शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, September 30, 2016

दसैँको पूर्वसन्ध्यामा पशुबलि निषेध सचेतना र्याली

फोटो फिचर हेर्नका लागि यस लिंकमा जानुहोस्
नेपालमा धर्म, संस्कृति र परम्पराको आडमा देवी देवतालाई खुसी पार्न भन्दै पशुबलि दिने गरिन्छ । पशुलाई निर्मम तरिकाले हत्या गर्ने यो प्रथामको अन्त्यका लागि आवाज नउठेको हैन । तर, रोक्न सकिएको छैन ।
नेपालमा सबैभन्दा बढी बलि गढीमाईको मेलामा दिइन्छ । त्यसपछि दशैंमा राक्षसी प्रवृत्तिको अन्त्य भन्दै पशुबलि दिइन्छ । दशैंमा राक्षसी प्रवृत्तिको अन्त्य भनेको मान्छेमा भएको कुविचार, कुसंस्कारको बलि दिनुपर्छ भन्ने हो तर, यहाँ उल्टो भैरहेको छ ।
“अरूको प्राण लिएर पुण्य कमाउने काम मन पर्दैन । जीव हत्या गरेर आफ्नो मनोकामना पूरा गर्नु धर्म होइन ।” पशुबलिलाई पाप सम्झने पाँचखाल काभ्रेकी मीरा चौलागाईंको भनाइ हो यो ।
प्राणीको हत्या गरेर धर्म हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकामा उहाँलाई निकै दुःख लाग्छ । मन्दिर मन्दिरमा जीव हत्या गर्ने प्रचलन हटेको कहिले सुन्न पाइएला भन्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ । उहाँले अहिलेसम्म जीव हत्या गरेको हेर्नु भएको छैन । हेर्न पनि सक्नु हुन्न ।
पशुबलि धर्मका चल्दैआएको कुप्रथा रहेको बताउनुहुन्छ सोह्रखुट्टे, काठमाडौँकी रिता तिमल्सिना । “राम्रो भविष्य, दीर्घायुको कामना, राम्रो शिक्षादीक्षा, सफल जीवनका कामना गर्न मन्दिरमा रगतको बलि चढाउनु त पाप हो नि ।” – उहाँले भन्नुभयो । आफूले अहिलेसम्म कुनै जीवको बलि मन्दिरमा नचढाएको पनि उहाँले सुनाउनुभयो ।
नेपालमा बडादशैंको नौरथा सुरु भएपछि विभिन्न शक्तिपीठमा दुर्गा मातालाई खुसी पार्न व्यापक रुपमा पशुबलि दिइन्छ तर योे प्रचलनको अहिंसावादीहरुले चर्को विरोध गर्दैआएका छन् । उनीहरुको भनाइमा ‘पशुबलि धर्मका नाममा अपराध हो’ र ‘अहिंसा नै परम धर्म’ हो ।
बलि दिनै परेमा पशुबलीको सट्टामा भगवतीलाई नरिवलको बलि चढाउन सकिने उनीहरुको तर्क छ । दसैँ पर्वका अवसरमा खास गरी दक्षिणकाली, भद्रकाली, गुह्येश्वरी, शोभा भगवतीलगायतका शक्तिपीठमा हजाराँै जीवको बलि दिने गरिन्छ ।
संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठ, मन्दिरमा नवरथामा हजारौँ प्राणीको बलि दिने गरिएकामा अहिले नगण्य रुपमा मात्रै छ र धेरैले नरिवलको बलि दिने गरेका छन् । “पशुलाई भगवतीका शक्तिपीठमा लगेर हत्या गरेर धर्म हुन्छ भन्ने कुरा गलत हो,” बलिप्रथा रोक्ने अभियानका अभियन्ता डा टन्डनले भन्नुभयो, “अरूलाई दुःखकष्ट नदिनु नै धर्म हो, बलि दिएर देवी–देवता कहिल्यै खुसी हुँदैनन् ।”

उहाँका अनुसार कुनै पनि धर्म ग्रन्थमा पशुबलि दिएर धर्म हुने कुरा उल्लेख छैन । यो प्रचलनले समाजमा शान्ति नभई हिंसा र आतङ्क फैलाइरहेको छ । राजसी, तामसीमा रमाउने पण्डितहरुले पशुबलिलाई बढावा दिने तरिकाले धार्मिक ग्रन्थको व्याख्या गर्ने गरेको डा टन्डनकोे आरोप छ । उहाँ भन्नुहुन्छ – दसैँमा क्रोधको प्रतीक भनेर राँँगोलाई बलि दिन्छन् । निर्दोष पशु राँगोलाई मारेर के धर्म हुनु ? मानिसलाई दशैं पशुलाई दशा हुने गरेको छ । जीव भएर जीवको हत्या गर्नु पाप हो ।
पशुबलि निषेध सचेतना अभियानका संयोजक विवेक श्रेष्ठले पशुबलि धर्म नभएको कुरालाई सचेतना र्याली, साहित्य, सडक नाटक, गीतमार्फतजस्ता सचेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो । “धेरै वर्षदेखि पशुबलि दिँदै आएर त्यसले सांस्कृतिक मान्यता पायो, तर त्यो अज्ञानता थियोे, २१औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पशुबलि दिएर धर्म हुन सक्दैन”– उहाँले थप्नुभयो ।
मासु खानेहरुलाई मुटु रोग, मोटोपना, फोक्सोको रोग, रक्तचापजस्ता ठूला रोगले मनोवैज्ञानिक÷मानसिक रोग निम्त्याउँछ । मासु सेवन नगर्ने मानिस निरोगी, शान्त स्वभावका हुन्छन् । त्यसैले पशुबलिलाई प्रोत्साहन दिनु हुँदैन भन्ने यो अभियानका अभियन्ताहरुको भनाइ छ ।
पशुबलि निषेध अभियान २०४७ सालदेखि सुरु भएको हो । यो अवधिमा समाजलाई फर्केर हेर्दा धेरै परिवर्तन भएको छ । पहिला पशुबलिलाई धर्म सम्झनेले आज पाप सम्झन थालेका छन् । यस अभियानमा नेवार, क्षेत्री, बाह्मण, गुरुङ सबै लागेका छन् । त्यसमा कृष्णप्रणामी, नेपाल मानव धर्मलगायत एक दर्जनभन्दा बढी धार्मिक सङ्घसंस्था पनि यो अभियानमा सामेल छन् ।

नेपालमा शाकाहारीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभए पनि कुल जनङ्ख्याको २५ देखि ३० प्रतिशत मानिस शाकाहारी रहेको अनुमान छ ।
फोटो फिचरको लागि यहाँ जानुहोस् ।

No comments:

Post a Comment