शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 18, 2017

सर एडविन आर्नोल्डको बुद्ध कृति


-त्रिचन्द्र प्रतीक्षा
बुद्धलाई एशियाको तारा अर्थात् दि लाइट अफ एशिया पनि भनिन्छ । बुद्धबारे लेखिएको यो पुस्तक निकै चर्चित रह्यो । यसले पश्चिमी जगतमा बुद्ध प्रेमीलाई जिज्ञासा उत्पन्न गराई दिएको थियो । हुन त आज बुद्ध एशियाको मात्र हैन विश्वकै भइसकेको छ । यो विश्वकै सर्वोकृष्ट पुस्तकका रुपमा आजसम्म पनि धेरै देशहरुमा यसको प्रकाशन एवं बिक्री वितरण हुँदै आइरहेका छन् । पत्रकार, कविको रुपमा परिचित एडविन आर्नोल्डले सन् १८७९ मा ‘दि लाइट अफ एशिया’ नामक काव्यात्मक बुद्ध जीवनी लेखेका थिए । यही पुस्तकको नामबाटै गौतम बुद्धलाई ‘दि लाइट अफ एशिया’ भन्न थालेको हो ।

सराह पिज्जे आर्नोल्ड र रोबर्ट कोल्क आर्नोल्ड उनका आमाबुबा थिए । दोस्रो छोराको रुपमा उनको जन्म १०, जुन १८३२ मा इङ्गल्याण्डको केण्टमा भएको थियो । उनी सानै उमेरदेखि विलक्षण प्रतिभाका धनी थिए । १२ वर्षको कलिलो उमेरमा नै उनले आफ्नो प्रतिभा देखाउन सफल भए उनले काव्य लेखेर सबैलाई छक्क पार्थे ।

पढाइको सिलसिलामा अक्सफोर्ड विश्व विद्यालयमा हुँदा सन् १८५२ मा ‘दि फेस्ट अफ दि बेल्साजार’ नामक कविता लेखे सो वापत ‘न्यू डिगेट पुरस्कार’ समेत हात परे । काव्यमा अब्बल देखिएका उनले सन् १८५३ मा ‘पोयम्स न्यारेटिभ‘ नामक पहिलो पुस्तक प्रकाशित गरे ।

परिवारको वाध्यताले २३ वर्षकै उमेरमा क्याथेराइन विडल्फसँग विवाह गरे । बिहे गरेको दुई वर्ष नबित्दै भारतको डेक्कन कलेजमा उनी प्राध्यापक नियुक्त भए । सन् १८५७ मा परिवारसाथ भारतको पुनामा आए । डेक्कन कलेजमा अङ्ग्रेजी भाषा पढाउने मात्र होइन, संस्कृतभाषाको गहन अध्ययन गर्न थाले । संस्कृतका कतिपय ग्रन्थहरु अङ्ग्रेजीमा अनुवाद समेत गरे । जसमा महङ्खवपूर्ण १२ औं शताब्दीका काव्यकार जयदेवको गीत गोविन्द गीति काव्य पनि थिए । त्यसबेला संस्कृतभाषाको प्रचार प्रसार निकै भए, तर पालि भाषाको ज्ञान प्रायः शून्य नै थियो । अतः उनले चार वर्षसम्म भारतमा रहे तापनि पालि भाषाको अध्ययन गर्ने मौका पाएन ।

अचानक पत्नीको अस्वस्थताको कारण सन् १८६१ मा उनी स्वदेश फर्कन वाध्य भए । त्यहाँ पुगेपछि उनले दि डेली टेलिग्राफ पत्रिकामा काम गर्न थाले । सो पत्रिकामा करिब ४० वर्ष सम्पादकको रुपमा कार्यरत रहे ।
त्रिचन्द्र प्रतीक्षा

यही बीच श्रीलङ्कामा बुद्ध सम्बन्धी अनुसन्धान गरेका इङ्गल्याण्डकै बौद्ध विद्वान रोबर्ट सिजर चिल्डर्सले सन् १८७२ र १८७५ मा दुई भाग ‘पालि–शब्दकोष्ॉ प्रकाशित गरे । यो भन्दा पहिले सन् १८७० खुद्दक पाठ अनुवाद गरेर प्रकाशित गरिसकेका थिए । त्यस्तै अर्का विद्वान डा. टी. डब्ल्यू रीस डेबिटस् ले पनि अ म्यानुएल अफ बुद्धिज्म नामक ग्रन्थ प्रकाशन गरिसकेको थियो । एडविन आर्नोल्डले यहि संस्कृत ग्रन्थहरु एवं पालि साहित्यमा आधारित केही ग्रन्थहरु अध्ययन गरेर सन् १८७९ मा दि लाइट अफ एशिया नामक बुद्ध जीवनीको काव्यात्मक कृति प्रकाशित गरे ।

यो ग्रन्थ मूलरुपमा थेरवादमा आधारित भए तापनि कथावस्तुमा महायानी दृष्टिकोण पनि समावेश गरिएको पाइन्छ । यो महाकाव्यको अन्त ओम् मणि पद्मे हुँ वाक्यबाट गरिएको छ । समष्टिगतरुपमा यही महाकाव्यनै सिद्धार्थ गौतम बुद्धको बारेमा अङ्ग्रेजी पाठकहरुका लागि तथ्य हासिल गर्ने प्रमुख स्रोत हुन पुग्यो । दिनानुदिन लोकप्रियताको शिखर चढ्दै गयो । यो महाकाव्य निस्केको ५ वर्ष नबित्दै इङ्गल्याण्डमा ३० औं संस्करण निस्कियो भने सन् १९७० सम्ममा ६० औं संस्करण र अमेरिकामा ८० औं संस्करण निस्किसकेको थियो । त्यसपछि हालसम्म यसको संस्करण सयौं पुगिसकेको अनुमान गर्न सकिन्छ ।

यस पुस्तकको लोकप्रियताले गर्दा जर्मनका विद्वान डा. आर्थर फुंगस्टले सन् १८८७ मा जर्मनभाषामा अनुवाद गरे । जर्मनी पाठकहरुको उत्साहवद्र्धक रुपमा पुस्तक ग्रहण गरे । जर्मनीको अन्य स्थानीय भाषामा सन् १८९१ मा कोनराड वेरनिकले अनुवाद गरेर दोस्रो र सन् १९२३ मा अल्ब्रेच्त शैफरले तेस्रो पटक अनुवाद गरी प्रकाशनमा ल्यायो ।

‘दि लाइट अफ एशिया’ को प्रचार र माग यसरी तीव्र गतिमा भयो । जुन इङ्गल्याण्डबाट अमेरिका, जर्मन लगायत युरोपमा समेत यसको माग र अनुवाद गर्ने एक किसिमले होडबाजी नै चलेको देखिन्छ । युरोपमा अनुवाद गरेर प्रकाशित गर्ने क्रममा सन् १८९५ मा डच, सन् १८९९ मा फ्रान्सेली, सन् १९०६ मा चेकोस्लोभाकिया, सन् १९०९ मा इटाली भाषामा प्रकाशन भएर थुप्रै संस्करणमा प्रकाशित भयो । यतिबेला सम्ममा ‘दि लाइट अफ एशिया’ को प्रसिद्धि चरमचुलीमा पुगिसकेको थियो । उनी विश्वका असङ्ख्य समुदायको लागि बौद्ध महाविद्वानको रुपमा कहलिसकेको थियो । बौद्ध राष्ट्रहरुले उनलाई व्याख्यानको लागि आ–आफ्नो देशमा आमन्त्रण गर्न थाले । उनले सबैभन्दा पहिले  भारत जाने निधो गरे किनभने यो बौद्धहरुको निमित्त अति पवित्रस्थल थियो । उनी सबैभन्दा पहिले सारनाथ पुगे । ऋषिपतन मृगदावन (सारनाथ)मै पञ्चवर्गीय भिक्षुहरुलाई सर्वप्रथम धर्मचक्र–प्रवर्तन (धर्मोपदेश) गरे । त्यहाँबाट सारनाथको दिग्दर्शन पछि बुद्धगया आए । केही अन्य महङ्खवपूर्ण स्थलमा दर्शन गरेर बोधिवृक्षका केही पातहरु लिई श्रीलङ्का गए ।
श्रीलङ्काको पान्दुरामा पुगेपछि सुप्रसिद्ध वेलिगम श्री सुमङ्गल महानाय थेर र अन्य हजारौं भिक्षु एवं उपासक उपासिकाहरुलाई भेटे । उनलाई बौद्ध धर्मको निमित्त गरेको प्रशंसनीय कार्यको लागि ‘अभिनन्दन पत्र’ चढाए । त्यसपछि पान्दुराबाट कोलम्बो पुगे । त्यहाँ पनि विद्योदय परिवेशमा उनको भव्य स्वागत भयो । संयोगवश त्यहाँ बौद्ध झण्डाका परिकल्पनाकार (डिजाइनर) कर्नेल हेनरी स्टील अल्कोट पनि उपस्थित थिए ।

बौद्ध धर्मको व्याख्यान दिन सन् १८८९ मा जापान र अमेरिका पनि गए । जापानमा उनले ‘बुद्धगया’ सम्बन्धी व्याख्यान दिए, त्यसबाट प्रभावित भएर जापानी बौद्ध संस्थाले बुद्धगयामा जापानी भिक्षुहरुलाई लगेर राख्ने प्रबन्ध समेत गरे ।  अमेरिकामा ‘दि लाइट अफ एशिया’ पुस्तक पढेर आलेन बेनेट नामक युवक निकै प्रभावित भएर बुद्धधर्म प्रचार प्रसारको लागि घरबार समेत त्यागे । त्यस लगतै उनी श्रीलङ्का पुगेर बौद्ध धर्ममा दीक्षित समेत  भए ।

अमेरिकाको हार्वड विश्वविद्यालयका प्रमुख चाल्र्स विलियम इलियतले एडविन आर्नोल्डलाई आमन्त्रण गरेका थिए । विश्वविद्यालयमा बौद्ध साहित्य अनुवाद गरी कोर्समा राख्ने समेत निर्णय गरे । सन् १८९६ देखि प्रकाशन कार्य सुरु गर्नु ठूलो उपलब्धीको रुपमा लिइन्छ । बौद्ध साहित्यको अध्ययन आधुनिक विज्ञानसित तुलना गर्दै उनले भनेका थिए ‘‘मैले बरोबर भनिसकें र फेरि पनि भन्छु, बुद्ध धर्म र आधुनिक विज्ञानमा एक अति घनिष्ट सम्बन्ध छ ।’’

सिद्धार्थ गौतम बुद्ध र बुद्ध धर्मलाई संसारको सामुन्ने प्रचार प्रसार गरे । बुद्ध धर्म आधुनिक विज्ञानसित पनि मेल खाएको अवगत गराउँदै बौद्ध जगतमा आफूलाई बेग्लै पहिचान स्थापित गराए । सर एडविन आर्नोल्डका केही कृतिहरुमा इण्डियन सङ् अफ सङ्स (१८७५), दि लाइट अफ एशिया (१८७९), पल्र्स अफ दि फेथ (१८८३),   दि सङ् क्यालेस्टियल (१८८५), दि जापानीज वाईफ (१८९३) रहेका छन् । बुद्ध धर्म र त्यसको महङ्खवलाई उजागार गरेका उनको २४ मार्च १९०४ मा यस संसारबाट बिदा लिए । बौद्ध साहित्यमा उनले पु¥याएको योगदान विशेष प्रशंसनीय मानिन्छ । जुन एक उदाहरणीय कार्य पनि हो । निश्चय पनि यस्ता कार्यले सबैलाई सकारात्मक सोच विकास गर्न टेवा पुर्याएको देखिन्छ ।

२३ वैशाख २०७४ मा गोरखापत्रको शनिवारमा प्रकाशित

No comments:

Post a Comment