शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 24, 2023

एलिसा एकलासको कविता

 
माइतीघरमा

-एलिसा एकलास


अनागरिकहरूको जुलुस छ
मानौँ, माइतीघर
सत्ताका निम्ति हो अगम्य कालो छिद्र
जसका वरिपरि,
नागरिक बन्न नपाएकाहरू घुमिरहन्छन्
निरन्तर उस्तै लयमा !
अनागरिहरूको घुमाइले
रिंगाटा छुट्छ बानेश्वरको
‘एउटै माला’ वाला राष्ट्रियतालाई
कहिलेकाहीँ
तिनै ‘नट आवर सिटिजन’ माथि
धावा बोल्न झिकाइन्छ
२६०० वर्षअघिको बुद्ध
र भनिन्छ
बुद्ध वाज बर्न इन नेपाल
उसलाई नागरिकता देऊ
नाम : गौतम बुद्ध
बुबाको नाम : शुद्धोदन
आमाको नाम : माया देवी
नागरिकताको प्रकार : वंशज
बुद्धको नागरिकतामाथि दाबी गरिरहेको हुल हेर्दै
छेउमै टोलाइरहेको
गौतम यादव... मधेसी टोनमा भन्छ–
‘म नेपाली छ !’
अलिक पर उभिएको
छिरिङ लामा आदिवासी लवजमा मिसाउँछ–
यी मैले ढाका टोपी लागायो
आबो त नागरिकता पाउनुहुन्छ नि मैले...?’
पेट सुमसुम्याउँदै
अविवाहित गर्भवती भन्छिन्
‘आफ्नै स्वाभिमान थाती राखेर
मैले प्रशासनमा भन्नुपर्ने छ–
यो अनैतिक सम्बन्धले जन्मिएको सन्तान हो
नागरिकता दिइबक्सियोस् हजुर !’
जबजब
उनीहरू नागरिक हुनुको प्रमाण माग्छन्
चन्द्रशमशेरको सिंहदरबार
हल्लन थाल्छ ९० सालको भूकम्पलेझैँ
र दुख्छ बानेश्वरको राष्ट्रियता
सुत्केरीको दूध गान्निएजस्तो गान्निएर
चरक्क चर्किन्छ,
मुक्त कमैयाका हातखुट्टा चर्किएजसरी
राष्ट्रिय निकुञ्जछेउका
चेपाङ बस्तीमा डढेलो सल्काएजस्तो
माइतीघरमा, राँकेजुलुस उठ्छ
जब महिलाहरू भन्छन्
‘मेरो पाठेघरले कहिल्यै
तिम्रो राष्ट्रियताको ठेक्का लिएको छैन !’
बानेश्वरको राष्ट्रियता
टोपी चिन्छ– धोतीमाथि प्रश्न गर्छ
गहुँगोरा सुकिलाहरूको प्रशासन–
कालो छालामाथि संकोचको आँखा गाढ्छ
उसलाई आदिवासी टोन मन पर्दैन
ऊ विधान देखाएरै अस्वीकार गर्छ–
फरक ‘पहिचान’ का मान्छेहरूलाई !
तिम्रो राष्ट्रियता
‘म’ हरूलाई हराउन लागिपरेको छ
मलाई अस्वीकार गर्ने राष्ट्रियता
मैले किन स्वीकार गर्छु हँ ?

No comments:

Post a Comment