शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 4, 2015

भूपरिवेष्ठित हुनु नेपालको कमजोरी कि भारत छिमेकी हुनु अभिसाप ?

डा नम्रता पाण्डे
जापानमा सन् २०११ को शक्तिशाली भूकम्प पछि आएको सामुन्द्रिक आँधी सुनामीले जापानको पूर्वीय क्षेत्रलाई  तहस-नहस पार्‍यो।  जापानलाई  प्राकृतिक विपत्तिसँग जुध्न गार्हो भयो। जापानले तत्काल सबै क्षेत्रबाट प्रभावित क्षेत्रलाई ध्यान दिन अनुरोध गर्‍यो। स्वास्थ्य, औषधि, उपचार, खाद्य, सरसफाई, यातायात, संचार हरेक क्षेत्रबाट प्रभावित क्षेत्रलाई मद्दत गर्न अनुरोध र आदेश गर्यो जापान सरकारले। नम्र र मानवीय गुणले सम्पन्न जापानिजहरु प्रभावित  क्षेत्रलाई आफ्नो कर्तव्य र जिम्मेवारीबोध अनि सेवाको भावले हरतरहले ति प्रभावित क्षेत्रमा सहयोग गर्न होमिए। जापानिजहरु मात्र होइनन् जापानमा बसोबास गर्ने गैर-आवासीय नेपालीहरु र अरु देशका गैर-आवासीय नेपालीहरु अनि छिमेकी राष्ट्रहरु, अरु  विदेशीहरुले पनि सक्दो सेवा र सहयोग गरे। प्रभावित क्षेत्रलाई सक्दो सहयोग पुगोस् र त्यहाँका नागरिकहरुलाई जीवन सामान्य रुपमा फर्काउनको हेतु अप्रभावित क्षेत्रका नागरिकहरुले खाद्यवस्तु खरिद र प्रयोग, पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाए। सम्पूर्ण ध्यान प्रभावित क्षेत्रमा दिइयो र मानवियताको उदाहरण प्रस्तुत गरियो।
ठिक त्यहि अवस्था अहिले नेपालको छ। ५ महिना अघिको शक्तिशाली भूकम्पले परेको तहस-नहस र प्रभावित जीवनमा सुधार आउन नपाउँदै नाकाबन्दीको कम्पनले भूकम्पभन्दा बढी चोट पुर्‍याएको महसुस नेपाली जनतामा भएको छ। नेपाल आफ्नो मुलुक, आफ्नो स्वाभिमान र अस्तित्वभन्दा पनि हामी कति भारतको परनिर्भरतामा बाचेका रहेछौं भनेर सर्वसाधारणलाई ग्लानी महसुस भैरहेको छ अहिले। प्राकृतिक सम्पदा र नेपाली रगत अनि ऋषिमुनिहरूको जन्मथलो नेपाल, यसको स्वभिमानता, अध्यात्मिक र साँस्कृतिक महत्व जस्ता अस्तित्वले पूर्ण देश  विश्वको एउटा अनुपम उदाहरण हो। हो, नेपालले लामो समयदेखि विभिन्न कष्ट र अन्यौलतामा बिताएको थियो, त्यो मात्र आन्तरिक राजनीतिक कारण थियो। त्यही आन्तरिक राजनीतिक कारणले घरभित्र झगडा पार्थ्यो, त्यसको रमिता छिमेकीले हेर्ने गर्थे र कहाँनेर आफ्नो स्वार्थ पूर्ति हुनेगर्थ्यो त्यही कुरामा र त्यही क्षेत्रमा छिमेकीले दया स्वरूप सहयोगको नाटक गरेको थियो। भुइँको टिप्दा पोल्टाको पोखिएको हाम्रा नेतृत्व वर्गले चाल पाएनन् या त पाएर पनि वास्ता गरेनन्। 'मै लाउँ, मै खाउँ, अरु सब मरुन दुर्बलहरू' जस्तो व्यवहार गरे र सारा जनतालाई बिर्से।
भूपरिवेष्ठित हुनु नेपालको कमजोरी हो ? विश्वमा नेपाल बाहेक पनि कति  छन् भूपरिवेष्ठित राष्ट्र ? या त नेपालको छिमेकी राष्ट्र भारत हुनु नेपालको लागि अभिसाप हो? नेपाल भूपरिवेष्ठित राष्ट्र हो र मानवीयता र नैतिकताको हिसावले पनि भूपरिवेष्ठित  मुलुकका पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय अधिकार हुन्छन्। यसको लागि छिमेकी राष्ट्रको सहयोगी, मानवीय र असल नियत हुनुपर्दछ। त्यो ऊ भित्र  हुनुपर्दछ, कसैले सिकाएर हुने होइन। एक छिमेकीलाई अर्को छिमेकीले पनि हेरिरहेको हुन्छ , विश्वव्यापीरुपमा हेरिएको हुन्छ भन्ने कुरालाई सोच्दै नसोची  सानो र  गरिब छिमेकी भनेर  हेपिनुले सम्पन्न छिमेकीलाई भोलिका दिनहरुमा सहज वातारण आउने छैनन्।
बुढापाकाले भन्ने गर्थे घडेरी किनेर घर बनाउँदा छिमेकी र वरिपरिको वातावरण हेर्नुपर्छ। असल छिमेकी र राम्रो वातावरण भएन भने घर बनाएर बसिसकेपछि मानसिक पीडा हुन्छ।अपसोच, नेपाल राष्ट्रले त् छिमेकी फेर्न सक्दैन तर नेपाली जनताले आत्मनिर्भर हुने उपायको बैकल्पिक खोजी भने अवश्य गर्न सक्छन्। अब नेपाली जनताहरुले पनि सार्वभौमसत्ता सम्पन्न  निर्वाचित जनप्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेको संविधानविरुद्ध खुलारूपमा उत्रने छिमेकीबाट नैतिकताको अपेक्षा गर्नु मूर्खता हुनेछ।
आर्थिक सम्पन्नता र आर्थिक मापनको हिसावले नेपाल गरिब होला तर हाम्रा पूर्खा  ऋषिमुनीहरुले देखाएको  बाटोमा हामी हिँड्न सकेको भए यो बाहिरी / भौतिक गरिबीले हामीलाई केहि असर पार्ने थिएन। भौतिक जगतको विकासले भित्रको संस्कार र शान्ति अनि खुशी वृद्धि गर्ने भए अमेरिकामा वर्षेनी रोगको सिकारले मर्नेहरुको संख्या नेपाल भन्दा कम हुनुपर्ने। जापान लगायतका देशहरुमा जस्तो वर्षेनी बढ्दै गएको आत्महत्याको दर नेपालमा हुनुपर्ने। नेपालीहरु बाहिरका गरीब छन् तर भित्रको सम्पदा, संस्कार, सहनशीलता र आत्मियता अनि आफ्नो पनमा कहिल्यै गरिब थिएनन र हुँदैनन् पनि। अपवादको रुपमा भौतिक सम्पन्नता नै सम्पन्नता मान्ने र आफ्नो स्वाभिमान भन्दा देखासिकीमा रमाउने नेपालीहरु होलान तर व्यक्तिगत एवं राष्ट्रिय स्वाभिमान गुमाएर अरुको जीवन जिउने नेपाली कमै छन्। वीर गोर्खालीको इतिहासलाई बिर्सने होइन मार्गदर्शन सम्झेर अवलम्बन गर्ने बेला आएको छ।
सकारात्मक रुपमा लिने हो र आफ्नो स्वभावमा जिउने हो भने यो नाकाबन्दीको अवसरलाई मितव्ययी र अनुशाशित बनेर देखाउने सुवर्ण अवसरको रुपमा लिनुपर्दछ।लिने मात्र होइन दिने पनि नेपालीहरुको  स्वभाव हो। खाध्य सामग्री पनि आफ्नै घरमा मात्र नथुपारी सबैलाई होस् भन्ने भावनाले खरिद गर्ने। सवारी साधनको प्रयोग गर्दा थोरै दूरीमात्र यात्रा गर्नु छ भने पैदल हिँड्ने। आफ्नो साधन खाली गुडिरहेको छ भने महिला, केटाकेटी या जो सुकैलाई लिफ्ट दिएर उद्दार गर्ने। नुन, तेल , मसलाको ज्यादा प्रयोगले कसैको स्वास्थ्यमा फाइदा गर्दैन त्यसैले सादा र सात्विक भोजनको बानी बसाल्ने। भड्किलो र खर्चिलो जीवनशैलीलाई सादाजीवन र उच्चविचारमा बदल्ने। त्यसै पनि भूकम्पले तहस नहस भएका जीवनहरु सामान्य जीवनमा फर्कन सकेका छैनन् तिनीहरुको दैनिकीलाई ख्याल गर्दै नजिकिदै गरेको महान पर्व दशैंलाइ पनि प्रेम र सदभावको पर्व बनाउने। दशैं आउँदै छ भनेर  आफ्नो मात्र जोगाहडमा नलाग्ने। आफ्नो मात्र जोगाहडमा नलाग्ने। मलाई जस्तै समस्या अरुलाई पनि परेको छ भन्ने भावना राख्ने। नेपाली नेपालीमा प्रेम र सद्भावको सम्बन्ध फैलाउने। नेपाली-नेपाली भाइचारा र आफ्नोपनको सम्बन्ध बढाएर छिमेकी र विश्वमा आफ्नो परिचय दिने समय नेपालीको सामु आएको छ। यसलाई सदुपयोग गरेर, यो नाकाबन्दी स्वीकार गरेर राष्ट्रिय स्वाभिमान जोगाउन सके इतिहासमा यस कालखण्डको नाम सुनौलो अक्षरमा लेखाउन सक्षम हुनेछन नेपालीहरु। आफ्नो स्वाभिमानको लागि कहिल्यै पछि नपरेका वीर गोर्खालीहरु आजको दिनमा पनि  आत्मसमर्पण गर्नुको साटो भविष्यमा पर्ने असर सामना गर्न वैकल्पिक उपाय अपनाउने तर्फ जनता, नेतृत्व वर्ग र सरकारले तत्काल रणनीति तयार गरेर आफ्नो  स्वाभिमानताको परिचय दिने क्षण हो भन्ने मनन गरेर अगाडी बढ्नु जरुरी छ।
लेखिका जापानमा कार्यरत हुनुहुन्छ ।
साभार: ग्लोबल सेतोपाटी

No comments:

Post a Comment