शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 10, 2018

रेडक्रसको प्रारम्भ र नेपालको सन्दर्भ

-त्रिचन्द्र प्रतीक्षा
हिन्दू धर्म तथा संस्कृतिअनुसार अर्काको भलाइ तथा सेवा गर्नु प्रत्येक व्यक्तिको कर्तव्य मानिन्छ । वेद, उपनिषद्जस्ता धर्मशास्त्र सेवा तथा परोपकारका पवित्र सन्देश बोकेर हिन्दू समाजमा निकै लोकप्रिय छन् । वेदको भनाइ छ– समस्त जनता सुखी होऊन् । उपनिषद् भन्छ– सबै जना सुखी होऊन्, सबै निर्भयसाथ बाँचून्, सबैले राम्रो कुरा देखून्, कसैले दुःख भोग्नु नपरोस् । सबै प्राणीप्रति सहानुभूति र संवेदनाको भाव मनमा ल्याऊ भनेर धर्मशास्त्रले हामीलाई घचघच्याइराखेको छन्– ‘जो तिमी अर्कालाई दिन्छौ त्यो तिमीमा नै फर्कन्छ’ भनेर अरूप्रति राम्रो व्यवहार गर्ने पाठ पनि हामीलाई धर्मशास्त्रले सिकाएको छ ।
त्रिचन्द्र प्रतीक्षा

समाजसेवा वा समाजकल्याणको क्षेत्र स्वभावले गतिशील छ । यसले समयअनुसार आफ्नो स्वरूप र कार्यक्षेत्रलाई बदल्दै जान्छ । संयुक्त राष्ट्रसङ्घको सचिवालयका अनुसार ‘मानिसलाई उसको सामाजिक परिवेशभित्र आनन्दपूर्वक घुलमिल हुन सक्ने वातावरण बनाइदिनु नै समाजसेवाको प्रमुख कर्तव्य हो । ’ यसैगरी विद्वान् विचारक एस. के. चौधरीको भनाइ छ– ‘समाज कल्याणले सामाजिक तथा आर्थिक विसङ्तिबाट समाजमा उत्पन्न हुने अशान्ति, असुरक्षाजस्ता समस्याबाट व्यक्तिलाई राहत प्रदान गर्नुका अतिरिक्त यसले मानिसको मनभित्र सद्भाव, विश्वास तथा न्यायजस्ता असल भावनाको विकास गर्ने काम गर्छ । साथै यसले समाजका पिछडिएका, कमजोर तथा शोषित व्यक्तिको आत्मालाई शान्त र सबल तुल्याउने कोसिस गर्दछ । ’ यही मानवीय सेवाका लागि एउटा संस्थाको जन्म भयो– रेडक्रस ।

रेडक्रस संस्थाको जन्म युद्धभूमिको विभीषिकाबाट सन् १८६३ मा स्विट्जरल्यान्डमा भएको हो । यस संस्थाको संस्थापक स्विट्जरल्यान्ड निवासी जाँ हेनरी ड्युना हुन् । उनको जन्म मे ८, १८२८ सन्मा जेनेभा शहरमा भएको हो । सन् १८४९ मा बैङ्कमा काम शुरु गरेका ड्युनाले सन् १८५९ जुन महिनामा व्यापारको सिलसिलामा फ्रान्सका सम्राट नेपोलियन तृतीयलाई भेट्न जाँदा बाटोमा फ्रान्स, अष्ट्रेलिया र इटालीबीच भीषण युद्ध चलिरहेको थियो । इटालीको सल्फेरिनो भन्ने ठाउँमा भएको भीषण युद्धमा १० हजार सेना मरिसकेका थिए भने ४० हजारभन्दा बढी सैनिक घाइते अवस्थामा थिए । धेरै घाइते छट्पटीमा परिरहेका थिए । त्यस युद्धमा रगताम्य सिपाही, घाइते अनि मृतकको दर्दनाक अवस्थाका दृश्यले हेनरीको हृदयमा ठूलो चोट लाग्यो । उनी आफ्नो व्यापार कार्य छोडेर लडाइँबाट घाइते भएका व्यक्तिको तत्काल प्राथमिक उपचार गर्ने सोच बनाए । स्थानीय युवा, महिलाको सहयोगमा धेरै घाइतेको ज्यान बचाउन उनी सफल पनि भए । स्वदेश जेनेभा फर्केर सल्फेरिनोको उक्त दुःखद् घटनाको यथार्थ चित्रण गरेर सन् १८६२ मा ‘मेमोरी अफ् सल्फेरिनो’ नामक अत्यन्त हृदयस्पर्शी यात्रा संस्मरण पुस्तक प्रकाशित गरे । सो पुस्तक प्रकाशन गर्न ड्युनालाई गुस्ताफ मोनियर, जनरल जीएच ड्युफो, डा. लुई अप्पिया र डा. थियोडोर मौनारले विशेष सहयोग गरेका थिए । सन् १८६३ को अक्टोबर २६–२९ सम्म १६ राज्यका ३२ जना प्रतिनिधिको उपस्थितिमा घाइतेको सहयोगका लागि अन्तर्राष्ट्रिय समितिको स्थापना गरे । तर अगस्त २२, १८६४ मा जेनेभामा अन्तर्राष्ट्रिय सम्मेलन गरी सहभागी राष्ट्रले हस्ताक्षर गरी संस्थालाई आधिकारिक रूपमा मान्यता प्रदान गरियो । सोही संस्था पछि गएर सन् १८७५ रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को नाममा परिणत भयो ।

युद्धग्रस्त क्षेत्रमा घाइतेको उद्धार गर्नु नै रेडक्रसको मुख्य कार्य हो । संसारले धेरै युद्ध खेपेको छ, रक्तपातको इतिहास बोकेको छ, अनि हरेक युद्धमा घाइतेलाई उपचार गरेका छन् । पहिलो र दोस्रो विश्वयुद्धताका रेडक्रसले पु¥याएको योगदानको बयान गरी साध्य छैन । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताजस्ता आधारभूत ७ सिद्धान्तमा आधारित विश्वको सबै ठूलो मानवीय सेवामा समर्पित संस्था हो, रेडक्रस । यसको मुख्य उद्देश्य लडाइँ तथा द्वन्द्वबाट पीडित व्यक्तिलाई तत्काल राहतसेवा उपलब्ध गराउन र उनीहरूको सुरक्षा गर्नु हो ।

नेपालमा रेडक्रसको स्थापना गर्ने प्रयास पटक पटक हुँदै आए तापनि, विश्वमा रेडक्रसको स्थापना भएको एक सय वर्षपछि वि.सं. २०२० भदौ १९ गते मात्र नेपाल रेडक्रसको निम्ति ऐतिहासिक दिन साबित भयो । तत्कालीन स्वास्थ्य मन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्व र तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस तदर्थ समिति गठन गरियो । नेपाल रेडक्रस तदर्थ समितिद्वारा उठाइएका कदम अनुरूप विसं. २०२० माघ २४ गते श्री ५ को सरकारले जेनेभा कन्भेन्सन (जेनेभा लोकसम्मति) मा हस्ताक्षर गरी अनुमोदन पाएपछि नेपाल रेडक्रसले विश्व मान्यता प्राप्त ग¥यो । त्यसको लगत्तै वि.सं. २०२० मा नेपाल भित्रिएका करिब ६ हजार तिब्बती शरणार्थीलाई देशका विभिन्न चार ठाउँका शिविरमा स्थायी बसोवास गराउने व्यवस्था रेडक्रसले नै ग¥यो । आजभोलि पनि ती शरणार्थी अन्य नेपाली नागरिकसरह आफ्नो जीवनयापन गरिरहेका छन् । शरणार्थी बसोवास कार्यक्रममा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल रेडक्रसलाई यूएनएचसीआर प्रदान गरिने नानसेन पुरस्कार प्राप्त भयो ।

नेपाल रेडक्रसले वि.सं. २०२१ असोज १६ गतेका दिनमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता पनि प्राप्त ग¥यो । नेपालको ७५ वटै जिल्लामा शाखा स्थापना भई सबैभन्दा ठूलो सञ्जालको मानवीय सेवा गर्ने संस्थाको रूपमा अगाडि र हरेक क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । वि.सं. १९९०, २०४५, २०६३ र २०७२ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपालीभूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठूलै गुण लगाएको छ भने रक्तदान अनि सहज रगत उपलब्धताका लागि रेडक्रस अद्वितीय संस्था हो ।

हेनरीले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेको यो रेडक्रस विश्वमा १९६ राष्ट्रमा सक्रिय रूपमा कार्यरत एकमात्र संस्था हो ।

संस्था विश्वव्यापी हुँदै मानवीय सेवामा जुट्दै थियो, ड्युना भने आर्थिक समस्याले एकाएक हराउनुभयो । धेरैले मरेको समाचार पनि प्रकाशित गरे । करिब एक दशकपछि सन् १८८७ मा वम वर्कर भन्ने पत्रकारले स्विट्जरल्यान्डको हेडेन भन्ने ठाउँमा ड्युनालाई वृद्ध अवस्थामा पत्ता लगाए । उहाँलाई सन् १९९२ मा वृद्धाश्रममा भर्ना गरे । रेडक्रसका संस्थापक जीवित रहेको समाचार प्रकाशित भएपछि धेरै देशले ड्युनालाई मानार्थ अध्यक्ष घोषणा गरे । त्यसपछि उहाँ विभिन्न मानपदवी र विभूषणले सम्मानित हुनुभयो ।
यस्तै, ड्युनाको मान पदवीले सम्मानमात्र होइन रेडक्रसको नाममा हुलाक टिकट निकाल्ने होडवाजी नै भयो विश्वभर धेरै देशले ड्युनाका मात्र नभई रेडक्रसको हुलाक टिकट प्रकाशनमा ल्याइयो र अझै हरेक वर्ष रेडक्रम दिवसका दिन प्रकाशनमा ल्याइरहेका छन् । नेपालले पनि विभिन्न समयमा रेडक्रम चिह्न अङ्कित हुलाक टिकट प्रकाशित गरिसकेको छ ।

सन् १९०१ मा ड्युनालाई शान्तिका लागि पहिलो पटक नोबेल पुरस्कार प्रदान गरियो । सो पुरस्कारको धनराशि उहाँले वृद्धाश्रमको कोषमा सेवासुविधाका लागि हस्तान्तरण गर्नुभयो । मानवीय सेवामा निरन्तर रूपमा लागिपर्ने महामानव हेनरी ड्युनाको अक्टुबर ३०, १९१० का दिन जेनेभामा मृत्यु भयो । उहाँद्वारा स्थापित संस्था विश्वभरि फैलिएर मानवीय सेवामा निरन्तर जुटिरहेको छ ।
गोरखापत्र २०७५ वैशाख २५ मा प्रकाशित

No comments:

Post a Comment