शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, November 26, 2021

बेलायती सेनाको जागिर छाडेर किरात धर्म उत्थान

 –त्रिचन्द्र प्रतीक्षा
महागुरु फाल्गुनन्द किरात धर्मका महान गुरु तथा समाज सुधारक थिए । आफ्नो जीवनको अन्तिम क्षणसम्म किरात धर्म, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त लागिरहे । वि.सं. १९४२ को कार्तिक २५ गते इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा जन्म भएको थियो । बाबु जगनबाज लिम्बु लिङ्देन र आमा हंसमती लिम्बुको कोखबाट साँहिला छोराका रुपमा जन्मिएका थिए । फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो । 

फाल्गुनन्द बाल्यकालमा सिकिस्त बिरामी भए फलामका चुरा हातमा लगाइदिनाले ठीक हुन्छ भनेकाले फलामका चुरा लगाइदिएको थियो । त्यहीँ चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो भन्ने भनाइ छ । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण फागुल्दानन्दले जीवनमा धेरै सङ्घर्षपूर्ण जीवन बिताउन वाध्य भए । त्यसबखत गाउँका अन्य युवाहरु बेलायती फौजमा भर्ती हुन जाने चलन थियो, त्यसैको सिको गर्दै उनी पनि बेलायती फौजमा भर्ती हुन जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो । 

त्रिचन्द्र प्रतीक्षा

सानै उमेरबाट अहिंसावादीको रुपमा परिचित फागुल्दानन्दले आठ वर्षकै उमेरमा हत्याहिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृष्टिकर्ता हुनाले उनीहरुलाई समाजमा उच्च सम्मान गर्नुपर्ने कुरा बताए । त्यस्तै आफ्नो कुलदेवतालाई सदा बिहान बेलुकी चोखोनीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नपर्ने, मासु तथा मदिरापान गर्नु नहुने जस्ता कुराको ज्ञान प्राप्त गरे । फाल्गुनन्द लिङदेनले सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ ‘सत्यहाङमा’, मुहिङगुम अङसीमाङ’ र ‘महागुरु’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो ।

बेलायती सेनामा भर्ती भएपछि जागिरको सिलसिलामा उनी बर्मा पुगे । त्यस बखत गुरु मधुनन्दबाट जोसमनी सम्प्रदायको दीक्षा लिए त्यसपछि उनको जीवनमार्ग मोडियो । उनले जगत्को कल्याणार्थ आफ्नो जीवन त्यसैमा अर्पण गर्ने अठोट गरे । साथै लडाइँबाट विश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागिरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किराती जातिहरुका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै हिडे । उनी भारतका विभिन्न भाग लगायत भुटान हुँदै पूर्वी नेपालको इलाम आफ्नो जन्मस्थल आइपुगे ।

स्वदेश फर्केपछि ध्यानसाधानारत रही उनले सिद्धि प्राप्त गरे । त्यस शक्तिलाई उनले मानव–कल्याणार्थ प्रयोग गरे । अहिलेझैँ भौतिक शिक्षा लिएका डाक्टर र वैद्यहरु नभएको अवस्थामा आफैँले झारफुकजस्तो मन्त्रशक्ति र घरायसी औषधिको प्रयोग गरी बिरामीलाई निको पारिदिने गर्थे । वर्तमान अवस्थामा किराती जातिका विशेषगरि लिम्बू समुदायभित्र रहेको सामाजिक बिसंगति र विकृतिले गाँजेको आफ्नो गाउँठाउँको भयावह स्थितिलाई उनले देखे । वि.सं. १९८८ वैशाख २४ गते पाँचथर जिल्लाको फिदिम नजिकैको लेब्रे कुटीमा तत्कालीन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ व्यक्तिहरुको सहभागितामा ‘दश मुचुल्का’ तयार पारे, जसलाई ‘सत्यहाङमा मुचुल्का’ वा ‘सत्यधर्म मुचुल्का’ पनि भनिन्छ । यस मुचुल्कामा विशेषगरि पूजाआजा गर्दा बलि नदिने, जन्म–विवाह र मृत्यु आदि संस्कारमा फजुल खर्च नगर्ने, जाँडरक्सी सेवन नगर्ने यी सबै बिसंगति, विकृति र कुरीतिहरुबाट मुक्त हुने तौर तरिका सिकाए । आ–आफ्नो थुममा गएर सबैलाई सम्झाउन र बुझाउन उपस्थित हजारौं व्यक्तिहरुलाई आह्वान गरे । आफू स्वंय पनि धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा तत्कालीन राणा सरकारले देशद्रोहीको अभियोग लगाएर सोधपूछका लागि काठमाडौँसम्म पु-याए ।

महागुरु फाल्गुनन्दका प्रमुख कार्यहरुमा सिन्चेई फक्तालुङ (कुम्भकर्ण हिमश्रृङ्खला)लाई किरात धर्मावलम्बीहरुको तीर्थभूमि र मुक्तिभूमिको रुपमा खुला गरेको, वि.सं. १९८८ वैशाख २४ गते दश लिम्बुवान १७ थुमका किरातीहरुलाई बोलाई बृहत् चुम्लुङ गरी तत्कालीन समाजका विकृतिलाई हटाउन सत्यधर्म मुचुल्का खडा गरेको, छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण गरेको, लोप हुने अवस्थामा भएको किरात लिपिको प्रचारप्रसार गरेको, विभिन्न स्थानमा माङहिमहरुको स्थापना गरेको, पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्नेजस्ता चमत्कारिक कार्यहरु गरेको किराती इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

आफ्नो जीवनको अन्तिम क्षणसम्म किरात धर्म संस्कार संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त लागिरहेका फाल्गुनन्दले वि.सं. २००५ चैत २२ गते आफ्नो देहत्याग गरे । एक विशेष जातिलाई मात्र नभई विश्वका मानवलाई एकै सूत्रमा बाँधिन आह्वान गर्ने समाज सुधारक महागुरु फाल्गुनन्दको सम्झनामा हुलाक सेवा विभागले २०५० मङ्सिर १७ गते उनको चित्र अङ्कित रु. १५ को हुलाक टिकट प्रकाशन गरेको थियो भने नेपाल सरकारले वि.सं. २०६६ मङ्सिर १६ गते सत्य, शान्ति र अहिंसाका प्रणेता किरात धर्म दर्शनदाता तथा नेपालको १६ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो ।

No comments:

Post a Comment