शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, November 7, 2010

के तपाईं असल छिमेकी हुनुहुन्छ ?

 

-त्रिचन्द्र 'प्रतीक्षा'
गोरखाका दिनेश पाण्डे केही वर्षअघि बसाइँको क्रममा चागलमा घर किनेर बस्न आएको केही दिनमै छिमेकीले अनाहकमा दुःख दिने र झगडा गर्ने गरेको तर आफू कसैसँग पनि झगडा नगर्ने व्यक्ति र काठमाडौँ बाहिरको भएकै कारण दुःख दिएको गुनासो गर्छन्, उहाँ भन्नुहुन्छ-

''कामको सिलसिलामा काठमाडौँ आएर चागलमा घर किनेर बसेको केही दिनमै घरसँगैको नेवार छिमेकीले ढोका बाहिर, छतमा फोहोर फालेर दुःख दिने र यसो नगर्न अनुरोध गर्दा सम्पूर्ण परिवार नै आएर झगडा गर्ने र नराम्रो अपशब्द प्रयोग गर्ने गर्दा, साह्रै दुःख लागेको छ, छोडेर जाउँ भर्खरै किनेको घर कसरी बिक्री गर्ने फेरि डेरा सरे जस्तै घर सर्न पनि कहाँ सकिन्छ र ? ।''
यस्तै छिमेकीले दुःख दिने गुनासो उपत्यका बाहिरकाको मात्र हैन, काठमाडौँमै बस्ने स्थानीय वासिन्दाहरू पनि एक स्थानबाट अर्को स्थानमा घर किनबेच गरेर जाँदा पुरानो छिमेकीले नयाँ बस्न आएका छिमेकीलाई हेप्ने गरेको गुनासो बानेश्वरबाट बसाइँ सरेर हाल मरुटोलमा घर किनेर बस्ने दिनेश शाक्यको गुनासो छ । काठमाडौँ सहरको भित्री भाग जहाँ नेवारहरूको बस्ती बाक्लो छ, त्यहाँ बाहिर र अन्य ठाउँका व्यक्तिहरूलाई स्थायी घरजम गरेर बस्नु निकै कठिन रहेको अनुमान गर्न सकिन्छ ।
त्रिचन्द्र 'प्रतीक्षा'
त्यसैले आजभोलि मानिसहरू विविध जातजातिहरू बसेको नयाँ बस्तीहरूमा स्थायी बसोबास गर्न धेरै रुचाएको पाइन्छ, जहाँ एकले अर्कोलाई हेप्ने र दुःख दिने काम कम हुने गर्दछ भने एकले अर्कोलाई सहयोगको भावना व्यक्त गर्ने र केही पर्दा पनि एकजुट हुने प्रवृत्ति नयाँ बस्तीमा देखिन्छ । यस्तै असनको पुरानो कुल स्थायी घर बेचेर बसुन्धरामा घर बनाएर बसिरहेका विक्रम तुलाधरको भनाइमा विविध जातजातिहरू रहेको यस ठाउँमा कुनै पनि समस्याहरू समाधानका लागि एकजुट हुने र सर-सल्लाहको लागि भेला हुने चलन व्यापक रहेको छ भने ढल, पानी र सडकका लागिसमेत सबैले तन, मन र धन दिन तत्पर रहेको देखिन्छ, यस्तो सहयोग भित्री भाग जहाँ पुराना स्थानीय वासिन्दा भएको ठाउँमा नपाएको गुनासो उहाँको छ । 
हामी जहाँ भए पनि छिमेकीको नाताले एक असल छिमेकी भएर जीवनयापन गर्न सक्नुपर्छ भने आफूलाई पनि अरूको अगाडि एक असल छिमेकी भएर देखाउनु नै आजको आवश्यकता हो ।
छिमेकीको अर्थ निश्चय नै घर आँगन मात्र नजिकिनु होइन, घर सँगसँगै मन पनि नजिकिनु, सुख, दुःखमा साथ दिनु, अनावश्यक दुःख नदिनु एक आपसमा स्नेहील एवं सद्भावपूर्वक रहनु पनि छिमेकको परिभाषाभन्दा बाहिर पर्दैन ।
मानिसको जति सुकै ठूलो परिवार र कुटुम्ब भए तापनि सधैँ सँगै हुने छिमेकी नै आवश्यक बेलामा सहायक हुनसक्छ । अलिकति ठूलो स्वरले बोलाउने बित्तिकै तपाईंको आवाज सुन्ने र मद्दतको लागि दगुर्ने व्यक्ति तपाईंको छिमेकी नै हो, यसर्थ यो छिमेकीसँग तपाईंको व्यवहार आत्मिक एवं मधुरो हुनु नितान्त जरूरी छ । हाम्रो समाजमा एउटा प्रचलित उखान छ 'सँगैका भाँडाकुँडा बज्छन् ।' साँच्चै बज्छन् पनि अर्थात् जो नजिक छ जो स्नेहिल छ उसैसँगै नै सानो तिनो विवाद पनि हुने गर्छ, विवाद हुनु वा झगडा नै हुनु पनि अनौठो हैन केही गरी यसलाई सहज रूपमा सुल्झाउन सकियो भने । नत्र यही विवादहरूकै कारण मानिसको जिन्दगी नै अप्ठ्यारोमा पर्न सक्छ । कुनै कुनै मानिसहरू स्वभावैले लडाकु हुन्छन् र यी व्यक्तिहरू निहुँ खोजी झगडा गर्न खोज्छन्, प्रतिउत्तर नपाउँदा यी एक्लै पनि घण्टौँ गाली गर्न सक्छन् र वर्षौं गल्ती गरी नै रहन सक्छन् । यसो हुँदा अर्को पक्षले कहाँसम्म र कहिलेसम्म सहन सक्ला ? र यिनै व्यक्तिहरू छरछिमेकको चियो चर्चा गरेर भए नभएका कुरा गरेर, झगडा गर्न र गराउन खोज्छन् ।
केही व्यक्तिहरू आˆनो छर-छिमेकसँग नून बेसारदेखि चामल, तरकारी र पैसा, कपडासम्म सापटी मागेर हैरान पार्छन्, घरी यो चाहियो र उ चाहियो अनि नपाएमा रिसाउने र कुरा काट्ने गर्छन् । हुन त समाजमा बसेपछि सर-सापट, लेनदेन आदि त हुन्छ नै तर यसको अर्थ हरदम अर्काकै खान खोज्ने, ठग्न खोज्ने निश्चय नै एउटा असल छिमेकीको कर्तव्य होइन । आवश्यक बेलामा आफूले सक्दो सहायता छर-छिमेकलाई गर्नैपर्छ जस्तै छिमेकका बच्चाहरू एउटै स्कुलमा अध्ययनरत छन् भने एउटैले सुविधाअनुसार पुर्‍याउन, लिन जान सक्छ आˆनो सवारी साधन छ भने लिˆट दिन सक्छ, आवश्यक गर्जो टारी दिन सक्छ, बिरामी र अशक्त बेलामा सघाउन सक्छ, अस्पतालमा भर्ना भएको छ भने कुरुवा बसिदिन र खाना लगिदिन सक्छ तर निश्चय नै एउटै हातले ताली बजाउन खोज्ने हो भने ताली बज्न सक्दैन । खाना खान अगाडि छिमेकसँग अचार माग्न जानुको अर्थ एक दुई पटकसम्म आत्मियता हुनसक्छ भने अर्को पटक आˆनो लागि हेय भावको उत्पन्न हुनजान्छ । आवश्यक बेलामा छर-छिमेकको मद्दत गर्नु र हरदम केही न केही चाहे त्यो अचार होस् वा मरमसला वा मोटरसाइकल वा साइकल वा अन्य केही मेसिनरी वस्तुहरू मागी रहनु निश्चय नै बेग्लै बेग्लै कुराहरू हुन् । यस्तै कुराहरूले नै छर-छिमेकको सम्बन्ध सुमधुर बनाउँछ र कलहपूर्ण पनि बनाउँछ ।
कतिपय छिमेकीहरूको झगडाको कारण केटाकेटीहरू हुन्छन् । केटाकेटीहरू झगडा गरेर मिल्न पनि सक्छन् तर तिनकै कुरामा आमाबाबुको झगडा लम्बिँदै गरेको उदाहरण पनि निकै पाइन्छ तर छिमेकका बच्चाहरूलाई पनि आˆनैसरह व्यवहार गर्ने हो भने यस्ता झगडाहरू हुने सम्भावना पनि कम हुनसक्छ । कुनै-कुनै छिमेकीहरू पद र प्रतिष्ठा अनि धन सम्पत्ति र भौतिक साधनहरूको तुजुक देखाउने पनि हुन्छन् । वास्तवमा मान्छेले उसको पद प्रतिष्ठा र सम्पत्ति उसको लागि जति महत्त्वपूर्ण हुन्छ अर्कोको लागि त्यो खास केही हुँदैन भन्ने बिर्सनु हुँदैन ।
छर-छिमेकमा बसेपछि सानातिना कुराहरू वास्ता नगरी सकेसम्म छिमेकीको सुविधाको ख्याल सबैले गर्ने हो र आवश्यक समयमा सघाउ पुर्‍याउने हो भने मनुष्यताको श्रेणीमा बाँधिएको छिमेक धर्मको आचारसंहिताको स्वतः नै परिपालन हुनजान्छ र तपाईं असल र गौरवमय छिमेकी बन्न सक्नु हुनेछ । जहाँ जातपातको कुनै भेदवाद र हीनताबोध हुने छैन ।
२०६५ पुस महिनाको युवामन्चमा प्रकाशित

No comments:

Post a Comment