शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, August 14, 2016

'गढ़िमाइ बली' रोक्ने सर्वोच्चको फैसला र हाम्रो आसन्न अवसान

सर्वोच्च अदालतको गढीमाई मेलामा पशु वली रोक्ने फैसलाले जटिल प्रश्नहरू उभ्याएको छ । के सर्वोच्च अदालत अब नेपालका मौलिक परम्पराको अभिभावक रहेन ? कि सर्वोच्च अदालत कुनै पनि देशका मौलिक सांस्कृतिक परम्परा तथा धार्मिक प्रचलन कानून निर्माणका स्रोत हुन्, यिनलाई चलाउनु हुन्न भन्ने सामान्य कानूनी ज्ञान नभएका एनजीओ, आइएनजीओले टेन्डर पारेर चलाएको संस्था रह्यो ? यसो भएको हो भने सर्वोच्च अदालत दुई कौडीको पनि रहेन, हामीले हाम्रो अभिभावक गुमायौं । अब हरेक नेपाली जनताका मौलिक संस्कार कानून नामको गोमन सर्पबाट डसिने नै भए र कानूनको प्रत्याभूति नरहने नै भयो होइन ?
कानूनको सामान्य सिद्धान्त छ – हरेक देशका स्थानीय संस्कार, परम्परा, प्रचलन आदिलाई कानून निर्माणको स्रोतको रूपमा लिइन्छ र तिनलाई नचलाई तिनको आधारमा वा तिनलाई सहयोगी मानेर अन्य कानून तर्जुमा गरिन्छन । यसलाई बुझ्नको लागि एउटा मुस्लिम मुलुकमा महिलाले बुर्का लगाउने प्रचलन धार्मिक हो कि कानूनी कुरा हो भनेर सोचे पुग्छ । बुर्का लगाउनु पहिला धर्म-संस्कृतिसंग जोडिएको कुरा हो, कानूनले त्यसलाई अमानवीय भनेर तुरून्त हटाउन मिल्दैन, सक्दैन, पाऊँदैन । देशको मौलिक परम्परालाई कानूनले जगेर्ना गर्दछ न कि त्यसको हत्या ।
अर्को एउटा उदाहरण : धामी, झाँक्री, बिजुवा, फेदांगमा आदिलाई हामी अन्धविश्वास भन्छौं जबकी एउटा मात्र पुस्तामा बिजुवा, फेदांगमा जन्मिएन भने किरातहरूको मुन्दुम नविकरण हुन्न, मुन्दुम लेखेर लेखिन्न, यो निश्चित ध्वनि कम्पनद्वारा फेदांगमाले बोलिने कुरा हो, यही तरिकाले सालेपिच्छे थपिंदै र नविकरण हुँदै जाने हो मुन्दुम । लेखिएका कुराले मुन्दुमको गहिराइ समात्ने कुरा धेरै हदसम्म नाजायज हो, लेखाइ बोलेर निस्केका सम्पूर्ण ध्वनि र त्यसका पिच र कम्पनलाई लेख्नको लागि अपर्याप्त छ । अन्धविश्वास भनेर धामी, झाँक्री फेदांगमालाई रोक लगाउने र एलोप्याथीमात्र उपचार हो भनेर मान्ने हो र त्यही अनुरूप कानून तर्जुमा गर्ने हो भने एकातिर किरात धर्म-संस्कृति सखाप हुन्छ अर्कोतिर हाम्रो नस्ट भएको मौलिक किरात संस्कारको चिहानमाथि पश्चिमा संस्कृतिको खुला बजार र साम्राज्यले कब्जा जमाउँछ ।
प्रष्ट हुनोस – पश्चिमा मेडिकल साइन्सको एलोप्याथीमात्र उपचार पद्धति होइन, संसारमा हजारौं उपचार पद्धति छन्, संसारको दुई तिहाइ भागमा ब्रिटिशहरूले शासन गरेयता उनीहरुले हतार हतार आफ्नै उपचार विधि मात्र वैज्ञानिक भएको र आफू संसारकै विकसित भएको स्वांग पार्दै एलोप्याथिक अस्पतालहरू विस्तार गरेर तेस्रो विश्वका हाम्रा अनमोल संस्कृतिलाई फितला र अन्धविश्वासीको ट्याग भिराउन सफल भएका हुन् । के हामी अन्धविश्वासी हौँ र हाम्रा प्रचलन अन्धविश्वास मात्र हुन् ? अहँ, होइन, जम्मा भएको कुरा के हो भने हामीले प्रयोग गरेका उपचार विधि र हाम्रा मौलिक संस्कारले हाम्रो लागि कसरी काम गर्दैछन भन्ने अध्ययन गर्न हामी कहिल्यै लागेनौं, तर रसियाको जार शासनको अन्त्यपछि कम्युनिस्ट शासनले अन्धविश्वासी भनेर ट्याग भिराएर विस्थापित गरेका धामी, झाँक्रीको अध्ययन गरेर अमेरिकी माइकल हार्नरले धामी, झाँक्री उपचार विधि पूर्णतया विज्ञानमा रुपान्तरित गरिदिए र आज अमेरिकाको क्यालिफोर्नियामा हार्नरले चलाएको धामी झाँक्री युनिभर्सिटीबाट प्रति बर्ष पाँच हजारको संख्यामा धामी, झाँक्री उत्पादन हुन्छन । हामी भने हाम्रा धामी, झाँक्री नामेट गर्न लागिपरेका छौं, हामीलाई हाम्रा संस्कृति कसैले अन्धविश्वास भन्देला भनेर लाज हुन्छ ।
जब एलोप्याथीको साम्राज्य सघन हुन्छ र हाम्रा धामी, झाँक्री इतिहासको पानामा वा कथामा सिमित हुन्छन, ढोलढ्यांग्रा म्युजियममा हुन्छन त्यो बेला हामी पश्चिमाहरूले हाम्रा धामी, झाँक्रीको अध्ययन गरेर बनाएको विज्ञान पढेर धामी, झाँक्रीको तालिम लिंदै हुनेछौं, जश पश्चिमाले पाउने भएपछि धामी, झाँक्री सिप वैज्ञानिक हुन्छ, अहिले हामीले लत्याएको धामी झाँक्री हाम्रो हो, त्यो अन्धविश्वास हुन्छ । हाम्रा हरेक संस्कार अहिले अन्धविश्वास हुन्, थुक्क गढ़िमाइमा के अन्धविश्वास प्रदर्शन गरेका मान्छेले ? होइन ? कुनै दिन हामी रुनेछौँ, त्यो बेला हाम्रो आफ्नो भन्नु, हाम्रो मौलिक संस्कार भन्नु केही हुनेछैन । आफ्नो पहिचान कसरी नामेट हुँदैछ भन्ने थाहै नपाइ पहिचान पहिचान भन्नेलाई त्यसै थुक्न मन लाग्दैन मलाई ! आफ्नो पहिचानमा लात हानेर पहिचानको जड कहाँ छ भनेर नबुझी पश्चिमा आइडेन्टिटी पलिटिक्सको अनुकरण गर्ने कसैले पनि पहिचान कसैको पहिचान जोगाउन सक्दैन, आफ्नै पहिचान मार्न लागेको पश्चिमा हतियार मात्र बन्न सक्छ त्यो ।
हामीमा हरेक कुराका दुरगामी प्रभाव हेर्नसक्ने कुनै गुण छैन । कथित पशु अधिकारवादी र गैरहिन्दुहरू सर्वोच्चले गढ़िमाइ बली रोक लगाउँदा खुब खुशी भएर उफ्रे होलान्, कसैले यसलाई जनताको विजय भने होलान, कसैले हिन्दु एकात्मवादको अन्त्य हुन लाग्यो भनेर खुशी मनाए होलान, तर यही भित्रको राजनीति कसैले बुझेन, अहिले हिन्दुको बली रोक लाग्यो, यो नजीर बन्यो, भोली नेवारको कुनै जात्रा यहि नजीरको आधारमा सर्वोच्चले रोक लगाउन सक्छ, किरात वा तामांगको कुनै अर्को प्रचलन रोक लाग्न सक्छ त्यो बेला मात्र बल्ल ए, यो हामीले मनाएको खुशी त आत्मघाती रहेछ भनेर बल्ल थाहा हुनेछ हामीलाई ।
कम्तिमा त्यति दुरगामी भएर सोचौं, प्रथा, परम्परा र संस्कृतिहरूमाथि धावा बोल्ने कुनै पनि कुरामा निहित राजनीति बुझौं, यदि नबुझ्ने हो भने पहिचानको शब्द राजनीति गर्ने राजनीति गर्ने कुनै पनि फ्याउराले आत्मदाह गर्यो र सकियो, अब कसैको पहिचान सुरक्षित रहेन, कथित हिन्दु सर्वसत्तावादी, बाहुनवादी राज्यमा हिन्दुकै संस्कार, प्रचलन, पहिचानमा त धावा बोलिन्छ भने एउटा कानूनी फैसलाले समाप्त गर्न सक्ने स-साना पहिचानको लागि लडेका भनिने समूहको पहिचान सुरक्षित रहला ? सर्वोच्चको फैसलाले यो प्रस्ट भएको छ - हामी इतिहासकै जटिल र जर्जर मोडमा उभिएका छौं, हाम्रा धर्म संस्कृति पहिचानहरू कुनै पनि सुरक्षित छैनन् र हाम्रै आँखा अघि तिनीहरू म्युजियममा राखिने छन् I यसको अर्को प्रस्ट म्यासेज हो - हाम्रा व्यवस्थापिका, न्यायपालिका तथा कार्यपालिका कुनै पनि विदेशी प्रभावबाट अछुतो छैनन् ।
यिनीहरूले हाम्रै आँखा अघि सबै संस्कृति र पहिचान जगेर्नाको नाममा एक एक गर्दै उखेल्दै लानेछन र नेपाललाई नाङ्गो पार्नेछन । पशु अधिकार खोज्ने डलर डोनेसनमा चलेका एनजीओ, आइएनजीओले नेपालमा भएका मानवीय संकट कति देख्छन याद गर्नुहोस्, यिनले डोनेसनको लागि सर्वोच्च अदालतलाई प्रभावित गर्ने ताकत राख्लान भन्ने कुरा कहिल्यै सोच्न सकिने कुरा होइन तर अहिलेको सवालमा यस्तै देखिंदै छ, अब विकासोन्मुख देशका संवैधानिक निकाय एउटा दुइटा एनजीओले चलाउने साम्राज्यवादको भयावह रूप संसार भरि नै विस्तारै बढ्दै गएको प्रष्ट देखिन थालेको छ । हामी कमजोर हुनु, भिखारी हुनु र हाम्रो पहिचान र ताकत सकिँदै जानुको यो भन्दा राम्रो अर्को उदाहरण कतै भेटिन्न ।
तपाईं राई, लिम्बु, मगर, गुरुङ, तामांग वा हिन्दु, मुस्लिम, बौद्ध वा क्रिस्चियन के हुनुहुन्छ ? आफ्नो संस्कृति बचाउनु पर्यो भनेर कहाँ कसको मुख ताक्दै हुनुहुन्छ ? राज्यको ! किन ? राज्य जनताको अभिभावक हो, हुनुपर्ने हो । राज्य एउटा एनजीओ होइन । के तपाईं हामीले मुख ताकेको राज्यसत्ता तपाईंको अभिभावक हो कि बगलीमा छुरा बोकेको तपाईंलाई सिध्याउन लागि परेको बगरे हो ? गहिरिएर सोच्नु भएको छ ? होला, तपाईंका आफ्नै रिजर्भेसन र स्वार्थ होलान, आज कथित एकात्मवादी हिन्दु परम्परामा सर्वोच्चले धावा बोल्दा तपाईंलाई बडो मजा लाग्ला, सके पार्टी नै खानुभयो होला तर यति बुझ्नोस, त्यो छुरा भनेको छुरा हो, त्यसले कसैलाई बाँकी राख्दैन, कानूनी नजीर भनेको नजीर हो, त्यही नजीरको प्रयोगले तपाईंको सम्पूर्ण संस्कारको हत्या हुन कुनै आइतबार कुर्नुपर्ने रहन्न अब ।  गफका राजनीतिका पछि नदौड़ी बेलैमा कुरा बुझेर आवाज उठाएको राम्रो ।
नेपाल हामी हरेक नेपालीको हो, नेपालका हरेक पहिचान जोगिउन, सर्वे भवन्तु: सुखिन:, हाम्रो टाउकोमा गिर खेल्ने र हामीलाई सिध्याउनेहरूको प्रतिरोध गरौँ वा समाप्त हुन तम्तयार भएर बसौं । करो या मरो, विकल्प यी दुई भन्दा बढी देखिन्नन् । हिजोअस्ति भर्खरसम्म गलामा दाम्लो लगाएर मान्छेको बिक्री गर्ने पश्चिमाहरू, युद्धमा हारेका सबै मान्छेलाई दास बनाउने र केही दासहरूलाई बार्षिक वा अर्धवार्षिक रूपमा बली दिने पश्चिमाहरू कानून र अधिकारका निर्यातकर्ता बनेदेखि हाम्रा सालमा एकचोटी बोको बली दिने र पाँच सालमा एकचोटी पशुबली दिने प्रचलन र संस्कृतिहरू असभ्य, बर्बर र अधिकारका हननकर्ता बन्न थालेका हुन् । हामी चुपचाप बस्यौं, हामी लाचार भयौं, विश्वका सबै संस्कृति अब ति भूपू, निवर्तमान र वर्तमान पश्चिमा मानवबलीकर्ताहरूले डलरको खेती मार्फत नामेट पारेर विश्वबजारको बिछ्याउने छन्, हामी म्युजियममा हुनेछौं हामी यस्ता थियौं भनेर हेर्दै ।
(बलि  दिने  प्रथालाई क्रमिकरुपमा सुधार गर्नुपर्ने सर्वोच्चको निर्देसन आदेशप्रति प्रस्तुत अालेख लेखकको  स्वतन्त्र बिचार हो  ।) काठमाडौं, २५ साउन  
साभार: kantipath.com

1 comment:

  1. Badhera ghaas halnu parne. . .
    However, I am amazed at you for wasting your valuable time for nonesense article :p

    ReplyDelete