के यो फेसबुक
भनेको सञ्चार माध्यम हो ? अवश्य पनि हो। फेसबुकमा राजनीतिदेखि लिएर आर्थिक, सामाजिक, सांगीतिक, आध्यात्मीक, पौराणिक, पारिवारिक, देशी विदेशी सबै प्रकारका घटनाक्रमहरू सुन्न र देख्न पाइन्छ।
व्यक्तिगत सुःख, दुःख, उत्तेजना, भावात्मक अभिव्यक्तिहरू समेत पढ्न पाएर एकले अर्कालाई राम्ररी चिन्न सकिन्छ।
संसारभरी छरिएका
दाजुभाइ दिदी बहिनीलाई यही फेसबुकमा आएर भेट गर्न पाइन्छ। एक अर्कालाई हेरेर देखेर अनि आफ्ना खबरहरू साटेर मनको तिर्खा मेट्न पाइन्छ। कतिको यही फेसबुकले प्रेमको थालनी र लगन गाँठो बाँध्न सफल
बनाईदिन्छ। यहीं नयाँ पुस्तकहरूको विमोचन त दिनका दिन आईरहन्छन्। साँच्चिकै
यो फेसबुकले त एक अर्कालाई चिन्न, जान्न र ताजा खबर पाउन यति सजिलो बनाइदियो कि त्यो भन्नै पर्दैन। क्यानडाको एक कुनाको सहरमा सिंगारी बाख्राले एउटा लामकाने पाठो पायो भने एकैछिनमा त्यो खबर सनसनी रूपमा
न्यूजिल्याण्डको अकल्याण्डमा पुगिसक्छ। लामकाने
पाठोले फेसबुकमा धेरै ‘लाइक’ पाउँछ। त्यसैले यो
फेसबुक राम्रो अनि अत्यन्तै राम्रो सञ्चार माध्यम बन्यो। यसले
इतिहासलाई दोहो¥याइ दिएर वर्तमानलाई बुझ्ने
अवसर प्रदान गर्छ।
डा. तुलसी प्रसाद उप्रेती |
चाहिने तर धेरै
नचाहिने, उत्श्रृंखल, उत्तेजित, मार्मिक, सान्दर्भिक असान्दर्भिक विषयहरू समावेश गरिएको देख्दा फेसबुक साँच्चिकै
खुल्ला र स्वतन्त्ररूपी सञ्चारको माध्यम हो भन्न सकिन्छ। तर हामी
सामाजिक प्राणी भएकाले श्रीखण्ड चिन्न सकेनौ भने त्यो खुर्पाको विँड सरह
हुन्छ भन्ने अर्थलाई पुष्टि पनि गर्छ। फेसबुकका विभिन्न गतिविधि हेर्दा
कहिलेकहीं यो फेसबुक त हाम्रो शरीर जस्तो भान हुन्छ। जसरी हामीले पाएको
यो परफेक्ट ह्यूमन बडी तर ड्रिभन बाइ एन इनपरफेक्ट माइण्डले गर्दा
आफैलाई भडखारोमा परेको पनि पत्तै हुँदैन। तर यसको समाधान पनि फेसबुकमै
पाइन्छ। त्यसैले यो फेसबुक त जीवनदाता, कर्मदाता र मरणदाता सबै नै हो जस्तो लाग्छ।
म त मेरै आमाको
पेटमा तीन महिनाको मात्रै भएको थिएँ– मेरी बास्सै आमाको फेसबुकमा त कति हो
कति ‘लाइक’ आयो रे म भने
आमाको पेटमै बढ्दै गए पनि म त फेसबुकमा
जन्मिसकेछु। आमाको डाक्टर र आमासँग रिस पनि उठ्छ– म जन्मिन नपाउँदै फेसबुकबाटै सबैलाई छोरी जन्मने भइ भनेर किन हल्ला
पिट्नु परेको। कहिले कहि त रिस उठ्छ र आमाको पेटमा खुट्टा बर्जाछु। यसो
गर्दा आमाले उनको हात कोखोमा राखेको चाल पाउँदा आमाप्रति माया पनि लागेर आयो।
फेरि फेसबुकको सबैको ‘लाइक’ मै रमाउने मेरी आमाले फेरि लेख्छिन् नानीले पेटमा खुब लात चलाउन लाग्यो भनेर। यो देख्दा त झन धेरै ‘लाइक’ आए। आमाको खुशीको सीमा रहेन।
म फेसबुकमा
जन्मिएको मान्छे कति धेरै को–को को–को ले ‘लाइक’ पठाएको। म जन्मदा सबैले किन ‘लाइक’ गर्नुपर्ने ? त्यो लेवर रुममा मेरी आमाले चिच्याएको भने
कसैले सुनने शायद सुनेको भए कति धेरै ‘लाइक’ आउने थिए होला। उता ‘लाइक’ आउने भए पनि मेरी आमाको दशा देखेर म पनि चिच्याउँदै थिए– कठैवरी त्यो बेला उनको
दशा कस्तो थियो।
तर म अब त केवल
आत्मारुपी मान्छे–मेरो शरीरलाई घरको आँगनमा छोडेर आइसकेपछि मेरो लाशलाई ‘लाइक’ गरेको देख्दा ममा अनेकौं तर्कहरूले प्रश्नमाथि प्रश्न गरिरहन्छन्। मेरो मृत्युमा शंख फुकेर मेरो मृत्युको उद्घोष
गर्दा पनि उनीहरू मेरो मलामी जान नसके पनि मेरो लाशलाई ‘लाइक’ गरेको देख्दा खुशी पनि लाग्छ अनि अचम्म पनि। के उनीहरूलाई थाहा छैन मेरो लाशमाथि ‘लाइक’ गर्दैैमा उनीहरू अवश्य पनि
मेरो शुभेच्छुक या बन्धुबान्धव हुन सक्दैनन् भनेर। के उनीहरूमा अलिकति भए पनि विवेक छ ? मेरो लाशमाथि ‘लाइक’ गर्न र अरु यस्तै मैले चिनेका, जानेका, सुनेका, देखेका व्यक्तित्वहरूमा
यस्तो विवेक भएको भए शायद–वीर अस्पताल त्यो मान्छे बचाउने ठाउँको सट्टा फोहोर, गन्ध र रोगले भरिएको नाममा वीर
भए पनि वास्तवमा पीरै पिरले भरिएको कठाघर बन्ने थिएन होला। उनीहरूमा विवेक भइदिएको भए शायद कान्तिपुर नरकपुर वा जुन फोहोर र दिशा पिसाबले भरिएको छ, जहााको हावामा शास फेर्न पनि गाह्रो भएर नाक र मुख मास्कले ढाकेर सुँगुरको जस्तो थुतुनो बोकेर सहरका बाटाहरूमा हिंंड्नुपर्ने वातावरण हुने थिएन होला ? कसो–कसो यिनीहरूको विवेक भइदिएको भए शायद म जिउँदो हुँदा म र म जस्ता धेरै नेपालीले भोको पेट चाउरी
पारेर दिन कटाउनु पर्ने थिएन होला। अनि विवेक भइदिएको भए देशको संविधान लेख्न
छ÷सात वर्ष लाग्ने थिएन होला।
विवेक भइ दिएको भए
संविधानसभा भित्रका आफै बस्ने कुर्सीहरू भाँचिने थिएनन् होला, माइकहरू तोडिने थिएनन् अनि आफ्नै दाजु भाइ दिदी बहिनीहरू
माथि उदण्ड रूप देखाएर जाई लाग्ने थिएनन् होला। तर खुशीको कुरा के भने
यो संविधानसभा भित्रको दृष्यमा पनि धेरै ‘लाइक’ आए। सभाअध्यक्ष त कस्तो सम्यमीत हो कि ? त्यस्तो रणसंग्राम देखेर पनि उहाँ भने “सभासद महोदय” भनेर सम्बोधन गरिरहनु भएको थियो। त्यसमा त झन फेसबुक नै फुट्ला जस्तो गरेर ‘लाइक’हरू आए। अब म के गरौं मेरो लाशलाई ‘लाइक’ गरेकोमा म खुशी व्यक्त गर्दै धन्यवाद दिउ कि यो विवेकहीनताको लक्षणमाथि दुःख प्रकट गरौं– म आफै द्विविधामा छु।
अब म त शरीर
बिनाको आत्मारूपी मान्छे यसै अदृश्यतामै भौतारिराखेको छु। म मा न कुनै आश छ न मलाई बास र गाँसको चिन्ता छ तर यहाँ त केवल
स्वतन्त्रै स्वतन्त्र छ। शायद, यही होला फेसबुकमा ‘लाइक’ गर्ने मेरा
शुभचिन्तकहरूले “आत्माले चिर शान्ति पाओस्” भनेको। उनीहरू पनि आफ्नो जीवनकालमा यस्तै शान्ति खोजी राखेका छन्। जबसम्म उनीहरू बादै बादले भरिएका जस्ता कि भौतिकवाद, आध्यात्मवाद, जनवाद, समाजवाद, माक्र्सवाद, आदर्शवाद, लेनिनवाद, साम्यवाद, मधेशवाद, जातिवाद, आदि सिद्धान्तहरूमा रुमलिरहन्छन् तबसम्म उनीहरूले शान्ति नचिताए पनि हुन्छ। त्यसमाथि पनि म जस्तो
स्वतन्त्र त यिनीहरू हुनै सक्दैनन्। अघि भनेजस्तै यिनीहरू त राजनीतिक, सामाजिक, आर्थिक सञ्जालमा फसेका छन्। न मैले कुनै राजनैतिक सिद्धानतमा
जकेडिनु परेको छ न सामाजिक सञ्जालको प्रेसरमा परेर मरेको लाशमाथि ‘लाइक’ गर्नु परेको छ– या मेरो जन्मदिन, शुभ विवाह, यनिभरसरि, देवी देवताको
पूजापाठ या दर्शन वा भए नभएको बखान गरेर
प्रचार गर्नु परेको छ न मैले आफ्नो ढोङ्गी परिचयमार्फत सबैलाई आफ्नो नाङ्गो परिचय दिएर उदाङ्गो हुनु परेको छ।
म त अदृश्यमा नै
बस्न रमाउँछु। मलाई त अरुले देख्न नसक्ने अँध्यारोमा नै आनन्द मिल्छ। जब म शरीरको झ्यालखानबाट निस्किए तब म अदृश्यमा उदाए। आफैमा आफै फक्रिएँ न यो कसैको लागि हो न यो कसैले देख्न नै सक्छ न
त अरुहरूले ‘लाइक’ गर्नुपर्छ।
आडम्बर पनि कस्तो
आडम्बर हो मानिसहरूको। फेसबुकमा एक नवआगन्तुक जो आफूलाई समाजको माथिल्लो स्थरको व्यक्तित्व हुँ भन्ने ढोंग देखाउन चाहनुहुन्छ उहाँ आफ्नो अगाडि रक्सीका बोतलहरूसँगै बसेर रक्सीको गल्सले चियर्स
गर्दै आफ्नो परिचय दिनुहुन्छ। केहीछिनमै ‘लाइक’ र विभिन्न कमेन्टहरू आउँछन्– “कता हो यो साथी हामीलाई पनि सामेल गर्नुभएको भए हुन्थ्यो की”, “मस्ती छ भाइ मेरो लागि पनि पिइ देऊ”– यस्तै यस्तै के भन्नु काँही नभएको जात्रा त फेसबुकमै देख्न पाइन्छ। ति नवआगन्तुक ‘लाइक’ र कमेन्टको वर्षाले मख्ख पर्नुहुन्छ। तर कसैकसैको नजरमा उनको धोती खुस्केको भने पत्तै पाउदैनन्
।
उता आफ्नी
श्रीमतीसँग रातोदिन झम्टिरहने अधवैसे दशौं यानिभरसरीको दिन सुट र फुलको मालामा सजिएर साथमा भए भरका नक्कली गहनाले सजिएकी
श्रीमतीसँग उभिएर आफ्नो पारिवारिक सुमधुर सम्बन्धको देखावटी उदाहरण हामी
सबैलाई दिन खोज्छन् । तथ्य जे होस् उनले भए भरको ‘लाइक’ पाउँछ। उनीहरू यी ‘लाइक’हरूको साथै तथ्यको बाबजुद पारिवारीक सम्बन्धमा उत्तीर्ण मात्रै होइन
डिस्टिङसन हानेको अनुभव गर्छन्। मैले एउटा यही जोडिलाई ‘लाइक’ गर्ने साथीलाई सोधे– “तैले किन ‘लाइक’ गरिस” भनेर। ऊ भन्छ– “तैले बुझेकै छैनस्” ‘लाइक’ गरेन भने समाज बाहिर परिएला अनि फेरी पछि आफूलाई पनि ‘लाइक’ नगरिदेला भन्ने डरले पनि ‘लाइक’ गरी दिए। के भो त ‘लाइक’ गरी दिंदैमा मेरो केही जाने होइन एउटा बटम थिचिदिने त हो नी– मेरो के जान्छ ।
कोही साथीहरू
चाहिँ कस्ता छन् भने के भन्नु– मेरी एउटी साथीलाई
भने कति रिक्वेष्ट गर्दा पनि फेसबुकमा आफ्नो एकाउन्ट खोल्नै
मान्दिन। म उसलाई भन्छु तिमी यति सुन्दरी
छौ कि तिम्रो फोटो त्यो फेसबुकको भित्तामा आउँदा कति ‘लाइक’ पाउँछेउ होला। तर
उ भन्छे मेरो सुन्दरता आफैले आफैलाई एड्भटाइज गर्न पाएको होइन। म फेसबुकमा नहुँदै पनि रमाउँछु। मलाई मैले खाएका मःमः का प्लेटहरू, चिकनका खुट्टाहरू
र लाएका गहनाहरू देखाउन रहर छैन। म को हुँ र कस्तो छु भन्ने मलाई थाहा छ र त्यही नै पर्याप्त छ। मेरा साथीहरू को हुन् भन्ने मलाई राम्ररी थाहा छ अनी उनीहरूे केही भन्नु पर्दा
शेयर गर्नुपर्दा मलाई प्राइभेट्ली मेसेज पठाउँछन्। मलाई त अस्ति त्यो तोक्मे
बुढाले फेसबुकको बारेमा गरेको कमेडी खुब घत लागेको छ भन्छ।
फेरि कसैको भने
कस्तो रातभरि सँगै सुतेर उठेकी श्रीमतीलाई फेसबुकमा गएर केक खुवाउँदै ह्याप्पी बर्थ डे भन्नै पर्ने नत्रभने उनीहरूको सम्बन्धनै अधुरो हुन्छ जस्तो लाग्छ। त्यस्तै अर्को एउटा प्रसङ्ग भनौंँ– ती बयास्सी (८२) वर्षकी हजुरआमाको
फोटो फेसबुकमा राखेर “ह्याप्पी बर्थडे” भन्यो भने शायद सबै छोराछोरी नाति
नातिनाको उत्तरदायित्व पूर्ण भयो भन्ने भान हुन्छ। न ती हजुरआमाको घरमा कम्प्युटरको कुरा त परै जाओस् बिजुलीसम्म पुगेको छ भने उनलाई फेसबुकमा दिएको वर्थ डे को शुभकामनाको तातो न छारो।
के यो शुभकामना हजुरआमाको लागि दिएको कि दुनियाँलाई हामी हजुरआमालाई कति
माया गर्छौं भन्ने छारो हाल्नको लागि मात्र हो –यो त शुभकामना
दिनेहरू नै जानुन्।
जसले जे भने पनि
फेसबुकको ‘लाइक’ हेरेर यसले कुनै न
कुनै दिशामा सनसनी त फैल्याउने रहेछ।
तर म कुन दिशातर्फ जाने भन्ने दिशाको निर्देश म आफैँले गर्नुपर्ने रहेछ। नत्रभने फेसबुकको जङ्गलमा बाटो बिराएर हराउन कतिबेर पनि लाग्ने रहेनछ।
साभार: सेतोपाटी
No comments:
Post a Comment