शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, July 30, 2014

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिन (मुस्लिम) पशुपतिभित्र !


पशुपति मन्दिरबाट बाहिरिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिन।  तस्बिर: सेतोपाटी

भगवानले यी मानिस मेरा हुन् र यी होइनन् भनेर छुट्याउने कुरै भएन। भगवानको भाग लगाउने मानिसले नै हो। धर्म र सम्प्रदाय बनाउने पनि मानिसले नै हो। धर्म र सम्प्रदायबीचको विभाजन र भेदभावको परम्परा बसाल्ने पनि मानिस र समाजले नै हो।

हिन्दूलाई मात्र पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न दिने यस्तै एउटा परम्परा हो।
त्यो परम्परा शक्तिशाली व्यक्तिहरुको हकमा भने कहिलेकाहिँ तोडिने गरेको छ। यसपालि यस्तै भयो।
भारतीय विदेशमन्त्री सुषमा स्वराज गत साता काठमाडौँ आउँदा पूजा गर्न पशुपति पुगिन्। उनीसँगै पशुपति पुगे, भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिन। सइदले पशुपति मन्दिरमा पूजा गरेनन्। उनी हिन्दू धर्मावलम्बी होइनन्। इस्लाम धर्म मान्छन्।
उनी पशुपतिको जुन मूल ढोका हुँदै मन्दिरभित्र प्रवेश गरे, त्यही मूलढोकामै नेपाली र अंग्रेजी भाषामा प्रस्टसँग बुझिने गरी लेखिएको छ, प्रवेश हिन्दूहरुका लागि मात्र।
पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डन स्वराजलाई स्वागत गर्न परिसरमै बसेका थिए। उनलाई भित्र लगी पूजाको सम्पूर्ण प्रबन्ध मिलाएको उनैले हुन्।
सइदको पशुपति प्रवेशबारे प्रश्न गर्दा टण्डनले भने, 'म त स्वराजलाई लिएर अघिअघि गएँ, पछि को आयो थाहा भएन।'
पशुपति मन्दिरभित्र सइद। तस्बिर: सेतोपाटी
तर स्वराज पशुपतिमा पूजा गर्न आउने भएपछि व्यवस्थापनले मन्दिरमा हिन्दूहरुलाई मात्र प्रवेश रहेको स्वराज टोलीलाई पूर्व जानकारी गराएको थियो।
'पशुपतिमा हिन्दूहरुले मात्र प्रवेश पाउने हामीले 'एडभान्स'मा जानकारी गराएका थियौँ,' टण्डनले भने, 'तर उहाँ अन्जानमा छिर्नुभयो कि कसरी छिर्नुभयो थाहा भएन।'
सइद पशुपति मन्दिरभित्र प्रवेश गरेपछि फोटो पत्रकारहरुले उनलाई कसरी प्रवेश गर्न दिइयो भनेर आफूलाई 'घेरेको' उनले बताए।
टण्डनले सइद पशुपति छिरेको विषयलाई इस्यु बनाउन नहुने पनि जिकिर गरे- 'मोदी आउनेबेलामा यस्तो विवाद झिक्नु राम्रो हुँदैन।'
गत जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका लागि दिल्ली पुगेका भुटानी प्रधानमन्त्री छिरिङ तोग्वे स्वदेश फर्कँदा काठमाडौँमा रोकिएका थिए। ड्रुक एयर खराब मौसमका कारण एक रात काठमाडौँमै बसेको थियो। समयको सदुपयोग गर्न तोक्वे पशुपतिनाथ र बौद्धको भ्रमणमा निस्के। पशुपतिनाथ मन्दिरको मूलगेटमा राखिएको सूचनाले उनी टक्क अडिए। आफू बौद्धमार्गी भएकाले भित्र नपसी फर्कन चाहे।
'बौद्ध र हिन्दू धर्म उस्तै हो तपाईँ भित्र जान मिल्छ,' टण्डनले यसो भनेपछि तोग्वेका लागि बाटो खुल्यो र उनी मन्दिर प्रवेश गरे।
सइदले भने त्यो संवेदनशीलता देखाएनन् वा त्यो सूचना देखेनन्।
प्रवेशको विषयलाई लिएर हिन्दू मन्दिरहरु र मन्दिरभित्र प्रवेश गर्न चाहने व्यक्ति बेलाबेलामा विवादमा आउने गरेका छन्। नेपाल र भारतका धेरै हिन्दू मन्दिरमा गैरहिन्दूलाई प्रवेश निषेध छ।
प्रधानमन्त्री हुनुअगाडि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको निम्ता मान्न राजीव गान्धी आफ्नी श्रीमती सोनिया गान्धीसँगै नेपाल आएका थिए। गान्धीले पत्नीसहित पशुपति घुम्न जाने इच्छा व्यक्त गर्दा मन्दिर प्रवेश हिन्दूहरुले मात्र गर्नसक्ने जानकारी गराइएको थियो।
परराष्ट्र मन्त्रालयका एक पूर्वसचिवले सेतोपाटीले भने, 'पछि सार्क शिखर सम्मेलनमा आउँदा पनि राजीवले पशुपति जान नपाएको प्रसंग हामीले पनि सुनेका हौँ, तर त्यो आधिकारिक रुपमा परराष्ट्रको रेकर्डमा छैन, ठ्याक्कै के भएको भन्ने हामीलाई पनि थाहा छैन।'
नेपालका मात्र होइनन्, भारतीय हिन्दू मन्दिरहरु पनि बेलाबेलामा गैरहिन्दूलाई प्रवेशको विषयलाई लिएर विवादमा पर्ने गरेका छन्। यसरी नै विवादमा आइरहने मन्दिर हो, भारतको सबैभन्दा धनीमध्ये एक  जगन्नाथ मन्दिर।
१९८४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी उडिसा राज्यको भ्रमणमा गएकी थिइन्– जगन्नाथ मन्दिरको दर्शन गर्ने उनको इच्छामा भने मन्दिरका पूजारीहरु तघारो बने। फिरोज गान्धीसँग इन्दिराको विवाहका कारण इन्दिराले मन्दिर प्रवेश गर्न नमिल्ने अड्डी उनीहरुले लिए। नजिकैको रघुनन्दन पुस्तकालयबाट मन्दिरको दर्शन गरी उनी फर्किन्।
हिन्दूमात्र पशुपति प्रवेश गर्न मिल्ने सूचना।  तस्बिर: सेतोपाटी
१९३४ मा महात्मा गान्धीले भने कथित तल्लो जातका मानिसहरुलाई मन्दिरमा प्रवेश गर्न नदिएको विरोधमा आफैँ जगन्नाथ मन्दिर प्रवेश गर्न मानेका थिएनन्। कस्तुरबा मन्दिरभित्र प्रवेश गरेर पूजा गरिन्, गान्धी भने मन्दिरको मूलगेटमा विभेदविरुद्ध धर्ना बसे।
तीन वर्षअघि सन् २०११ को अगस्टमा राज्यसभा सदस्य प्यारी मोहन मोहपात्रले पर्यटक आकर्षित गर्न गैरहिन्दूहरुलाई पनि जगन्नाथ मन्दिरभित्र प्रवेश दिनुपर्ने प्रस्ताव राखेका थिए। मन्दिर व्यवस्थापनले त्यो प्रस्तावको चर्को विरोध गर्‍यो।
मक्कामा गैरमुस्लिमहरुले प्रवेश नपाउने भन्दै जगन्नाथ मन्दिरको परम्पराको उनीहरुले रक्षा गरे। मुगल साम्राज्य विस्तारको समयमा धेरै हिन्दू मन्दिरहरुमा आक्रमण भएपछि गैरहिन्दूहरुलाई प्रवेशमा रोक लगाएको ऐतिहासिक मान्यता छ।
वि सं १४०६ मा बंगालमा सुल्तान समसुद्दिन इलेहादले पशुपतिमा आक्रमण गरेपछि गैरहिन्दूलाई पशुपति मन्दिर प्रवेशमा रोक लगाइएको इतिहास रहेको जानकारी सदस्यसचिव टण्डनले दिए।
केही दशकअघिसम्म विदेश गएर फर्केको हिन्दूले पनि पशुपतिभित्र प्रवेश नपाउने चलन रहेको जानकार बताउँछन्। १३७ वर्ष उमेरमा नेपालमा देहत्याग गरेका भारतीय सन्त शिवपुरीबाबा विश्व भ्रमण गरी फर्केका कारण उनले पशुपति पूर्वपट्टिको ढिस्कोबाटै पशुपतिनाथको गजुर दर्शन गर्ने गरेको उनको जीवनीमा उल्लेख छ।
समाचार साभार: सेतोपाटीडटकम

No comments:

Post a Comment