शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, April 23, 2016

काठमाडाैंतिरै त्रसित अाँखा

  • सुबोध गौतम 
काठमाडौं– अन्तर्राष्ट्रिय वैज्ञानिकले नेपालको भूकम्पबारे आफ्ना भनाइ सार्वजनिक गर्न थालेपछि नेपालका भूकम्पविदलाई हैरानी भएको छ । ती वैज्ञानिकले नेपाल सरकार र आफैंले अस्थायी रूपमा स्थापना गरेका स्टेसनबाट प्राप्त तथ्यांकको अध्ययन/विश्लेषण गरेर विभिन्न स्थानको भूकम्पकीय जोखिम पत्ता लगाइरहेका छन्।
पछिल्लो समय उनीहरूको आँखा काठमाडौं दक्षिण र गोरखा–देहरादून (भारत) बीचको भू–भागमा केन्द्रित छ। कार्यालय होस् वा घर छिमेक, जहाँ पुगे पनि राष्ट्रिय भूकम्पमापन केन्द्रका विज्ञ र प्राविधिकलाई सर्वसाधारणले एउटै प्रश्न तेस्र्याउने गरेका छन्, 'के अझै ठूलो भूकम्प आउ"छ ? कहाँ–कहाँ आउन सक्छ ?' सर्वसाधारणका यस्ता प्रश्नबारे भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारी भन्छन्, 'जवाफ दिँदादिँदा हैरान भइयो, भूकम्प मौसम होइन, जसको पूर्वानुमान गर्न सकियोस् ।' स्वेदशी तथा विदेशी सञ्चारमाध्यममार्फत अन्तर्राष्ट्रिय वैज्ञानिकका भनाइ एकपछि अर्को सार्वजनिक हुन थालेपछि आमनेपालीमा भूकम्पबारे चासो बढेको उनको बुझाइ छ ।

अधिकारीका अनुसार एउटा कुरा भने पक्का हो– अत्याधुनिक प्रविधि र जनशक्ति भयो भने अनुमानसम्म गर्न सकिन्छ । तर, यसका लागि भूकम्पकीय क्षेत्रका तथ्यांक र विवरण चाहिन्छ । तिनको वैज्ञानिक विश्लेषण गर्न सकिन्छ । यसरी आउने परिणाम भविष्यवाणी होइन, अनुमान मात्र हुन सक्छ । त्यसैले उनी हरेक सर्वसाधारणलाई यसरी उत्तरी दिन रुचाउ"छन्, 'नेपाल कहिल्यै भूकम्पप्रुफ थिएन र हुन्न पनि । नेपालमा न पहिला भूकम्पको जोखिम कम थियो न अहिले बढी नै छ ।'

नेपालको भौगोलिक अवस्थिति नै त्यस्तै छ । युरो एसियन र इन्डियन प्लेटो जोडिएको स्थानमा नेपाल छ । यी दुई प्लेटोबीच सदियौंदेखि घर्षण जारी छ । एकले अर्कोलाई ठेल्ने क्रम पनि जारी छ । इन्डियन प्लेटो हरेक वर्ष चार सेन्टिमिटरका दरले युरो एसियन प्लेटमुनि छिरिरहेको छ । छिर्ने क्रममा हुने घर्षणले गर्दा जमिनको भित्री सतहमा शक्तिसञ्चय हुन्छ । यसरी सञ्चय भइरहेको शक्ति कहिले सानो त कहिले ठूलो भूकम्पका रूपमा बाहिर निस्कन्छ ।

'यो क्रम कहिल्यै रोकिन्न, त्यसैले भूकम्प प्राकृतिक नियम हो, यसबाट बच्न सकिने उपाय भनेको बलिया पूर्वाधार नै हो,' अधिकारी भन्छन् । तर, पनि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय वैज्ञानिकले नेपालको भूकम्पलाई लिएर विभिन्न अनुमान गरिरहेका छन् । वैशाख १२ यता नेपालमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, सिंगापुर, जापानलगायत देशका संघ–संस्था र वैज्ञानिकले अस्थायी केन्द्र स्थापना गरी तथ्यांक र विवरण लिइरहेका छन् । तिनकै आधारमा बेला–बेला आफ्नो शोधपत्र सार्वजनिक गरेका छन् । तिनै शोधपत्रमा उल्लेख विवरणबाट आमनेपालीमा चासो बढेको छ ।

पछिल्लोपटक कोलोराडो विश्वविद्यालय अमेरिकाका प्राध्यापक तथा वैज्ञानिक रोजर विलियमले आफ्नो शोधपत्रमार्फत नेपालको पहाडी क्षेत्रमा ८.२ म्याग्निच्युडका चारवटासम्म भूकम्प जानसक्ने अनुमान गरेका छन् । यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बढाइचढाइ लेखेका छन् । विलियमले विशेषगरी गोरखादेखि भारतको देहरादूनसम्मको क्षेत्रमा ५ सय वर्षयता शक्तिशाली भूकम्प नगएकाले त्यो क्षेत्रमा जोखिममा रहेको बताएका छन् । यति मात्र होइन, विलियमको पछिल्लो अध्ययनले गोरखादेखि बाग्लुङबीच क्षेत्रमा ठूलो भूकम्प गयो भने त्यसले काठमाडौंदक्षिण क्षेत्रमा समेत चिरा पार्नसक्ने देखाएको छ । 'त्यो क्षेत्रमा ठूलो भूकम्प गयो भने त्यसले काठमाडौं दक्षिण क्षेत्रलाई समेत प्रभावित पार्न सक्छ,' विलियमको भनाइ उद्धृत गर्दै अधिकारीले भने । विलियमले आफ्नो अध्ययनको निष्कर्षबारे अधिकारीसँग पनि जिज्ञासा राखेका छन् । उनले अन्तर्वार्तामार्फत आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

यसैगरी गत पुस २७ गते अनलाइनमार्फत नेचर जिओसाइन्स जर्नलमा शोधपत्र सार्वजनिक गर्दै अक्सफोर्ड विश्वविद्यालय बेलायतका प्राध्यापक वैज्ञानिक जेआर एलिओटले वैशाख १२ गतेको भूकम्पले काठमाडौं दक्षिणको भूभाग चिरा नपारेको औल्याउँदै त्यो भागमा भूकम्पले चिरा पार्नसक्ने औंल्याएका छन् ।

'पछिल्लो भूकम्पले गोरखाको बारपाकदेखि काठमाडौंबीचको करिब ५० किलोमिटर क्षेत्रमा चिरा पारेको छ । यसबीच सञ्चय भएको शक्ति सबै बारपाक भूकम्पमार्फत बाहिर निस्किएको छ तर त्योभन्दा दक्षिणको भूभागमा पनि वर्षौंदेखिको शक्तिसञ्चय भएको अनुमान गरिएको छ,' अधिकारीले एलिओटको शोधपत्रको निष्कर्ष औंल्याउँदै भने, 'त्यसैले पनि त्यो क्षेत्र उच्च भूकम्पकीय जोखिममा रहेको अनुमान गरिएको हुनसक्छ ।' एलिओटसहित सातजना वैज्ञानिकले संयुक्त रूपमा यो शोधपत्र तयार पारेका हुन् ।



वैशाख १२ को भूकम्पले बारपाकदेखि दक्षिण करिब ५० किलोमिटर र पूर्व दोलखासम्म करिब १ सय ५० किलोमिटरमा चिरा पारेको वैज्ञानिकले बताउँदै आएका छन् । पचास किलोमिटरभन्दा दक्षिणको महाभारत–चुरे पर्वत शृंखला अहिले पनि जोखिममा रहेको जिकिर उनीहरूको छ ।

त्यसो त यसअघि पनि बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक जिन–फिलिप अभोआकले गोरखादेखि भारतको देहरादूनबीचको क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरे । उनले त्यस क्षेत्रमा अत्याधुनिक प्रविधि जडान गर्न र भौतिक पूर्वाधार निर्माणलाई बलियो बनाउन सुझाएका छन् । नेपाल र भारतका उत्तरवर्ती क्षेत्रमा यसको प्रभाव पर्ने भन्दै सचेत रहन पनि उनले सर्वसाधारणलाई सचेत गराएका थिए ।

पछिल्लो समय सबैको नजर ५ सय वर्षयता शक्तिशाली भूकम्प नगएको गोरखा–देहरादूनबीच भूभागमा परेको छ । यी वैज्ञानिकले जिपिएस स्टेसनबाट प्राप्त तथ्यांक केलाएर यस्तो अनुमान गर्दै आएका हुन् । यस्ता शोधपत्र र अन्तर्वार्ताले आमनागरिकलाई तरंगित पारेका छन् । र, अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालमा केन्द्रित गरेका छन् ।

केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराई भन्छन्, 'एक वर्षयताका अनुकम्पनको तथ्यांक हेर्दा पनि काठमाडौं गर्भमा धेरै हलचल भइरहेको देखिन्छ ।' चार म्याग्निच्युडमाथिको अनुकम्पसमेत काठमाडौंमा आएका छन् जबकि यसअघि उपत्यकामा भूकम्पको केन्द्रविन्दु सम्भावना न्यून भएको बताइन्थ्यो ।

'पहिले–पहिले उपत्यकाभित्रै केन्द्रविन्दु भएर भूकम्प जान्न भनिथ्यो । बारपाकपछि भकाभक अनुकम्पन गइरहेका छन्,' उनले भने, 'पछिल्ला तथ्यांकले पनि बेलायती वैज्ञानिकको अनुमान मिलेको हो कि भन्ने छ ।' उनका अनुसार उपत्यकाभित्र भूकम्पले चिरा पारेपछि यस्तो अनुकम्प जान थालेको हो । तर, उपत्यकाभन्दा दक्षिण क्षेत्र अहिले पनि 'लक' छ ।

भूकम्पको एक वर्षमा विदेशी वैज्ञानिक र अनुसन्धानकर्ताको घु"इचो लाग्यो । यस क्षेत्रमा क्रियाशील विदेशी संघ–संस्था त्यत्तिकै संख्यामा आए । उनीहरूले अहिले पनि देशका अधिकांश स्थानमा आफ्ना अस्थायी केन्द्र स्थापना गरेका छन् । कतिपय अनुसन्धानकर्ताले सरकारस"ग सम्झौता गरेर सरकारी केन्द्रको तथ्यांकसमेत प्रयोग गरिरहेका छन् । ती केन्द्रबाट प्राप्त तथ्यांकलाई आधार मानेर विभिन्न किसिमका अनुमान गरिरहेका छन् ।

केन्द्रप्रमुख अधिकारी सामाजिक सञ्जाल र सञ्चारमाध्यमले गर्दा पछिल्लो समय भूकम्पबारे आमनागरिकमा धेरै चेतना आएको बताउ"छन् । उनको अनुभवमा नेपाल, बर्मा, जापान र इक्वेडरमा पछिल्ला दिन आएका ठूला भूकम्पपछि आमनागरिकमा एक किसिमको डर उत्पन्न भएको छ ।

'अब पृथ्वीमा के–के न हुन थाल्यो भन्ने बुझाइ छ तर यो एकदमै गलत हो । अघिल्ला वर्ष पनि यस्ता भूकम्प गइरहन्थे, यी नौला घटना होइनन्,' अधिकारीले भने । उनले उपलब्ध गराएका तथ्यांकअनुसार संसारमा औसत प्रत्येक वर्ष ८ म्याग्निच्युडभन्दा ठूलो एउटा भूकम्प गएको छ । ७ देखि ७.९ म्याग्निच्युडका १५ भन्दा बढी भूकम्प गएका छन् । यसैगरी ६ देखि ६.९ म्याग्निच्युडका १ सय ३० भन्दा बढी भूकम्प जान्छन् । 'त्यसैले यो नौलो विषय होइन, नियमित प्राकृतिक प्रक्रिया हो,' उनले भने, 'तर पछिल्लो समय सामाजिक सञ्जाल, सञ्चारमाध्यम र ज्योतिषीले गर्दा आमनागरिकमा चासो बढेको मात्र हो ।'

०७२ वैशाख १२ गतेपछि ४ म्याग्निच्युडभन्दा माथिका ४ सय ४७ वटा र साना–ठूला गरेर ३० हजारभन्दा बढी अनुकम्प गएका छन् । पछिल्लोपटक चैत ३० गते दोलखामा ४.४ म्याग्निच्युडको अनुकम्प गएको थियो । हरेक दिन चार र तीभन्दा साना गरेर ३० देखि ४० वटा अनुकम्प गइरहेका छन् । 'यस्ता अनुकम्प कहिलेसम्म जान्छन् भन्ने कुन टुंगो छैन,' भट्टराईले भने ।
साभार: नागरिक न्यूज अनलाइन

No comments:

Post a Comment