शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 6, 2015

मोदीलाई लिपुलेक सम्झौताबारे बिप्लव माओवादीको पत्र



काठमाडौं । चिन र भारतले नेपालको पश्चिमी सीमा लिपुलेकलाई ब्यापारिक नाका बनाउनेबारे सम्झौता गरेपछि नेपालमा त्यसको व्यापक विरोध सुरु भएको छ । विश्व आर्थिक शक्तिका रुपमा उदाइृरहेका नेपालका दुई ठूला छिमेकी देशले नेपाललाई कुनै जानकारी नै नगराई नेपालको भूमीलाई आफ्नो ब्यापारिक नाका बनाउने सम्झौता किन गरे भन्ने प्रश्न पनि उठेको छ ।
यसै सन्दर्भमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै पत्र पठाएको छ । पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चिन भ्रमणका क्रममा गरिएको ४१ बुँदे ब्यापार सम्झौताको एक बुँदाले नेपालको सार्वभौमिकतामाथि ठाडै धावा बोलेको जानकारी गराइएको छ । पत्रमा भनिएको छ, “भारत र चीनबीच ४१ बुँदे व्यापार सम्झौता भएकोमा सो सम्झौतामा लिपुलेकलाई सम्झौताकारी पक्ष राष्ट्रहरुको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भन्ने उल्लेखित प्रावधानले नेपाल र नेपालीको सार्वभौमिकतामा ठाडै धावा बोलेको छ ।
साथै मोदीलाई सम्झौतामा उल्लेख गरिएको लिपु लेक कहाँ पर्छ भन्ने कुरा पनि राम्ररी सम्झाइएको छ । पत्रमा लिपुलेक लिम्पियाधुराभन्दा ५३ किलोमिटर पूर्वमा नेपालको दार्चुला जिल्लामा पर्ने र त्यो क्षेत्र अन्तर्गत गुन्जी लगायतका गाउँहरु नेपालका गाउँहरु रहेको जानकारी गराइएको छ । भारतीय प्रधानमन्त्री मोदीले गत वर्षमात्र त्यो क्षेत्रमा भ्रमण गरेर कालापानी क्षेत्रको समेत सम्झौताहरु हेर्न र नक्सासमेत अध्ययन गरी विवाद मिलाउन निर्देशन दिएको कुरालाई यतिछिट्टै बिर्सेको भन्दै त्यसलाई ध्यान दिन आग्रह गरिएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरुमा सबैसँग मिलेर संघर्ष गर्नका लागि केही समय अगाडि माओवादीका महासचिव विप्लवको सक्रियतामा गठन गरिएको संघीय जनवादी मोर्चा, नेपालले यो पत्र मोदीलाई पठाएको हो । मोर्चाका अध्यक्ष तथा बिप्लव माओवादीका पोलिटब्यूरो सदस्य रहेका तिलक परियारको हस्ताक्षर रहेको उक्त पत्र नेपालस्थित भारतीय दुतावासमार्फत नरेन्द्र मोदीलाई पठाइएको हो । लैनचौरस्थित दुतावासमा गई उक्त पत्र बुझाइएको थियो ।
सो पत्रमा उक्त सम्झौताले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गरिएको भन्दै खारेज गर्न माग गरिएको छ । पत्रमा भनिएको छ, “नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्न गएकाले यस विषयमा सम्झौता गर्ने दुवै पक्ष भारत र चीन सरकारले तत्काल उक्त सम्झौता खारेज गरिनु पर्दछ ।

भारतीय प्रधानमन्त्री मोदीलाई सम्वोधन गरिएको पत्रको पूर्ण रुप यस्तो छः

सम्माननीय प्रधानमन्त्री
गणतन्त्र भारत
मार्फत
नेपालस्थित भारतीय राजदूताबासको कार्यालय, काठमाडौं

विषयः  ज्ञापन पत्र

भारतीय प्रधानमन्त्रीको हालैको चीनको भ्रमणको समयमा भारत र चीनबीच ४१ बुँदे व्यापार सम्झौता भएकोमा सो सम्झौतामा लिपुलेकलाई सम्झौताकारी पक्ष राष्ट्रहरुको व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भन्ने उल्लेखित प्रावधानले नेपाल र नेपालीको सार्वभौमिकतामा ठाडै धावा बोलेको हुँदा यस तर्फ सम्पूर्ण राष्ट्रियता एवं सार्वभौमसत्तासम्पन्न नेपालका पक्षधर जो कोही नेपालीको गम्भीररुपमा ध्यानाकर्षण हुनु स्वाभाविकै हो । देशभक्त संघीय जनवादी मोर्चा नेपालको यसतर्फ ध्यानाकर्षण भएको छ ।
भारत र चीनबीच सम्पन्न उक्त सम्झौताको २८ औं बुँदामा सीमाव्यापार क्षेत्र विस्तार गर्न, दुवै देशका तीर्थयात्रीहरु बीचको आपसी विश्वास प्रभावकारी बनाउन, सीमाक्षेत्रलाई पुलको रुपमा सहकार्य र आदानप्रदान (एक्स्चेञ्ज)को रुपमा प्रयोग गर्न लिपुलेक समेतलाई व्यापारिक नाका बनाउने भनी नेपालको जानकारी बिना दुवै देशका सरकारप्रमुखले हस्ताक्षर गरी नेपालको अक्षुण्ण भूभागलाई सोझै हडप्ने गरी गरिएको उक्त सम्झौताले नेपाल र नेपालीको सार्वभौमिकतामाथि गम्भीर प्रहार गरेको ठहर देशभक्त संघीय जनवादी मोर्चा नेपालले गरेको छ ।
लिपुलेक नेपालको सुदूरपश्चिम क्षेत्रको दार्चुला जिल्लाको उत्तरी भूभागमा अवस्थित छ भन्ने तथ्य नेपालको राजनीतिक र भौगोलिक मान्यताप्राप्त नक्साबाट समेत देखिन्छ । लिपुलेक सुगौली सन्धिको धारा ३ को पहिलो उपधाराबाट निर्धारण गरिएको लिम्पियाधुराबाट करिब ५३ किलोमिटर पूर्वमा पर्दछ । गुन्जी लगायतका नेपालका केही गाउँहरु यस क्षेत्रमा पर्दछन् । यो लिपुगाड(लिपुनदी)को शिर पनि हो । परम्परागतरुपमा दार्चुला लगायतका नेपालीहरु तिब्बतको ताक्लाकोटको व्यापार गर्दथे । भारतीय व्यापारीहरुले भारतको धार्चुलाबाट नेपालको दार्चुलामा आई नेपालको मार्ग प्रयोग गरेर व्यापार गर्दै आएका थिए । हाल यो नाकासम्म चीनले आफ्नो भूभागमा मोटरबाटो बनाइसकेको देखिन्छ । नेपालका दार्चुलाबासीले यही लिपुलेक क्षेत्रमा यार्सागुम्वा टिप्ने तथा परम्परागतरुपमा चौरी र भेडा गोठ राख्ने गरेका छन् । तिङ्करमा नेपाल सीमाप्रहरी समेत रहने गरेको छ । माओवादी जनयुद्धअघि यो ठाउँमा अस्थायी भन्सार कार्यालय थियो जुन अहिले दार्चुलामा सारिएको छ ।
नेपालको भूभागभित्रको यो क्षेत्रलाई अतिक्रमण हुनेगरी दुई ठूला देशले गरेको सम्झौताबाट राष्ट्रिय सार्वभौमिकसत्ता सम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं मान्यताको ठाडै उल्लङ्घन भएको छ ।
केही वर्ष अगाडि भारत र चीनबीच यसक्षेत्रमा सीमा सम्झौता सम्बन्धमा भएका गतिविधि नेपालबाट विरोध भएकाले तत्काल अगाडि बढ्न नसकेको देखिन्छ । यतिखेर नेपालमा विनाशकारी भूकम्पका कारण सिर्जित विपत्तितर्फ राष्ट्रिय ध्यान बढ्न  नसकेको बेला यस किसिमको सम्झौता आफैमा गम्भीर र रहस्यमय देखिन्छ ।
विश्वकै उदयमान शक्तिको रुपमा देखापरेका नेपालका छिमेकी राष्ट्रहरु भारत र चीन जोसँग नेपालको मित्रवत् छिमेकी सम्बन्ध रहँदै आएको छ । नेपाल र यी दुवै देशबीच थुप्रै सन्धिसम्झौताहरु भएका छन् । हामी एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्दछौं । एकअर्काप्रति अतिक्रमणको कल्पना पनि गर्न सक्दैनौं । यस्तो परिप्रेक्षमा यतिखेर आएर नेपालको कुनै जानकारी बिनै भएको उक्त सम्झौताले नेपाल र भारतबीच भएको सुगौली सन्धिलगायतका सन्धिसम्झौताहरु र नेपाल र चीनबीच भएका विभिन्न सन्धिसम्झौता, सीमासम्बन्धी नापनक्सा समेतको विरुद्ध हुन गई गम्भीर प्रश्नहरु पैदा गरेको छ ।
गत वर्ष भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा कालापानी क्षेत्र, महाकाली नदीको स्तर र मुहान तथा अन्य विवाद समेतका बारेमा कागजप्रमाण हेरी निर्णय गर्न आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको भन्ने कुरा सार्वजनिक भएको थियो । तर यतिखेर उक्त निर्देशनसमेतलाई बिर्सेर नेपाल भूभागभित्रको लिपुलेकलाई नेपालको कुनै जानकारी र उपस्थितिबिना सम्झौताकारी दुवै देशको साझा नाकाको रुपमा सम्झौतामा उल्लेख गरिनुले छिमेकी राष्ट्रहरुको व्यवहारप्रति नै नेपाली जनताको  गम्भीर आशंका पैदा भएको छ ।
अतः भारत र चीनबीच भएको उक्त सीमा व्यापार क्षेत्र विस्तार सम्झौताले नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्न गएकाले यस विषयमा सम्झौता गर्ने दुवै पक्ष भारत र चीन सरकारले तत्काल उक्त सम्झौता खारेज गरिनु पर्दछ । उक्त सम्झौताको २८ नम्बर बुँदामा उल्लेखित नाथु ला, क्वीङग्ला÷लिपुलेक पास, र शिप्कि लाबाट लिपुलेक पास हटाउन जोडदार माग गर्दछौं । नेपालका कैयौं नेपालका कैयौं स्थानका सीमानालाई लिएर विवादहरु देखिदैँ आएका छन् । ती सीमा क्षेत्रका विवादहरु पनि तत्काल समाधान हुन भन्ने अपेक्षा राखेका छौं । नेपाल र नेपाली जनता राष्ट्र र राष्ट्रियताप्रति ज्यादै नै संवेदनशिल छन् । तसर्थ नेपालको सार्वभौमिकता, अखण्डता र नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्दै लिपुलेक लगायतका नेपालको मिचिएको सीमा क्षेत्र फिर्ता हुनेछ भन्ने अपेक्षा सहित यो ज्ञापनपत्र प्रस्तुत गरेका छौं ।
२१ जेठ २०७२

तिलक परियार
अध्यक्ष

No comments:

Post a Comment