– त्रिचन्द्र प्रतीक्षा
काठमाडौँमा मनाइने विविध जात्रामध्ये
इन्द्रजात्रा पनि एक हो । रमाइलो र महत्वपूर्ण जात्रा मानिन्छ । इन्द्रजात्राको
प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो । १२ औंदेखि १८ औं शताब्दीमा निर्मित
थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र हाल सम्पदा क्षेत्रमा पर्दछ ।
काठमाडौँ लगायत बाहिरी जिल्लाका जात्रा एवं नाच पनि यस क्षेत्रमा देखाइने गरेको छ
।
यो लिङ्गो ठड्याउनु आठ दिनअघिदेखि बनेपा
पूर्वको नालाको सल्लाघारीबाट उपयुक्त काठको छनोट गरी पूजाआजा गरिन्छ । तत्पश्चात्
सो लिङ्गोलाई तानेर भोटाहिटी ल्याइन्छ । उक्त लिङ्गोका लम्बाई पनि सामान्यगुण २२
हात, मध्यम गुण ३२ हात र सबभन्दा उत्तम गुण भएको लिङ्गो ४२ हात भएको
हुनुपर्ने सांस्कृतिक मान्यता कायम भएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाको कालभैरव अगाडि धार्मिक विधिपूर्वक
इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा प्रारम्भ हुन्छ । विभिन्न
प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म
यो जात्रा मनाइन्छ । यसरी ठड्याइएको लिङ्गोलाई नै ‘इन्द्रध्वजोत्थान’
भनिन्छ
भने नेवारहरुले ‘यःसिँ’ भनिन्छ । लिङ्गो ठड्याउने प्रचलनको
सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण,
कालिका
पुराण, भविष्य पुराणमा समेत विस्तृत वर्णन पाइन्छ । इन्द्रध्वजालाई
सुव्यवस्थित, सुरक्षित सत्ता र सुगठित एकताको प्रतीक मानिन्छ
। पुराणको कथनानुसार देवराज इन्द्रले भगवान् विष्णुबाट यो ध्वजा प्राप्त गरेदेखि
उनको राज्य अटल रहनुको साथै उनलाई ठूलो ऐश्वर्य पनि प्राप्त भएको थियो । यसरी
हेर्दै जाँदा यो जात्रा राजपरिवारको लागि अत्यन्त महङ्खवपूर्ण सावित हुनुका साथै
सर्वसाधारणको लागि पनि रमणीय भएको स्पष्टिन आउँछ । काठमाडौँमा लिच्छविकालीन राजा
गुणकामदेवले चिकंमुगलको अट्कोनारायण मन्दिर अगाडि इन्द्रध्वज (लिङ्गो) गाडेर सँगै
इन्द्र देवताको मूर्ति राखेर इन्द्रजात्रा चलाएको भनिन्छ । इतिहासविद् महेशराज
पन्तका अनुसार राजा प्रतापसिंह शाहको राज्यकाल (वि.सं. १८३१–१८३४) मा मल्ल
राजाहरुको पालादेखि चाँदीको मोहर नेपालले बनाउँदै आइरहेको र पछि यसमा मिसावट भएर
मोहर बनाउने काम बीचैमा रोकिएको थियो । वि.सं. १८३२ मा सन्धिमार्फत् तिब्बतसँग
पुनः मोहर बनाउने सहमति भयो । त्यसको खुसीयालीमा अट्कोनारायणको साटोमा कालभैरव
अगाडि लिङ्गो ठड्याएका थिए र त्यसको तलतिर घोडा सवार इन्द्रको सुनको प्रतिमा समेत
प्रदर्शनी गरेका थिए ।
पछिल्लोपल्ट फेला परेको संवत् ५२६ को लेलेको
अभिलेख अनुसार नेपालमा लिच्छविहरुको आक्रमणपछि अंशुवर्माको पालामा इन्द्रजात्रा
मनाइन्थ्यो । यस्तै बुद्धकालीन र जैनकालीन समाजमा पनि इन्द्रजात्रा मनाएको थाहा
हुन्छ । यसबाट मल्लकालभन्दा पहिलेदेखि नै इन्द्रजात्राको परम्परा चलेको देखिन्छ
भने इन्द्रजात्रा शब्दको पहिलो अभिलेख संवत् ५६१ को भक्तपुर तौमढी टोलको रहेको छ ।
![]() |
त्रिचन्द्र प्रतीक्षा |
इन्द्रजात्राका सम्बन्धमा एउटा किंवदन्ती
प्रचलित छ । स्वर्गका राजा इन्द्रकी आमा बसुन्धरालाई विशेष पूजाका लागि पारिजातको
फूल (नेवारीभाषामा ‘चथाः स्वां’ भनिन्छ) र
कर्कलो आवश्यक भयो । त्यो पारिजातको फूल स्वर्गमा नपाइने भएर नै इन्द्र नेपाल आएको
र उक्त समयमा काठमाडौँको भीमसेनस्थानको तलतिरकोे बगैँचामा फुलिरहेका थिए । त्यस
बगैँचाका माली तान्त्रिक विद्या जान्ने भएकाले इन्द्रलाई चिनेर तान्त्रिक शक्ति
तारणले बाँधेर राखे यतिका दिनसम्म पनि छोरा फर्केर नआएपछि बसुन्धरालाई चिन्ता
लाग्यो । पृथ्वीलोकमा बाँधिएर राखिएको इन्द्रलाई छुटाउन बसुन्धरा यहाँ आइन र त्यस
बन्धनबाट मुक्त गराउन बदलामा धान पाक्नका लागि आवश्यक हुस्सु उपहार दिएर गएको
विश्वास गरिन्छ । त्यसैले यस मौसममा बिहान र बेलकी हल्का हुस्सु (कुहिरो) लाग्ने
गरेको हो भनी बूढापाका भन्ने गर्दछन् । आजपर्यन्त यस इन्द्रजात्रामा देखाइने देवी
नाचमा सेतो पहिरनमा डाँगीको (इन्द्रको आमा) रुपमा मुकुन्डो लगाई परिक्रमा गरिन्छ ।
इन्द्रजात्राको दिन सिंहसत्तल र मरुसत्तलको बीचमा काठको अग्लो डबली बनाई चार
सिंहमाथि रहेको इन्द्रको मूर्तिलाई स्थापना गरिन्छ र दुई हात दायाँ बाँया डोरीले
बाँधेर राख्ने चलन छ । मरुटोलमा सबैले देख्नेगरी राखिएको र दण्डित गरिएको भन्ने
लोकोक्ति छ । त्यसको साथै इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको
मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राख्ने गरिन्छ । कुमारी जात्रालाई प्रमुखताका साथ मनाइ रहँदा
इन्द्रजात्राको मूल तथ्यलाई ओझेलमा पार्ने काम भइरहेकोमा संस्कृतविद् र
इतिहासविद्हरु चिन्तित देखिन्छन् ।
इन्द्रजात्राको लिङ्गो जति महत्व मानिन्छ
कुमारीको रथयात्रा पनि उतिकै महत्वपूर्ण मानिन्छ । कुमारी रथ यात्राको चलन वि.सं.
१८१० देखि चलेको कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ । कुमारी
रथयात्रा गर्नुका केही किंवदन्तीहरु पढ्न पाइन्छ । कथनअनुसार जयप्रकाश मल्लसँग तुलजा भवानी पासा
खेल्न आउँदथिन रे ! एकान्त कोठामा आराधाना गरेपश्चात तलेजु भवानीको प्रत्यक्ष
दर्शन पाउँथे । एकदिन तलेजी भवानीसँग राजाले कुरा गरिरहेको बेला राजाकी छोरीले
कुरा सुनेर को रहेछ भनेर ढोका खोली हेर्दा तलेजु भवानी अन्तध्र्यान भइछन् ।
एकअर्को कथनअनुसार मल्ल राजाहरुले ‘श्रीयन्त्र’ भन्ने (हीराको
वाद्ययन्त्र) एकप्रकारको यन्त्रद्वारा तुलजा भवानीलाई पुकार गरी दर्शन गर्दथे रे !
त्यो वाद्ययन्त्र आइमाईलाई नदेखाउनु भनेर देवीले राजालाई भनेकी थिइन् । एकदिन
राजाकी छोरीले त्यो वाद्ययन्त्र के रहेछ भनी खोलेर सुटुक्क हेरिछन् । त्यसदिनदेखि
राजाले देवीसँग दर्शन र कुराकानी हुन नसकेको बताइन्छ ।
अठारौं शताब्दीमा इन्द्रको जात्रासँग जोडिएर
अर्को कुमारी जात्रा पनि सुरु भयो । कथनअनुसार काठमाडौँको बसन्तपुरस्थित
कुमारीघरको निर्माण र यात्राको परम्परा जयप्रकाश मल्लले चलाएका हुन् । वि.सं. १८०३
देखि १८०७ सम्म गद्दीच्युत भएर भौंतारिएको बेलामा १८०७ को अन्त्यतिर गोप्यरुपले
कुमारीको दर्शन गर्न पाएको चार दिनपछि नै गुमेको राजगद्दी फिर्ता लिन सफल भए ।
त्यसपछि कुमारीलाई खुसी पार्न र आफूले गरेको पापबाट मुक्त हुन
उनले कुमारी घर बनाइदिए र कुमारीको रथयात्रा गराउन भनेर एउटा पगोडा आकारको तीन तले
छाना भएको रथ बनाउन लगाए । गणेश र बटुकभैरवलाई साथमा राखेर रथयात्राको परम्परा
समेत चलाए, राजा जयप्रकाश मल्ल स्वयं रथमा बसी नगर
परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ ।
लिङ्गो गाडेको तेस्रो दिन अर्थात् भाद्र शुक्ल
चतुर्दशीका दिन जैसीदेवल, लगनटोल, ब्रह्मटोल,
क्वःहिटी,
भीमसेनस्थान
हुँदै पुनः कुमारीघर अगाडि ल्याएर ‘क्वहने याः’ सकिन्छ भने
जात्राको चौथो दिन कुमारी घरबाट प्याफल, यटखा, टेंगल, असन,
मच्छिन्द्रबहाल,
इन्द्रचोक
मखन हुँदै कुमारी घर ल्याएर ‘थःने याः’ सकिन्छ ।
जात्राको अन्तिम दिन रथलाई कुमारीघरबाट प्याफल, किलागल, इन्द्रचोक
हुँदै कुमारी घर अगाडि ल्याएपछि ‘नानिचा याः’ सकिन्छ । यो
नानिचा गर्ने बारेमा एककथन यस्तो रहेको छ, राजाको एक ‘नानिचा’ नाम
गरेकि रानी थिइन, रानीले मेरो माइतीघरतिर (किलागल) बाट पनि रथ
तान्ने गरियोस् भनी बिन्ती गरेकीले राजाज्ञाबमोजिम त्यताबाट पनि यात्रा चलाउन
थालियो र सो यात्रालाई पनि रानीकै नामबाट ‘नानिचा याः’ भन्न थालियो ।
इन्द्रजात्राको पहिलो दिन रथयात्रा सकिएपछि
मध्यराती डाँगी र बौमत निकालिन्छ । इन्द्रलाई लिन आएको बेला बसुन्धराले बत्ती
बाल्दै आएको प्रतीक स्वरुप डाँगी निकालिन्छ, डाँगी हुनेहरु
इन्द्रको आमाको रुपमा लिने गरिन्छ । सो डाँगी माथिल्लो शहरको परिक्रमा गरेर तल्लो
शहर परिक्रमा गर्न हिँडेपछि बौमत निकाल्नेहरु चाहिँ माथिल्लो शहरको परिक्रमा गर्न
निस्कन्छन् । बौमत ५/६ फिटको बाँसमा लहरै दियो बालेर डाँगीको बाटो
पछ्याउँदै नगर परिक्रमा गर्ने चलन छ । स्मरणरहोस् बौमत निकाल्नेहरुले डाँगी हेर्नु
हुन्न, हेरे मरिन्छ भन्ने जनविश्वास छ । यो यात्रा रातभर हुने र सकिंदा
बिहानको २/३ बज्ने गर्छ । यही यात्राबाटै मृतकका कतिपय परिवार, भक्तजनहरु
घर नफर्किकन सिधैं थानकोटको दक्षिण पश्चिममा रहेको दहचोकमा अवस्थित इन्द्रदहमा
नुहाउन जान्छन् । यहाँ मेला भर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ, सो
दहमा स्नान गरे सम्पूर्ण पाप नाश भएर पुण्य प्राप्त हुन्छ र मनले चिताएको पूरा
हुने जनविश्वास रहेको छ ।
सवःभक्कु नाचः जात्राभरी हलचोकको सवःभक्कु नाच
पनि एक हुन् । पुतवारहरु तेह्रौं शताब्दीमा मिथिलाका राजा हरिसिंहदेवसँग काठमाडौँ
आएको दावा गर्दछन् । हलचोक भैरव (सवःभक्कु)को नृत्य तुलजा भवानीको उपत्यकाभित्र
आगमन तथा पूजाआजा सँगसँगै भएको हो । तर मल्लकाल पनि यी पुतवारहरुलाई शाह राजाहरुले
शहर बाहिर धपाई स्वयम्भूको पछाडिको हलचोकको डाँडामा बस्ती बसाल्न पठाएको देखिन्छ ।
तर हरेक वर्ष यिनीहरु यो नृत्य प्रस्तुत गर्न इन्द्रजात्राको बेलामा काठमाडौँ
शहरभित्र नै एक हप्तासम्म बसेर कुमारीको रथयात्रा सँगसँगै आफ्नो नृत्य प्रदर्शन
गर्ने गर्दछन् ।
महाकाली नाचः भक्तपुरको महाकाली नाचमा
महालक्ष्मी, महाकाली र कुमारी बाहेक अन्य पात्रहरुमा एक
जोडी कवं (एकप्रकारको ख्याक), एक जोडी भूत र एकजोडी सिंह, अनि
मयूर, जोक्कर र भक्तजन हुने गर्दछ । यसको प्राचीनताबारे खोजीनीति गर्दा
प्रधानमन्त्री वीरशमशेरको पालोदेखि यो नाच इन्द्रजात्राको अवसरमा काठमाडौँ ल्याई
नचाउन थालेको देखिन्छ ।
देवी नाचः किलागल टोलको देवीनाच पनि
इन्द्रजात्रा अवधिभर शहरको विभिन्न ठाउँहरुमा देखाइन्छ । यो देवीनाचमा सात
पात्रहरु जस्तैः भैरव, कुमारी, चण्डी, दैत्य,
कङ्काल,
बेताल
र ख्याक हुन् । बाजाको तालमा करिव आठवटा रागहरुमा गीतहरु गाइन्छन् । यी
भिन्नभिन्नै रागका गीतहरुमा नृत्य पात्रहरु पनि फरकफरक सङ्ख्यामा नृत्य–नटिका
गर्ने गरिन्छ । मालश्री रागबाट शुरु भई बलारी रागमा टुँगिने ती गीतहरु अति नै
भावपूर्ण छन् ।
पुलुकिसि नाचः यस्तै, किलागलको
पुलुकिसि नाच इन्द्रजात्राको आकर्षणहरुमध्ये एक हो । बाँसको मान्द्रो जसलाई नेवारी
भाषामा ‘पुलु’ भनिन्छ त्यस मान्द्रो र बाँसबाट बनेको हात्तीको
आकृतिभित्र दुई जना मानिस उभिएर नाच्ने गर्दछ । नाचमा विशेष एकप्रकारको तीनकुने
फलामको बाजा बजाइन्छ, जसबाट ताइनाई घ्याइनाइको आवाजको साथै धिमेबाजा
र भुस्याको आवाजमा हात्तीले नाच्ने र बाजाको धूनमा टाउको र आँग हल्लाउँदै सडकमा
दगुर्नु नै यसको प्रमुखता हो । स्वर्गबाट आएको ऐरावत हात्तीले इन्द्रलाई खोज्न
यताउती भौतारिँदै हिंडेको अवस्थालाई चित्रण गर्न खोजिएको पाइन्छ ।
![]() |
फोटो साभारः गुगल |
लाखे नाचः मजिपाटको लाखे नाच, कुमारीको
रथयात्राको भीड सँगसँगै देखापर्ने सबभन्दा आकर्षित एउटा डरलाग्दो राक्षसको नाच हो
। लाखे नाचमा सबभन्दा रमाइलो पक्ष भनेको एउटा सानो बालक जसलाई ‘‘झ्यालिन्चा’’
भनिन्छ,
त्यसले
लाखेलाई जिस्काउन थाल्दछ र रीसले चूर भएका लाखे उक्त बालकलाई समात्ने प्रयासमा
बाजाको तालमा दौडिन्छ । इन्द्रजात्राको हप्ता दिनसम्म ठाउँ ठाउँमा गई लाखे नाच
देखाउने गर्दछ ।
![]() |
फोटो साभारः गुगल |
दश अवतारः कुमारीघर अगाडि रहेको त्रैलोक्यमोहन
नारायण मन्दिरमा विष्णुले लिएको दश अवतारको नृत्य प्रदर्शन गरिन्छ । रात परेपछि
भगवान् विष्णुको दश अवतारका रुपहरु मात्र देखाउने होइन यसको अतिरिक्त इन्द्रजात्रा
शुरु भएदेखि अन्त्यसम्म आठ दिन प्रत्येक दिन दश दशवटा भिन्दाभिन्दै रामायण,
महाभारत
र देवी महात्म्यसँग सम्बन्धित विभिन्न दृश्यहरु पनि देखाइन्छन् ।

श्वेत भैरव (हाथु द्यः): इन्द्रजात्रामा मात्रै सार्वजनिक
प्रदर्शन गरिने झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको श्वेत भैरव (नेवारीमा हाथु
द्यः भनिन्छ) नेपालकै सबैभन्दा ठूलो अनुहार भएको भैरवको भव्य मूर्तिको रुपमा पनि
लिइन्छ । यसको श्री ५ रणबहादुर शाहले वि.सं. १८५२ मा मूर्ति स्थापना गरेका थिए । ‘‘त्रिरत्न
सौन्दर्यगाथामा’’ समेत यसको वर्णन गरिएको छ । अरु बेला भने
आँखीझ्यालले छोपिएर राखिएको हुन्छ भने इन्द्रजात्रा अवधिभर मूर्तिको मुखबाट
निकालिएको पाइपबाट जाँड, रक्सी बगाएर प्रसादको रुपमा बाँडिन्छ ।
यसलाई ‘हाथु हायेके’ भनिन्छ । सो प्रसादको रुपमा पिउनका
लागि भक्तजनहरुले तँछाड मछाडको रमाइलो दृश्य हेर्नेको भिड लाग्छ ।
इन्द्रजात्रा सकेको आठौं दिनपछि राती
इन्द्रध्वज लिङ्गो ढालेर टेकुमा सेलाएपछि विधिवतरुपमा जात्रा समाप्त गरिन्छ । यो
जात्रा नेपालको एक महत्वपूर्ण आर्य संस्कृतिको जीवन्त पक्ष हो ।
भाद १७ गते २०७४, गोरखापत्र दैनिकमा प्रकाशित
No comments:
Post a Comment