शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 25, 2013

दैलेखका सिडिओ र डिएसपी सरुवा, २२ पत्रकार विस्थापित

-विष्णुकुमार शाही
दैलेख, माघ १२ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्ध कालोझन्डा देखाउने र ढुंगा प्रहार गर्ने विपक्षी दलका कार्यकर्तालाई नियन्त्रण गर्न नसकेको झोकमा दैलेखका सिडिओ र डिएसपीको रातारात सरुवा गरेका छन् । बुधबार राति १२ बजे सिडिओ उमेशकुमार ढकाल र डिएसपी शारदाप्रसाद चौधरीको सरुवा गरिएको हो ।
यसअघि विपक्षी दलको आन्दोलनलाई निस्तेज गर्न नसकेको भन्दै बुधबार राति नै दैलेखका दुई प्रहरी निरीक्षकलाई २४ घन्टे सरुवाको आदेश गरिएको थियो । आदेशपछि प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदी र किरण न्यौपानेले राति नै जिल्ला छोडेका छन् । बिहीबार बिहान १० बजे डिएसपी शारदाप्रसाद चौधरी र दिउँसो १२ बजे सिडिओ उमेशकुमार ढकालले जिल्ला छोडेका छन् । पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक विनोद शर्माको पनि सरुवा गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
डिएसपी शारदाप्रसाद चौधरीले पुस २० गते हत्या प्रकरणको अनुसन्धान अधिकृत तोकेका थिए । सोही दिन शर्माले हत्यामा संलग्न लछिराम घर्तीसहित अन्य चार जनालाई पक्राउ गर्न सफल भएका थिए । आन्दोलनको निहँु बनाइए पनि डिएसपी चौधरीको सरुवा पत्रकार डेकेन्द्रराज थापा प्रकरणलाई प्रत्यक्ष प्रभावित पारी हत्यारा उम्काउने चालबाजी भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम प्रहरी कार्यालयनजिकै रहेको जिल्ला विकास समितिको सभा हलमा तय गरे पनि विपक्षी दलको आन्दोलनका कारण सदरमुकाममा छिर्न नसकेकाले काँडाचौरस्थित सेनाको ब्यारेकमा गरेका थिए । सेनाको ब्यारेकभित्रै कार्यालय प्रमुखहरूसँगको भेटपछि उनले सिडिओसित छुट्टै भेटेका थिए । प्रधानमन्त्रीले भेटेपछि सिडिओको मुहार मलिन भएको एक कार्यालय प्रमुखले बताए । उनका अनुसार त्यतिबेलै सिडिओलाई सरुवा गर्ने प्रधानमन्त्रीको चेतावनी आइसकेको थियो ।
स्रोतका अनुसार ब्यारेकबाहिर कडा सुरक्षाबीच प्रधानमन्त्री निस्किनासाथ विपक्षी दलका कार्यकर्ताले नाराबाजी र कालो झन्डा देखाउन थालेपछि गोली हान्ने आदेश दिइएको थियो । प्रधानमन्त्रीको गोली हान्ने आदेशलाई जिल्लास्थित सुरक्षा समितिका सदस्यहरूको आकस्मिक बैठक बसी नकार्ने निर्णय गरेको बुझिएको छ ।
कडा सुरक्षाका बाबजुद एमाओवादीको सभामा उपप्रधानमन्त्री नाराणकाजी श्रेष्ठले सम्बोधन गरिरहेकै बेला विपक्षी दलका कार्यकर्ताले ढुंगा प्रहार र नाराबाजी गर्न थालेपछि कार्यक्रम १५ मिनेट बिथोलिएको थियो । त्यतिबेलै प्रधानमन्त्रीले गोली चलाउन आदेश दिएपछि डिआइजी तपेन्द्रध्वज हमालले पनि आदेश गरे तर सुरक्षाकर्मीले भने अश्रु ग्यास र प्लास्टिकका गोलीले हवाई फायर मात्र गरे । गोलीको सट्टा हवाई फायर मात्र गर्दाको यो परिणाम आएको एक प्रहरी अधिकृतले बताए । ‘गोली चलाएको भए ठूलो मानवीय क्षति हुने थियो, आदेश नमान्दा हाम्रो जागिर २४ घन्टे सरुवामा पर्‍यो,’ उनले भने ।
जिल्लाका सिडिओ, प्रहरी प्रमुखलगायतको सरुवापछि असुरक्षा महसुस गरी २२ पत्रकारले दैलेख छाडेका छन् । बुधबारको घटनापछि असुरक्षा महसुस गरी जिल्लामा क्रियाशील पत्रकारहरू बिहीबार साँझ दैलेख छाडी सुर्खेततर्फ लागेका हुन् । यससँगै दुइटा एफएम रेडियो (पञ्चकोसी र धु्रवतारा) तथा चारवटा पत्रिका (धमका दैनिक, तेस्रो आँखा राष्ट्रिय दैनिक, साझा प्रतिविम्ब र रविबार साप्ताहिक) समेत बन्द भएका छन् । बुधबार एमाओवादी कार्यकर्ताले सञ्चारकर्मीलाई ‘पत्रकार डेकेन्द्रराज थापाजस्तै बनाइदिने’ चेतावनी दिएका थिए । त्यस्तै, उनीहरूले तेस्रो आँखाको कार्यालय तोडफोड गरेका थिए । पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष पुष्कर थापाले ‘१० जना पत्रकारलाई डेकेन्द्रको हालत गरिदिने’ एमाओवादीको धम्कीले गर्दा असुक्षित महसुस गरी जिल्ला छाड्नु परेको बताए ।
विस्थापित पत्रकारहरू
१.  पुष्कर थापा, पत्रकार महासंघ जिल्ला अध्यक्ष २. विष्णु शर्मा, एनटिभी ३. विष्णु शाही, सौर्य दैनिक ४. चक्र केसी, धुव्रतारा एफएम ५. माधव खनाल, धुव्रतारा एफएम ६. शंकरकिशोर अभय, पत्रकार ७. खगेन्द्र राना, धुव्रतारा एफएम ८. गोविन्द भारती, प्रेस चौतारी अध्यक्ष ९. कविराज जिसी, एबिसी १०. गोविन्द केसी, नागरिक ११. प्रकाश अधिकारी, कान्तिपुर १२. भूपेन्द्र शाही, एभिन्युज १३. यज्ञराज थापा, समाचारपत्र १४. तीर्थ बयलकोटी, पञ्चकोटी एफएम १५. हिम सिजापती, धुव्रतारा एफएम १६. महेन्द्र सापकोटा, तेस्रो आँखा १७. कोमल शर्मा, माउन्टेन टिभी १८. यम शर्मा, पत्रकार १९. जगत भण्डारी, पञ्चकोसी एफएम २०. नवीन शर्मा, इमेज टिभी २१. रत्न शाही, हिमालयन टिभी २२. सूर्य विश्वकर्मा, रेडियो नेपाल
-Souryadaily

No comments:

Post a Comment