शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, January 15, 2013

खतरा भूकम्पको

-त्रिचन्द्र प्रतीक्षा
नेपालमा जाने भूकम्प ज्वालामुखी विस्फोटनको प्रभावबाट प्रभावित नभएर बरु यहाँको सतह नमिलेको अस्थिर जमीनको कारणबाट हुने गर्छ किनभने भू–निर्माणमा कान्छो पर्वतमाला हिमाली क्षेत्रलाई मानिन्छ । त्यसैले यसको उत्थान क्रम अझै जारी भएकाले नमिलेको सतहमा दबाब परेकाले समय–समयमा यस क्षेत्रको भित्री भागमा कम्पन पैदा हुन्छ । भूगर्मशास्त्रका अनुसन्धान अनुसार हिमाली क्षेत्र एक करोड वर्षमा झन्डै एक सय किलोमिटर जति दक्षिणमा खस्किएको छ ।

भौगोलिक दृष्टिकोणबाट हेर्दा नेपाल अति भूकम्पीय क्षेत्रमा अवस्थित छ । अमेरिकाको कोलो¥याडो विश्वविद्यालयका भूकम्प विशेषज्ञ प्राध्यापक रोजर विल हार्मले केही वर्षपूर्व काठमाडौंमा आयोजित एउटा सम्मेलनमा बताउनु भएअनुसार यस भारतीय उपमहाद्वीपमा आगामी केही दशकभित्र ८.५ रेक्टर मापदण्डका भयावह भुइँचाला आउने सम्भावना छ । भूकम्पविद्हरूले भूकम्पीय जोखिमका दृष्टिले विश्वका दुई सय देशमा गरिएको अध्ययनका आधारमा नेपालको स्थान ११ औं स्थानमा रहेको बताइएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय भूकम्पमापन केन्द्रको एक प्रतिवेदन अनुसार पृथ्वीमा एक वर्षमा साना ठूला गरी २५ हजारदेखि ३० हजारसम्म भूकम्प जाने गर्दछन् भने तीमध्ये कैयौं भूकम्प मानिसले अनुभव नै गर्न नसकिने खालका हुन्छन् । एक वर्षमा २÷३ वटा आठ रेक्टरभन्दा माथिका र २० वटा जति सात रेक्टर भन्दा ठूलो, १५० वटा जति छ रेक्टरभन्दा ठूलो र ६०० जति पाँच रेक्टरसम्मका हुने गर्दछन् ।

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते र २०४५ साल भदौ ५ गतेका भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छ । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पु¥याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो । यस भूकम्पपछि करीब १४९ वर्षपछि वि.सं. १४६५ मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।
वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ । 

 वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पा¥यो । काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पा¥यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।

हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

अहिले देखिएको जनसंख्या वृद्धि र असुरक्षित, ठूला–ठूला भवने निर्माणले निम्त्याउन सक्ने विपद् भयावह कल्पनासम्म गर्न सकिन्न । भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालको अनुमान अनुसार सात रेक्टर स्केलको भूकम्पले पनि ६० प्रतिशत घर ध्वस्त हुनेछन् भने ५० हजार मानिसको मृत्यु र एक लाख मानिस घाइते हुनेछन् र नौ लाख मानिस घरबारविहीन हुनेछन् । नेपाल रेडक्रम सोसाइटीजस्ता संस्थाको भनाइमा शहरमा बिछ्याइएका खानेपानीका ९० प्रतिशत पाइप क्षतिग्रस्त हुनेछन् भने ४० प्रतिशत विद्युत् प्रसारण लाइन थान विद्युतीय सब स्टेसन ध्वस्त हुनेछन् । संक्षेपमा हेर्ने हो भने हाम्रो देशमा भूकम्प निकै जान सक्ने स्थिति देखिन्छ । नेपाल भूकम्पको बढ्दो जोखिममा रहेको पाइएपछि १९९० सालको विनाशकारी महाभूकम्पलाई स्मरण गर्दै भूकम्पीय जोखिमको न्यूनीकरणलाई जनचेतना जागृत गर्ने उद्देश्यले नेपाल सरकारले प्रत्येक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ । यसवर्षको ’’नबोली नसोधी आउँछ भूकम्पीय विपद्, जागौं, जुटी बचाउन सृष्टिको सम्पदा’’ भन्ने नारासाथ १५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । यसरी मनाइने दिवस नाममा मात्र सीमित नरही जनचेतना जगाउनमा उपलब्धिमूलक हुनुपर्दछ । यहाँ निर्माण गरिने भवनको निर्माण तर्जुमामा स्थानकै चयन, सामानको छनोट, जमीनको स्थिर र कडापन तथा भवनका आकार प्रकारमा राम्रो ध्यान दिनु आवश्यक देखिन्छ ।

Gorkhapatra daily, 2069/09/28