![]() |
फोटोः त्रिचन्द्र प्रतीक्षा |
- त्रिचन्द्र प्रतीक्षा
गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र
शुक्ल प्रतिपदाका दिन मनाइने गरिन्छ । १५ औं शताब्दीको गोपालराज वंशावली र
मल्लकालिनमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’
शब्दको
उल्लेख भएबाट प्राचीनकालदेखि नै यो पर्व मनाउँदै आएको प्रमाणित हुन आउँछ । नेपाल
भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’
अर्थ
लगाइन्छ ।
नेपाल भाषामा सापारु भनेर मनाउने यस पर्व
नेवारहरुको मौलिक पर्व हो । दिंवगतको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा
पर्व मनाउने गरिन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा
गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने
धार्मिक विश्वास छ । मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा
उल्लेख गरिएको पाइन्छ भने हिन्दूधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा समेत
उल्लेख छ ।
शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग
जाने बाटोमा पर्ने एउटा ‘वैतरणी’ नदी तर्नुपर्छ ।
वैतरणी शब्दमा त्याग र दानको महत्व लुकेको छ । जसले समाजमा दान गरेर योगदान पु¥याएको
छ त्यसैले वैतरणी नदी सहजै तर्न सक्छ भन्ने गाईजात्राको लक्ष्यार्थ रहेछ । यस्तै
वैतरणी तर्न गाईको पूच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ
भन्ने हिन्दूहरुको जनविश्वास रहेको छ । यसरी नेपाली सांस्कृतिक जीवनका
प्राचीनकालदेखि नै चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा
र उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको
देखिन्छ ।
किंवदन्ती र चलन
कुनैपनि चाडपर्वहरुको आफ्नै मौलिक इतिहास,
कथन
र किंवदन्तीहरु जोडेर आएको हुन्छ । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको
रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । यो जात्रा निकाल्ने चलन
कहिलेदेखि सुरु भयो भन्ने तिथिमिति निश्चत नभए तापनि एक भनाईअनुसार राजा प्रताप
मल्लका ने.सं. ५७५ (वि.सं. १५१२) समयमा उपत्यकामा बिफरको महामारी
फैलिएको थियो । त्यसै महामारीले थुप्रै जनताहरुको मृत्यु हुन पुग्यो र त्यसै
क्रममा प्रताप मल्लको कान्छो छोरा चक्रवर्तेन्द्र मल्लको समेत मृत्यु भयो । यही
छोराको मृत्युको शोकमा परेकी रानीलाई शान्त पार्न प्रयास गर्दा पनि सफल हुँदैन ।
अनि व्याकुल रानीलाई ‘मानिसहरु अन्यत्र पनि मरेका छन् र मर्छन्’
भनी
देखाएर चित्त बुझाउन खोज्छन् । यसरी राज्यमा वर्ष दिनभित्र मृत्युभएका नागरिकहरुको
नाउँमा तिनका आफन्तहरुले गाईजात्रा निकाली नगर परिक्रमा गराउन राजाले हुकुम जारी
गरेका थिए ।
जुन घरमा महिला र पुरुष मरेको हुन्छ । त्यस
घरबाट गाईं र जोगीको भेषमा निकाल्नु पर्ने घोषणा गरे बाट हरेक घरले नगर परिक्रमा
गर्नुपर्ने भयो र साथै त्यससँगै विभिन्न किसिमका झाँकी, नृत्य र
बाजागाजा समेत समावेश गर्नु पर्ने देखियो । जात्रामा भाग लिने सबै टोलीहरु राजाको
दरबारको बाटो (हनुमानढोका) भएर नगर घुम्नु पर्ने आदेश भएको थियो । यही प्रचलन
आजसम्म पनि चलिरहेकै छ । सुरुमा प्रत्येक मृतकका घरबाट गाईलाई नै सिंगारेर
निकाल्ने चलन थियो । बिस्तारै बिस्तारै पछि गाईको सट्टामा गाईको मुकुन्डो लगाएर
अथवा अनुहारमा गाईको चित्र बनाएर जात्रा निकाल्न थालियो । मान्छेको जीवन चीरस्थायी
छैन भन्ने कुरा तत्कालीन रानीलाई कुरा गरेर बुझाउन सफल नभएका राजाले यो पर्व चलाएर
आफ्नो उद्देश्यमा सफल भएका देखिन्छन् ।
![]() |
फोटोः त्रिचन्द्र प्रतीक्षा |
गाईजात्राको सम्बन्धमा सिल्भाँ लेभीले आफ्नो
पुस्तक हिन्दू अधिराज्यको इतिहास ‘नेपाल’मा लेख्छन् –
भाद्र
पद
(अगस्त–सेप्टेम्बर) मा गाईजात्रा सुरु हुन्छ ।
गाईको मुकुन्डो, माला इत्यादि लगाएका मानिसहरु बाटा–बाटामा
नाच्छन् र गाउँछन् । नेवार परिवारको कुनै सदस्य वर्ष दिनभित्र मरेको छ भने त्यो
परिवारले कुनै मानिसलाई गाई बनाई बाहिर पठाउँदछन् । गाईको पछि–पछि
कुमारी पनि हुन्छिन् । भोलिपल्ट गाईको ठाउँमा बाघको मुकुन्डो लगाई जात्रा निस्कन्छ
र यो जात्रालाई व्याघ्राजात्रा भन्दछन् ।
राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको
किंवदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।
मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास
भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको
संस्कृतकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
![]() |
फोटोः त्रिचन्द्र प्रतीक्षा |
बौद्ध साहित्यको ललितविस्तरमा गाईजात्राबारे
केही प्रसंग लेखिएको पाइन्छ, गौतमबुद्ध तपस्या गरी बसेका बखत उनको
तपस्या भङ्ग गर्न भनी क्लेश, मृत्यु र देवस्कन्धहरुले विभिन्न पहिरन
एवं रुपमा आएर उनलाई तपस्याबाट विमुख पार्ने प्रयास गरे तर कसैको केही नलागेपछि
उनीहरु भागेका थिए । त्यसपछि देवतागण बुद्धको दर्शन गर्न भनी आए तर चार दिनसम्म
कुरेर मात्र दर्शन गर्न पाए । ललितविस्तरका आधारमा गाईजात्राको परम्परा पुरानो हो
भन्ने बुझिन्छ तर मध्यकालमा यसको स्वरुपमा परिवर्तन आएको हुनसक्छ । यस्तै
लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि
गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविद्को भनाइ रहेको छ ।
इतिहासविद्हरुका अनुसार काठमाडौँमा भन्दा पहिले
भक्तपुरमा गाईजात्रा पर्व मनाउने गरेको भनाइ रहेको पाइन्छ । यो जात्रा भक्तपुरमा
भने आठ दिनसम्म मनाइने परम्परा छ । जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित
नाट्येश्वरी मन्दिरमा पूजा गरेपछि धाँ बाजा, तःबाजा, धिमय्
बाजाको संयुक्त तालमा घिन्ताङघिसी (लट्ठी नाच) ले भक्तपुर शहर परिक्रमा गरेसँगै
सुरु हुने गाईजात्रा कृष्णाष्टमीका दिन सम्पन्न हुन्छ । भक्तपुरको गाईजात्राको
मुख्य आकर्षण भनेकै घिन्ताङघिसी नाच हो । विशेषगरी घिन्ताङकिसीमा वmेटावmेटी
र युवायुवतीको समूह शरीरमा अनेक रङ पोती, बेढङ्गका लुगा लगाई बढीभन्दा बढी
अरुलाई हँसाउने गर्छन् । त्यस्तै उनीहरु हातमा विभिन्न ज्यावल लिई त्यसलाई आपसमा
ठोक्काउँदै अनौठो र रमाइलो किसिमले नाच्दै नगर परिक्रमा गर्दछन् ।
यस्तै, हरियो करिब १५ फिट लामा चारवटा बाँसलाई
ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको
शिरमा गाईको चित्र, परालको सिङ राख्ने साथै मृतकको तस्बिरसमेत
राखेर छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर
परिक्रमा गराइन्छ । त्यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट
हुने गर्दछ । तहामचालाई नगर परिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि
पुरोहितले क्रियापुत्रद्वारा संकल्प गराई विधिबमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।
संस्कृतिकर्मी प्रा डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरकै तालाकोस्थित
कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् ।
उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशा अन्तर्गतको माटोका आकर्षक गाई बनाएर नगर
परिक्रमा गराउने गरेको भनाई छ । गाईसँगै मृतकको स्मृति झल्काउने करुणरस प्रधान
गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।
कीर्तिपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा
अलि भिन्न रहेको पाइन्छ । यहाँ मृतकको नाममा र नयाँ घर बनाएको उपलक्ष्यमा गाई
निकाल्ने चलन छ । प्रताप मल्लको पालादेखि सुरु भएको मानिए तापनि स्थानीय
संस्कृतिविद्हरु यो जात्रा लिच्छवीकालदेखि नै यस क्षेत्रमा प्रचलनमा आएको दावी
गर्दछन् । यहाँको गाईजात्राको मुख्य विशेषता अथवा भिन्नता भन्नु सुकेको छालालाई
गोलाकार बनाई घिसारेर ल्याउने गरिन्छ, जसलाई धाकः लुइगु भनिन्छ । यस कार्यमा
संलग्न हुने पात्रहरु बाजा बजाउँदा र नाच्दा निस्कने आवाज र नाचलाई नै धेँधँपापा
(कसैकसैले ‘झ्याँ झ्याँ पापा’ पनि भनिन्छ) नाम
दिइएको भनाई रहिआएको छ । मुख्यतः नाचको अग्रपंक्तीमा विभिन्न मुखुन्डो लगाएका र
अनेक प्रकारका सामानहरु बोकेका नृतकहरु र पछिपछि घरमा आफन्तजनहरुको मृत्यु भएको
परिवारका सदस्यले सहभागिताले नगर परिक्रमा गरिन्छ । यहाँ गाईजात्राको प्रमुख आकर्षण
पनि यही मानिन्छ । अन्यत्र मनाएजस्तै पशुपति देवपत्तनमा पनि गाईजात्रा मनाइन्छ ।
यहाँ तीन दिनसम्म लगाएर जात्रा मनाउने यो एक ठाउँ मात्र हो ।
आजभोलि काठमाडौँ उपत्यकाबाहिर पोखरा, पाल्पा,
हेटौंडा,
वीरगञ्ज,
नेपालगञ्ज,
धरान,
धनकुटा,
विराटनगर,
बाग्लुङ,
अर्घाखाँची
आदि सहरहरुमा पनि गाईजात्राको चलन पाइन्छ भने नेपालबाहिर आसाम, दार्जिलिङ
र सिक्किममा बसोबास गर्ने नेवारहरुले समेत केही वर्षअघिदेखि गाईजात्राको प्रचलन
शुरु गरेको देखिन्छन् ।
यो परम्परा नेवार समुदायमा मात्र सीमित नभइ अरु
जातिले पनि गाईजात्रा निकाल्दै आइरहेका छन् । यस बखत विशेषत व्यङ्ग्यात्मक,
हाँस्यव्यङ्ग्य,
नाटक
मञ्चन, प्रहसन, गाईजात्रा पत्रिका समेत प्रकाशित भएको हुन्छ ।
अनि सञ्चार माध्यमबाट हाँस्यव्यङ्ग्यको चाडपर्वको रुपमा मनाउने गरेको पाइन्छ ।
मृत्युवरण गरिएकाहरुले कसरी मोक्ष प्राप्त गर्छ भन्ने चिन्तन गरिने दिन भएको
हुनाले यसको अर्थ दिवंगतको नाममा खुसी मनाएको कदापि होइन अर्थात् जात्रा गरिएको
होइन । त्यसैले यस्तो संवेदनशील विषयलाई अर्थका अनर्थ लाग्ने गरी गरिएको नामाकरण
प्रति समयमै सजग एंव सचेत हुनुपर्ने देखिन्छ ।
गोरखापत्र दैनिक, श्रावण २१, २०७४ मा प्रकाशित
No comments:
Post a Comment