शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, November 10, 2021

राक्षस मन्छाउने पर्व गथामुगल

त्रिचन्द्र प्रतीक्षा

संस्कृतिमा गथामुगल चह्रे अर्थात् घण्टाकर्णको आफ्नै किसिमको मौलिक महङ्खव रहिआएको छ । श्रावण कृष्ण पक्ष चतुर्दशीको अवसरमा नेपाल अधिराज्यभरी नेवार समुदायले घण्टाकर्ण राक्षसको पूजा गर्दै गथामुगल पर्व मनाइन्छ । घण्टाकर्णलाई पूजा गर्ने र कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुन्छ । त्यतिबेला वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रुपधारण गरेको पौराणिक कथन रहेको इतिहासविद् एवम् संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

नेवार बाहुल्य भएको उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न टोलमा यो गथामुगल चह्रे मनाइन्छ । किसानले गथामुगल अघिनै रोपाइँ सक्नुपर्छ भनी रातदिन मिहिनेत गरेर रोपाइँ गर्छन । रोपाइँ सकेपछि पहिलोपटक आउने चाड भएकोले यो चाडलाई ‘काय् मचा नखः’ (छोरो मान्छे चाड) पनि भनिन्छ । यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र सोही दिनदेखि नै वार्षिक चाडपर्वहरु शुरुवात भएको सङ्केत पर्वका रुपमा पनि लिने गरेको छ । गथामुगल (घण्टाकर्ण) मनाउनुको कारणबारे कथन यस्तो छ, पहिला–पहिला काठमाडौँ उपत्यकामा जनसंख्या निकै कम भएकाले खेतीपातीको काम गर्न ज्यादै कठिन भइरहन्थ्यो । जग्गाजमिन आँखाले नभ्याउने काम गर्ने मानिस ज्यादै कम हुन्थे । यसप्रकार समस्यालाई एकजना तान्त्रिक गुरुजुले तन्त्रमन्त्रले भूतप्रेतलाई ल्याई उपत्यकाका विभिन्न स्थानमा रोपाइँ गराइसकेपछि भूतप्रेतलाई बिदाइ गरी पठाउने कामअनुसार गथामुगल अर्थात् घण्टाकर्ण चतुर्दशी मनाउन थालेको पाइन्छ ।


यससम्बन्धमा गोपालराज वंशावलीमा समेत उल्लेख गरिएकोले यो पर्व १४ औं शताब्दीदेखि शुरु भएको संस्कृतिविद्हरुको भनाइ छ । नेवार समुदायमा गथामुगल अर्थात् घण्टाकर्ण पर्व प्राचीनकालदेखि नै प्रचलनमा रहेको संस्कृतिविद् डा. श्रेष्ठ बताउनु हुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघि देखि प्रचलनमा रहेको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रुपमा समेत लिइने गरेको बताउनुहुन्छ ।  

त्रिचन्द्र प्रतीक्षा
घण्टाकर्णको बारेमा अनेक किंवदन्तीहरु जोडिएर आएको पाइन्छ, जसमा एउटा परापूर्वकालमा एक तान्त्रिकले भ्यागुताको रुप धारण गरी दुबै कानमा बडेमानका घण्टाहरु झुण्ड्याएर मानिसहरुलाई दुःखदिने मार्ने समेत गर्दै हिंड्न थाले सोही घण्टाकर्ण नाम गरिएको राक्षसलाई छल गरेर हिलोमा धसाएर सबैले ढुङ्गामुडा गरी मारे । यसरी घण्टाकर्ण राक्षसको भय र त्रासबाट समाजलाई मुक्त गरे भन्ने प्रचलित कथन छ । यसबारे अर्को कथा यसप्रकार लेखिएको पाइन्छ– घण्टाकर्णको आतङ्कले मानव बस्ती त्रसित थियो । एकदिन घण्टाकर्ण भोकले चुर भएर आहाराको खोजीमा चौबाटोका निस्कियो । तर बाटो भुलेकाले एउटा भ्यागुतोसँग मानव बस्ती जाने बाटो कुन हो भनेर सोधेछ । भ्यागुतोले घण्टाकर्णलाई चिनिहाल्यो अनि त्यसले ठूलो धाप (भासभएको जमिन) भएतिर बाटो देखाएर पठायो, भोकले चुर भएर एकसुरमा हिँडेका घण्टाकर्ण धापमा गाडियो र त्यो धापबाट उम्कनै सकेन । भोलिपल्ट भ्यागुताको अक्कलको खूब सराहना गरेर धापमा गाडिएका घण्टाकर्णलाई ढुङ्गाले हिर्काएर मारे र त्यो दिन श्रावण कृष्ण चतुर्दशीको दिन परेको थियो ।

रुद्रयामलतन्त्रमा उल्लेख भएअनुसार, नेपालमण्डललाई ध्वस्त पार्न कण्टाकर्ण नाम गरेको एउटा राक्षस आएर उत्पात मचाउन थाल्यो । त्यसलाई मार्न कसैले पनि सकेनन् । अन्त्यमा एकजना तान्त्रिकले भ्यागुतोको रुप लिई त्यो राक्षसलाई मारी यमलोक पु¥याइदिए, त्यो श्रावण कृष्ण चतुर्दशीको दिन परेकोले राक्षससँग मुक्ति पाएको खुशीयालीमा यो दिन उत्सवको रुपमा मनाउने गर्छन् । जनश्रुति अनुसार घण्टाकर्ण कुनै देवताको नाम सुन्न मन नपराउने हुँदा तिनले आफ्नो कानमा घण्टा झुण्ड्याइराखेका थिए । घण्टाकर्णको एक शिला मूर्ति ललितपुर कुम्भेश्वरमा प्रतिष्ठापित छ जुन अनुमानतः प्रारम्भिक मध्यकालको रहेको छ । यही नै गथेमुगल चह्रेको ऐतिहासिकता र विशेषता हो ।घण्टाकर्णको सम्झनास्वरुप बिहानै टोल–टोलको दोबाटो चौबाटोमा हाँगाबिँगापात सहितको हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाइ मुठ्ठा बनाएर भुइँमा उभ्याएर खुट्टाझैँ तीनखुट्टे बनाएर उभ्याइन्छ । अनि नाङ्लो वा कागजमा डरलाग्दो राक्षसको मुखाकृति बनाएर सो नर्कटमा राखिन्छ । कतै–कतै पुरुष गथामुगल उभ्याएको हुन्छ भने कतै–कतै स्त्री गथामुगल उभ्याएको हुन्छ । पुरुष–महिला छुट्टिने आकृति बनाएर नै राखिएको हुन्छ । मुलतः गथामुगल राक्षस स्वरुपमा भएकोले घर–घरबाट कपडाको स–साना पुतली बनाएर झुण्ड्याउन ल्याउँछ । भने दुइटा भोगटे झुण्ड्याएर पुरुष यौनाङ्गको प्रतीकको रुपमा गथामुगललाई सजाइएको पाइन्छ ।

यसदिन बिहानदेखि केटाकेटीहरु घण्टाकर्णको नाममा जगात भन्दै बटुवाहरुसँग चन्दा माग्ने गर्छन् । साँझ गथामुगल बनाएको टोलटोलमा एकजना व्यक्तिलाई उसको स्वेच्छामा एउटा कट्टुमात्र लगाई नाङ्गै राखेर शरीरभरी रङ्गीचङ्गी चित्र कोरेर बेरुप बनाई हातमा दहीको कतारो समाउन लगाएर ‘आजु जय’ भन्न लगाई त्यसका पछिपछि जानेहरुले ‘हा.......’ भन्दै घरैपिच्छे जगात माग्ने चलन छ । यसरी दान दिंदा ग्रहशान्ति भई दशा हटेर जान्छ भन्ने जनविश्वास रही आएको छ ।

यसरी माग्ने काम सकिएपछि राति गथामुगल ठड्याइराखेको दोबाटोमा सो व्यक्तिलाई पलेँटी कसेर बसाएर दहीको कटेरामा राखेर दही चिउरा, मिठाई लगायत फलफूल आदि खुवाउँछन् सो खाइसकेपछि उक्त कटेरा भुइँमा बजारेर फुटालिन्छ । त्यसपछि एक मुठा छ्वाली बालेर उक्त व्यक्तिलाई समाउन लगाएर तीनपटक गथामुगलमा परिक्रमा गरी दागबत्ती दिएपछि केटाहरुले नर्कटबाट बनाइएको घण्टाकर्णको प्रतिमूर्तिलाई ढाल्दछन् र दागबत्ती दिने त्यस व्यक्तिलाई सो घण्टाकर्णको प्रतिमूर्ति (नर्कट)मा चढाएर अनेक नारा लगाउँदै सो नर्कटको प्रतिमूर्तिलाई डोरीले तानेर टोलको बाहिर रहेको खोलामा विर्सजन गर्न लान्छ । संस्कृतिविद् सत्यमोहन जोशीको भनाइअनुसार देशमा आएको २००७ सालको क्रान्तिपछि घण्टाकर्णलाई खोलामा विर्सजन गर्न लैजाने बेलामा ‘ओम् शान्ति, जय नेपाल ।’ को नारा लगाउने चलन निस्केको कुरा बताउनु हुन्छ । यस्तै पहिले पहिले तानेर लाँदा बाटोभरी नाय्खिँ बाजा बजाउने चलन रहेतापनि आजभोलि यो चलन हराएको देखिन्छ ।

गथामुगललाई विसर्जन गरिसकेपछि नेवारहरुको घरघरमा राती विशेष बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोकोे दहीको कतारो वा पाला (एक प्रकारको माटोको भाँडो)मा भूस, कनिका, चिउराको धुलो, जाँडको कट, काँचो फोक्सो, रगत, रातो खुर्सानी, कालो भटमास, छ्यापी, लसुन, काँचो अण्डा, बौ फूल, रङ्गीचङ्गी ध्वजा कपडा, तिं मत (सिन्कामा बेरेको बत्ती) बालेर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ, जसलाई भूत मन्छाउने कार्य भनिन्छ । यसको साथसाथै घरको मूल ढोकाको शिरमा मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । यस्तै सो दिन केटाकेटीलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि रहेको छ भने युवतीहरुले खुट्टामा विभिन्न प्रकारको टाटु खोप्ने प्रचलन थियो सो आजभोलि हराउँदै गएर मेहन्दी लगाउने चलन बढ्दो छ ।

शिव महापुराणअनुसार कृतिमुख गणका प्रमुख घण्टाकर्ण भगवान् शिवबाट जन्मेका थिए, खाना माग्दा आफ्नै शरीरको मासु खान शिवको आदेश पाएपछि टाउकोमात्र बाँकी रहने गरी खाएका थिए । कल्पमा भगवान् शिवले घण्टाकर्णको स्मरण, पूजनमात्रले पनि कार्यसिद्धि हुने, भगवान् शिव र माता पार्वतीको कृपादृष्टि प्राप्त हुने वरदान दिनु भएको उल्लेख छ । गोपाल वंशावलीअनुसार गथामुगललाई त्रिशक्ति सत्व, रज र तम गुण मानी तीन पद राखी बसेको त्रिपद संवर भैरवको प्रतीक भनिन्छ । गथामुगलका दिन ‘आजु जय, हा......’ भनेर जगात माग्दा पनि आजु जय भनी भैरवकै नाम लिएको हो भनिन्छ । यस्तै नर्कटको तीनवटा कल्ली उभ्याउनुको अर्थ त्रिशक्तिको प्रतीक बनाइएको हो । घण्टाकर्णलाई नवविवाहित स्त्री पुरुषले दर्शन गर्नुपर्ने र गर्न नसके पशुपतिको दक्षिण कुनामा स्थापित उन्मत्त भैरवको दर्शन गर्ने चलन अद्यपि रहेको पाइन्छ । 


शारदा मासिक २०७८ भदौमा प्रकाशित

No comments:

Post a Comment