शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, January 27, 2013

हेलिकप्टर चढेर दुई करोड सिध्याए प्रधानमन्त्रीले खर्च सरकारले नै तिर्छ : रक्षा सचिव

दीपक खरेल/अब्दुल्लाह मियाँ

काठमाडौं, माघ १४ - खर्चमा मितव्ययिता देखाउन प्रधानमन्त्री भएदेखि नै मुस्ताङ गाडी चढ्न थालेका बाबुराम भट्टराईले डेढ वर्षमा हेलिकप्टर चढेर मात्रै करिब दुई करोड रुपैयाँ सिध्याएका छन् ।
प्रधानमन्त्री बनेयता यही माघ १० गतेसम्म उनले विभिन्न जिल्ला भ्रमणका नाममा ४४ घन्टा ३० मिनेट हेलिकप्टर चढ्दा १ करोड ९९ लाख ३८ हजार रुपैयाँ खर्च भएको हो । प्रधानमन्त्री भट्टराईले हालसम्म सेनाको हेलिकप्टर २१ पल्ट चढेका छन् । पछिल्लो पटक यही महिनामा पार्टीका जिल्ला अधिवेशनमा जाँदा उनले निजी हेलिकप्टरसमेत चढेका छन् ।
रक्षा मन्त्रालयका सचिव तिलकराम शर्माका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीले हेलिकप्टर चढ्दा भएको खर्च सरकारले नै बेहोर्ने गरेको छ । 'सरकारी काममा हेलिकप्टर प्रयोग गर्दा भएको खर्च सरकारले नै तिर्छ,' शर्माले शनिबार कान्तिपुरसित भने, 'पार्टीका काममा चढेको भए पार्टीले तिर्छ ।'
प्रधानमन्त्री भट्टराईले प्रयोग गरेको हेलिकप्टर खर्चबापत सरकारले तिरेको रकमको रेकर्ड भने मन्त्रालयमा नभएको सचिव शर्माले बताए । 'प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गर्दा रकम तिरेको रेकर्ड हामीसँग छैन,' उनले भने, 'विवरण आउँदै होला ।' सेनाले भने प्रधानमन्त्रीले चढेको हेलिकप्टरको खर्च नपाएको गुनासो गरेको छ ।
सचिव शर्माका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि प्रधानमन्त्री कार्यालयले रक्षा मन्त्रालयलाई हेलिकप्टर व्यवस्थापनको आग्रह गरेपछि रक्षाले सेनाको मुख्यालयलाई पत्र लेख्छ । नेपाली सेनाको सैनिक हवाई निर्देशनालयले राष्ट्रपति र प्रधानमन्त्रीका लागि हेलिकप्टरको चाँजोपाँजो मिलाउँछ ।
प्रधानमन्त्री भट्टराई र उनका मन्त्रीले जिल्ला भ्रमणका नाममा हवाई टिकट, दैनिक भ्रमणभत्ता र होटल बासबापत डेढ वर्षमा २ करोड ६२ लाख ३८ हजार ४७ रुपैयाँ भ्रमण खर्च गरिसकेका छन् । २०६८ भदौ ११ मा प्रधानमन्त्री भएपछि भट्टराईले नेपाली सेनाको एमआई सेभेन्टिन र सुपर पुमा हेलिकप्टर चढ्ने गरेका छन् । पार्टी कार्यक्रममा सहभागी हुँदा भने निजी क्षेत्रको हेलिकप्टर प्रयोग हुने गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री बनेको १२ दिनपछि (२०६८ भदौ २३) बाट नै उनको हेलिकप्टर यात्रा सुरु भएको हो । भट्टराईले पछिल्लो पटक ११ माघमा सेनाको हेलिकप्टर प्रयोग गरेका थिए । नेपाली सेनाका अनुसार उनले चढ्दै आएको नेपाली सेनाको ईएस ३३२ सुपर पुमाको भाडा प्रतिघन्टा ४ लाख २७ हजार र एमआई सेभेन्टिनको भाडा ४ लाख ४५ हजार रुपैयाँ पर्छ ।
पछिल्लो समय सरकारी काममा भन्दा पार्टीका काममा हेलिकप्टर प्रयोग भएको आलोचना हुन थालेपछि प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल टि्वटरमार्फत पार्टीको काममा प्रयोग भएको हेलिकप्टरको भाडा पार्टीले तिर्ने बताएका थिए । उनले हेलिकप्टरबाट सबैभन्दा बढी गृहजिल्ला गोरखाको भ्रमण गरेका छन् । निजीबाहेक सेनाको हेलिकप्टरबाट मात्रै उनले चार पटक गोरखा यात्रा गरेका छन् ।

नेपाली सेनाको युरोकोप्टर ईएस ३३२ सुपर पुमा
मिति            स्थान            समयावधि         अनुमानित भाडा (रुपैयाँमा)
२०६८ भदौ २३        गोरखा        १ घन्टा              ४ लाख २७ हजार
मंसिर १५        लुम्बिनी        २ घन्टा            ८ लाख ५४ हजार
पुस ७        भैरहवा        २ घन्टा             ८ लाख ५४ हजार
माघ ७        हेटौंडा        १ घन्टा             ४ लाख २७ हजार
माघ १५        घुर्मी, धनकुटा        २ घन्टा             ८ लाख ५४ हजार
फागुन २१        प्यूठान-महेन्द्रनगर    ३ घन्टा             १२ लाख ८१ हजार
फागुन २२        महेन्द्रनगर-प्यूठान (फर्कंदा)    २ घन्टा             ८ लाख ५४ हजार
चैत १८            राजविराज         २ घन्टा            ८ लाख ५४ हजार
२०६९ जेठ २७        धरान, चतरा, गाईघाट    २ घन्टा ३० मिनेट        १० लाख ६८ हजार
मंसिर १३        बुर्तिबाङ, बागलुङ    २ घन्टा            ८ लाख ५४ हजार
मंसिर २५        ताकुकोट, गोरखा           १ घन्टा             ४ लाख २७ हजार
पुस १३        लमजुङ        २ घन्टा             ८ लाख ५४ हजार
पुस २९        लमजुङ        २ घन्टा             ८ लाख ५४ हजार
माघ २         लुम्बिनी        २ घन्टा            ८ लाख ५४ हजार
माघ ९         ताप्लेजुङ        २ घन्टा ३० मिनेट        १० लाख ६८ हजार
माघ १०                 दैलेख, हुम्ला        ५ घन्टा ३० मिनेट        २२ लाख १४ हजार

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर

२०६९ वैशाख १३        छेकम्पार, गोरखा        १ घन्टा            ४ लाख ४५ हजार
भदौ २३             हर्मी, गोरखा        १ घन्टा            ४ लाख ४५ हजार
भदौ ३०             महेन्द्रनगर, जुम्ला, सुर्खेत, दाङ     ४ घन्टा                              १७ लाख ८० हजार
असोज ११             नवलपरासी        २ घन्टा            ८ लाख ९० हजार
माघ ४             रोल्पा        २ घन्टा            ८ लाख ९० हजार
प्रकाशित मिति: २०६९ माघ १४ १२:००
-Kantipur.com

No comments:

Post a Comment