–त्रिचन्द्र प्रतीक्षा
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औंशीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्य लगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ।
‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकोले नेपाल संवत्को नवौं महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
गुँला कहिलेबाट सुरु भएको भन्ने एकिन नभएतापनि भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रुपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको हो । उनैबाट चैत्यसेवाको पनि प्रारम्भ भएको थियो र पछि यसले नै गुँलापर्वको रुपमा लिएको भनाई रहेको पाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा |
हरेक दिन बिहान बाजागाजाका साथ बौद्ध धर्मावलम्बी विशेषगरी काठमाडौँस्थित भित्री टोलका शाक्य, वज्राचार्य, मानन्धर, कंसाकार र महर्जन समुदायका गुँला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू लगायत बहाबहीहरु परिक्रमा गर्ने गर्दछन् । संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार गुँलापर्वमा बौद्ध स्तूपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवान्को ध्यान गर्ने परम्परा छ, दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको बताउनु हुन्छ ।
गुँलामा श्रृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ । श्रृङ्गभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा श्रृङ्ग बाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ । श्रृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउने चलनको बारे एक किंवदन्ती यस्तो रहेको छ, ब्राह्मण कुलमा जन्मिएकी रुपवती एक दिन जङ्गलमा भैंसी चराउन पुगिन् । यसै क्रममा भैंसी भीरबाट खसेर मरे उनी भैंसी मरेको दुःखका रुँदै बसिरहेकी थिइन् । त्यहाँ रुपवतीलाई देखेर बोधिसत्व प्रकट भएर हेर्दा रुपवती पूर्वजन्ममा रानी थिइन् भने भैंसी पूर्वजन्ममा रुपवतीको लोग्ने राजा भएको बताउँछन् । पूर्वजन्ममा पापकर्म गरेको कारण भैंसीको जूनी भएर जन्म लिएको हुनाले बोधिसत्वले भने, उदार गर्ने भए भैंसीको सबै हड्डीहरु राखेर एउटा चैत्य बनाई एउटा सिंग फुकाउने र अर्का सिंगमा २१ दिनसम्म जल राखेर सो जल निर्माण गरेको चैत्यमा चढाएमा पूर्वजन्ममा तिम्रो लोग्ने राजाले गरेको पापमुक्त हुन्छ भनेपछि रुपवतीले गुँला अवधिभर सिंग फुकेर यसका साथसाथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्ने परम्परा सुरु भएको कथन रहेको पाइन्छ ।
यस अवसरमा बजाइने विशेष गुँलाबाजा धाः यस पर्वसँग सम्बन्धित रहेको देखिन्छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तुमा गुँला बाजा बजाउने चलन थियो । जुन गुँला बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो भन्ने भनाई छ । पछि शाक्य गणराज्यको पतन भएपछि शाक्य र कोलियाहरु काठमाडौँ उपत्यकामा आई बसोबास गरेपछि यहाँ पनि बहाबहीमा यही गुँला बाजा बजाउने परम्परा रह्यो । जुन चलन यद्यपि छँदैछ ।
यस गुँलाभरी स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमालाई पनि विशेषरुपले पूजा गर्ने गरिन्छ । यस सम्बन्धी एउटा जनश्रृति अनुसार प्राचीनकालमा हारती अजिमाले १०८ जना सन्तान बच्चा पाल्नका लागि अरु मानिसहरुको बच्चा चोरेर खाने गर्दै आएको रहेछ । बच्चा हराएकाहरु रोइकराई गरेका आमाबाबुहरुको दुःख हेर्न नसकेर बुद्ध भगवान्ले अजिमाका सबै बच्चाहरु गुँला अवधिभर लुकाइदिए । पछि अजिमाले थाहा पाएर भगवान् बुद्धसँग बिन्तीभाव गरी अजिमाले आफ्नो बच्चाहरु फिर्ता मागे । भगवान् बुद्धले भने आफ्नो सन्तानको कति माया हुँदोरहेछ, यस्तै अरुलाई पनि आफ्नो सन्तानको उतिकै माया हुन्छ भनेपछि अब उप्रान्त अन्य अरु कसैका बच्चाहरुको उद्वार गर्ने वचनबद्धता गराएर अजिमालाई मनपर्ने ६ जना मात्र बच्चा फिर्ता दिई बाँकी बच्चाहरु अजिमाको मन्दिर अगाडि रहेको मण्डपमा गाडेर छोपीदिए । त्यसबेलादेखि हारती अजिमाले सबै बच्चाहरुको हेरचाह रक्षा गर्दै आइरहेको भनिन्छ । सोही बेलादेखि हारतीमातालाई पूजा गर्ने बेलामा १०८ जना बच्चाहरुलाई पनि खुवाउने हिसाबले मन्दिर अगाडिको मण्डपमा पनि एकप्रकारको खानेकुरा चढाएर पूजा गर्दै आइरहेको भनाई रहेको पाइन्छ ।
गुँला अवधिको विशेष दिनहरुमा विशेष ठाउँहरुमा घुम्ने गर्दछन्, नागपञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनै पूर्णिमामा पाटनको बंगलामुखी साथै कृष्ण जन्माष्टमीमा काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभाभगवती, मरुगणेश, जनबहालस्थित सेतो मत्स्येन्द्रनाथ परिक्रमा गरिने चलन छ । त्यस्तै भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवताघर, दत्रात्रय, पाँचतले मन्दिर, कमलविनायक परिक्रमा गरिने परम्परा छ । भने गुँलाको अन्तिम दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुँदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने पनि परम्परा छ ।
गुँला काठमाडौँका बौद्धमार्गीहरुले मात्र नभइ नेवाःबस्ती भएको भिन्न भिन्न स्थानमा भएका बौद्धमार्गीहरुले पनि गुँलापर्व मनाउँदै आइरहेका छन् जस्तै, पाटन, भक्तपुर, कीर्तिपुर, ठिमी, बुङ्मती, साँखु, चाबहिलमा पनि हर्षोलासका साथ मनाइन्छ । भने यस गुँला अवधिभर अन्य महिनाको भन्दा धेरै चाडपर्वहरु जोडिएको पाइन्छ जस्तै अष्टमीमा– नागपञ्चमी, यलपञ्चदान, पूर्णिमामा– गुंपुन्हि (क्वाटी पूर्णिमा), कुम्भेश्वर मेला, गाईजात्रा, लगायत दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशे औंसी (बुबाको मुख हेर्ने) यसै गुँला मेलाभित्र पर्छ ।
गुँला समाप्तिका दिन हर्ष उमङ्गका साथ भोज खाने चलन छ यस भोजलाई पारु भोज पनि भनिन्छ । यसरी महिना दिनको गुँलाधर्म पर्व समापन गरिन्छ ।
साउन, २०८० मधुपर्क मासिकमा प्रकाशित
No comments:
Post a Comment