023

इन्द्रजात्रामा आकाशभैरव


-त्रिचन्द्र प्रतीक्षा

 नेपालका भैरवहरूको आआफ्नै विशेषता छन् । भैरवसँग सम्बन्धित जात्रा र पर्वहरू पनि निकै छन् । काठमाडौँ उपत्यकामा भैरवको रूपलाई उत्तिकै श्रद्धा र भक्तिका साथ पूजाआजा गर्ने परम्परा छ । आकाशभैरवलाई विशेषतः इन्द्रजात्राको दिन फूलैफूलले सजाएर राखिने गरिन्छ । काठमाडौँको इन्द्रचोकस्थित आकाशभैरवको टाउकोलाई नेपालभाषामा आजुद्यः भनिन्छ । नेपालभाषामा बाजेबराजुलाई आजुर देवतालाई द्यःभन्ने प्रचलन छ । तसर्थ भैरवलाई पुख्र्यौली देवताका रूपमा लिइने गरिन्छ । त्रिरत्न सौन्दर्यगाथानामक ग्रन्थमा आकाशभैरवबारे यसरी लेखिएको छ ः

हुनाले शिवको अंश बनी आकाशभैरव,

उडेर देशको चाला अद्यापि हेर्छ वास्तव ।

आजुद्यः भनिई पूज्य रहेका छन् यलम्बर,

छ इन्द्रचोकमा जस्को अजेय मुखमण्डल ।। (१२४÷१०९)

त्रिचन्द्र प्रतीक्षा
काठमाडौँमा रहेको विभिन्न भैरवका मूर्तिहरूमध्ये आकाशभैरवलाई कला, वास्तुकला र स्थानका दृष्टिकोणबाट प्रसिद्ध मानिन्छ । इन्द्रचोकको दक्षिण हनुमानढोकामा अन्य दुईवटा भैरवका मूर्ति पनि छन् । एउटा श्वेतभैरव; जसको अनुहार इन्द्रजात्रामा मात्र दर्शन गर्न पाइन्थ्यो तर आजभोलि आँखिझ्याल खोलेर राखेको हुनाले वर्ष दिनभर दर्शन गर्न पाइन्छ । अर्को कालभैरव; जुन मूर्ति सशरीर उभिएको छ । 

इन्द्रजात्राका लागि मन्दिरअगाडि परालले छाएको छाप्रो बनाएर राखिन्छ । यसरी भाद्रशुक्ल एकादशीको राति ज्यापू जातिका गुठियारहरूले भैरवको मूर्तिलाई बोकेर बाहिर बनाएको छाप्रोमा विराजमान गराइन्छ । यो मूर्तिमा गरगहनाहरू चाहिँ ताम्राकारहरूले लगाइदिने गर्छन् । यसपछि फूलमालाहरूले मूर्तिलाई आकर्षक ढङ्गले सजाउने काम ज्यापू गुठियारहरूले गर्छन् ।

 

भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाको कालभैरव अगाडि लिङ्गो (इन्द्रध्वजोत्सव) उभ्याइसकेपछि विधिवत रूपमा इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा यँयाःभनिन्छ । यँको अर्थ यलम्बर राजा (आकाशभैरव) याःको अर्थ जात्रा वा पर्व हो । विशेषतः यलम्बर राजाको जात्रा यँयाःलाई इन्द्रसँग जोडेर इन्द्रजात्रा भन्न थालिएको हो ।

काठमाडौँका आदिवासी ज्यापूहरूलाई किराँतीहरूकै वंशका रूपमा मानिन्छ । लिच्छवि राजाले विजय गरेपछि काठमाडौँमा रहेका सबै किराँतीलाई ज्यापू बनाइदिएका थिए भन्ने विद्वान्हरूको मत छ । यसैले नित्य पूजादेखि बर्सेनि हुने इन्द्रजात्रामा समेत फूलहरूको बन्दोबस्तलगायत सम्पूर्ण कार्य ज्यापू समुदायकै गुठीको जिम्मामा हुन्छ । 


नेपालमा बौद्ध धर्मावलम्बीहरूले पनि भैरवलाई अक्षोभ्य बुद्धका परिवार वा त्यस समूहको देवताका रूपमा पूजाअर्चना गर्दछन् । नाथ सम्प्रदायले भैरोंनाथका रूपमा पुज्दै आएका छन् । आकाशभैरवको मुकुटको बीचमा भएको आकृतिलाई हिन्दुले ब्रह्मा र बौद्धमार्गीले अक्षोभ्यको शिर मानेर पूजा गर्ने गर्छन् । मुद्दा मामिला प¥यो भने मुद्दा जित्न स्थानीयवासी आकाशभैरवको भक्ति गर्ने चलन पनि छ । मारवाडीहरूले पनि विशेष पर्वमा आकाशभैरवको पूजा गर्दै आएका छन् । बिहे, शिशुको जन्म आदि उत्सवमा आकाशभैरवलाई श्याम बाबाका रूपमा उनीहरूले पूजा गर्छन् । 


आकाशभैरवको नाम कसरी रहन गयो भन्नेबारेमा एक किंवदन्ती छ । किंवदन्तीअनुसार भैरवले किराँती राजा यलम्बरको रूप धारण गरेर काठमाडौँ उपत्यकामा शासन चलाएका थिए । तान्त्रिक शक्ति भएका राजा यलम्बरले महाभारतको लडाइँमा हार्ने पक्षलाई मद्दत गर्ने घोषणा गरे र कुरूक्षेत्रमा गए । कुरूक्षेत्रमा आएको कुरा भगवान् श्रीकृष्णले थाहा पाए । यलम्बर राजा मात्रै नभएर भैरवको अवतार भएको कुरा पनि श्रीकृष्णलाई ज्ञात भयो । राजा यलम्बरले युद्धमा पराजित हुने पक्षबाट आफू लड्न आएको कुरा बताएपछि कृष्णलाई समस्या पर्ने नै भयो । तसर्थ कृष्णले छलद्वारा सुदर्शनचक्र प्रहार गरी राजा यलम्बरको शिरच्छेदन गरिदिए । यलम्बरको टाउको आकाशतर्फ उड्यो र आकाशमै रहेर शिरले नै महाभारत युद्ध हेरिरह्यो । 


युद्ध सकेपछि आकाशमार्गबाट नेपाल फर्कंदा बागमती र विष्णुमती नदीको दोभान (इन्द्रचोकको भैरव मन्दिरको स्थान)मा आइपुग्दा मिर्मिरे उज्यालो भयो र त्यहीँ पत्थरमा परिणत भए । स्थानीय ज्यापूहरूले बिहानै राजा यलम्बरको टाउको पत्थरमा परिणत भएको देखेर त्यहीँ छाप्रो बनाएर आफ्नो प्रिय राजा यलम्बरलाई आकाशभैरवका रूपमा पुज्न थाले । भैरवको टाउको आकाशमार्ग भएर आएको हुनाले आकाशभैरव भनिएको हो । स्वर्गका राजा देवराज इन्द्रले स्नान गरेको दुई पवित्र नदीको सङ्गमस्थल हुनाले कालान्तरमा यस ठाउँको नाम नै इन्द्रचोक रहन गयो । इन्द्रजात्राको दिन यहाँ इन्द्रको विशेष प्रतिमासमेत प्रदर्शन गरिन्छ । 


इन्द्रजात्राको सुरुवात 

देवमाला वंशावलीअनुसार अहिलेको इन्द्रचोक भन्ने ठाउँमा पहिले बागमती र विष्णुमतीको दोभान रहेछ । पछि उक्त दोभान सरेपछि कलिगत ३८२ मा राजा गुणकामदेवलाई सपनामा महालक्ष्मीबाट आज्ञा भएअनुसार सहर बसाल्न सोही इन्द्रचोक भन्ने ठाउँमा महादेवको मूर्ति स्थापना गरेर कान्तिपुर सहर बसाए । हालसम्म पनि इन्द्रचोकमा कान्तिश्वर महादेवको मूर्ति देख्न सकिन्छ ।


राजाले विधिवत पूजा गरी कान्तिश्वर महादेवको ठीक पछाडि तीन घडा अमृत स्थापना गरिसकेपछि ध्वजा फहराए । आफूलाई चाहिनेजति ठाउँमा परिक्रमा गरी एक हजार आठ सय घर निर्माण गर्न लगाए । यसपछि आठौँ दिनमा उक्त ध्वजा ढाली तीन दोभानमा ध्वजा सेलाइयो भन्ने वंशावलीमा उल्लेख छ । राजा गुणकामदेवको पालादेखि आकाशभैरवको यात्रालाई इन्द्रजात्रा पर्व भनी मनाउँदै आएको पाइन्छ । श्रीगणेश, भैरव तथा कुमारीको यात्रा पनि समयानुसार राम्रो बनाउनका लागि राजा जयप्रकाश मल्लले रथ बनाउन लगाए । रथयात्रा चलाउनसमेत लगाए । आकाशभैरवको नित्य पूजाआजादेखि वार्षिक पूजालगायत इन्द्रजात्रामा फूलैफूलले सजाउने काम ज्यापू समुदायले नै गर्दै आएका छन् । इन्द्रजात्राको मुख्य आकर्षण भनेको फूलैफूलले सजिएको आकाशभैरवको मूर्ति पनि हो । 

गोरखापत्र दैनिकमा प्रकाशित



No comments:

Post a Comment