शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, July 10, 2014

भिटामिनको इतिवृत्ति




त्रिचन्द्र ‘प्रतीक्षा’
मानव जीवनमा भिटामिनको महत्व कति छ भन्ने कुरा भनिरहनु नपर्ला, हरेक व्यक्तिका लागि भिटामिनको आवश्यकता जति बढी रहन्छ, तर हामी कमै मात्रलाई थाहा होला कि भिटामिनको बारेमा कसले कसरी पत्ता लगाए भन्ने बारेमा थाहा होला । आज हामी यस लेख मार्फत् भिटामिनको खोज र वर्गिकरणबारेमा केही जानकारी दिने प्रयासमा छौं ।
इतिहास
त्रिचन्द्र प्रतीक्षा
भिटामिनको इतिहास सन् १७२० देखि सुरू भएको पाइन्छ । तत्कालीन समयमा अष्ट्रियाली सैनिक चिकित्सक क्रमेर (Kramer)ले स्कर्भी (Scurvy)रोगका लागि सुन्तला तथा हरिया सागसब्जीका माध्यमबाट उपचार गराएको पाइन्छ । त्यसपछि व्रिटिस नौ सेनाका क्याप्टेन लिण्ड (Lind)ले प्रयोगबाट यो प्रमाणित गरिदिएका थिए कि कागती तथा सुन्तलाको पर्याप्त मात्रामा सेवन गराएमा स्कर्भी रोगबाट मुक्ति पाउन सकिन्छ ।
यो घटना सन् १७५३ तिरको हो । त्यसपछि यस क्षेत्रमा उल्लेखनीय प्रगति हुन पुग्यो जब सन् १८८२ मा एडमिरल तकाकी (Takaki) जापानमा चिकित्सा सेवाका प्रमुख जनरल थिए । उक्त समयमा उनले खानामा सागसब्जीहरू, माछा, मासु, अण्डा आदिको मात्रामा उचित वृद्धि गर्दै लगेमा  बेरबिरी नामको रोगबाट बच्न सकिन्छ भनेका थिए ।
पछि सन् १८९० मा डाक्टर आइजकम्यानले कुखुराका चल्लाहरूलाई मिलमा कुटेको चामल खुवाएर अनुसन्धानकार्य प्रारम्भ गरेका थिए । यसो गर्दा कुखुराका चल्लाहरूमा बेरबिरी रोगमा जस्तै स्नायु प्रणालीको क्रियामा असन्तुलन आएको पत्ता लगाए ।
त्यसपछि त्यो रोगलाई निको पार्ने दिशातिर कदम चाले र पछि डाक्टर आइजकम्यानका एक सहयोगी मित्रले एउटा कुखुराको चल्लालाई केही समयसम्म ढिकीमा कुटेको चामल खुवाएर पाले जुन चल्लाको अवस्थामा विस्तारै विस्तारै सुधार आएको छ ।
सन् १९११ मा पोल्याण्डका डाक्टर क्यासिमिर (Dr. Casimir Fank)त्यति बेला लण्डनको लिष्टर इन्सटिच्युटमा कार्यरत थिए र उनले बेरबिरी विरुद्धको तत्व पत्ता लगाए । उनका अनुसार यस पदार्थको रासायनिक संरचना एक एमिने(Amine)थियो ।
त्यसकारण यसको नाम उनले ‘भिटा एमिन’ राखे, यसको अर्थ जीवनका लागि आवश्यक पदार्थ हुन्छ । पछि सन् १९१९ ताका भिटा एमिन (Vita-Amine)मा एमिने (Amine)को संरचना भएको कुनै पनि पदार्थ थिएन । त्यसको फलस्वरुप सन् १९१९ मा Amine वा e अक्षरलाई हटाएर Vita र Amine शब्द जोडेर Vitamin शब्दको उत्पत्ति भयो । त्यसपछि भिटामिन नाम प्रचलनमा आयो ।

भिटामिनको वर्गीकरण तथा प्रकार
भिटामिनलाई घुलनशीलताका आधारमा दुई समूहमा वर्गीकरण गरीएको छ– चिल्लो पदार्थमा धुल्ने भिटामिनहरू ए, डी, ई र के पर्दछन् भने पानीमा घुल्ने भिटामिनहरूमा भिटामिन बी समूह र सी समूह रहेका छन् ।

भिटामिन ‘ए’
यसको खोज सन् १९०९ मा होपकिन्स तथा स्टेपबाट भएको थियो । सन् १९१५ मा म्याककोलम तथा डेभिसले अण्डाको पहेंलो भागमा पाएका थिए । यो भिटामिन पानीमा अघुलनशील छ, तर चिल्लो पदार्थमा घुल्ने गर्छ । यो ठोस रूपमा पनि पाउन सकिन्छ र यसलाई हावामा खुल्ला छोडेमा नष्ट भएर जान्छ ।
भिटामिन ‘ए’ पाइने वनस्पति स्रोतमा–हरियो सागपात, धनियाँ, पालुँगो, केरा, गोलभेंडा, आँप, सुन्तला, पाकेको फर्सी, गाजर, मुला, काउली सलगल आदि मुख्य मानिन्छन् ।
भिटामिन ‘बी’
यो भिटामिनलाई पनि विभिन्न समूहमा विभाजन गरीएको छ, जस्तैः भिटामिन बी१, बी२, बी६, बी१२ ।
बी१– सन् १८९७ ताका कुखुराको चल्लालाई राम्रो सँग फलेको चामल खुवाएर पाल्दा बेरबीरी जस्तो रोग लाग्यो र पछि त्यही चल्लालाई नफलेको चामल खुवाउँदा रोग विस्तारै निको हुँदै आएको कुरा पत्ता लागेपछि नफलेको चामलमा रहेको रोग निको पार्ने तत्वलाई वैज्ञानिकहरू भिटामिन ‘बी’ भन्ने गरेको भनाइ छ । पछि सन् १९३६ मा विलियमले यसलाई थाय्मिन नामाकरण गरेका थिए भने पछि यसलाई भिटामिन बी१ भन्ने गरियो । यो भिटामिन तापद्वारा छिट्टै नष्ट हुन्छ ।
बी२– सन् १९३२ मा वारवर्ग र क्रिश्चियनले एक प्रकारको पिउने पदार्थ बनाए । पछि सन् १९३३ मा कुन (Kuhn)ले यो पदार्थमा भिटामिन बी२ भएको पत्ता लगाए । सो पदार्थमा पहेलों इन्जाइममा (Yellow Enzyme)मा भिटामिन बी२ बनाउन सफलता प्राप्त गरे भने अमेरिकामा यसलाई भिटामिन जी को नाम दिइएको थियो ।
बी३– सन् १९०१ मा विल्डियर्सले भिटामिन बी३ को बारेमा उल्लेख गरेता पनि सन् १९३३ मा मात्र विलियम्सद्वारा यसको स्वतन्त्र अस्तित्व पत्ता लगाए । यो भिटामिन पानीमा अति छिटो घुल्ने भिटामिन हो भने यो पकाउँदा बढी मात्रामा नष्ट हुन जान्छ ।
बी६– सन् १९३६ मा गिर्योगी भन्ने व्यक्तिले उल्लेख गरे तापनि पछि सन् १९३८ मा केरेस्टेसी र स्टेभेन्सले यसलाई स्वतन्त्र रूपमा प्राप्त गर्न सफल भए । यो भिटामिन सेतो स्वच्छ र पानीमा घुलनशिल हुन्छ ।
 बी१२– सन् १९४८ मा स्मिथ तथा पार्कर भन्ने व्यक्तिहरूले पत्ता लगाएका थिए । यो भिटामिन रातो रक्तकोष (RBC)को निमार्ण गर्न आवश्यक पर्छ । यो पनि पानीमा घुल्ने रातो पदार्थ हो ।
यि भिटामिन ‘बी’ प्रायः सबै खाद्य पदार्थहरूमा पाइन्छ । साथै– दूध, अण्डा, चीज, माछा मासु, फलफूल, गेडागुडी, बदाम, वनस्पतिजन्य खानामा गहुँ, सिमी, दाल, चामलमा नगण्य मात्रामा पाइन्छ ।
भिटामिन ‘सी’
तत्कालीन समयमा व्रिटिस नौसेनाका क्याप्टेन लिण्डले स्कर्भी रोगको रोकथामका लागि कागती तथा सुन्तलाको रस प्रशस्त मात्रामा सेवन गराउनुपर्छ भन्ने कुरा प्रमाणित गरेका थिए । पछि सन् १७७२ देखि १७७५ क्याप्टेन कुक तथा सन् १९०७ मा होक्स्ट र फ्रोलिचले यस क्षेत्रमा कार्य गरे । सन् १९२८ मा ग्योर्गीले भिटामिन सी स्वतन्त्र रूपमा प्राप्त गरे तथा सन् १९३३ मा रिचस्टेइनले प्रयोगशालामा बनाउन सफलता पाए ।
भिटामिन ‘सी’ पाइने मुख्य स्रोतहरूमा कागती, सुन्तला, अमला हुन् भने अन्य ताजा फलफूलहरू अम्बा, मेवा, भूइँकटहर आदि पनि हुन् ।
भिटामिन ‘डी’
भिटामिन डी को इतिहासलाई हेर्दाखेरि सन् १७८२ बाट शुरू भएको पाइन्छ । तत्कालीन समयमा माछाको तेलबाट रिकेट्स (Rickets)रोगको उपचार गर्न सकिन्छ भन्ने कुराको जानकारी भयो । त्यसपछि सन् १९१८ मा मेलेन्बी (MelaLnby)ले भिटामिन ‘डी’ को अभावमा रिकेट्स रोग लाग्छ भन्ने कुरा मुसामा प्रयोग गरेर प्रमाणित गरेका थिए ।
सूर्यको प्रत्यक्ष प्रकाशमा अल्ट्राभ्वाइलेट किरणहरू र यसले छालाको कोलेस्टेरोललाई भिटामिन ‘डी’ मा परिणत गर्दछ । त्यसैले भिटामिन ‘डी’ लाई सनसाइन (Sunshine) भिटामिन पनि भनिन्छ ।
माछाको कलेजोको तेल, सबैभन्दा प्रमुख स्रोत मानिन्छ भने अण्डाको पहेँलो भाग, दूध, मक्खन आदि भिटामिन ‘डी’ को स्रोत हुन् ।
भिटामिन ‘ई’
भिटामिन ‘ई’ को खोजका बारेमा सन् १९२२ देखि शुरू भएको पाइन्छ । तत्कालीन समयमा सुरे इभान्स तथा बीसप (Sure Evans and Bishpo)नामका वैज्ञानिकहरूले भिटामिन ‘ई’ को कमीको प्रभावका बारेमा अध्ययन गरी महिला तथा पुरुषको प्रजनन् क्षमतामा ह्रास ल्याउँछ भन्ने कुरा पत्ता लगाए । उनीहरूले भिटामिन ‘ई’ लाई टोकोफेरोल्स (Tocopherols)भनी नामाकरण गरे ।
टोकोस (Tokos)को फेरो (Phero)को अर्थ हुन्छ बच्चाको जन्म (Childbirth)तथा फेरो (Phero)को अर्थ हुन्छ जन्म दिनु (To Give Birth)। यो भिटामिन ‘ई’ वनस्पति तथा प्राणीहरूको तन्तुमा प्रशस्त मात्रामा पाइने हुँदा साधारण तथा यसको अभाव देखा पर्दैन ।
विशेषगरी– अंकुरित खाद्यान्न, अण्डा, दूध, गहुँको अंकुरबाट बनाइएको तेल, नरिवलको तेल, मुटु, कलेजो, मिर्गौला आदि भिटामिन ‘ई’ को स्रोत मानिन्छन् ।
भिटामिन ‘के’
जर्मन रसायन शास्त्री डाम (Dam)ले भिटामिन ‘के’ को खोजी गरेका हुन् । उनले सामान्यतया यो भिटामिनले रगत जमाउने काममा मद्दत गर्छ भन्ने कुरा पत्ता लगाए । अतः उनले यसको नाम भिटामिन ‘के’ राखे किनकि जर्मन भाषामा कोगुलेसन (CoguaLetion)शब्द K अक्षरबाट सुरू हुन्छ । डाम तथा अंग्रेज रसायन शास्त्री आल्माक्विस्टले सन् १९३० देखि सन् १९३३ सम्म कुखुरामा प्रयोग गरेर यो भिटामिनका क्षेत्रमा काम गरेका थिए । यो भिटामिन पर्याप्त तापबाट पनि नष्ट हुँदैन । भिटामिन ‘के’ पनि दुई प्रकारका छन्– K1/1 / K2
हरियो साजसब्जीहरू नै भिटामिन के को सबैभन्दा राम्रो स्रोत मानिन्छन् । साथै– गोलभेँडा, काउली, बन्दा, माछा, दूध, गाजर, भटमासको तेल, गहुँ आदि यसका स्रोतहरू हुन् ।


भिटामिन विविध जानकारी

भिटामिनले स्मरण शक्तिको ¥हास रोक्ने
माछा, दुध तथा मासुमा पाइने भिटामिन ‘बी–१२’ ले बुढ्यौलीमा हुने स्मरण शक्तिको ¥हास रोक्न सकिने कुरा हालै गरिएको एउटा अनुसन्धानात्मक सर्वेक्षणले देखाएको छ । प्राप्त जानकारी अनुसार बुढ्यौलीमा भिटामिन ‘बी–१२’ ले लेभल पर्याप्त भएमा ६ गुणा स्मरण शक्ति बढ्ने अनुसक्नधानकर्ताहरुले उल्लेख गरेका छन् ।
अध्ययनमा भिटामिन ‘बी–१२’ ले स्मरण शक्तिलाई खुम्चिन नदिने उल्लेख गरिएको छ । बुढ्यौली अवस्थामा मस्तिष्क ठीक नरहनु बिर्सने रोगको मुख्य लक्षण हो । बिर्सने रोगलाई सन्तुलित आहार पद्धतिबाट प्राप्त हुने भिटामिन उपचारबाट रोक्न सकिने अनुसन्धानकर्ताहरुको दाबी छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ५ वर्ष लगाएर ६१ र ८७ वर्षका वृद्धहरुको १ सय ७ वटा मस्तिष्कको नमुना परीक्षण गरेर उक्त कुरा पत्ता लगाएको बताइन्छ । कलेजो र सेलफिस भिटामिन ‘बी–१२’ का महत्वपूर्ण स्रोत हुन् ।

भिटामिन सी कुन पदार्थमा कति ?
हामीले खाने खाद्य पदार्थहरुमध्ये पायशः सबैमा धेरधोर विभिन्न किसिमका भिटामिनहरु पाइन्छन् । कुनैमा भिटामिन ‘ए’ हुन्छ भने कुनैमा ‘बी’ हुन्छ त्यसै गरी कुनैमा ‘सी’, ‘डी’ आदि अनेक किसिममा हुन सक्छन् । यसैबीच यहाँ केही पदार्थमा पाइने भिटामिन ‘सी’ को बारेमा जानकारी दिइएको छ ।

पदार्थ (१०० ग्राममा) भिटामिन ‘सी’ (मि.ग्रा)
  1. हरियो धनियाँ           १३५
  2. पुदिनाको पात             २७
  3. गाजरको पात              ८१
  4. मेथीको पात                 ५२
  5. पालकको पात            २८
  6. प्याज                             ११
  7. आलु                               १७
  8. मुला                               १५
  9. शकरखन्द                   २४
  10. हरियो टमाटर             ३१
  11. पाकेको टमाटर          २७
  12. हरियो खुर्सानी         १११
  13. सुकेको खुर्सानी          ४९
  14. अमला                          ६०
  15. कागती                         ३९
  16. मौसमी                         ५०
  17. पाकेको आँप               १६
  18. तरबुजो                        २६
  19. खरबुजो                       ३०
  20. सुन्तला                       ३०
  21. मेवा                              ५७
  22. भुइँकटहर                  ३९
  23. अनार                           १६ 
सूर्यको किरणमै मात्र भिटामिन डीकिन ?
मानिसमा कोलक्याल्सिफेरल नामक यौगिक रहन्छ । यसले प्रकाश–संग्रह अर्थात् संश्लेषण गरी भिटामिन डी का लागि तयार गर्छ ।
मानव शरीरमा तयार भएको प्रो–भिटामिन ‘डी’ त्यत्तिकै शरीरमा भिटामिनको रुपमा कार्य गर्दैन । यसका लागि सूर्यको प्रकाशको जरुरत पर्दछ । सूर्यको प्रकाशमा के त्यस्तो हुन्छ जसले शरीरलाई सक्रिय पार्ने तथा हाडहरु बलियो पार्ने भिटामिन ‘डी’ उपलब्ध गराइदिन्छ ।
सोको पनि एक वैज्ञानिक कारण र पद्धति छ । किनकि सूर्यको प्रकाशमा पराबैजनी किरण्ढाको उपस्थिति रहन्छ, जसले शरीरमा बन्ने प्रो–भिटामिन ‘डी’ सँग कार्य गरी शरीरको छालाका मसिना छिद्रहरु सुल्छन् । अर्थात् यसो भनौं– सूर्यको प्रकशमा विद्यमान पराबैजनी किरणको उपस्थितिले प्रो–भिटामिनलाई सक्रिय बनाई शरीरका छिद्रहरु खुल्छन् ।
छिद्र मार्फत् ती तत्व शरीरमा पस्नासाथ रगतसँग सक्रिय भई शरीरलाई शक्ति संचय गर्ने लगायत अन्य आवश्यक कार्यमा सो भिटामिन उपयोग हुन्छ ।
सूर्यको प्रकाश अर्थात् किरणबाट पाउन सकिने भिटामिन ‘डी’ अन्य स्रोतबाट किन पाउन सकिन्न त्यो पनि बुझ्नु जरुरी छ । बिजुलीका बल्ब तथा अन्य प्रकाशका स्रोतमा सूर्यबाट आउने तत्वको उपस्थिति हुँदैन अर्थात् ती प्रकाशका स्रोतमा पराबैजनी किरण हुँदैन ।
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment