आफ्नो
पौरख र पसिनाको मलजल गरेर खेती गर्न प्रोत्साहन गर्ने, मादल र लोकभाखाको
रन्कोमा गाँउघर दुनीयाँ व्युँझाउन हरदम तल्लिन रहने अनि जन्मेको
देश र नेपाली भेषलाई नेपालीले माया मार्यो बरिलै भन्दै सदा चिन्तीत रहने
एवं लोकगीतका माध्यमबाट नेपाली समाजलाई सधै घच्घच्याउँदै हिड्ने लोकगायक
जनकवि केशरी धर्मराज थापा आज हामी माझ भौतिक रुपमा रहनु भएन ।
तर वहाँले माया मारेर गएता पनि वहाँका
कर्णप्रिय, सदावहार र मर्मस्पर्शी गीतहरु भने आम नेपाली जनताको मन
मस्तिष्कमा अजर अम्वर भएर रहिरहनेछन । कहिलेकाहिँ टेलिभिजन, रेडियो र
पत्रपत्रिकामा मरणोपरान्त सम्मानका खवरहरु सुन्न गरेका छौ । त्यस्ता समाचार
पढेपछि म मनमनै सोच्न थाल्छु र प्रश्न गर्न थाल्छु । हाम्रो यो कस्तो
संस्कृति अनि यो कस्तो परम्परा ? ज्यूँदामा सम्मान गर्नुपर्नेमा मरेपछि
गर्नुको के अर्थ ? बास्तवमा लडाइमा विरगती प्राप्ती गर्नेदेखि वाहेक
अन्यलाई यस्तो खालको सम्मान अव्यवहारिक हुन्छ ।
यथार्थमा भन्ने हो भने बिरगती प्राप्त सिपाहीहरुलाई पनि यो त्यति
व्यवहारिक हुन सक्दैन । किनकी हजारौ सिपाही मध्ये पनि कर्तव्यनिष्ठ र
बहादुर सिपाहीको पहिचान गर्नलाई उसको शहादता कुरिराख्नु पर्दैन ।
इच्छाशक्ति भएमा ज्युदैमा सम्मान गर्न सकिन्छ । खाली इच्छाशक्ति र पारख
गर्न सक्ने क्षमताको आवश्यकता मात्र छ । तर के गर्ने नेपाली समाजको
परम्परा नै बनिसकेको छ मरेपछि सम्मान गर्ने । जिउँदो छँदा देख्दैनन, कदर
गर्दैनन, सम्मान गर्दैनन, सम्झना गर्दैनन अनि मरिसकेपछि लासमा फूल
चढाउँछन्, रुन्छन, चिच्याउँछन, कराउँछन् अनेक तानावाना बुन्छन् अनि शालिक अनावरण
गरी सालिकलाई माला लगाइदिन्छन । वास्तवमा यो नै हिजोआजको नेपाली समाजको
वास्तविक संस्कृति बन्न पुगेको छ ।
राष्ट्रका
लागि योगदान दिएका व्यक्तिहरुको सम्मान राज्यपक्ष र नागरिक समाज
दुवैपक्षबाट हुनुपर्ने हो । वास्तवमा देशका लागि योगदान दिने
व्यक्तित्वलाई सम्मान दिन राज्य र नागरिक समाज कहिले पनि चुक्नुहुन्न
अन्यथा इतिहासले धिक्कार्नेछ । आज नेपालमै हेर्दा कयौ ज्यूँदै शहिद झै भएका
छन्, कैयौ जीवन र मृत्युको दोषाँधमा छन्, कयौ अन्तिम सास गनिरहेका छन् अनि कयौ त
जीवन रक्षाका निम्ती सरकारसंग उपचारको याचना गरिरहेका छन । यसरी याचना
गर्न वाध्य तुल्याउनु भन्दा पनि देशलाइ योगदान दिने व्यक्तिका बारेमा
राज्यले बेलैमा केहि गर्नु पर्दछ । उपचारको आवश्यकता भए उपचार गरिदिनुपर्दछ
र नभएमा सम्मान व्यक्त गर्नु पर्दछ ताकि भोलिका दिनमा अन्यलाई पनि
राष्ट्रको निम्ती योगदान दिन प्रेरणा मिलोस् ।
लोकगायक
तथा कवि जनकवि केशरी धर्मराज थापा रोग लागेर थलिएर बसेको धेरै समय भएको
थियो तर विडम्वना हिजो सम्म न राज्यले उनको चासो लिएको थियो न आम सन्चार
माध्यमले न आम नेपालीलेनै । तर आज वहाँको मृत्युपश्चात भने ठूल्ठूला
समवेदनाको वर्षाहरु आइरहेका छन् । आफ्नो जीवनको सम्पूर्ण समय लोक संगीतको
प्रवर्दनमा लागेका गायकहरुलाई ज्यूँदोमा सम्मान गर्ने दायित्व राज्यको थिएन
त ? मुलुकका लागी योगदान दिएका स्रष्टाहरु हराँउदा ति स्रष्टा कहाँ हराए
के गर्देछन भनि खोजिनीति गर्ने काम राज्य, आम सन्चार माध्यम अनि नागरिक
समाजको हैन त ?
गायक, कवि
लेखकलाई कुनै पनि व्यवस्थासंग दाजेर हेर्दा र मुल्यांकन गर्दा उनीहरुमाथि
अन्याय हुन जान्छ । एकाध वाहेक धर्मराज थापाका प्राय सवै गीत राष्ट्रवादी
छन । तर विडम्वना वहाँलाई पञ्चायत व्यवस्थासंग दाँजेर हेरिने गरिएको थियो ।
शायदै त्यसैले हुनसक्छ वहाँले कम सम्मान पाउनु भएको । तर यस्तो व्यवहार
न्यायिक हुन सक्दैन । आफ्नो जीवनका सबै वसन्तहरु नेपाली लोकगीतको संकलन र
प्रवर्ध्दनमा विताएका धर्मराज थापा आफ्नो ९२ बर्षीय जीवनमा विश्राम लिन
पुगेका छन । थापाले उहिलेको समयमा गाएका गीतहरु हिजोआजका दिनमा झन झन
नेपाली समाज सापेक्ष र सार्थक बन्दै गएका छन अझ भनौ जीवन्त वन्न पुगेका छन ।
वास्तवमा आज झन विदेशीने प्रथा यति धेरै बढ्दै छ कि दिनमा झन्डै पन्ध्र
हजारको हाराहारीमा युवाहरु बिदशीदै छन । नेपालका गाँउ गाँउ बस्ती बस्ती
युवा विहिन भइसकेका छन् हिजोका दिनमा झै हरियो डाँडामाथि हलो जोत्ने
किसानहरु हलो र कोदालोमै जीवन बिताउन वाध्य छन् भने दुर्भाग्य आमाहरु आाफ्ना
सन्तानको वियोगमा धुरुधुरु रोहिरहेका छन ।
धर्मराज
थापाले गाएका यि गीतहरु वास्तवमा हिजो भन्दा आज, आजभन्दा भोलि झन सार्थक
बन्दै छन् । नेपाली जनजीवनका कथाव्यथा त्यस्तै छन् । खालि बदलिएको छ त
गायकले भनेझै यहाँको भेषभुषा, रहनसहन अनि चालचलन । थापाले भनेझै भेषभुषा र
संस्कृतीलाई भने नेपालीले साँच्चै नै माया मारेका छन् । आज रेडियो,
टेलिभिजनमा उनका यि गीतहरु बज्न छोडेका छन् । आधुनिक भनाउँदा पुस्ताहरु पप र
र्यापमा झुम्न थालेका छन् । गुन्यु चोली र दौरा सुरुवाल लगाउने दाजुभाइ तथा
दिदी बहिनीहरु चार इन्चको मिनीस्कर्ट र कम्मर भन्दा चार इन्च मुनि झरेको
पाइन्ट लगाएर हिड्न थालेका छन् । यसरी यस्ता जीवन्त गीतका सर्जक आज जीवन र
मृत्युको दोसाँधमा अन्तिम श्वास लिइरहँदा नेपालका सरकार पक्ष र आम
नागरिकलाई भने त्यति धेरै चासो रहेको पाइन्न । उनलाई उचित सम्मान र
पुरस्कृत गर्न आवश्यक भएको थियो ।
सरकारले
त आफ्नो जिम्मेवारी पुरा गरेन, नागरिक समाजले पनि आफुहरुले सक्दो सहयोग र
सम्मान गरेर आ-आफ्नो दायित्व पुरा गर्नु पर्दछ । किनकी जनकवि केशरी धर्मराज
थापा जनताका गायक हुन् उनले जीवनमा जनताकै गीत गाएका थिए । जनताको
पीडा, दु:ख, वेदना र हाँसो गीत मार्फत फैलाएका थिए । यसलाई कदापि पनि विर्सन
हुन्न । हिजोआज त सम्मानको कुरामा पनि बाद प्रतिवाद पक्ष विपक्ष भनेर
छुट्याएका उदाहरणहरु प्रशस्त पाइन्छन । जसको ज्वलन्त उदाहरणको रुपमा
नेपालका पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको उपचारमा सरकारले देखाएको
उदासिनता र मृत्युपश्चातको सम्मान नदिएको बिषयलाइ लिन सकिन्छ ।
यसरी
नै कवि धर्मराज थापालाई पनि कोहि प्रगतिशिल भन्ने कोहि प्रतिक्रयावादि गीत
गाएका गायक भनेर परिभाषित गरिरहेका छन् । उनले चाहे जस्तो सुकै गीत गाएका
भएतापनि उनले नेपाली गीत गाएका हुन्, यति मात्र बुझे पुग्छ । हुन सक्छ
धर्मराज थापाले कुनै बेलाको राजनीतिक व्यवस्थाअनुसार त्यस्तै खाले एक दुई
गीत गाए होलान् तर त्यसैलाई लिएर धर्मराज थापा प्रतिक्रियावादि कवि वा गायक
थिए भनेर परिभाषित गर्दा उनले राष्ट्र र समाजलाई दिएको योगदानको माथि
अन्याय हुनेछ । चाहे ति मरिचमान हुन् वा लोकमान सिंह अनि चाहे त्यो कमल थापा
हुन् या धर्मराज थापा मुलुक र राष्ट्रका लागि राम्रो काम गर्ने व्यक्ति तथा
स्रष्टाले उचित सम्मान पाउनैपर्छ भन्ने नै आजको समाजको मान्यता हो ।
स्वर्गीय थापा प्रति हार्दिक श्रद्धान्जली ।
साभार: चन्द्रसूर्यडटकम
No comments:
Post a Comment